वन्यजन्तुको बसाइ गाउँबस्तीमा, स्थानीय प्रभावित « Khabarhub

वन्यजन्तुको बसाइ गाउँबस्तीमा, स्थानीय प्रभावित


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – पछिल्लो समय जङ्गली वन्यजन्तु गाउँबस्ती वरिपरि नै रमाउन थालेका छन् । पछिल्लो एक दशकपछि गाउँबस्ती छेउछाउमा बँदेलको सङ्ख्या बढ्ने क्रम जारी छ ।

सुरूमा सिकारीको चहलपहल छल्न र आहाराको खोजीमा वन क्षेत्रबाट बस्ती पसेका बँदेल गाउँबस्तीमै रमाएर आफ्नो वासस्थान बिर्सन थालेका छन् । बँदेलका शाखा सन्तान यतै वृद्धि भएपछि बस्ती नजिकका झाडी यिनको नयाँ वासस्थान बनेको स्थानीय बासिन्दाको भनाइ छ ।

‘हाम्रो गाउँको पुछारमा दशगजा (नेपाल भारत सीमा) नजिकका झाडीमा बँदेलका तीन-चार पुस्ता देखिन्छन्,’ जलेश्वर–५ चौरिया बस्तीका ७५ वर्षीय रहिमन मण्डल ले भने, ‘यिनलाई किसानले लगाएका बाली आहारा छँदैछ, बस्न झाडी खोज्छन्, अनि किन सम्झुन् वनजङ्गल !’मण्डलले सीमाक्षेत्रका चौरिया, पतैली, मुसरपट्टि र खैरासम्मका आफ्ना वरपरका बस्ती नजिक अब झुण्ड–झुण्डमा  बँदेलको स्थायी बसोबास बढेको बताए।

दक्षिणतर्फ भारतसँग सीमा जोडिने पूर्व मटिहानीदेखि पश्चिमको खैरवनीसम्मको करिब ३९ किलोमिटरसम्म बँदेलको सघन उपस्थिति छ । अझ नदीउकास क्षेत्रका काँसका झाडी भएका ठाउँमा त झन् बढी बँदेल देखिने गरेको खैरवनीका बासिन्दा कौशीलाल यादवले बताए। नेपालतर्फ मात्र नभएर सीमापारिका भारतीय बस्तीमा पनि उल्लेख्य सङ्ख्यामा बँदेल देखिने गरेको यादवको भनाइ छ ।

बर्दिबासबाट १५ किलोमिटर दक्षिणको भङ्गाहा नगरपालिका क्षेत्रका अधिकांश बस्तीमा अहिले बँदेलको आतंक छ । उखु नकाटिउन्जेल त्यसैको घारीमा बस्ने बँदेल एक ठाउँको उखु काटिएपछि नजिककै अर्कोतिर बास सारेर बस्ने गरेका भङ्गाहा–४ का सामाजिक कार्यकर्ता ६५ वर्षीय मुकुन्द दाहाल बताउँछन् ।  

बँदेलको आतंकले घाँसपात गर्न, खेतबारी हेरविचार गर्न र घुमफिरमा निस्कन डरमर्दो भएको दाहालको भनाइ छ । तर पाँचरसात वर्षअघि भर्खर वनबाट बस्ती नजिक आएका बँदेलको जस्तो जङ्गली व्यवहार भने अहिले यस क्षेत्रमा पाइने बँदेलको नरहेको दाहालको अनुभव छ । बँदेलले धेरैजसो ससाना केराका कोथा, कोवी, गहुँ, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ । 

‘हामीले यिनको आतंकले पछिल्ला ४र५ वर्षयता राम्ररी बाली लिन पाएका छैनौँ,’ रामगोपालपुर–२ मोहनपुरका मोहम्मद कादिर हुसैनले भने, ‘अब त यिनकै लागि बाली लगाएजस्तो भएको छ ।’

बँदेलजस्तै नीलगाई पनि अब जिल्लाका सुदूर दक्षिणी बस्तीसम्म बाक्लै भेटिन्छन् । नीलगाई चाहिँ वनतिर ओहोरदोहोर गरिरहेका अवस्थामा भेटिने गरेको औरही नगरपालिका–४ बैरियाका रामस्नेही यादवले बताए। 

‘बँदेल त यतै स्थायी रूपले बस्न थालेका छन्, नीलगाई भने यता चरेर केही दिनको फरकमा वनतिर आउनेजाने गरिरहेका बुझिन्छ,’ यादवले भने, ‘यद्यपि नीलगाई पनि ठाउँठाउँमा निकै सङ्ख्यामा देखिन्छन् ।’

 अब बँदेल र नीलगाई वन्यजन्तु नभएर बस्ती वरपर बसोबास गर्ने जन्तुसरह बनेका यादवसहितका सो बस्तीका बासिन्दा बताउँछन् ।

जिल्लाका १५ वटै स्थानीय तहका बस्ती वरपर अहिले बँदेल र नीलगाईको उत्पातले किसान दिक्क भइरहेका छन् । यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको किसानको दुखेसो छ ।

‘हामी स्थानीय तह, प्रहरी, प्रशासनमा हारगुहार गरेको गरिरहेका छौँ,’ बलवा नगरपालिकाको रौजाका मन्सुल कवारीले बताए, ‘तर भरपर्दो कुनै उपाय खोजिएको देखिँदैन ।’

बँदेल, नीलगाईसँगै अब दुम्सी पनि गाउँबस्ती नजिक बाक्लै देखिन थालेका छन् । दुम्सीको वासस्थान पनि उखुघारी र काँसझाडी नै हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । 

वनमा अत्यधिक मानव चहलपहल बढ्दै जानु, सिकारीबाट हुेन आक्रमण बढ्नु, पानी र आहाराको कमी हुँदै जानुले वन्यजन्तु गाउँबस्तीतिर आउनेक्रम बढेको पूर्वसहसचिव एवं कृषिविज्ञ स्थानीय भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेलको ठम्याइ छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १२ : ३८ बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै