काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अपवादका रुपमा आउनुपर्ने अध्यादेश नियमितरुपमा आएको भन्दै सरकारले ल्याएका अध्यादेशमाथि सैद्धान्तिक प्रश्न उठाएका छन् ।
देश यतिबेला संविधान कार्यान्वयनको जोखिमपूर्ण चरणमा रहेको औंल्याउँदै श्रेष्ठले राजनीतिक नेतृत्वमाथि प्रश्न उठाए, ‘हामीले देशमा आशा जगायौं कि निराशा जगायौं ? … कतै हामीले नयाँ किसिमको द्वन्द्वलाई त निम्तो दिइरहेका छैनौं ?
जमलस्थित होटल येल्लो प्यागोडामा आइतबार संविधान निगरानी समूह र ‘इन्स्टिच्युट फर स्ट्राट्रेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च’ (आइएसएसआर) ले आयोजना गरेको अन्तक्रियामा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रमुख राजनीतिक दलहरुको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
कानून बनाउने संसदले समेत प्रभावकारी भूमिका खेल्न नसकेको र कार्यपालिका हाबी हुँदै गएको पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बताए ।
‘विधायिका कस्तो छ भने ऐन बनाउन सक्दैन । ऐन बनाउन नसकेर विकल्पमा अध्यादेश जारी गर्नुपर्ने बाध्यता हो कि के हो ?’ श्रेष्ठले प्रश्न गरे, ‘अध्यादेशबाटै काम चलाउने हो भने संसदको उपादेयता के हो ?’
अध्यादेशको कन्टेन्ट राम्रो रहेको र यो अध्यादेश अन्ततः संसदमै आउने हो भन्ने सत्तापक्षले तर्क गरिरहेका बेला पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यसबारे प्रश्न उठाएका हुन् ।
उनले भने, ‘हुन त अध्यादेश संसदमै त आउँछ नि भन्नुहोला तर संसद पर्खन नसक्ने अध्यादेशले संसदीय क्षमता र विश्वसनीयतामा प्रश्न उठ्छ । अध्यादेश अपवाद होइन, यो नियमितता होला भन्ने डर हुन्छ ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अगाडि भने, ‘संसद अनुत्पादक हुँदै गएको छ । कार्यपालिकाको भूमिका हस्तक्षेपकारी हुँदै गइरहेको छ ।’
न्यायपालिकाको बचाऊ गर्दै श्रेष्ठले भने, ‘राजनीतिक नियुक्तिका कारणले न्यायपालिकामा अन्यथा असर पर्न गयो भनिँदैछ । तर, संविधानमा राजनीतिज्ञले नै लेखेको हो संसदीय सुनुवाइको प्रणाली । अनि, यसको दोष न्यायपालिकालाई बोकाउन मिल्छ ? कि यसबाट मुक्त गर्नका लागि राजनीतिज्ञले थप काम केही गर्नुपर्छ ?’
संवैधानिक अंगहरुले पनि प्रभावकारी काम गर्न नसकेको श्रेष्ठको गुनासो छ । कार्यक्रममा उनले भने, ‘संविधानमा व्यवस्था भएका संवैधानिक अंगहरु हेर्नुहोला । तपाईहरु कुनचाहिँ आयोगले राम्रो काम ग¥यो भन्न सक्नुहोला । समस्या सबैतिर छन् । यी सबै समस्या आफैं आएका होइनन् । राजनीतिको कब्जामुखी दृष्टिकोणबाट सिर्जना भएका समस्या हुन् ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठको प्रश्न छ, ‘स्वतन्त्र हुनुपर्ने निकायमाथि जब आज्ञाकारिताको आश गरिन्छ, अनि संविधानका अंगहरु यस्तो नभए कस्ता हुन्छन् ?’
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/Prachanda-kalyan-768x483.jpg)
संविधानले दिएका मौलिक हकहरु कार्यान्वयनमा जान नसकेको र समावेशिताको सिद्धान्तबाट पनि लक्षित समूदायले लाभ लिन नसकेको श्रेष्ठको विश्लेषण छ ।
‘समावेशिताले जुन समुदायलाई मूलधारमा ल्याउनुपर्ने थियो, उनीहरुको मानवविकास सूचकांकमा परिवर्तन आयो ? अर्थतन्त्रमा कुनै परिवर्तन आयो ? यो देशमा बसूँ-बसूँजस्तो लाग्नेखालको परिस्थिति निर्माण भयो ?’ श्रेष्ठले भने, ‘पहाडतिर जनसंख्या घट्दै जाने खालको स्थिति आएको छ । स्कुल–कलेजमा पढ्ने विद्यार्थीको पनि संख्या कम भएर गएको छ । यो किसिमको विरोधाभाषपूर्ण अवस्था छ ।’
उनले अगाडि भने, ‘हामीले देशमा आशा जगायौं कि निराशा जगायौं ? आशा जगाएका छौं भने त ठीकै छ, अघि बढौं । तर, निराशा जगाएका छौं भने यसको कारण खोज्नुपर्छ र यसमा जिम्मेवार तहले नै सोच्नुपर्छ ।’
देश यतिबेला संविधान कार्यान्वयनको जोखिममा रहेको श्रेष्ठको विश्लेषण छ । उनी भन्छन्, ‘हामी संविधान कार्यान्वयनको बडो जोखिमपूर्ण चरणमा छौं । यसलाई हामीले नजरअञ्दाज गर्न सक्ने अवस्थामा छैनौं । संविधानको मूल्य अनुसार चल्ने हो भने यसको पुनरावलोकन गर्नुपर्ने हो, आवश्यक परिमार्जन गर्नुपर्ने हो, हाम्रो क्षमता वृद्धि गर्नुपर्ने हो ।’
देशमा नेता बलियो र जनता कमजोर हुँदै गएको श्रेष्ठको आरोप छ । ‘दल, त्यसका नेता र कमिटीहरु बलियो हुँदै गएको तर जनताचाहिँ बहिस्कृृत हुँदै गएको अवस्था छ’ उनले भने, ‘नेताले जित्ने र जनताले हार्ने परिस्थिति निर्माण भइरहेको देख्छु । कतै हामीले नयाँ किसिमको द्वन्द्वलाई निम्तो त दिइरहेका छैनौं ? यी प्रश्नहरुको खोजी गरौं ।’
यो पनि–
प्रचण्डको संश्लेषण– देउवा प्रधानमन्त्री बन्नुपर्थ्यो, अर्को विद्रोह चाहिएकै हो त ?
प्रतिक्रिया