कालीगण्डकी करिडोर : बादरजुङ र काभ्रेभीरको यात्रा सहज « Khabarhub

कालीगण्डकी करिडोर : बादरजुङ र काभ्रेभीरको यात्रा सहज


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभीर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन् ।

‘तल कालीगण्डकी र माथि ठाडो अक्करे भीरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो’, उनले भने, ‘अक्करे भीरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको छ ।’

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको हो । काभ्रेभीरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

‘धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको छ’, योजनाका इञ्जिनियर विष्णु चापागाईँले भने, ‘तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभिर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको हो ।’

उनका अनुसार सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न मजदुरले ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाएका थिए । तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र सवारीसाधन चल्ने गर्दथे । हाल यस क्षेत्रको सडकलाई कम्तीमा आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ ।

काभ्रेभीर, बादरजुङभीर र घोप्टेभीर क्षेत्रको सडक पार गर्न यसअघि कम्तीमा ३० मिनेट लाग्ने गर्दथ्यो । अहिले पाँच मिनेटमा सडक पार गर्न सकिन्छ । काभ्रेभीरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ । २०६३ सालमा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारीसाधन खस्ने, गुडिरहेको सवारीसाधनमा भीरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् ।

बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसाखण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले प्रतिकूल भूगोलमा पनि मजदुरहरूले सुरक्षा सतर्कता अपनाएर सडक विस्तारको काम गरेको बताए ।

यसैबीच १० किलोमिटर पाँच सय मिटर दूरीको तातोपानी–घाँसा खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पछिल्लो समय निर्माणले तीव्रता पाएको बताए । 

पहिरोको जोखिम रहेको तीन किलोमिटरबाहेकका ठाउँमा सडकलाई ११ मिटर फराकिलो बनाउने काम सकेर ढलान र डीबीएसडी प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुर्‍याइएकाे हो ।

चालु आर्थिक वर्ष भित्रनै सडक स्तरोन्नतिको काम सकेर योजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक न्यौपानेले बताए । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ११ : ५५ बजे

सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिएपछि प्रतिपक्षी श्रम संस्कृति

बीमाले दिने र निजी पसलमा बिक्री हुने औषधिको गुणस्तरमा भिन्नता छैन 

काठमाडौं– स्वास्थ्य बीमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिप्रति सांसद शाहीको आपत्ति

काठमाडौं- प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई

समूह ‘एल’ : ग्रुप अफ डेथमा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

काठमाडौं– इङ्ल्यान्ड, क्रोएसिया, पानामा र घानाको उपस्थितीले समूह ‘एल’लाई आसन्न