काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी पेरिस र अन्य शहरमा व्यापक हिंसा मच्चिएको छ । बढ्दो महँगी, विद्यालयको खस्किँदो अवस्था तथा सार्वजनिक सेवामा आएको गिरावटविरुद्ध लाखौँ मानिसहरु सडकमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा हिंसात्मक झडप भएको छ । सीजीटी युनियनका अनुसार देशभर करिब ५ लाख मानिसहरू प्रदर्शनमा सहभागी भएका थिए । राष्ट्रपति इमानुएल म्याक्रों र उनको सरकारको विरोध गर्दै पेरिसका सडकमा प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । उनीहरुले म्याक्रोंको राजीनामा समेत मागेका छन् । प्रदर्शनमा विशेष गरी युवा, विद्यार्थी र सर्वसाधारण सहभागी रहेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।
प्रदर्शन उग्र बन्दा पेरिससहित मार्से, टुलोन, ल्योन जस्ता शहरका सडकमा अराजकता छाएको छ । हिंसा नियन्त्रण गर्न प्रहरी र सुरक्षाकर्मी असफल हुँदा पसल, ऐतिहासिक भवन, सडक, सवारी साधन, सरकारी कार्यालय, निजी आवास र अन्य धरोहरमा तोडफोड आगजनी र लुटपाट भएको छ । प्रदर्शन नियन्त्रण गर्ने असफल प्रयासमा प्रहरीले अश्रुग्यास र वाटर क्याननको प्रयोग गर्दा कतिपय प्रदर्शनकारी घाइते भएको खबर छ । सयौँ प्रदर्शनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
राष्ट्रपति म्याक्रोंले हिंसामा संलग्नहरुलाई कारवाही गरिने दृढता व्यक्त गरेका छन् । प्रधनमन्त्री सेबास्टियन लेकोर्नुले यस्तो प्रकारका हिंसाले सरकार नतर्सिने प्रतिक्रिया दिएका छन् । उनले हिंसामा उग्रवामपन्थी र अपराधीहरुको संलग्नता रहेको आरोप लगाएका छन् । आगामी छ महिनाभित्र राष्ट्रपतीय निर्वाचनको तयारी गरिरहेको फ्रान्समा यो अराजकताले थप राजनीतिक अनिश्चितता बढाएको छ ।

















प्रतिक्रिया