काठमाडौं– अर्थतन्त्रको बाह्य सूचकले नेपालको अवस्था ठिक रहेको देखाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले अर्थतन्त्रको बाह्य अवस्था ठिक रहेको देखाएको हो ।
प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत छ । अघिल्लो वर्षको त्यही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत छ ।
अघिल्लो वर्षको त्यही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८० प्रतिशत, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.९८ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ । सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.९६ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत, मधेश प्रदेशको ३.९१ प्रतिशत, बागमती प्रदेशको ३.३५ प्रतिशत, गण्डकी प्रदेशको ३.४० प्रतिशत, लुम्बिनी प्रदेशको ४.१६ प्रतिशत, कर्णाली प्रदेशको ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमालको ५.२१ प्रतिशत रहेको छ ।
त्यस्तै, २०८१ माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत छ । अघिल्लो वर्षको त्यही महिनामा यस्तो मुद्रास्फीति २.८२ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत, ३.११ प्रतिशत र २.९० प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.७२ प्रतिशतले घटेको छ ।
विप्रेषण आप्रवाहमा ७.३ प्रतिशतले वृद्धि
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९०० अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको त्यही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.९८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९१० अर्ब ७७ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो संख्या क्रमशः २,४५,४३२ र १,५७,०४५ थियो ।
विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब
राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले वृद्धि भई २०८१ माघ मसान्तमा २३६९ अर्ब ८ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत छ ।
आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२०८१ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन् ।
२०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए ।
चालु खाता १६६ अर्ब बढीले बचतमा
समीक्षा अवधिमा चालु खाता १६६ अर्ब ८० करोडले बचतमा रहेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १६२ अर्ब ५२ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको त्यही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब १९ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति २८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको त्यही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोडले बचतमा छ ।
सरकारको नगद मौज्दात ३५० अर्ब बढी
२०८१ माघ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा ३५० अर्ब ७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ८३ अर्ब ९९ करोड थियो ।
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ५१ अर्ब ९० करोड र स्रोत परिचालन १०१ अर्ब ८९ करोड छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ८० अर्ब ९४ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २० अर्ब ९५ करोड छ ।
प्रतिक्रिया