काठमाडौं– शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहका गतिविधिप्रति सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)सँगै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)समेत आक्रामक ढंगले प्रस्तुत भइरहँदा सत्ता साझेदार नेपाली कांग्रेस मौनजस्तै देखिएको थियो ।
तर, पूर्वराजा ज्ञानेन्द्रले आफ्ना समर्थकलाई संघीय राजधानी काठमाडौंमा उतारेर शक्ति प्रदर्शन गरेको भोलिपल्ट सुदूरपश्चिम प्रदेशको राजधानीमा भेला भएका कांग्रेसका शीर्ष नेताहरू एकाएक आक्रामक बनेका छन् ।
कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको प्रथम प्रदेश सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन धनगढी पुगेका सभापति शेरबहादुर देउवादेखि केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ सम्मका नेताहरू ज्ञानेन्द्रको फेरि राजा बन्ने प्रयासविरुद्ध आक्रामक ढंगमा प्रस्तुत भएका हुन् ।
प्रदेश सम्मेलनमा सहभागी हुन जाने क्रममा कैलालीको गेटा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रको शक्ति प्रदर्शनलाई समान्य रुपमा लिएको अभिव्यक्ति दिए ।
उनले राजतन्त्रको पक्षमा आफूले माहोल नै नदेखेको बताए । राजावादीले आइतबार संघीय राजधानी काठमाडौंमा गरेको प्रदर्शनतर्फ ईंगित गर्दै सोधिएको पत्रकारको प्रश्नको जवाफ दिँदै सभापति देउवाले भने, ‘त्यस्तो मैले केही माहोल देखेको छैन ।’

हिजो काठमाडौंमा अद्भूत प्रदर्शन भयो भन्ने हल्ला छ नि ? भन्ने अर्को प्रश्नमा देउवाले केही अद्भूत नभएको पनि जिकिर गरे । ‘कहाँ अद्भूत भयो ? केही भएकै छैन नि,’ देउवाको भनाइ थियो ।
पत्रकारले पूर्वराजा ज्ञानेन्द्रलाई छिमेकी मुलुक भारतले उचाल्ने काम गरेको हो भनेर राखेको जिज्ञासामा पनि पूर्वप्रधनमन्त्री देउवाले प्रतिक्रिया दिएका छन् । ‘कसैले उचालेर उचालिने कुरा पनि छैन,’ उनले भने, ‘उचालेको पनि थाहा छैन ।’
सभापति देउवालाई पत्रकार सम्मेलनमा ‘राजालाई उचाल्ने काम पनि भारतले गर्यो, प्रधानमन्त्रीलाई पनि निमन्त्रण भएको छैन भन्ने कुरो छ । त्यस्तै हो ?’ भनेर प्रश्न गरिएको थियो ।
प्रदेश सम्मेलनको उद्घाटन समारोहमा उपसभापति पूर्णबहादुर खड्काले पूर्वराजाका क्रियाकलापहरू कांग्रेसको कार्यक्रममा छलफलयोग्य नै नभएको टिप्पणी गरे । ‘केहीले बाहिर बाजा बजाएका छन्,’ उनले भने, ‘हामीले हाम्रो कार्यक्रममा अर्काका बाजाका कुरा गर्ने होइन ।’
उपसभापति खड्काले पार्टीको कार्यक्रममा कांग्रेसका मतदाता र कांग्रेसका कार्यकर्ताको कुँडिएको मनमा नयाँ उत्साह, भरोसा र विश्वास सिर्जना गर्ने बाजा बजाउनुपर्ने जिकिर गरे ।
महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिको विषम् परिस्थितिमा कांग्रेसलाई साथ दिएका नागरिकमा देखिएको असन्तुष्टिलाई राजावादीहरूले उपयोग गर्न चाहेको बताए ।
उनले सशस्त्र विद्रोहका क्रममा माओवादीबाट लखेटिँदा, तत्कालीन राजा ज्ञानेन्द्र शाहले अधिकार खोस्दा र संविधान सभा विघटन हुँदा कांग्रेसलाई साथ दिएका जनतामा देखिएको असन्तुष्टिलाई राजावादीले उपयोग गर्न खोजेको टिप्पणी गरे ।
‘नागरिकहरूको यो असन्तुष्टिलाई, यो असन्तुष्टिबाट सिर्जना भएको आक्रोशको आगोलाई प्रयोग गरेर एकथरी जसले यो व्यवस्था आओस् भनेर कहिले चाहेकै थिएन, उनीहरू आगोमा रोटी सेक्न चाहन्छन्,’ महामन्त्री थापाले भने, ‘यसमा हामीले अचम्म मान्नुपर्ने कुरा केही छैन ।’

महामन्त्री थापाले नागरिकमा देखिएको आक्रोशको आगो निभाउनतिर कांग्रेस लाग्नुपर्नेमा पनि जोड दिए । ‘यो व्यवस्थाको नेता नेपाली कांग्रेस, आजको दिनमा त्यो रोटी सेक्नेको पछाडि लाग्ने कि आक्रोशको आगो निमाउने ?,’ प्रश्न गर्दै महामन्त्री थापाले भने, ‘हाम्रो अगाडिको प्रश्न यो हो । हामीले आक्रोशको आगोलाई निभाउनुपर्छ ।’
महामन्त्री थापाले विगतमा कांग्रेसलाई साथ दिएका नागरिकमा असन्तुष्टि सिर्जना हुनुको कारणका बारेमा पनि समारोहमा खुलस्त पारे । ‘असन्तुष्टि किन देखिएको छ, उनीहरू के भनिरहेका छन् ?,’ थापाले भने, ‘उनीहरू भनिरहेका छन्– तिमीले व्यवस्था बदल्छु भन्यौँ, तिमीलाई मैले साथ दिएँ । तिमीलाई अहिले पनि म विश्वास गर्छु । तर, मेरो प्रश्न छ, तिमीले व्यवस्था बदलिसकेपछि मेरो अवस्था बदलिन्छ भन्यौ । तिमीले भनेको जस्तो मेरो अवस्था बदलिएको छैन । न बदलिने छाँटकाँट देखिएको छ ।’
महामन्त्री शर्माले अहिलेको अवस्थामा कांग्रेसले आफूलाई नयाँ ढंगले व्यवस्थित गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘योबेलामा हामीले आफूलाई नयाँ ढंगले व्यवस्थित गरेर कार्य गर्न जरुरी छ,’ उनले भने ।
महामन्त्री शर्माले राजनीतिक दलहरू ठीक ढंगबाट अगाडि बढे नागरिक असन्तुष्ट नहुने बताए । ‘हामी जिम्मेवार डाक्टरले डाक्टर भएर राम्रोसँग उपचार गर्दैगर्दा मान्छे झाँक्रीतिर लक्षित हुँदैन,’ उन भने, ‘मान्छे असन्तुष्ट भएर एकछिन झाँक्रीतिर झारफुक गर्दा पो हुन्छ कि भन्यो भने, त्यो झारफुक गर्दै गरेको मान्छेले विद्यावारिधि प्राप्त गर्दैन ।’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले त पूर्वराजा ज्ञानेन्द्र शाहबारे चर्चा गर्न आवश्यक नै नरहेको बताए । ज्ञानेन्द्रलाई बहिर्गमनको समयमा आफूले गरेको पहल स्मरण गर्दै उनले भने, ‘‘राजाबारे चर्चा हुने गरेको छ । मैले भन्ने गरेको छु– किन धेरै चर्चा गर्नु हामीले । म आफैँ विदा गर्न गएको हुँ । राम्रै सम्झाएको हुँ ।’
नेता सिटौलाले सरकारले चाह्यो भने पूर्वराजा ज्ञानेन्द्रलाई उपलब्ध गराइएका सुविधाहरू खोस्न सकिनेसमेत बताए । ‘सरकारकै निर्णयले उहाँलाई निवास दिएर बस्न दिएको छ । सरकारले चाह्यो भने हटाइदिन सक्छ,’ उनले भने, ‘सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले योबारेमा हामीले धेरै चर्चा नगर्नु जाति हो ।’
सहमहामन्त्री जीवन परियारले राजतन्त्रको पुनरावृत्तिका प्रयासरत राजावादीलाई दोस्रो जनआन्दोलनमा लाखौँलाख जनता सडकमा उत्रिएको अवस्था स्मरण गराए । ‘हिजोमात्रै काठमाडौंको एयरपोर्टमा केही मान्छेहरूको भीड जम्मा गरेर फेरि राजतन्त्रको पुनरावृत्ति गर्छु भनेर सपना देख्नेहरूले सम्झना गरे हुन्छ, उनले भने, ‘हिजो ६२–६३ को आन्दोलनमा लाखौँलाख जनता सडकमा उत्रिएका थिए । त्यसको बारेमा बुझ्न जरुरी छ ।’
सहमहामन्त्री परियारले गणतन्त्रबाट मात्रै नेपाली जनताको मुक्ति सम्भव भएको पनि जिकिर गरे । ‘आज यो देशमा राजतन्त्र होइन, गणतन्त्रबाट नै नेपाली जनताको मुक्ति सम्भव छ,’ उनले भने, ‘नेपाली जनताले गणतन्त्र मार्फत् हामीले यो देशमा शासन व्यवस्था सञ्चालन गर्न सक्छौँ भन्ने कुरा आज देशव्यापी रुपमा सन्देश दिन जरुरी छ ।’
अर्का सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कसैले पनि मस्न नसक्ने दावी गरिन् । ‘हिजोको घटना सुन्यौँ । यहाँ धेरै साथीहरूले सुनाउनुभयो । यो घटनाले नेपालको संविधान मास्न सक्दैन,’ उनले राजावादीको प्रदर्शनतर्फ लक्षित गर्दै भनिन्, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थालाई कसैले पनि मस्न सक्दैन ।’
संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थालाई कसैले मास्न नसक्नुको कारण पनि सहमहामन्त्री उपाध्यायले तर्क गरिन् । ‘त्यहाँ हाम्रो अस्तित्व गाँसिएको छ । त्यहाँ हाम्रो पहिचान गाँसिएको छ । त्यहाँ समानुपातिक सहभागिता गाँसिएको छ । त्यसकारण यो संविधान प्रति कसैले पनि कुदृष्टि लाउन सक्दैन,’ उनले भनिन् ।
सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पूर्वराजा फर्काउन प्रयासरत राप्रपा र राप्रपा नेपालको नाम नलिएरै व्यक्तिवादी सोच बोकेका पार्टीको रुपमा टिप्पणी गरे । ‘व्यक्तिवादी सोचबाट हामी भएका पार्टीहरू सहतमा आउँछन् । फेरि त्यही सोचबाट बिसर्जित भएर जान्छन् । आज जुन कुरा मुलुकमा देखिराखेको छ,’ उनले भने, ‘आज व्यक्तिवादी सोच भएका राजनीतिक पार्टीहरू एउटा व्यक्तिले बालेको पछाडि लागेर आफूलाई महान पार्टीको रुपमा देखाउने दिवास्वप्न देखेर बाहिर उद्वेलित भइराखेको हामीहरूले देखाएका छौँ ।’
सहमहामन्त्री आङ्देम्बेले अहिलेको अवस्थामा कांग्रेसले आफ्नो विचार र परिपक्वतालाई बोकेर एकजुट हुनुपर्नेमा जोड दिए । ‘यो बेलामा हामीले हाम्रो विचार र परिपक्वतालाई बोकेर त्यसको नेतृत्व एक ठाउँबाट गरेर आउनुपर्छ,’ उनले भने ।
उद्घाटन समारोहमा कांग्रेस नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै तन्त्र हुन नसक्ने बताएका छन् । ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुन सक्छ,’ काठमाडौंमा राजावादीहरूले आइतबार गरेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले भने ।
नेता साउदले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध भने नगरेको स्पष्ट पार्दै प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई संविधानले जहिले पनि अंगीकार गर्दै आएको स्मरण गरे ।
‘अहिले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध पनि गरेको छैन,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई हाम्रो संविधानले जहिले पनि अंगीकार गर्दै आएको छ ।’
उनले संसद्मा रहेका कम्युनिस्ट र सडकमा रहेका राजावादीबाट जुनसुकै बेलामा पनि प्रजातन्त्रमाथि प्रहार हुन सक्ने भन्दै कांग्रेस सहज रहनुपर्नेमा जोड दिए ।
‘आज मुलुकको अवस्था जटिल छ । संसदभित्रै हेर्ने हो भने कम्युनिस्टहरूको दुईतिहाइ संख्या छ । सडकमा हेर्ने हो भने हिजो जनआन्दोलनको प्रक्रियाबाट हामीले इतिहासको भग्नावशेषमा सुताइसकेकाहरू पनि ब्युँतिन खोज्दै छन्,’ साउदले भने, ‘त्यसकारण यी शक्तिहरूबाट जनुसुकै बेलामा पनि प्रजातन्त्रलाई, प्राजतान्त्रिक संविधानलाई, नेपाली जनताका उपलब्धि र आकांक्षालाई प्रहार हुन सक्ने भएकाले नेपाली कांग्रेस जहिले पनि सजग, सचेत, चनाखो रहनुपर्ने आवश्यकता छ ।’
संविधान, संवैधानिक प्रक्रिया र नेपाली जनताले संघर्ष गरेर ल्याएको प्रजातन्त्र / गणतन्त्रविरुद्ध कुनै शक्ति जुर्मुराउन खोजे त्यसलाई परास्त गर्न कांगे्रस अगाडि आउने पनि साउदले बताए ।
कांग्रेसका युवा नेता प्रकाश रसाइली ‘स्नेही’ले पूर्वराजा ज्ञानेन्द्र शाहको वकालत गरेर पार्टीविरूद्ध लाग्ने नेता–कार्यकर्तालाई कांग्रेस बन्ने छुट नभएको बताए । ‘चाहे रवि होस् चाहे राजा ज्ञानेन्द्र होस्, जसले नेपाली कांग्रेसका नेताहरूको सन्दर्भमा, नेपाली कांग्रेस पार्टीको सन्दर्भमा चुलो–चौको, बाटोघाटो, चिया पसलमा मिडियामा कुनै नेगेटिभ कुरा गर्छ, त्यसलाई अब कांग्रेस बन्ने छुट छैन,’ उनले भने ।
रसाइलीले कांग्रेसको गर्विलो इतिहासमात्रै नभएर क्रान्तिकारी इतिहास रहेको पनि स्मरण गराए । ‘नेपाली कांग्रेस पार्टी मुलुकका सबै समस्या र चुनौतीको सामान गरेर अगाडि बढ्ने पार्टी हो,’ उनले भने, ‘हाम्रो इतहिास गर्विलोमात्र होइन, हाम्रो इतिहास क्रान्तिकारी इतिहास पनि हो ।’
प्रतिक्रिया