ज्ञानेन्द्रले पढाएको प्रजातन्त्रको पाठ – सोह्र दुना आठ ! | Khabarhub Khabarhub

टिप्पणी

ज्ञानेन्द्रले पढाएको प्रजातन्त्रको पाठ – सोह्र दुना आठ !

पूर्वराजाको सम्वोधनले उब्जाएका प्रश्नै प्रश्न


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देश यतिबेला ‘भाइरल’ बनेको छ । तीन सातासम्म खासै चर्चामा नरहेको उक्त सन्देश आइतबार काठमाडौंमा आयोजित राजावादीहरुको प्रदर्शनपछि ‘भाइरल’ हुन थालेको हो ।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले प्रजातन्त्रको परिभाषा के हो र प्रजातन्त्र कस्तो हुनुपर्छ भनेर सिकाउन खोजेको देखिन्छ । तर, उनको सन्देशले विविध प्रश्नहरु उनीतिरै तेर्स्याइदिएको छ ।

अहिलेको प्रणाली, नेताहरु र सरकारले जनता र देशको हित गर्न नसकेको भन्दै देश बचाउनका लागि आफूलाई साथ दिन सार्वजनिक आह्वान गरेका पूर्वराजाको उक्त भिडियो सन्देशको ‘स्क्रिप्ट’ कसले लेखिदिएको हो भन्ने स्पष्ट छैन । तर, उक्त सन्देशमा विरोधाभाषपूर्ण तर्कहरु समेटिएका छन्, जसले पूर्वराजाको कद घटाउने काम गरेको स्पष्ट देख्न सकिन्छ ।

अब ५८५ शब्दको पूर्वराजाको उक्त सन्देश र त्यसले उब्जाएका प्रश्नहरुको रौंचिरा विश्लेषण गरौं–

पूर्वराजाको सन्देश १ : नेपालमा प्रजातन्त्रको मिर्मिरे बिहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्साइबक्सिने हाम्रो जिजुबुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं ।

उब्जिएको प्रश्न : ‘प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्साइबक्सिने हाम्रो जिजुबुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभुवन’ भनिएको छ । स्मरण रहोस् २००७ सालको प्रजातन्त्र त्रिभुवनको उदारताका कारण आएको होइन, नेपाली कांग्रेसको सशस्त्र संघर्षबाट आएको हो । बरु त्यसबेला १०४ वर्षसम्म राणाको खोपीमा कैद बनेको राजसंस्थालाई नेपाली कांग्रेसले उदारतापूर्वक त्राण दिएको होइन र ? कहाँनेर त्रिभुवनको उदारताले गर्दा प्रजातन्त्र आएको भन्न मिल्छ ? के यो इतिहासको गलत व्याख्या भएन र ?

सन्देश २ : जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागिपरेको इतिहास साक्षी छ । त्यसैले प्रजातन्त्रका निम्ति जीवन दान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरुप्रति पनि हामी उच्च सम्मान भाव राख्दछौं ।

प्रश्न : नेपालको इतिहासमा ‘जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागिपरेको’ भन्ने आधार के छ ? इतिहासको तथ्य त के हो भने जनताले लडेर प्राप्त गरेको प्रजातन्त्रमाथि राजाबाट सधैं अतिक्रमण हुने गरेको इतिहास छ । ०१७ सालमा महेन्द्रबाट दुई तिहाई बहुमतको सरकारमाथि के गरियो ? ०५८/५९ सालमा राजा ज्ञानेन्द्रबाट प्रजातन्त्रमाथि के गरियो ? अनि प्रजातन्त्रका निम्ति जीवनदान दिने शहीद र पात्रहरुले क–कसका विरुद्ध लडाइँ गरे ?’

सन्देश ३ : प्रजातन्त्र आजको युगको उत्तम शासन पद्दति हुनुपर्ने हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधि व्यवस्था तथा मान्यता अनुसार राज्य सञ्चालन गर्ने सर्वमान्य आदर्श पनि हुनुपर्दथ्यो । यसबाट हामी कोही विमुख छैनौं । राष्ट्रभित्रका हरेक वर्ग, समूह र व्यक्तिको हक अधिकारको संरक्षण गर्दै प्रतिष्ठा तथा प्रगति अघि बढाउने प्रजातन्त्र सबैको प्रिय व्यवस्था हुनुपर्दथ्यो । त्यसमा कहीँ कसैको शंका हुनु हुँदैन । प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई वाद, विवाद, द्वन्द्व, विग्रह वा विरोध प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषीको रुपमा पनि हेर्नुपर्दछ । सुन्दर शब्द, आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्दछ । सबैको पहिचान हुनुपर्दछ । सबैको अस्थित्व सुरक्षित हुनुपर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष–विपक्षको अहंकार, आ–आफ्नै खालको स्वार्थ तथा हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।

प्रश्न : नेपालको संविधान २०४७ अनुसार संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको अभ्यास भइरहेका बेला तत्कालीन राजा ज्ञानेन्द्रले किन ‘कु’ गरेको ? कांग्रेस, एमालेजस्ता संसदवादी दलहरुलाई निषेध किन गरेको ? के त्यसरी कांग्रेस र एमालेलाई निषेध गर्दा सबैको पहिचान र अस्थित्व सुरक्षित भयो त ? प्रजातन्त्रको परिभाषा दिने पूर्वराजाले ०५८ पछि प्रजातन्त्रमाथि गरेको अन्तरघातप्रति सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्छ कि पर्दैन ? अन्यथा, भोलि उनले फेरि प्रजातन्त्रमाथि अन्तरघात गर्दैनन् भनेर कसरी पत्याउने ?

सन्देश ४ : आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्थित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसीना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ । जन्मँदै नेपालीको शीरमा हजार होइन, लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धरासायी बन्दैछ । हुँदा हुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन् । नेपालको पद्दति, नीति र गतिविधि ठीक छैन, यहाँ बसेर केही हुँदैन, श्रम, सीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन । प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ । जनताको भरोसा जगाउने प्रणाली हुनुपर्दछ । प्रजातन्त्र फल्दै, फुल्दै जाँदा हामी सबैको भाग्य र भविश्य चम्कन्छ भन्ने भावना जागरण गराउने हुनुपर्दछ । तर, तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुखद कुरा हो ।

प्रश्न : ३० वर्षयता देशको स्थिति ठीक छैन भनिरहँदा स्वयं ज्ञानेन्द्रको प्रत्यक्ष शासन पनि यसको भागिदार छ कि छैन ? त्यसबेला भएको फजुल खर्च र निषेधको राजनीतिको जिम्मा सरकार प्रमुखको हिसाबले ज्ञानेन्द्र पनि लिनु पर्छ या पर्दैन ? के राजाको शासनका बेला नेपाली युवा विदेश पलायन भएका थिएनन् ? के त्यसबेला जनतामा निराशा थिएन ? के त्यसबेला रामराज्य थियो ? अनि अब ज्ञानेन्द्रलाई साथ दिनासाथ जादुमय ढंगले यी सबै समस्या समाधान होलान् ? यसका लागि ज्ञानेन्द्रसँग के योजना छ ? के कार्यक्रम छ ? देश बनाउने त्यस्तो जादु के छ ?

सन्देश ५ : हाम्रो यो नेपाल देशभक्त पूर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । त्यतिमात्र होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा र सुख सुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन, पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र भाष्य पनि त्यही नै हो । हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौं भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं ।

प्रश्न : यो कुरा सत्य हो, राजा महेन्द्र र वीरेन्द्रसम्म आइपुग्दासम्म नेपालका राजाहरुमा राष्ट्रवादी चरित्र थियो । तर, अहिले ज्ञानेन्द्रलाई निर्मल निवास लैजाने जुलुसमा उत्तरप्रदेशका मुख्यमन्त्रीको तस्बिर देखिएको छ । यसले शाहबंशको राष्ट्रवादी छविलाई धमिलो बनाएजस्तो लाग्दैन ? ‘देशभक्त पूर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र’ मा विदेशी शक्तिको डिजाइनमा राजतन्त्र फर्काउन लागिएको होइन ? शंका गर्ने ठाउँ देखिएको छ ।

पूर्वराजाले ‘जनताको भलो होस् भनेर आफ्नो ओहोदा र सुख सुविधालाई पनि त्याग गरेका हौं ।… त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन ।’ भनेका छन् ।

गणतन्त्रको स्थापना पूर्वराजाको त्याग वा निगाहबाट प्राप्त भएको हो या जनआन्दोलन र जनयुद्धको दबावबाट प्राप्त भएको हो ? अनि अहिले आएर त्यो ‘त्याग’ को ब्याज माग्न मिल्छ ? ‘त्याग’ भनेको निस्वार्थ परित्याग होइन र ? त्यो ‘त्याग’ हेक्का राखौं भन्नुको अर्थ लोकतन्त्रमाथिको धम्की हो कि होइन ?

अनि त्यत्रो त्याग गर्न सक्ने मानिसले राजा वीरेन्द्रको ठाउँमा सत्तामा आएलगत्तै प्रत्यक्ष शासन हातमा लिने असफल प्रयास किन गरेको त ? के त्यो पनि ‘त्यागको भावना’ बाटै निर्देशित थियो ?

सन्देश ६ : विगतका कमी कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् ।

प्रश्न : यो कसलाई भनेको ? दलहरुलाई या आफूलाई पनि भनेको ?

सन्देश ७ : देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सदैव हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’

प्रश्न : अझै त्याग गर्न तयार हो भने जनताको साथ चाहिँ केका लागि मागेको ? राजतन्त्र फर्काउनका लागि ?

सन्देश ८ : अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ ।

प्रश्न : दलहरुले नसकेर राष्ट्र नै जोगाउनुपर्ने धराप स्थिति आइसकेको पूर्वराजाको विश्लेषण हो ? ‘देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ’ त भनियो तर ज्ञानेन्द्रलाई साथ दिँदा देशको समृद्धि र उन्नति भइहाल्छ त ? यसको कार्यसूची, कार्यक्रम के छ पूर्वराजा ज्ञानेन्द्र शाहसँग ?

अन्त्यमा, जसले प्रजातन्त्रलाई अतिक्रमण गर्‍यो, जसले प्रत्यक्ष शासन चलाउँदा पनि दुई वर्ष टिकाउन सकेन, उसैले प्रजातन्त्र यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भन्दै पाठ पढाउनु भनेको ‘पढ्यो गुन्यो पाठ, सोह्र दुना आठ’ भन्ने आहानजस्तै भएन र ?

स्मरण रहोस् लोकतन्त्रमा कोही पनि प्रश्नभन्दा माथि हुँदैन । ज्ञानेन्द्र शाह पनि प्रश्नभन्दा माथि छैनन् ।

यो पनि-

ज्ञानेन्द्रको ‘भड्किलो’ प्रश्न, ओलीको ‘आक्रामक’ जवाफ !

ज्ञानेन्द्र र प्रचण्ड : हुन नसकेको त्यो भेट !


प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : २० बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।