नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा चार सूत्रीय मागसहित आन्दोलनको घोषणा | Khabarhub Khabarhub

नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा चार सूत्रीय मागसहित आन्दोलनको घोषणा


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई अन्त्य गर्न गठन गरिएको नेपाल स्काउट शुद्धीकरण अभियानले संगठनभित्रको शुद्धीकरणका लागि चार सूत्रीय माग अघि सार्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले नेपाल स्काउटलाई पारदर्शी, अनुशासित र जवाफदेही संस्थाका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार स्काउटका नेतृत्व तहमा भएको नीतिगत कमजोरी, आर्थिक अपारदर्शिता, कर्मचारी प्रशासनमा गरिएको अन्यायपूर्ण नियमावली, तथा कार्यस्थलमा दुर्व्यवहार जस्ता समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

यस्ता छन् मागहरू
१. नेपाल स्काउटभित्र भएका अनियमितताको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समिति गठन गरिनु पर्ने।
२. स्काउटको कर्मचारी प्रशासन नियमावली २०८१ को पुनरावलोकन गरी कर्मचारी हितलाई संरक्षण गरिनु पर्ने।
३. नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोपको निष्पक्ष छानबिन गरिनु पर्ने र प्रक्रिया नसकिएसम्म उनलाई निलम्बन गर्नुपर्ने।
४. नेपाल स्काउटको वित्तीय तथा प्रशासनिक प्रक्रिया पारदर्शी बनाइ संस्थालाई स्वच्छ, जवाफदेही र लोकतान्त्रिक रूपमा सञ्चालन गरिनु पर्ने।

यसअघि अभियानका प्रतिनिधिहरूले फागुन ६ गते प्रमुख स्काउटसमेत रहेका युवा तथा खेलकुद मन्त्रीलाई प्रत्यक्ष भेट गर्दै चार सूत्रीय मागसहित ज्ञापनपत्र बुझाएका थिए। सो ज्ञापनपत्र प्रधानमन्त्री तथा नेपाल स्काउटका संरक्षक समक्ष पनि पठाइएको थियो।

ज्ञापनपत्र बुझाएको सात दिन भइसक्दा पनि सरकारले कुनै पहल नगरेको भन्दै अभियानले चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। संयोजक अधिकारीले नेपाल स्काउटका नेतृत्व तह सरकारको दबाबमा रहेको आरोप लगाउँदै सरकार गम्भीर नभए थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।

नेपाल स्काउटका निर्देशकमाथि गम्भीर आरोप

पत्रकार सम्मेलनमा संयोजक अधिकारीले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईविरुद्ध दर्ता भएका गम्भीर आरोपहरूको छानबिन नहुनु संगठनकै नैतिकता माथिको प्रश्न भएको बताए। उनका अनुसार भट्टराईमाथि कार्यस्थलमा दुर्व्यवहार, आर्थिक अनियमितता जस्ता गम्भीर आरोप दर्ता भए पनि कुनै छानबिन प्रक्रिया अगाडि नबढाइएको छ।

भट्टराईविरुद्ध १० बुँदे उजुरी परे पनि त्यसको छानबिन नगर्नु सरकारको उदासीनताको प्रमाण भएको अभियानको आरोप छ। संयोजक अधिकारीले भने, “हामी कुनै व्यक्तिविशेषको विरोध गरिरहेका छैनौँ, तर संस्थाभित्रको गलत प्रवृत्तिको अन्त्य अनिवार्य छ। भट्टराईमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्छ। छानबिन नसकिएसम्म उनलाई जिम्मेवारीमा राख्नु उचित होइन।”

नयाँ नियमावलीले कर्मचारीहरू निराश भएकाे दाबी

नेपाल स्काउटको कर्मचारी प्रशासन नियमावली २०८१ को केही प्रावधानहरू कर्मचारीको मनोबल गिराउने खालका रहेको भन्दै अभियानले त्यसको पुनरावलोकनको माग गरेको छ। विशेष गरी, प्रसूति बिदा जस्ता सुविधाहरूमा गरिएको कटौती कर्मचारीहरूप्रति अन्यायपूर्ण भएको अभियानको दाबी छ।

संयोजक अधिकारीका अनुसार नियमावली कुनै व्यापक छलफल नगरी हतारमा पारित गरिएको छ। उनले भने, “नियमावली लागू गर्दा राष्ट्रिय परिषद्मा छलफल हुनु जरुरी छ। तर, यहाँ नेतृत्व तहले एकलौटी निर्णय लिएको छ, जसले कर्मचारीहरूलाई निराश बनाएको छ।”

नेपाल स्काउटको प्रतिष्ठामा असर

नेपाल स्काउट पछिल्लो समय नकारात्मक रूपमा चर्चामा आउनु मुख्यत संगठनभित्रको अपारदर्शिता, नेतृत्वको कमजोरी र गलत नीतिहरू भएको अभियानको आरोप छ। संयोजक अधिकारीले भने, “नेपाल स्काउट एक अनुशासित र समाजसेवा केन्द्रित संगठन हो। तर, पछिल्लो समय यहाँ भएका गलत कार्यहरूकै कारण यसको छवि धमिलिएको छ।”

अभियानका प्रतिनिधिहरूका अनुसार नेतृत्व तहले समस्याहरू समाधान गर्नुको सट्टा झन् झन् अपारदर्शी नीतिहरू ल्याउँदैछ।

नेपाल स्काउट शुद्धीकरण अभियानले चरणबद्ध रूपमा दबाबमूलक आन्दोलन गर्ने घोषणा गरेको छ। फागुन २७ गते नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय अगाडि मौन धर्ना दिने बताइएकाे छ । यस्तै चैत १ गतेदेखि – रिले अनशनसहितको धर्ना,
माग सम्बोधन नभए थप सशक्त आन्दोलन घोषणा गरिने बताइएकाे छ ।

संयोजक अधिकारीले आन्दोलनका कार्यक्रमहरू शान्तिपूर्ण हुने बताए पनि यदि कसैले विरोध कार्यक्रम बिथोल्ने प्रयास गरेमा त्यसको जिम्मेवारी अभियानको नहुने चेतावनी दिए।

अभियानका प्रतिनिधिहरूले नेपाल स्काउटमा सुधारका लागि सरकारको सक्रियता आवश्यक भएको बताए। सरकारले माग सम्बोधन नगरे आन्दोलन झन् चर्किने उनीहरूको भनाइ छ। संयोजक अधिकारीले भने, “हाम्रो उद्देश्य स्काउटभित्र सुधार ल्याउनु हो। हामी कुनै व्यक्तिगत स्वार्थका लागि आन्दोलन गरिरहेका छैनौँ।”

नेपाल स्काउट शुद्धीकरण अभियानमा स्काउटका राष्ट्रिय प्रशिक्षक, सहायक् राष्ट्रिय प्रशिक्षक्, बरिष्ठ स्काउटर पूर्व पदाधिकारीहरु , रोभर रेन्जर तथा शुभेच्छुकहरू समेत संलग्न छन्। उनीहरूले यो आन्दोलन संगठनकै उन्नति र शुद्धीकरणका लागि भएको स्पष्ट पारेका छन्।

नेपाल स्काउटभित्र सुधारका लागि सरकार र सम्बन्धित निकायले समयमै गम्भीरता नदेखाए संगठनको अवस्था झन् नाजुक हुने चेतावनी अभियानका अगुवाहरूले दिएका छन्। अब सरकारको भूमिकाले आगामी आन्दोलनको स्वरूप निर्धारण गर्नेछ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ९ : २५ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।