क्यान्सर पीडित बालिकाको उपचारमा अभिभावक उदासीन ! | Khabarhub Khabarhub

क्यान्सर पीडित बालिकाको उपचारमा अभिभावक उदासीन !

सय रुपियाँको सुई लाउन काठमाडौं धाउनुपर्ने बाध्यता


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कुनै समय डरलाग्दो रोगका रुपमा परिचित क्यान्सर उपचारमा आएको सहजतासँगै सामान्य बन्दै गएको छ। क्यान्सरका बिरामीहरु स्वस्थ जीवनयापन गरेका उदाहरण हाम्रा सामु प्रशस्त छन्। अझ वयष्कमा लाग्ने क्यान्सरभन्दा बालबालिकामा लाग्ने क्यान्सर शतप्रतिशत निको पार्न सकिने चिकित्सक बताउँछन् ।

तर पितृसतात्मक समाजमा गरिने छोराछोरीप्रतिको भेदभावपूर्ण व्यवहारको शिकार बालक्यान्सर पीडित छोरी हुने गरेको तथ्य बाहिरिएको छ। बालक छोरालाई क्यान्सर लाग्दा जसरी पनि बचाउनुपर्छ भनेर परिवारका सदस्यले जोडबल गर्छन् भने बालिकालाई क्यान्सर लाग्दा उपचारमा चासो नदिने गरेको कान्ति बाल अस्पतालमा कार्यरत बालक्यान्सर रोग विशेषज्ञ डा. विश्वनाथ अधिकारी बताउँछन्।

उपचारको सुरु गरिसकेका कतिपय बालिकाको बीचमै उपचार छुटाएको पाइएको उनले बताए। डा. अधिकारीको यो कुरा नर्सिङ इञ्चार्ज पराजुली पनि स्वीकार्छिन्। पराजुली भन्छिन्- ‘सबै अभिभावक त त्यस्ता हुँदैनन्। छोरीकै लागि मरिमेट्ने अभिभावक पनि छन् भने कतिपय आमाले उपचार गराउन चाहँदा चाहँदै पनि परिवारका सदस्यले सहमति दिँदैनन्।’

बालक्यान्सरले वयष्कमा लाग्ने क्यान्सरजस्तो दीर्घकालीन असर गर्दैन। समयमै उपचार पाउँदा शतप्रतिशत निको पार्न सकिने चिकित्सकले बताए पनि आम जनमानसमा यसप्रतिको डर र त्रास भने कायमै रहेको छ।

बालबालिकासँगै अभिभावक पनि बिरामी
बालक्यान्सरले वयष्कमा लाग्ने क्यान्सरजस्तो दीर्घकालीन असर गर्दैन। समयमै उपचार पाउँदा शतप्रतिशत निको पार्न सकिने चिकित्सकले बताए पनि आम जनमानसमा यसप्रतिको डर र त्रास भने कायमै रहेको छ।

अझ बालबालिकामा क्यान्सर लाग्दा त झनै अभिभावक पनि बिरामी जस्तै हुन्छन्। एकातिर जागिरको तनाव, उपचारमा लाग्ने खर्च, घर छोडेर काठमाडौं आएर बस्नुपर्ने बाध्यतासँगै उपचार क्रममा सन्तानले भोग्नुपरेको पीडाले आमाको मन छियाछिया हुन्छ।

कान्ति बाल अस्पताल अंकोलोजी वार्डकी नर्सिङ इन्चार्ज रमा पराजुली भन्छिन्- ‘आफ्नो बच्चालाई क्यान्सर भएको थाहा पाएपछि धेरै आमालाई सम्हाल्नै गाह्रो हुन्छ। उनीहरुको मनोभावना बुझ्दै बिस्तारै सबै रिपोर्ट आइसकेपछि मात्रै यो कुरा उनीहरुसँग शेयर गर्छौं। कतिपय अभिभावकलाई काउन्सिलिङको आवश्यकता पर्ने गरेको छ।’

उपचारमा आएको सहजताले आएका धेरै बालबालिका निको भएर जान्छन् तर ढिलो गरी उपचारमा आएका कतिलाई बचाउन नसक्दा साह्रै मन दुख्ने उनले बताइन्। क्यान्सरको उपचार अवधी लामो हुने भएकाले धेरै नर्स बालबालिकासँग नजिक हुन्छन्।
त्यस्ता बालबालिकाको मृत्यु हुँदा धेरै नर्स तनावमा जाने र कतिले जागिर नै छोडेर गएको कान्तिमै कार्यरत बालक्यान्सर रोग विशेषज्ञ डा. विश्वनाथ अधिकारीले बताए।

कान्ति बाल अस्पताल अंकोलोजी वार्डकी नर्सिङ इन्चार्ज रमा पराजुली

कान्तिमा बालक्यान्सर उपचारको अवस्था
अंकोलोली वार्ड इञ्चार्ज पराजुलीका अनुसार ब्लड क्यान्सरका ८ जना र रेटिनोब्लाष्टोमा लगायत अन्य क्यान्सर गरेर १७ जना बालबालिका वार्डमा भर्ना भएर उपचार गराइरहेका छन्। बालक्यान्सरको उपचारका लागि बेडदेखि लिएर अस्पतालमा हुने रगत दिसा पिसाबको जाँच सबै निःशुल्क हुने गरेको डा. अधिकारी बताउँछन्।

उनकाअनुसार अस्पतालमा खानासँगै माछामासु, दूध निःशुल्क दिने गरिएको छ। त्यस्तै विश्व स्वास्थ्य संगठनलगायत विभिन्न संघसंस्थाको सहयोगमा बच्चालाई ३५ प्रकारका औषधी निःशुल्क दिने घोषणा सरकारले गरेको छ। ती औषधी आउने क्रममा रहेको बताइएको छ। जसमध्ये तीन प्रकारका औषधी आइसकेका छन्।

‘सरकारले १४ वर्षमुनिका बालबालिकाको लागि भनेर अनेक प्रयास गरिरहेको छ। त्यसमा पनि केही कठिनाइ छन्। जस्तै अनुसन्धानको कुरा गर्ने हो भने बालबालिकामा हुने सबै क्यान्सरको जाँच हामी कहाँ हुँदैन। ब्लडक्यान्सरको कुनै पनि जाँच नेपालमा हुँदैन’ उनले भने।

डा. अधिकारीअनुसार कतिपय बिरामी बाहिरै धेरै पैसा खर्च गरेर अन्तिममा सरकारी अस्पताल आउँछन्। क्यान्सरको जाँचको लागि ३०-३५ हजार रुपियाँ सुरुमै चाहिन्छ। उपचार क्रममा सुरुमा एक साइकल किमो चलाइसकेपछि त्यसपछिको अवस्था कस्तो छ भनेर फेरि रिपोर्ट भारत पठाउनुपर्ने अवस्था रहेको छ।

यता अभिभावक भने बेड र केही औषधी बाहेक केही निःशुल्क नभएको बताउँछन्। ब्लड क्यान्सर पीडित एक बालकका अभिभावकले भने- बेडचार्ज लिएको छैन, बिहान बेलुका बच्चालाई खाना दिएको छ र दुई वटा सामान्य औषधी बाहेक सबै चेकजाँचको शुल्क लिइएको छ।

उपचार कति खर्चिलो छ ?
क्यान्सर भनिसकेपछि सम्पन्न परिवारलाई पनि उपचार गर्न कठिन हुने डा. अधिकारीले बताए। अभिभावकले आफ्नो सम्पूर्ण घरव्यवहार, जागिर छोडेर उपचारका लागि काठमाडौं आएर बस्नुपर्ने हुन्छ। यसको उपचार अवधि पनि लामो हुन्छ। जस्तै ब्लड क्यान्सरकै कुरा गर्ने हो भने तीनदेखि साढे तीन वर्षको समय लाग्छ भने फलोअप ५ वर्षसम्म गर्नुपर्ने हुन्छ।

यति लामो समयसम्म आवतजावत गर्दा लाग्ने यातायात खर्च, औषधी, सर्जरी, रेडियसन लगायत सबै कुराको लागि थुप्रै खर्च हुन्छ। ब्लड क्यान्सरको बिरामीलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएकाले एउटा सामान्य परिवारले कसैको सहयोग बिना म उपचार गर्छु भन्न सक्ने अवस्था छैन डा. अधिकारीले भने।

हालसालै निकालेको खर्चको विवरणअनुसार एकजना ब्लड क्यान्सर पीडित बच्चाको उपचार गर्नुप-यो भने १३-२० लाखसम्म खर्च लाग्नसक्छ। त्यसमा पनि बच्चाको अवस्था हेरेर हुन्छ। जस्तै कुनै बच्चालाई आइसीयूमा धेरै राख्नुप-यो, संक्रमण भयो र धेरैपटक बोनम्यारो गर्नुप-यो भने यसमा घटबढ हुनसक्ने डा. अधिकारी बताउँछन्।

सरकारले बिपन्न नागरिक लक्षित विभिन्न रोगका लागि एक लाख रुपियाँ दिएको छ। त्यो बालक्यान्सरका बिरामीले पनि पाउँछन् भने प्रदेशले पनि आआफ्नै तरिकाले सहयोग दिइरहेका छन्। स्थानीय तहले उपचार खर्च भनेर मासिक पाँच हजार रुपैयाँ दिने गरेको उनले बताए।

त्यस्तै स्वास्थ्य बीमाबाट वर्षमा एक लाख रुपियाँ बराबरको उपचार खर्च पाइन्छ। यी सबै पक्षबाट सहुलियत भएर उपचार खर्च ७-८ लाख रुपैयाँसम्म झरे पनि उपचारको पाटो सहज बन्न सकेको छैन।

के हो बालक्यान्सर ?
चिकित्सकका अनुसार पछिल्लो समय नसर्ने रोगमध्ये क्यान्सर पनि बालबालिकामा लाग्ने एउटा प्रमुख रोग हो। विश्वको आँकडा हेर्ने हो भने वर्षेनी चार लाख बालबालिका क्यान्सरबाट पीडित हुन्छन्। बालक्यान्सर रोग विशेषज्ञ डा. अधिकारीका अनुसार नेपालमा कति बालबालिकामा क्यान्सर छ भनेर एकिन तथ्याङ्क नभए पनि विभिन्न अध्ययन अनुसार वर्षमा दुई हजार बालबालिका पीडित हुने गरेको पाइएको छ।

नर्ससँग रमाउँदै क्यानसर पीडित एक बालिका ।

अध्ययन अनुसार ती मध्ये ५/६ सय जना उपचारको दायरामा आउँछन् बाँकी ७५ प्रतिशत बालबालिका उपचारको पहुँचभन्दा बाहिर छन् । वयष्कमा क्यान्सर पत्ता लगाउन विभिन्न स्क्रिनिङहरु भइरहे पनि बच्चामा उनीहरुको लक्षणका आधारमा मात्रै पत्ता लगाउनुपर्ने अवस्था रहेको र परीक्षण पनि एकदमै न्यून मात्रामा भइरहेकाले धेरै बालबालिकाहरु उपचारमा आउन नसकेको उनले बताए।

किन हुन्छ बालक्यान्सर ?
मुख्यतयः बालबालिकामा देखिने क्यान्सरको प्रकार भनेको ल्युकेमिया (रक्त क्यान्सर), मस्तिष्क क्यान्सर, लिम्फोमा र ठोस ट्युमर जस्तै न्यूरोब्लास्टोमा र विल्म्स ट्युमर, रेटिनोब्लाष्टोमा (आँखाको क्यान्सर), किड्नीको क्यान्सर, लगायत हरेक अङ्गमा हुने क्यान्सरहरु देखिने गरेको कान्ति बाल अस्पतालका बालक्यान्सर रोग विशेषज्ञ डा. अधिकारीले बताए।

उनका अनुसार वयष्कलाई जस्तो बालबालिकालाई यही कारण क्यान्सर हुन्छ भन्ने अहिलेसम्म पत्ता लागिसकेको अवस्था छैन। कुनै कुनै क्यान्सर वंशाणुगत कारणले हुने सम्भावना छ। तर एकदमै न्यून मात्रामा जस्तै बुवाआमालाई क्यान्सर छ भने बच्चामा पनि हुने सम्भावना ५ प्रतिशत मात्रै हुन्छ। बच्चाको आफ्नै जिनमा परिवर्तन आएर समस्या आउने गर्छ।

जस्तै बच्चाको आफ्नै केही जेनेटिक तथा वातावरणीय कारणले जिनमा आउने परिवर्तनले गर्दा हुन्छ भनिए पनि यसको कारण अनुसन्धानकै क्रममा रहेको डा. अधिकारीले बताए।

ठूलो मानिस र बालक्यान्सरमा भिन्नता
बच्चामा ब्लड क्यान्सर कमन छ भने ठूला मान्छेमा यो थोरैलाई मात्रै देखिने गरेको डा. अधिकारीले बताए। त्यस्तै बालबालिकामा के कारण क्यान्सर हुन्छ भन्ने पत्ता लागेको छैन भने ठूला मान्छेमा क्यान्सरको कारण खुल्न सक्ने अवस्था रहेको छ। त्यस्तै अर्को भिन्नता भनेको ठूलो मान्छेमा जस्तो स्क्रिनिङ गरेर क्यान्सरको सुरुवाती अवस्था पत्ता लगाउन सकिन्छ भने बच्चाहरुमा त्यो सम्भव छैन। लक्षणका आधारमा मात्रै डाइग्नोसिस गर्ने गरिएको डा. अधिकारीको भनाइ छ।

कान्ति बाल अस्पतालमा कार्यरत बालक्यान्सर रोग विशेषज्ञ डा. विश्वनाथ अधिकारी

उनी भन्छन्- ‘ठूलो मान्छेलाई कुनै अङ्गमा क्यान्सर लाग्दा अधिकतम हामीले दिनसक्ने भनेको २० वर्षको समय हो। तर बालबालिकामा लाग्ने क्यान्सरको उपचार समयमै गर्न पाएको खण्डमा उसलाई ६० देखि ८० वर्षसम्म पनि बचाउन सकिन्छ।’
उपचारपछि निको हुने दर बालबालिकामा अधिक रहेको विज्ञहरु बताउँछन्। बच्चाहरुको निको हुने दर ६० प्रतिशत सम्म रहेको बताइन्छ। अझ विकसित देशहरुमा त यो ८० देखि ९० प्रतिशतसम्म रहेको छ। ढिलो गरी उपचारमा आउने प्रवृत्तिले उपचारमा जटिलता थपिने गरेको छ।

बालक्यान्सरको लक्षण
ठूलो मान्छेमा हुने विभिन्न खालका क्यान्सर रोकथाम गर्न सकिन्छ तर बालबालिकामा हुने क्यान्सर रोकथाम गर्न सकिँदैन। त्यसैले बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको छिटो पत्ता लगाउने र छिटो उपचार गर्नु नै यसको विकल्प भएको डा. अधिकारी बताउँछन्।

कुनै बच्चालाई लामो समयदेखि ज्वरो आइरहेको छ र अरु रोग केही पत्ता लागेको छैन भने क्यान्सर हुनसक्छ। त्यस्तै बेलाबेलामा संक्रमण आइरहने, बच्चा फुस्रो हुँदै जाने, शरीरमा साना साना दाग बस्ने, कलेजो, फियो, ग्रन्थी सुन्निनेजस्ता लक्षण देखिए भने ब्लड क्यान्सर भनेर शंका गर्न सकिन्छ।

त्यस्तै आँखाको क्यान्सर छ भने आँखामा लाईट बाल्दा सेतो देखिने, आँखा फुल्दै जाने, भित्र पस्ने, आँखा टेढो हुनेजस्ता लक्षणहरु देखिन सक्छ। ब्रेन ट्युमर छ भने लामो समयसम्म टाउको दुख्ने, बान्ता आउनेजस्ता लक्षण देखिनसक्छन्। त्यस्तै तौल कम हुने, हाडजोर्नी दुख्ने जस्ता लक्षण देखिन सक्छ।

समयमै उपचार पाए निदान हुन्छ बालक्यान्सर
बालक्यान्सर पूर्णतया निको हुने दर ६० देखि ७० प्रतिशत हुन्छ। त्यो बाहेक ४० मा २० प्रतिशत बालबालिकालाई पूर्णरुपमा निको हुँदैन भने बाँकी १० प्रतिशत जति बालबालिकाको मृत्यु हुने गरेको डा. अधिकारीले बताए।

उपचारमा ढिलो गरी आउँदा निको हुने दर बढाउन नसकिएको उनको भनाइ छ। उनका अनुसार ब्लड क्यान्सरको स्टेज हुँदैन। तर अरु ट्युरमरहरु जस्तै अङ्गहरुको क्यान्सरमा भने बिरामीको अवस्था कस्तो छ भनेर स्टेजिङ गर्ने हो। त्यो हिसाबले हेर्दा विकसित देशहरुमा जस्तो सुरुवाती अवस्थामा थोरै मात्रै आउँछन्। धेरै बिरामीहरुमा ढिलो गरी उपचारमा आउँदा निको हुने दर कम रहेको छ।

उपचारमा चुनौती र सरकारको काम
जनचेतना नै उपचारको पहुँचमा नपुग्नुको मुख्य चुनौती रहेको डा. अधिकारी बताउँछन्। उनका अनुसार जनचेतनाकै लागि भनेर सरकार लगायत यससंग सम्बन्धित चिकित्सक तथा विभिन्न निकायहरुले बेलाबेलामा कार्यक्रम गर्ने गरेका छन्।

जस्तै विभिन्न जिल्लाका अस्पतालहरुमा पीएच लेवलसम्मका चिकित्सकहरुलाई बालक्यान्सरबारे तालिम दिइएको छ। धेरै स्वास्थ्यकर्मीहरुलाई नै बालबालिकालाई पनि क्यान्सर हुन्छ भन्ने चेतना नै छैन।

त्यस्तै बालक्यान्सरको उपचारमा जनशक्ति एकदमै कम छ। कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल र बीपी कोइराला मेमोरियल अस्पताल भरतपुर चितवन गरी चार सरकारी अस्पतालहरुमा बालक्यान्सरको उपचार हुने गरेको छ।

यी अस्पतालहरुमध्ये कान्तिमा ३ र अन्य अस्पतालमा एकाधजना मात्रै विशेषज्ञ चिकित्सकहरु रहेको अवस्था छ। त्यस्तै बालक्यान्सरसंग सम्बन्धित दक्ष नर्सहरुको व्यवस्था छैन। यसमा जोखिम धेरै, सेवासुविधा भनेजस्तो नहुँदा उनीहरु जान चाहँदैनन।

त्यस्तै अर्को कुरा भनेको क्यान्सरको उपचार गर्दा बिरामी लामो समय अस्पतालमा रहन्छन्। त्यो अवधीमा बालबालिका र नर्सहरुबीच सामिप्य बढ्छ। केही गरी त्यस्ता बालबालिका बचाउन नसकेको स्थितिमा उनीहरु आफैँ तनावमा जाने र कतिले जागिर छोडेको उदाहरण उनले दिए।

त्यस्तै नेपालमा अहिलेसम्म पेडियाट्रिक अंकोलोजिष्टको दरबन्दी नै छैन। त्यो कारणले कतिपय अस्पतालहरुमा उपचारमा लापरवाही भएको पाइएको छ। त्यस्तै परीक्षणको पाटो पनि उतिक्कै चुनौतीपूर्ण छ। अधिकारी भन्छन्- हामीसँग सबै क्यान्सर पत्ता लगाउन पर्याप्त उपकरण छैन। परीक्षणको दायरा बढाउन सकेमात्रै रोगको पहिचान हुने हो। त्यसैले उपचारका क्रममा गर्नुपर्ने जाँचहरुको दायरा बढाउनु पर्छ।

बालक्यान्सरको उपचार हुने सवै अस्पतालहरुमा बढाउन नसके पनि कुनै एउटा अस्पतालमा सबै क्यान्सरको परीक्षणका उपकरण राख्ने, कुनै अस्पतालमा रेडिएशन राख्ने र कुनैमा अन्य उपचारको व्यवस्था भयो भने आवश्यकता अनुसार सहकार्य गर्न सकिने चिकित्सकको तर्क छ।

‘बालक्यान्सर सर्जनको संख्या न्यून रहेकाले जनशक्ति बढाउने जस्ता काम गर्न सके धेरै बालबालिकालाई उपचारको दायरामा ल्याउन सकिन्छ।’

बालक्यान्सरको उपचार कसरी प्रभावकारी होला त ? त्यसको समाधन विन्दु खोज्दै डाक्टर अधिकारी थप्छन्- ‘बालक्यान्सर सर्जनहरुको संख्या न्यून रहेकाले जनशक्ति बढाउने जस्ता काम गर्न सके धेरै बालबालिकालाई उपचारको दायरामा ल्याउन सकिन्छ। सरकारले निशुल्क उपचार गर्छ भन्दैमा सवै उपचार निशुल्क हुन्छ भन्ने हुँदैन। विभिन्न कर्पोरेट तथा संघ संस्थाहरुको सहयोग आवश्यक हुन्छ। जस्तै भारतकै कुरा गर्ने हो भने एउटा सरकारी स्वास्थ्य संस्थामा छिरेपछि लगभग सम्पूर्ण उपचार निशुल्क हुन्छ।’

केन्द्रमा मात्रै सिमित रहेको सेवालाई कसरी सबैको पहुँचमा पु-याउन सकिन्छ भनेर सातवटै प्रदेशमा शेयर केयर सेन्टर खोल्ने योजनामा सरकार रहेको छ। यसपछि मुख्य उपचार काठमाडौंमै र सामान्य उपचार आफ्नै प्रदेशमा सम्भव हुनेछ।

जस्तै ब्लड क्यान्सरका बिरामीलाई महिनामा एउटा खोप अनिवार्य लगाउनु पर्छ। जसको मूल्य सय रुपैयाँ पर्छ। अहिले त्यही खोप लगाउन काठमाडौं आउनुपर्ने अवस्था छ।

कोभिडको समयमा एकजना अभिभावकले १ सयको खोप लगाउन ७५ हजार खर्च गर्नुपरेको उदाहरण दिँदै डा. अधिकारीले भने यस्ता कुराले गर्दा उपचारको दायरालाई घटाइदिने काम गर्छ। त्यस्तै विद्यालय नर्सलाई यस विषयमा तालिम दिने बारेमा प्रक्रिया अघि बढाइएको बताइएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ७ : ०३ बजे

तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित

जनकपुरधाम– बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केबरस्थित शाखा अस्पतालले

कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर श्रीमान् फरार

धनगढी– कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन्

इरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै

रोम- इरान र संयुक्त राज्य अमेरिकाबीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो

आन्दोलनरत शिक्षक महासंघले बोलायो बैठक

काठमाडौं– सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा

सत्तासाझेदारीमा कुनै समस्या छैन : गृहमन्त्री 

गण्डकी– गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल