'युद्धमा सबैभन्दा पहिले सत्य मर्छ' | Khabarhub Khabarhub

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

भारत–पाकिस्तान तनावमा मिडियाका लागि सत्यको कुनै अर्थ छैन ?


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच युद्धको जयजयकार गर्न। तर भारत-पाकिस्तान युद्धमा मिडिया सत्य भन्दा एक अर्काको जयजयकारमा व्यस्त देखिन्छन्।

युद्धमा सबैभन्दा पहिला मर्ने कुरा हो- सत्य। भारतीय सञ्चारमाध्यम सत्य मार्न मात्रै सीमित छैन जस्तो देखिन्छन्। पछिल्ला केही दिनयता, युद्धमा उन्मत्त समाचार वाचक, सामाजिक सञ्जालका ट्रोल र विश्लेषकबाट उत्साहित हुँदै, सत्यलाई कुल्चन, च्याप्न, टुक्रा पार्न, जलाउन र त्यसको खरानी हिन्द महासागरमा फ्याँक्नसम्म पुगेका छन्।

यहाँनिर ग्रीक नाटककार एस्कुलस (५२५-५२४ ई.पू.- ४५६-४५५ ई.पू.) लाई सम्झनु उचित हुन्छ। उनी सम्भवतः राज्यद्वारा फैल्याइने अफवाह र मुखमार्फत् फैलाइने प्रचारप्रति संकेत गरिरहेका थिए। त्यो समय सरल थियो- राज्यले असत्य फैलाएर पनि सजिलै उम्किन्थे। तर २१ औं शताब्दीमा, जहाँ सूचना सिमानाले बाँधिएको छैन, यस्तो झूट फैलाउन दुस्साहस चाहिन्छ।

विकृत मेटाभर्समा

पछिल्लो २४ घण्टामा भारतीय सञ्चार प्रणालीबाट आएको झूट अचम्म लाग्दो किसिमको थियो- कतिपय त पागलपनकै स्तरको। उदाहरणका लागि भारतीय सञ्चारमाध्यमले पाकिस्तानमा बिहीबार र शुक्रबार राति यस्ता घटनाहरू भएको भन्दै प्रचार गरे।

कराची बन्दरगाह भारतीय नौसेनाले ध्वस्त पारेको समाचार (यथार्थमा होइन- किनकि त्यहाँका छेउको रेस्टुरेन्टमा दैनिकीमा कुनै फरक परेको छैन।)

पाकिस्तानका सेनापति जनरल असीम मुनिरलाई ‘कू’ पछि पक्राउ गरिएको (पाकिस्तानमा कसैले थाहा नपाए पनि भारतीय सञ्चारमाध्यम निकै विश्वस्त थियो।)

भारतीय सेनाले इस्लामाबादमा हमला गरेर कब्जा गरेको र प्रधानमन्त्री शहबाज शरीफलाई सुरक्षित स्थानमा सारिएको (तर त्यो ‘सुरक्षित स्थान’ कहाँ छ ?)

पाकिस्तानी एफ-१६ वा जेएफ-१७ लडाकु विमान खसालिएको (भारतीय सञ्चारमाध्यमलाई पनि थाहा थिएन, कुन विमान खसाल्ने भन्नेमा अन्योलमा थिए।)

पाकिस्तानी पाइलट पक्राउ परेको (उनीहरू अझै अभिनन्दनको सम्झनाबाट मुक्त हुन सकेका छैनन्।)

यी कुरा हास्यास्पद पनि देखिन्थ्यो, तर सँगसँगै दुःखद पनि छ। बुधबार भारतीय सेनाले पाकिस्तानमा हवाई हमला गरेपछि ३१ नागरिक मारिए, दर्जनौं घाइते भए। यता पनि क्षति भएको रिपोर्ट छन्। तर नागरिक प्राण गुमाइरहँदा भारतीय सञ्चारमाध्यम चाहिँ युद्धका डमरु बजाइरहेको छ, भाजपाको हिंसात्मक भाषणको जयजयकार गर्दै २५ करोड जनसंख्या भएको देश पाकिस्तानलाई नष्ट गर्नुपर्ने आह्वान गरिरहेको छ।

वास्तवमा सोच्नुस्, कति अचेत मानिस हुनुपर्छ आणविक युद्धको समर्थन गर्न। तर भारतीय सञ्चारमाध्यम अझै विनाशको खतरा बढाउने काममै लागेको देखिन्छ।

सजगता र विवेकका पक्षमा बोलौँ

यदि कुनै वैकल्पिक संसारमा, जहाँ विवेकले उग्रराष्ट्रवादलाई जितेको छ भने, दुवै देशका सञ्चारमाध्यमले युद्ध भड्काउने होइन, संवादको पुल बन्ने प्रयास गर्ने थिए।

साँचो पत्रकारिता तथ्यमा आधारित हुन्छ, कल्पनामा होइन। पत्रकारिताले सत्तालाई प्रश्न गर्छ, हिंसा बढाउन उक्साउँदैन। युद्धजस्तो संवेदनशील अवस्थामा पत्रकारिताले झूट होइन, सत्य खोज्नुपर्छ र दुवै पक्षको दृष्टिकोण ल्याउनुपर्छ- सानो गलतफहमीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ।

झूटा समाचारले जनतामा त्रास फैलाउन सक्छ, जसले प्रतिपक्षलाई हतारमा निर्णय गर्न बाध्य पार्न सक्छ- परिणाम अझ भयावह हुन्छ। साथै, आफ्नै जनतालाई सत्य सूचित गर्नु उनीहरूकै सुरक्षाका लागि अत्यावश्यक हुन्छ।

जर्मनीको फ्रेडरिक न्याउमन फाउन्डेशनले प्रकाशित गरेको ‘संघर्ष-संवेदनशील रिपोर्टिङ’ पुस्तिका अनुसार, यस्ता समयमा सञ्चारमाध्यमले सहमति निर्माण, गलत कुरा सच्याउने र दुश्मनलाई पनि मानवको रूपमा चित्रण गर्ने काम गर्नुपर्छ।

युद्धमा सूचनामा अलमल त हुन्छ नै। तर भारतीय सञ्चारमाध्यमले त यसपालि सीमा नाघेर कल्पनाका कथा नै बेच्न थालेको देखियो।

यस्तो प्रवृत्ति नयाँ होइन। सन् २०१६ मा युरोपेली संघको ‘इन्डिया क्रोनिकल्स’ रिपोर्टले भारतबाट सञ्चालित फेक मिडिया र थिङ्क ट्याङ्कमार्फत् फैलाइने संगठित झूट उजागर गरिसकेको थियो।

पछिल्ला दिनमा जुन स्तरको झूट, घृणा र युद्ध उक्साहट देखियो, त्यो ऐतिहासिक छ। सामाजिक सञ्जालका युट्युबरदेखि मुख्यधारा मिडियासम्मले भाजपा सरकारको नकारात्मकता फैल्याउने अभियानलाई बढावा मात्र दिएनन्, बरु प्रगतिशील ठानिएका कतिपयले समेत उही युद्धको डंका बजाउन थाले।

यो सबै रेटिङका लागि ?

सायद, तर अझ बढी सम्भावना छ- अन्तर्राष्ट्रिय स्तरमा भारतीय वायुसेना (आईएएफ) का विमान खसालिएको पुष्टि भएपछि आफ्नै जनतालाई ढाँट्न गरिएको हतारो प्रयास हो। विशेषगरी राफेल लडाकु विमान (जसको खरिदमा नै भ्रष्टाचार भएको थियो) खस्नु भारतका लागि अपमानजनक थियो। रोचक कुरा, यिनै घटनाको पृष्ठभूमिमा सञ्चारमाध्यममा भ्रम फैल्याउन मिडिया सुरु भएको हो।

सायद यो आफ्नै जनतामाथि गरिने मनोवैज्ञानिक अपरेसन हो- विजयको भ्रम सिर्जना गर्न। तर कसैले विचार गरेनन्, सत्य बाहिर आउँदा त्यो उन्मत्त जनताको प्रतिक्रिया के हुनेछ ? अनि अन्तर्राष्ट्रिय मञ्चमा भारतीय सञ्चारमाध्यमको विश्वसनीयता कति गिर्छ ?

अहिले समाचार आइरहेको छ कि सरकारले ‘द वायर’ नामक वेबसाइटमा प्रतिबन्ध लगाएको छ (जुन केही थोरै संस्थामा पर्दछ, जसले राज्यको आधिकारिक कथालाई प्रश्न गरिरहेको थियो।)

‘द वायर’ ले घृणा होइन, तथ्यको खोजी गरिरहेको थियो। अब समय आएको छ कि भारतीय पत्रकारले बुझून्भा-जपाको प्रचार यन्त्र बनेर सीमापारका जनतामाथि घृणा उछालेर लामो समय टिक्न सकिँदैन। पत्रकारिता सत्य र साहसमा अडिएको हुन्छ। त्यसो हुन नसके पत्रकार एउटा केवल कलम धारण गर्ने कर्मचारी मात्र हुन्छ।

शाहजैब अहमद कराँचीस्थित आईबीए (इन्स्टिच्युट अफ बिजनेस एडमिनिस्ट्रेसन) मा प्राध्यापक हुन्। उनी डनडटकममा सम्पादकीय सल्लाहकारको रूपमा कार्यरत छन्।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ८ : १५ बजे

आणविक युद्ध भइहाले ज्यान जोगाउन के गर्ने ?

काठमाडौं– शनिबार पनि भारत र पाकिस्तानबीच आक्रमण–प्रत्याक्रमण जारी छ ।

केशर पुस्तकालय : नेशनल डिजिटल लाइब्रेरी बनाउने लक्ष्य, बजेट नहुँदा समस्या

काठमाडौं – पहिला पहिला भनिन्थ्यो– ‘नयाँ पुस्तक किन, पुरानो कोट

‘तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत

काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध

चैत्र १५ को घटनामा पक्राउ परेकालाई रिहा गर्न माग

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौंमा