गाईजात्रा अर्थात्‌ भूतोन्मादको उपचार ! | Khabarhub Khabarhub

संस्कृति

गाईजात्रा अर्थात्‌ भूतोन्मादको उपचार !

‘गाईजात्रा बुद्धको मारको सम्झनामा खडा भएको सांस्कृतिक रूप होइन’



गाई-जात्रा श्रावण पूर्णिमाको भोलिपल्ट गाई-जात्राको दिन आउँछ । यो दिन खास गरेर मृत परिवारको तर्फबाट गाईको अथवा गाईको प्रतिनिधित्वमा मानिसलाई सजाएर नगर परिक्रमा गर्ने जात्रा हुन्छ । ठाउँ-ठाउँमा तिनीहरूको पूजा हुन्छ ।

तर गाई-जात्रा शब्दले हाम्रो समक्ष अर्के ध्वनि हुन्छ । गाईको खास पूजा हाम्रो संस्कृतिअनुसार लक्ष्मी पूजाको दिन हुन्छ । श्रावण महिनाको गाई-जात्रामा हुने गाई-पूजा खास गाईको पूजा होइन । मेरो विचारमा यो एक हाम्रो मनोविकृतिभित्रको उपचारमा उल्लेख भएको प्रक्रियाका ऐतिहासिक रूप हो ।

मानिसको मन विकृत भइ पागल हुन सक्दछ । पागल हुनमा धेरै कारण छन् । उहिलेका आचार्यहरूले सबै उन्मादको कारण यथार्थरूपमा त्रिदोष सिद्धान्तअनुसार पत्ता लगाउन सकेका छैनन् । त्रिदोष सिद्धान्तबाट पत्ता लगाउन नसकेको उन्मादलाई भूतोन्माद भन्ने संज्ञा दिएका छन् ।

भूतोन्माद धेरै प्रकारका छन्, तर यहाँ गाई-जात्रालाई लिएर विचार गर्दा गन्धर्व-ग्रहबाट पैदा हुने भन्ने भूतोन्माद-चाहिँ विचारणीय छ । गन्धर्व-ग्रह शान्त गर्न गाईहरूको बीचमा बलि दिने, पूजा गर्ने भनेर आयुर्वेद-शास्त्रहरूमा उल्लेख भएको छ । तथा गन्धर्ष-ग्रह-बाट पीडित व्यक्तिको मनोभावना, विशेष गरेर नाच्ने गाउने, हाँस्ने-हँसाउने, मीठा-मीठा कुराहरू गर्ने, फूलका मालाहरू लगाएर प्रसन्न भएर हिँड्ने आदि आदि हुन्छन् ।

वास्तवमा मेरो विचारमा पागलपनको स्थिति हाम्रो गाई-जात्राको दिन अनेक पागलपनको अभिनय गरेर, गाएर, नाचेर, हाँसेर, हँसाएर, मीठा-मीठा चु‌ट्किलाहरू सुनाएर हिँड्ने आदि अनेक प्रकारका हाम्रा सांस्कृतिक परम्परासँग ज्यादै सामञ्जस्य रहेको छ । यसरी पागलपनको अभिनयसँग गाईलाई पूजा गर्ने हाम्रो चाडले अवश्यमेव गन्धर्वहरूबाट हुने भूतोन्माद‌को सत्यता हाम्रो समक्ष आउँछ । मृत परिवारबाट मनाइने गाई-जात्राले पनि यो चाड चिकित्साशास्त्रसँग निकट सम्पर्क रहेको स्थिति-लाई प्रकारान्तरले व्यक्त गर्दछ ।

हुन त हाम्रा ऐतिहासिक ग्रन्थहरूमा यस प्रकारको सम्बन्ध गाई-जात्राको प्रकरणमा उल्लेख भएको पढ्न पाइएको छैन । करिब पाँचसय वर्षजति पहिले लेखिएको गोपाल वंशावलीमा यस चाडको विषयमा केवल नाउँले मात्र उल्लेख गरेको छ । यसकारण पाठकहरू यस कुरामा सहमत हुन अन्योलमा पर्नेछन् ।

तर वास्तविक कुराको अध्ययनको क्रममा यस प्रकारका तथ्य कुरालाई पनि उपेक्षा गर्न सकिँदैन । यद्यपि आजकाल हामीलाई थाहा छैन कि गन्धर्वग्रहको उत्पीडन कस्तो हुन्छ ? तर न्यूगिनी आदि विश्वका कतिपय स्थानहरूमा फैलिरहेका विशेष हाँस्नुपर्ने पागलपनको महामारीको खबरले यो कुरा कुनै अनौठा लाग्दैन कि उहिलेको जमानामा हाम्रो देशमा पनि यस्तै अनेक ढङ्गका पागलपन को बिमारीले काठमाडौँ निवासीहरू धेरै मरेका थिए । जसबाट त्यसको शान्ति-का लागि आफ्नो कार्य परम्पराअनुसार गाईको बीचमा बलि दिने, पूजा गर्ने प्रक्रियालाई व्यापक ढङ्गमा अपनाएका थिए ।

हुन सक्छ, यो प्रक्रिया पागलले या पागलपनको कारण दिवंगत भएका व्यक्तिको परिवारले मात्र मनाउने स्थितिमा रहेता पनि कुनै बखत ठूलो महामारीको रूपमा फैलिएको यस रोगको घटनाले त्रस्त भएका उहिलेका जनताले वर्षेनी मनाउन थाले, जुन आजसम्म चल्दै आएको छ ।

हाम्रा देशवासीहरू परम्परामा अधिक विश्वास गर्ने मएकोले कहिलेकाहीं यहाँ हैजाको प्रकोप मएको बेलामा पनि हाम्रो यहाँ अद्यापि टोल-टोलमा शान्ति-स्वस्तिको पूजा गर्ने चलन चल्दै आएको हामीले देखेका छौँ । यो कुरा त्यही हाम्रो प्राचीन परम्पराको संस्कार हो, जुन कुरा विचारणीय छ ।

पागलपनको अभिनयले अवश्यमेव मानिसलाई हँसाउँछ । कालान्तरमा संभवतः यही कुरा खेतीपातीको कामबाट फुर्सद पाएका अथवा सामुदायिक खेतीपातिको काममा एकत्रित भएका उहिलेका जनताको आमोद-प्रमोदको दिनमा परिणत भयो । जुन दिन आज बौद्धमागाँहरूले मारको रूपमा सम्झने परम्परा बनाएतापनि आमोद-प्रमोदकै रूपमा चलेको छ । यसै आमोद-प्रमोदको संस्कारलाई आमस्वतन्त्रताको संज्ञा पनि प्रदान गरियो ।

वास्तवमा कुनै घटना हुन्छ । कालान्तरमा त्यसले इतिहासको रूप धारण गर्दछ । त्यही इतिहास कविको कलमले र जनताको परम्परामा तल ओह्नदै आएको कथानक बोलीले किंवदन्तीमा परिणत हुन जान्छ । व्यक्ति विषयको विभिन्न भनाइमा किंवदन्तीको पनि अनेक रूप देखापर्ने हुन्छ । तर वास्तवमा यी कुराहरूको पनि ऐतिहासिक क्रम हुन्छ ।

जहाँसम्म सत्य कुराको खोजको प्रश्न छ, अज्ञानबाट वा शानबाट उठेको हठधर्मी विचार-लाई छाडेर हाम्रो संस्कृति विषयको अध्ययन यस्ता कुराहरूमा आधारित भएको हुनु अत्यावश्यक छ । अन्यथा परम्पराअनुसार लेखिएका हाम्रो धर्म-शास्त्र, पुराण, जातक, वंशावली आदिमा उल्लेख भएका कुराहरूको यथार्थताबाट परिचित हुन ज्यादै कठिन हुनेछ । यसकारण गाईजात्रालाई बुद्धको मारको सम्झनामा खडा भएको एक सांस्कृतिक रूप हो भन्नु उपरोक्त तथ्य कुराहरूसँग कहाँसम्म न्यायोचित तर्कसंगतको कुरा छ, विचारणीय छ ।

मेरो विचारमा बुद्धले मार विजय गरेको भन्ने ललितविस्तरजस्ता ग्रन्थ-हरूमा उल्लेख भएको दिन र हाम्रो पागलपनको अभिनय गर्ने गाई-जात्राको सांस्कृतिक परम्पराको दिन एकै दिनमा जुटेको हुनाले गाईजात्रालाई नै मारको रूपमा बौद्ध‌मार्गीहरूले सम्झन लागेको देखिन्छ । अन्यथा मार के हो ? (जसको यथार्थ रूप माथि उल्लेख भइसकेको छ) गाईजात्रा के हो ? यसको पृथक रूप हाम्रो समक्ष हुँदाहुँदै अन्धविश्वासमा हामी पर्न सक्दैनौं ।

(गाईजात्राबारे प्रस्तुत लेख संस्कृतिविद्‌ मनबज्र बज्राचार्यको ‘हाम्रा चाड-पर्वहरूको विवेचना’ पुस्तकबाट साभार गरिएको हो । उक्त पुस्तक रत्न पुस्तक भण्डारले वि.सं. २०२५ मा प्रकाशन गरेको थियो । सं.)

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १२ : १४ बजे

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले

भारतको बाढीपहिरोमा २६ नेपाली बेपत्ता (नामसहित)

काठमाडौँ – भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक