आफैँ थलिएको विभागले कसरी गर्ला देशभरका यातायातको व्यवस्थापन ? | Khabarhub Khabarhub

आफैँ थलिएको विभागले कसरी गर्ला देशभरका यातायातको व्यवस्थापन ?

नयाँ प्रिन्टर खरिद गर्ने योजना, इम्बोस्ड नम्बरको काम स्थगित



काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण देशभरको यातायात क्षेत्रलाई व्यवस्थापन गर्ने मुख्यालय यातायात व्यवस्था विभाग आफैँ एक महिनादेखि थलिएको छ ।

विभागसँग सेवा सुचारु गर्न न भवन छ, न त सेवाग्राहीको सूचना प्रविष्ट गर्ने कुनै प्रणाली नै । जसकारण विभाग यतिबेला सेवाग्राहीका लागि बनाएको प्रतीक्षालयको ओत लिएर सेवा सुचारु गर्ने दौडधुपमा छ । आगलागीबाट ३ अर्ब बढी क्षति व्यहोरेको विभागसँगै दैनिक हजारौँ सेवाग्राहीलाई सेवा दिने देशभरिका ४४ यातायात व्यवस्था कार्यालयको अवस्था पनि अहिले उस्तै छ । 

आन्दोलन क्रममा देशभरीका कार्यालयले काम गर्ने विभागको मुख्य सर्भर नै नष्ट भएको छ । उक्त सर्भरको केही भाग जोगिएको भए पनि सेवा सुचारु गर्न सक्ने अवस्था नरहेको विभागले बताएको छ । ‘अहिले हामीसँग भवन पनि छैन, काम गर्न कुनै प्रणाली पनि छैन, पहिलो चरणमा हामीले क्षतिग्रस्त भवनको रेट्रोफिट गराइरहेका छौँ । अन्य कामका लागि समन्वय हुँदै छ,’ विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताए । 

उनले थपे, ‘मुख्य सर्भरमा भएका तीन/चार वटा डिभाइसले काम गरेपनि त्यसबाट सेवा सुचारु गर्न सक्ने अवस्था छैन । डाटा सेन्टर पूर्णरूपमा सुचारु गर्न सार्वजनिक खरिद नियमावली भित्र रहेर काम गर्नुपर्ने भएकाले सबै प्रक्रिया पूरा गर्दा सामान आउन ४/५ महिना बढी लाग्छ भने ४/५ करोड जुटाउनु पर्ने हुन्छ ।’

लामो समयसम्म सेवा ठप्प हुँदा एकातिर उपभोक्तालाई सास्ती अर्कोतिर विभागमाथि समेत दायित्व बढ्ने हुँदा छठसम्ममा काम सुचारु गर्नेगरी तयारी थालेको बताए । 

‘विभागले सरकारको एकीकृत डाटा व्यवस्थापन केन्द्र, सुरक्षण मुद्रण केन्द्र, मन्त्रालय तथा विभाग आफुसँगै भएका केही सामान र केही अत्यावश्यक सामान खरिद प्रक्रियामार्फत जुटाएर छठसम्ममा एकीकृत डाटा व्यवस्थापन केन्द्रबाटै भएपनि अस्थायी रूपमा सेवा दिनेगरी तयारी थालेको छ । 

अस्थायी रूपमा स्थापना गरेको केन्द्रबाट सेवा दिँदा त्यसको क्षमताअनुरुप विभिन्न कार्यालयले बिहान दिउँसो र साँझ गरी फरक फरक समयमा प्रणालीलाई लोड नपर्ने गरी मुलुकभर नै सेवा सुचारु गर्ने गरी तयारी थालिएको उनले बताए । 

‘अस्थायी सेन्टरले पूर्ण क्षमतामा काम भने गर्दैन, सिष्टमको गति र मेमोरी के कति हुन्छ सो अनुरूप फरक फरक–फरक समयमा काम गर्नुपर्ने हुनसक्छ,’ उनले थपे ।

यस्तै विभागले नयाँ तथा नवीकरणका गरी दैनिक ५/७ हजार थान लाइसेन्स छाप्नुपर्ने हुन्छ । उक्त तथ्यांक अनुसार महिनामा डेढ लाख बढी लाइसेन्स सेवाग्राहीको हातमा पुग्नुपर्नेछ । विभागको प्रणाली सुचारु गर्ने बित्तिकै लाइसेन्स छाप्ने प्रिन्टर पनि अत्यावश्यक छ ।

यो पनि पढ्नुहोस् :

जसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव र विभागले २ वटा नयाँ प्रिन्टर तत्काल खरिद गर्नेबारे छलफल चलाइरहेको खतिवडाको भनाई छ । 

आगजनीबाट २२ हजार सवारी अनुमतिपत्र छाप्नुपर्नेमा १८ हजार छपाई भएर बसेका लाइसेन्स जलेको विभागको अनुमान छ । यसमध्ये करिब ३ हजार लाइसेन्स भने सुरक्षित भेटिएको खतिवडा बताउँछन् ।

सार्वजनिक खरिदका केही प्रक्रियामध्ये सरकार टु सरकार सबैभन्दा छोटो प्रक्रिया हुनसक्ने उनले बताए । 

‘हाल क्षतिग्रस्त बनेको प्रिन्टर इटलीबाट खरिद गरिएको थियो । नयाँ खरिदका लागि पनि सरकार विदेशी कम्पनीमै निर्भर रहनुपर्छ जसकारण गर्भमेन्ट टु गर्भमेन्ट प्रक्रिया सबैभन्दा छोटो बाटो हो ।’ उनले थपे ।

 जसका लागि विभाग यतिबेला दूताबास एनआरएनएलाई पत्र लेख्ने सरसल्लाहमै खुम्चिएको छ । उक्त प्रक्रियामार्फत खरिद गर्न सकिएन भने ठेक्का आह्वानमै जानुपर्ने उनले बताए । 

२०७५ सालदेखि सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ताको जिम्मा प्रदेश सरकार मातहत रहेको छ । तर पनि प्रदेशहरू प्राविधिक पाटोमा केन्द्रमै निहित हुनुपरेको छ । बाग्मती प्रदेशको भने आफ्नै सर्भर रहेकाले सवारी दर्ताको काममा कुनै अवरोध छैन । लाइसेन्सको लागि परीक्षा दिने लगायतको कामका लागि भने विभागकै सिष्टम सुचारु हुनु पर्नेछ । 

देशभरका कार्यालयमा के कति क्षति भएको छ भन्नेबारे भने महिना दिन बितिसक्दा पनि विभाग अनभिज्ञ छ । ‘बाग्मती प्रदेशमा ४ वटा यातायात कार्यालयमा पूर्ण क्षति भएको भन्ने छ, पूर्वको बिर्तामोडको यातायात कार्यालयमा पूर्ण क्षति भएको भन्ने आएको छ, लहान, कास्की काठमाडौं उपत्यकामा पनि २/३ वटामा क्षति भएको भन्ने आएको छ, सबैको एकीकृत रिपोर्ट चाहिँ हामीसँग आएको छैन,’ खतिवडाले बताए । 

यो पनि पढ्नुहोस् :

इम्बोस्ड नम्बर प्लेट जडानको हकमा भने तत्काल कुनै काम गर्न सकिने अवस्था नरहेको उनको भनाई छ । 
गत साउनसम्म ८ लाख १९ हजार ५९ वटा इम्बोस्ड नम्बर प्लेट तयार भएको थियो । त्योमध्ये करिब दुई लाख हाराहारी मात्र सम्बन्धित प्रदेश र त्यसअन्तर्गतका कार्यालयहरूमा पठाइएको थियो । बाँकी नम्बर प्लेट विभागमै रहेको र पठाउने तयारी हुँदै गर्दा आगलागीबाट नष्ट भएको हो । 

विभागको अनुसार करिब ६ लाख १९ हजार नम्बर प्लेट जलेर नष्ट भएको छ । जसमा साउनसम्म दुईपांग्रे ६ लाख ३२ हजार १ सय ४१, चारपांग्रे १ लाख ६४ हजार १ सय ९१, हेभी सवारीका लागि १४ हजार ५ सय ८२ र तीनपांग्रेका लागि ८ हजार १ सय ४५ वटा इम्बोस्ड नम्बर प्लेट तयार गरिएको थियो । 

तर आगलागीबाट प्लेट उत्पादन गर्ने प्लान्ट, प्लान्ट रहेको अस्थायी भवन समेत नष्ट भएको छ । विभागले बिहीबार मात्रै प्रदेश मन्त्रालयमा समन्वय गरी सम्भव भएसम्म सेवा सुचारु गर्न निर्देशन समेत दिएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : १३ बजे

निर्वाचन हुने कुरामा ढुक्क छैनन् कांग्रेस-एमाले, शीतल निवासमा उठाए सरकारको निष्पक्षमाथि प्रश्न

काठमाडाै‌ – शुक्रबार दिउँसो दुईवटा बैठकमा नेताहरूको ध्यान थियोे ।

सम्पदा संरक्षण अभियन्ता श्रेष्ठसहित चारजना जेन-जीबाट मन्त्री बन्दै

काठमाडौँ- युवा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक

मुगुमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

मुगु – मुगुको खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज

अष्टलक्ष्मीले केपी ओलीको राजीनामा माग्दा विष्णु पौडेलले भने- विद्या भण्डारीलाई पार्टीमा ‘वेलकम’ गरौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व त्यागको दबाब

निर्वाचनको तयारीमा जुट्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी फागुन २१