केपी ओलीले ढोका नखोलेपछि प्रचण्ड-माधवसँग मिसिँदै भीम रावल | Khabarhub Khabarhub

केपी ओलीले ढोका नखोलेपछि प्रचण्ड-माधवसँग मिसिँदै भीम रावल

विप्लव, जनार्दन र घनश्यामको अलग्गै मोर्चा



काठमाडौं- वाम एकताको चर्चा चलिरहेका बेलामा नेताहरू छिन्नभिन्न भएर आफ्नो टिम बनाउन सक्रिय छन् । एकीकृत समाजवादीका केही नेताहरू पुरानो घर एमालेमै फर्किने तयारीमा छन् ।

नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठ लगायत नेताहरू एमालेमा फर्किँदैछन् । नवगठित नेपाली कम्युनिस्ट पार्टीतिर जान नसकेका र एमालेमा फर्किन नसकेका नेताहरू पनि आफ्नो तयारीमा छन् ।

माधव प्रचण्डसँग मिल्दै भीम रावल

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घर छाडेर गएकालाई फर्किन भने पनि रावलले पत्याएनन्। ओलीले त्यो आह्वान देखाउन मात्रै गरेको बताएका उनको बाटो एमालेबाट निकालिएको एक वर्षपछि मोडिन लागेको हो । उनी एक वर्षसम्म अनिश्चित भएर बसेपछि नयाँ दलतिर लाग्ने निर्णयमा पुगेका हुन् ।

गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल मिलेर नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेका छन् ।

पार्टी निर्माणअगाडि र पार्टी निर्माण गरेपछि यी नेताहरू एमालेबाट २०८१ पुसमा निकालिएका पूर्वउपाध्यक्ष भीम रावलको सम्पर्कमा थिए। मातृभूमि जागरण अभियानमा रहेका रावलले अर्को पार्टी बनाउन नसकेपछि अब माधव-प्रचण्डतिर लाग्ने पक्का भएको छ ।

उनको अभियानमा देशभरका पुराना एमाले नेता र वाम शुभचिन्तकहरूको उपस्थिति देखिन्छ। तर पछिल्लो समय यिनै रावल माधव र प्रचण्डसँग मिल्न लागेका हुन् । उनी केही दिनमै नयाँ दलमा प्रवेश गर्दैछन् । रावलले केही समयअघि खबरहबसँगको कुराकानीमा प्रचण्ड र माधव आफूसँग सम्पर्कमा रहेको बताएका थिए । सोमबार खबरहबसँग कुरा गर्दै यही साता नयाँ पार्टीमा प्रवेश गर्ने खुलाए ।

‘यही साताभित्र माधव नेपाल, प्रचण्डजी र मबीच सहकार्य हुन्छ । हामीले यसका लागि विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ’, कुन पद लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पद मैले प्रमुख कुरामा राखेको छैन । मुख्य कुरा हाम्रा एजेन्डा कस्ता हुन्छन् ? हामी वैचारिक रुपमा कसरी अगाडि बढ्छौं भन्ने कुरा महत्वपूर्ण हो । मैले साथीहरूसँग छलफल गरेर हुन्छ भन्ने संकेत दिएको छु । सायद यही साता हाम्रो एकता हुन्छ ।’

रावललाई प्रचण्ड र माधवले आफ्नो पार्टीमा ल्याउन खोजेपछि उनले पार्टी पङ्क्तिसँग सल्लाह गरेर निर्णय दिने बताएका थिए ।

नयाँ दलका एक शीर्ष नेताका अनुसार अहिले रावलसँग उनको पद र वरीयताबारे कुरा हुँदैछ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह-संयोजक माधव र तेस्रो वरीयताका झलनाथले पनि रावललाई उचित ठाउँ दिएर पार्टीमा राख्ने निष्कर्षसहित छलफल गरिरहेका छन् ।

‘रावलजी हामीसँग सम्पर्कमै हुनुहुन्छ । उहाँ हाम्रै पार्टीमा आउनुहुन्छ । हामीले विभिन्न विचार र विकल्पमा छलफल गरिरहेका छौं । उहाँसँग सैद्धान्तिक मतभेद छैन,’ नेपाल कम्युनिस्ट पार्टीका सह-संयोजक नेपालले खबरहबलाई भने, ‘हाम्रो मुख्य उद्देश्य पदभन्दा कम्युनिस्टबीच एकता गराएर जनताको पक्षमा आवाज बुलन्द पार्ने हो । यसका निम्ति तयारी गरिरहेका छौं ।’

नेपाली कम्युनिस्ट पार्टी स्रोतका अनुसार रावललाई महासचिव बनाउने कोणमा पनि कुरा भइरहेको छ । तर यसको टुङ्गो नलागिसकेको ती नेताहरू बताउँछन् ।

उनलाई बुधबार काठमाडौंमा कार्यक्रम गरे नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गरिँदैछ । त्यसका लागि बुधबार राष्ट्रिय सभागृहमा ‘बृहत पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको छ।

‘व्यक्तिभन्दा विचार प्रधान हुने भएकाले उक्त पदमा त्यस्तै व्यक्ति चाहिने रहेछ,’ स्रोतले भन्यो, ‘रावललाई महासचिव बनाउँदा ठिकै हुन्छ भन्ने कोणमा कुराकानी भइरहेको छ । तर अन्तिम टुंगो भएको छैन ।’

विप्लव, घनश्याम र जनार्दनको मोर्चा

नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसाल, माओवादी छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रमचन्द विप्लवबीच तत्काल एकता नभए पनि कार्यगत एकताको सहमति जुटेको छ ।

तत्काल एकता गर्ने पक्षमा नेताहरू देखिए पनि वैचारिक अस्पष्टता र नेतृत्वबारे कुरा नमिल्दा अहिले मोर्चा मात्रै कस्ने उद्देश्य यी नेताहरूले बनाएका छन् । विप्लवको सचिवालय सदस्य ललित विकका अनुसार तीन नेताहरूबीच फागुनको निर्वाचनअगाडि सहमति नजुटे मोर्चाबन्दी गरेर अगाडि बढ्ने छलफल चलेको छ ।

‘तत्काल नेताहरूबीच एकता नभएपनि निर्वाचनमा मोर्चा कसेर जाने विषयमा सहमत हुनुहुन्छ । अपरिपक्व एकता गर्दा पार्टी विभाजनको खतरा हुने भएकाले सजग भएका हौँ,’ सचिवालय सदस्य विकले खबरहबलाई भने, ‘तीन दिनअगाडिको छलफलमा नेताहरूबीच यस्तै कुराकानी भयो । अपरिपक्व एकता गरेर अगाडि बढ्नुभन्दा मोर्चाबन्दी वा कार्यगत एकता गर्ने कुरा भएको छ ।’

यता एकीकृत समाजवादीका संयोजक भुसाल पनि विचार र सिद्धान्तमा सहमति जुटे पनि एकता गरेर अगाडि बढ्न थुप्रै काम गर्न बाँकी रहेको बताउँछन् । उनी तीन नेताहरूबीच कुनै पनि वैचारिक अस्पष्टता नरहेको तर कार्यकर्ता र आमजनताको भावना बुझेर मात्रै एकतामा अगाडि बढ्ने तर्क गर्छन् ।

शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भुसाललाई संयोजक तोकेको छ । संयोजक बनेका भुसालले अब मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरेका छन् ।

यता कात्तिक १८ गते नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी परित्याग गरेर प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन् । उनको यो अभियानमा पूर्वमाओवादी सचिव राम कार्की लगायतका नेताहरूको साथ छ ।

पहिलोपटक संसदीय राजनीतिमा पाइला टेक्न लागेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट चिरन पुनसहितको समूह नेपाली कम्युनिस्ट पार्टीमा लागे पनि ठूलो पंक्ति विप्लवसँगै छ । उनले निर्वाचन आयोगमा दल दर्ता गरिसकेका छन् ।

यसो हुँदा यी तीन नेताहरूबीच तत्काल पार्टी नै एकता नहुने अवस्था छ । अहिले पार्टी एकता गरे असन्तुष्ट पक्षले प्रचण्ड र माधव नेपालको पार्टी रोज्ने डर उनीहरूमा छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  २ : ४७ बजे

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए (तस्बिरहरू)

काठमाडौं– माओवादीलगायतका कम्युनिष्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरू एमाले फर्किएका

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपाली किसानका

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय