शंकर पोखरेल : जबजका व्याख्याता, एमालेभित्रका समन्वयकारी नेता « Khabarhub

शंकर पोखरेल : जबजका व्याख्याता, एमालेभित्रका समन्वयकारी नेता


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

नेपालको वामपन्थी आन्दोलनमा स्थापित नाम हो–शङ्कर पोखरेल । विद्यार्थी कालदेखिकै राजनीतिक सक्रियता र वैचारिक क्षमता शंकरको परिचय हो । २०१९ फागुन १५ गते दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेमा जन्मिनुभयो । उहाँको बाल्यकाल जन्म घरकै ग्रामीण परिवेशमा बित्यो । बाल्यकाल परिवारसँगै बिताएका उहाँ अध्ययनका क्रममा टाढा रहनु भयो ।

अध्ययनका क्रममा भारतको बनारसमा रहनु भएका पोखरेल प्रवासमै बौद्धिक विद्यार्थी नेताको परिचय बनाइसक्नु भएको थियो । बौद्धिक र शालीन नेताको परिचयले स्थापित शङ्कर अहिले नेकपा (एमाले) का महासचिव हुनुहुन्छ ।

नेकपा (एमाले) नेपाली कम्युनिस्ट पार्टीको मूलधार हो । वैचारिक र सङ्गठनात्मक शक्तिका हिसाबमा मूल प्रवाह हो । नेपालमा कम्युनिस्ट पार्टी स्थापनादेखि हालसम्मको प्रमुख वाम शक्ति नै एमाले हो, जसका प्रमुखमध्येका एक कमान्डर हुनुहुन्छ–शङ्कर पोखरेल । शालीन छविका शङ्कर वैचारिक र बौद्धिक मात्रै नभई आधुनिक विकास मोडेलका पर्यायवाची हुनुहुन्छ ।

एमालेको मार्ग निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादका व्याख्याता र मार्गदर्शक पनि शङ्कर नै हुनुहुन्छ । जननेता मदन भण्डारीका सच्चा अनुयायी उहाँ केपी शर्मा ओलीका असल सहयात्री र सहयोद्धा हुनुहुन्छ । ओलीको आस्था र आदर्शको मार्गलाई थप समृद्ध बनाउने मुख्य योजनाकारको जस पनि शंकरलाई नै जान्छ ।

उहाँका सिद्धान्त–विचारहरू गहन, तार्किक र राष्ट्र हितमा केन्द्रित हुन्छन् । राजनीतिमा लामो समय बिताउँदा पनि उहाँले आर्जन गरेको निष्कलङ्क छवि पार्टी सङ्गठनका लागि पुँजी हो, नेता–कार्यकर्ताका लागि सुन्दर राजनीतिक उपहार हो । जुनसुकै पद र प्रतिष्ठामा बसे पनि, सङ्कट र समस्या पर्दा पनि शालीन छवि एकनास रहिरहनु, विवादरहित हुनु-शंकरको वैचारिक र राजनीतिक विश्वाससहितको इमानको परिचायक हो ।

पोखरेलमा देखिएको वैचारिक र राजनीतिक क्षमता र सङ्गठनात्मक कार्यकुशलता हामी सबैका लागि उदाहरणीय छ । बनारसमा पढ्दा उहाँले प्रवासी नेपाली विद्यार्थीहरूको नेतृत्व गर्नुभयो । विद्यार्थीहरूको हक–अधिकारको पक्षमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो । तत्कालीन समयमा उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो । राजनीतिप्रतिको इमानदारिता र जिम्मेवारीप्रतिको प्रतिबद्धताले उहाँले सबैको मन जित्नुभयो ।

कुनै समय जननेता मदन भण्डारीसँग निकट रहेर काम गर्नुभएका शंकरले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिजस्ता महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । २०५१ सालमा ३२ वर्षको युवावस्थामा प्रतिनिधि सभा सदस्यको भूमिकामा रहेर कार्यसम्पादन गर्नु भएका उहाँ २०७४ सालको निर्वाचनमा विजयी भएर प्रदेश ५ (हालको लुम्बिनी) को संसदीय दलका नेता हुँदै मुख्यमन्त्री बन्नु भयो । संघीय सभाको टिकट लिने र संघकै मन्त्री बन्ने सम्भावना नभएको होइन र पनि संघीयता पछि बनेको प्रदेश संरचनाको जग बसाल्न उहाँले प्रदेशसभा नै रोज्नु भयो । मुख्यमन्त्रीका रुपमा नमुना प्रदेश निर्माणको इतिहास नै रच्नु भयो । लुम्बिनी प्रदेश विकास योजना र मोडेल काम अरूका लागि अहिले पनि सिकाइयोग्य बन्यो, सम्झनायोग्य बन्यो ।

२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नु भएका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाडौँको मोर्चाबाट आन्दोलनको नेतृत्व गर्नु भएको थियो । हरेक मोर्चाको कमान्ड सम्हाल्ने काममा उहाँ सफल देखिनु भएको थियो । गणतन्त्रका पक्षमा त्रिचन्द्र कलेजमा आयोजना गरिएको पहिलो खुला कार्यक्रमका उहाँ प्रमुख वक्ता हुनुहुन्थ्यो ।

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरूमा उहाँले शान्ति पदयात्राको नेतृत्व गर्नुभयो । जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लग्नु भएको थियो । संविधानसभामार्फत राज्यको पुनर्संरचना आवश्यक रहेको निष्कर्षसहित उहाँले पार्टीमा राज्य पुनर्संरचना सम्बन्धी लिखित दस्ताबेज प्रस्तुत गर्नु भएको थियो ।

राज्यको पुनर्संरचनासम्बन्धी पार्टीले गठन गरेको कार्यदलका उहाँ सचिव हुनुहुन्थ्यो । पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भयो । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा उहाँले पार्टी जीवनको लोकतान्त्रीकरण सम्बन्धमा प्रस्तुत गरेको पूरक प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकार गरियो । यी काम पनि शंकरले हल्ला नै नगरी सफल पार्नु भयो । विचार–बौद्धिकता सहितको तर्कले सैद्धान्तिक जीत हासिल गर्नु भयो । शालीन शैलीबाटै सबै समस्याको हल गर्न सक्ने क्षमता नै शंकरको प्रमुख विशेषता हो ।

हेर्दा कम बोल्ने, कम सक्रिय देखिने, पहिलो पटक भेट्नेहरूलाई असहज जस्तो लाग्ने शंकरको छवि-देखिएभन्दा ठिक उल्टो, अर्थात् सकारात्मक छ । सबैका जीवनका लागि सिकाइयोग्य छ । अरूका कुरा सुनेर नै सफल भइन्छ । प्रतिक्रिया आवाजले होइन, कामले दिनुपर्छ भन्ने मान्यता नै शङ्कर विशेषता हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता हुन् । पोखरेलका राजनीतिक, वैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख–रचनाहरू प्रकाशित छन् ।

उहाँले साहित्य–सृजनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाएका छन् । पोखरेलले युग लहर, सिमाना पारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्यिक रचना–सङ्ग्रहहरूको सम्पादन गरेका छन् । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुख पत्र नवयुगका प्रधान सम्पादकको जिम्मेवारी समेत सम्हाल्नु भयो । यो क्षमताबाट नै शंकर बौद्धिक र योग्यताले भरिएको व्यक्तित्व हुनुहुन्छ भन्ने प्रमाणित हुन्छ ।

जसरी महाभारतमा कृष्णले युद्ध जिताउन भूमिका खेल्नु भयो, शंकरले केपी ओली सफल पार्न, एमाले अब्बल बनाउन र बलियो संगठन निर्माण गर्न उस्तै भूमिका निर्वाह गरिरहनु भएको छ । महाभारतका कौरव समूहले सधैँ घृणा गरिरहने पात्रका रुपमा हुनुहुन्छ– कृष्ण भगवान् । पार्टीभित्र पनि शङ्कर त्यही भूमिकामा हुनुहुन्छ ।

लोकतान्त्रिक व्यवस्था ल्याउन र जोगाउनकै लागि उहाँ पटक–पटक जेल पर्नु भएको छ, हिरासत बस्नु भएको छ । नेपाली राजनीतिमा शंकर पोखरेलको नाम सम्मान र विश्वासको पर्याय बनेको छ । विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको यात्राले आज राष्ट्रिय विकासका लागि प्रभावकारी योजनाहरू निर्माण गर्ने स्तरमा पुगेको छ ।

सञ्चार मन्त्री हुँदा नेपालको सञ्चार क्षेत्रले गति लिएको थियो भने लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीका रूपमा उहाँले प्रदेशलाई कामकाजको हिसाबले उत्कृष्ट बनाउनु भयो । सामाजिक सञ्जालमा सक्रिय रहने पोखरेलले युवा पुस्तालाई राजनीतिप्रति आकर्षित गर्नुभएको छ । उहाँको नेतृत्वमा एमालेले राष्ट्रिय एकता र विकासलाई प्राथमिकता दिएको छ । यी काम र जिम्मेवारीको सफलता पनि शंकरले शालीन तर सक्रियताका साथ सफल पार्नु भयो ।

उसो त पार्टीभित्र केहीलाई शंकर सीमित घेरामा रहने नेताको आरोपबाट मुक्त हुनुहुन्न । भदौ २३ र २४ को ‘जेनजी’ नामको आन्दोलनपछि उहाँमाथि बढी प्रहार देखिन्छ । सामाजिक सञ्जालको भीडले उहाँलाई बढी आक्रमण गरिरहेको देखिन्छ भने केही संस्थापन–इतर समूह भनेर हिँडेका कार्यकर्ताबाट पनि आलोचनाको घेरामा हुनुहुन्छ । मान्छे हुन्, काम गर्दा समस्या आउन सक्छ । कमजोरी हुन सक्छ । कार्यकर्ताको कुरामा अल्झिनु पर्ने बाध्यता हुन सक्छ तर वास्तविकता त्यो भन्दा धेरै पर छ ।

जसरी महाभारतमा कृष्णले युद्ध जिताउन भूमिका खेल्नु भयो, शंकरले ओली सफल पार्न, एमाले अब्बल बनाउन र बलियो संगठन निर्माण गर्न उस्तै भूमिका निर्वाह गरिरहनु भएको छ । कृष्ण भगवान् हुनुहुन्छ तर पनि उहाँलाई महाभारतका कौरव समूहले सधैँ घृणा गरिरहने पात्र हुनुहुन्छ–कृष्ण । पार्टीभित्र पनि शंकर त्यही भूमिकामा हुनुहुन्छ । सबैको सर्वप्रिय बन्न नसक्लान् तर संगठनका लागि ओखती जस्तै हुनुहुन्छ जस्तो रुघाखोकी लाग्दा ‘अचुक’ नामक औषधीको जरुरी पर्छ ।

यति बेला नेपाल राजनीतिक संक्रमण, संघर्ष, पुनर्संरचना र पुनर्निर्माणका चरणहरूबाट गुज्रिरहेको छ । देश एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ । यो बेला जनता शब्दभन्दा बढी परिणाम देख्न चाहन्छन् । दशकौँसम्मको राजनीतिक आन्दोलन, परिवर्तन र पुनः परिवर्तनले नागरिकको अपेक्षा उचाइमा पुर्‍याएको छ तर अपेक्षा जति बढ्यो, त्यति नै राज्यको प्रदर्शन सुस्त भएको आरोप र आक्रोश सगरमाथाजस्तै उचाइमा छ ।

यस्तो परिवेशमै अहिले नेपाली राजनीतिक वृत्तमा ‘परिणाममुखी राजनीति’ को चाहना तीव्र बनेको छ, र केही नेताहरूलाई उसकै प्रतिनिधि रूपमा हेरिन थालिएको छ । ती पात्रमध्येका एक प्रमुख व्यक्ति हुनुहुन्छ–शंकर । त्यो यसअघिका जिम्मेवारी प्राप्त कामको परिणामबाटै उहाँले प्रमाणित गरिसक्नु भएको छ ।

नेपालमा परिणाममुखी राजनीतिक अभ्यासको एउटा अध्याय धेरैका दृष्टिमा शालीनता, मौनता र कार्यसम्पादनलाई प्राथमिकता दिने नेतृत्व–शैलीसँग गाँसिँदै गएको छ । यही सन्दर्भमा शंकर पोखरेलजस्ता नेताको चर्चा हुने गरेको पाइन्छ । जसलाई समर्थकहरूले व्यवहारिक, संयमी, कार्यमुखी र संगठनात्मक क्षमतायुक्त नेतृत्वको उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेका छन् । चाहे व्यक्तिगत धारणा जस्तो भए पनि, उहाँले प्रतिनिधित्व गरेको नेतृत्व–शैलीले भने नेपाली राजनीतिमा एउटा व्यापक बहसलाई जन्म दिएको छ-परिणाम देऊ, प्रचार होइन ।

नेपालको राजनीतिक इतिहास विशेष गरी २०६२÷६३ पछि तीव्र गतिमा बदलिएको छ । प्रजातन्त्र पुनर्स्थापनादेखि गणतन्त्र, संघीयता, समावेशी राज्य संरचना-सबै परिवर्तनले देशलाई नयाँ स्वरूप दिन खोजे । तर संरचना बदलिँदैमा शासन–संस्कृति बदलिन कठिन हुन्छ । आज मुलुककै ठूलो चुनौती विकास निर्माण मात्र होइन, कार्यान्वयनको संस्कृति बनाउनु हो । योजना धेरै छन्, प्रतिबद्धता अझ धेरै, तर तिनको उपलब्धि भने निराशाजनक रहँदै आएको अवस्थामा शंकरको नेतृत्व र नीति महत्त्वपूर्ण मानिन्छ । योजना र एजेन्डा जरुरी छ ।

जनताले अब काम गर्ने राजनीति, वचन पूरा गर्ने नेतृत्व तथा व्यवहार देखिने शासन चाहन्छन् । यही क्रममा राजनीतिक दलभित्र पनि कार्यसम्पादन–आधारित मूल्यांकनको आवश्यकता बढ्दै गएको छ । त्यसका लागि नेतृत्व–शैली र परिणामको सम्बन्ध जरुरी छ । त्यो क्षमता शंकरमा देखिन्छ ।

नेतृत्वका अनेक आयाम हुन्छन् । कसैले भाषणबाट, कसैले सङ्गठनबाट, कसैले आँधी–खोला जस्ता अभियानबाट, कसैले मौनताबाट प्रभाव पार्छन् । नेपालमा लामो समय उच्च स्वर र आक्रामक भाषणलाई प्रभावशाली नेतृत्वको सूचक मान्ने प्रवृत्ति रहँदै आएको थियो ।

तर समय बदलिँदै छ । अब जनता ‘कति बोले ?’ भन्दा ‘के गरे ?’ भन्ने प्रश्नमा बढी केन्द्रित देखिन्छन् ।

त्यसका लागि शंकरको व्यक्तित्व नमुना बन्न सक्छ-पूरा हुनसक्ने लक्ष्य बनाउने, समयमै डेलिभरी गर्ने, प्रचार–प्रसारभन्दा कार्य–उपलब्धिलाई प्राथमिकता दिने, कार्यकर्ता र जनताको सुझाव सुन्ने र संगठनलाई दिगो तरिकाले मजबुत बनाउने अभ्यास हो । राजनीतिमा संयमता र शालीनता धेरैले कमजोरी ठान्ने गर्थे तर अहिले यो शैली ‘स्थिर नेतृत्व’ को आधार मानिन थालेको छ । त्यसका लागि शंकर पोखरेलको नेतृत्व–दृष्टिकोण परिणाममुखी अभ्यासको उदाहरण हुन् ।

संगठनात्मक निर्माण र दलीय संरचना बलियो बनाउन बढी समय दिएको कुरा, आन्तरिक छलफलमा धैर्यपूर्वक सबैको कुरा सुन्ने गुण र विवादभन्दा समाधानतर्फ अग्रसर हुने व्यवहार, नेतृत्व–स्थानमा पुग्दा पनि लो–प्रोफाइल ब्यहोराको अभ्यास-यी गुणहरूले उहाँलाई आधुनिक, संयमी र ‘परिणाम–केन्द्रित’ प्रतिनिधि पात्रका रूपमा धेरैले हेर्ने गरिएको छ । आलोचनारहित व्यक्ति नै हुँदैन । त्यो व्यक्तित्व हुने मानव नै हुन सक्दैन । मानव हुन कमजोरी सच्याउने र सुधार्ने गुण हुने चरित्र लोभलाग्दो हुन्छ ।

उहाँका समर्थकहरूको धारणाअनुसार, नेपालको दूषित विवाद–प्रधान राजनीतिक संस्कृतिमा मौनता, शालीनता र समेट्ने क्षमता विशेष आवश्यक छ र उनी यस दिशामा सकारात्मक योगदान दिन सक्षम छन् । यद्यपि नेतृत्व मूल्याङ्कन सधैँ बहुआयामिक हुन्छ । सबै राजनीतिक नेताका आलोचक तथा समर्थक दुवै हुन्छन् तर एकथरि मानिसहरूले उहाँलाई नयाँ पुस्ताले चाहेको ‘काम–मुखी’ राजनीतिका अग्रपङ्क्तिमा राखेर हेर्ने गरेका छन् भन्ने तथ्यले नेपाली राजनीतिमा परिणाममुखीतर्फको आकाङ्क्षा उत्कट रूपमा रहँदै आएको सङ्केत गर्छ ।

कम्युनिस्ट आन्दोलन, काँग्रेस आन्दोलन वा अन्य राजनीतिक धार-सबैमा परम्परागत ‘उमेरै ठूलो, पदमै अडिएको’ नेतृत्व–संस्कृतिमा अब बदलाको माग बढेको छ । उग्र रूपमा बोलिएको भाषणभन्दा काम र शालीनता सुन्ने र ग्रहण गर्ने समाजको चाहना छ । त्यो व्यक्तित्वसहितको अनुहार बिकाउन पनि शंकर वाम आन्दोलनको प्रमुख पात्रका रूपमा देखिनुपर्नेछ ।

यी आधारमा नेतृत्व मूल्याङ्कन हुनुपर्छ भन्ने आवाज तीव्र भइरहेको छ । यही कारण सत्ता–समीकरण मात्र हो कि कार्य–उपलब्धि हो भन्ने प्रश्नले नेतृत्व–छनोटलाई नयाँ मोड दिन थालेको छ । एमालेको ११औँ महाधिवेशनले दिने सन्देश र निर्णय पनि यही हो ।

शंकर पोखरेलजस्ता नेताको उदयसम्बन्धी बहस पनि यिनै परिवर्तनशील समीकरणहरूको परिणाम हो-जहाँ सङ्गठनभित्रको प्रतिस्पर्धा अब केवल लोकप्रियताले होइन, कार्यसम्पादन र क्षमताले निर्धारण गर्नुपर्ने आवाज उठ्छ ।

मौनता र शालीनता-आधुनिक नेतृत्वका अपरिहार्य तत्त्व हुन् । नेपालको राजनीतिमा ‘धेरै बोल्ने’ संस्कृतिले लामो समयसम्म नेतालाई लोकप्रिय बनाएको थियो तर अहिले विश्वकै राजनीतिक प्रवृत्तिमा नेतृत्व शालीन, संयमी र विवेकशील हुनुपर्ने आह्वान बढेको छ । नेता हुन भावनामा होइन, तर्कमा केन्द्रित हुनु पर्छ । व्यक्तिगत आक्रमणभन्दा नीति र योजनामा केन्द्रित हुनु पर्छ । पद–प्रयोगभन्दा जिम्मेवारीमा केन्द्रित हुनु पर्छ । जनतासँग प्रचार यात्राभन्दा प्रतिवेदन र उपलब्धिसँग जोडिने नेता हुनु पर्छ ।

यस्ता गुणहरूलाई विश्वसनीय, स्थिर र परिणाममुखी नेतृत्वको सूचक मानिन्छ । नेपालमा पनि पछिल्लो समय नेताको मूल्याङ्कन बोलाइभन्दा व्यवहारमा आधारित हुन थालेको छ । यही कारण, शालीन र कार्य–उन्मुख नेतृत्व–शैलीले जनविश्वास कमाउन सक्ने विश्वास बढ्दै गएको छ । जसको एक उदाहरणका रूपमा केहीले शंकर पोखरेललाई उद्धृत गर्छन् ।

अबको नेतृत्व-कार्यसम्पादनमा पारदर्शिता, नेतृत्वमा कार्य–उपलब्धि आधारित मूल्याङ्कन, समन्वय, सहकार्य र संवाद-अति जरुरी छ । आजको युवा पुस्ताले अब भाषण होइन, परिणाम माग्छ । अभियान होइन, योजनाको कार्यान्वयन देख्न चाहन्छ । व्यक्तिगत महिमा होइन, समूहगत उपलब्धि मूल्याङ्कन गर्छ । यसै पृष्ठभूमिमा कतिपय युवा र मध्य–वर्ग नेपाली राजनीतिमा शालीन, कम बोल्ने तर काम गर्ने नेताहरूलाई ‘भविष्यका चिनारी’ का रूपमा हेर्न थालेका छन् ।

शंकर पोखरेललाई उहाँका समर्थकहरूले यस्तै ‘स्थिर र गहिरो काम गर्ने’ नेतृत्व–क्यारेक्टरको प्रतिनिधि मानेका देखिन्छन्-जो अहिलेको राजनीतिका जटिलता, विभाजन र ध्रुवीकरणबीच एउटा समन्वयकारी विकल्प देखिन सक्छन् ।

यससँगै नेपाललाई अब नवीन विकास–मोडेल चाहिएको छ । परिणाममुखी राजनीति र नेपालको विकास–यात्राको निर्णायक मोड चालिनु पर्नेछ । यथार्थमा अब नेपालले जसरी अघि बढ्नुपर्छ, त्यसको मूल मन्त्र स्पष्ट छ-“परिणाम नदिने राजनीति अब पर्याप्त छैन ।” देशको आर्थिक संरचना, युवा पलायन, रोजगार, पूर्वाधार, स्वास्थ्य, शिक्षा, उत्पादन क्षेत्र-सबै चुनौतीले ठोस, समय–सीमित र मापनयोग्य काम देखाउनुपर्ने चुनौती छ ।

यसका लागि व्यवहारिक नेतृत्व, संगठनात्मक एकता, कार्य योजना र कार्यान्वयन–दक्षता, शालीन तर प्रभावकारी आचरण तथा विवाद होइन, समाधान–केन्द्रित सोच आवश्यक छ । नेपालले अब परिणाममुखी राजनीतिबाटै नयाँ अध्याय सुरु गर्न सक्छ । त्यो नेकपा (एमाले) र शंकर पोखरेल जस्तो नेतृत्वबाट मात्रै सम्भव छ ।

शंकर पोखरेलजस्ता नेताको कार्यशैलीलाई लिएर समर्थकहरूले व्यक्त गर्ने सराहना, चासो र अपेक्षाले नेपाली समाजमा बदलिँदो राजनीतिक चेतनाको सङ्केत गर्छ । यिनै शैली-मौनता, शालीनता, संयमता, कार्य–उपलब्धिमा केन्द्रित नेतृत्व-अब बहसको केन्द्र बन्दै गएको छ तर यो केवल कुनै एक नेतामा सीमित विषय होइन-यो नेपाली राजनीतिक भविष्यको दिशा–निर्देशक बहस हो । शंकर हाम्रो पुस्ताका लागि भविष्य र भरोसा दुवै हुन सक्नुहुन्छ ।

अब राजनीति केवल पद प्राप्तिको खेल होइन, देश निर्माणको प्रतिस्पर्धा बन्नै पर्छ । यही प्रतिस्पर्धा जित्छ-त्यो नेतृत्व, जसले कम बोलेर धेरै गरेर देखाउँछ, जसले परिणामका आधारमा विश्वास जित्छ र जसले जनताको आशालाई व्यवहारमा परिणत गर्छ । परिणाम दिन सक्ने र प्रमाणित गर्न सक्ने नेतृत्व नेकपा (एमाले) को ११औँ महाधिवेशनले दिनुपर्छ-जहाँ शंकर–शैली र सक्रियता देखिन सकोस् ।

नोट : यहाँ प्रकाशित विचार सम्पूर्ण रुपमा लेखकका निजी हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ४३ बजे

पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

कास्की– देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके– बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार

एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन

च्याम्पियन्स लिग : फाफोसविरुद्ध युभेन्टसको महत्त्वपूर्ण जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा युभेन्टस विजयी

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा– बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका