जतिखेर इन्टरनेटकै प्रयोगले मार्क जुकवर्ग बनिरहेका छन् भने त्यत्तिखेरै हामीले यसको प्रयोगले मानिसमा विभिन्न जटिलता आउँछ भन्नुपर्ने अवस्था आएको छ। कम प्रयोगका लागि आग्रह गर्नु परेको छ।
इन्टरनेट हामीले भान्सामा प्रयोग चक्कुजस्तै हतियार हो। किन भन्दा त्यसको प्रयोग सही तरिकाले गर्दा तरकारी काट्न मिल्छ। जानेनौं र बच्चाको हातमा दियौं या सही तरिकाले चलाइएन भने काटेर घाउ बनाउन सक्छ।
त्यसैले यसको प्रयोग हामीले कसरी गर्ने ? यसको सही तरिकाले प्रयोग गरेनौं भने कस्ता समस्या ल्याउँछन ? भन्ने विषयमा बुझ्नु आवश्यक छ।
सामान्यतया इन्टरनेट एडिक्सन भन्नेबित्तिकै हामीले गेम, सामाजिक सञ्जाल, मोबाइल, टेलिभिजनलगायत कुराहरु रहन्छन्। विश्वको अनुसन्धान तथा तथ्याङ्कलाई हेर्ने हो भने मोबाइल, इन्टरनेटको लत र मानसिक स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध छ। जति लामो समयसम्म हामी इन्टरनेटको प्रयोगमा रहन्छौं, त्यति नै धेरै मानसिक समस्याको जोखिम रहन्छ।
पाकिस्तानमा गरिएको एउटा अध्ययनमा के देखिएको थियो भने सय जना बच्चामध्ये ५० जनामा इन्टरनेटको एडिक्शन देखिएको थियो। यो दक्षिण एसियाली मुलुकको अवस्था हो। सरदरमा हेर्ने हो भने १० देखि ५२ प्रतिशत बालबालिकामा इन्टरनेट एडिक्शन छ।
फोटो पोस्ट गर्दा कति लाइक आयो, कस्ले कस्तो कमेन्ट ग-यो, लाइक धेरै आउँदा मन खुसी हुने, लाइक धेरै नआउँदा चित्त दुख्ने, कसैले नराम्रो कमेन्ट गर्दा त्यसैको बारेमा सोच्दै बस्ने जस्ता लक्षण देखियो भने यसलाई इन्टरनेट एडिक्शन मानिन्छ।
इन्टरनेट एडिक्शनको लक्षण
अल्छीपन महसुस भइरहेको छ। तर मोबाइल चलाउन मन लाग्छ। गर्ने काम धेरै हुँदा पनि आज मलाई केही गर्न मन छैन, यत्तिकै मोबाइल चलाएर बस्छु। जेसुकै होस भन्दै आफ्नो जिम्मेवारीबाट भागिरहनुभएको छ। मैले यति धेरै समय बर्बाद गरिरहेको छु भन्ने लागिरहेको छ तर त्यसलाई रोक्न सकिराख्नुभएको छैन। कुनै नयाँ ठाउँमा जाँदा फोटोहरु पोस्ट गर्न मन लाग्छ। फोटो पोस्ट गर्दा कति लाइक आयो, कस्ले कस्तो कमेन्ट ग-यो, लाइक धेरै आउँदा मन खुसी हुने, लाइक धेरै नआउँदा चित्त दुख्ने, कसैले नराम्रो कमेन्ट गर्दा त्यसैको बारेमा सोच्दै बस्ने जस्ता लक्षण देखियो भने यसलाई इन्टरनेट एडिक्शन मानिन्छ।
समस्या थरिथरिका
एकजना अभिभावक बच्चालाई लिएर आउनुभयो। हाम्रो बच्चालाई के भयो पागल जस्तै व्यवहार गर्छ भन्नुभयो। १०, ११ वर्षको उमेरमा पागलपन अर्थात् साइकोसिस कमन मानिदैन। के हुन्छ भनेर सोध्दा उसले के के बोल्छ हामीलाई थाहा नै हुँदैन भन्नुभयो। मैले लिएर आउनुस् भने।
बच्चा एक ठाउँमा बसेको थिएन, कहिले यता कहिले उता हिँड्ने र एक्लै बर्बराउने गथ्र्यो। उसले भनेको कुरा बुझ्न अभिभावकलाई गाह्रो भइरहेको थियो। ध्यान दिएर सुन्दा बच्चाले हेर्ने कार्टुनमा सुनेको जस्तै शब्द लाग्यो। उसको अभिभावकलाई सोध्दा बच्चाको बुवा बिहानै घरबाट निस्केर बेलुका मात्रै घरमा आउने। आमा पनि दिनभर पसलमा बस्ने र एकजना केयर टेकरले बच्चालाई हेर्ने गरेको सुनाउनुभयो।
जबकी केयर टेकर पनि आफैंमा १४-१५ वर्षको बच्चा छ। केयर टेकरसँग बुझ्दा त्यो बच्चाले दिनमा ७ देखि ८ घण्टा मोबाइल चलाउने रहेछ। मोबाइल चलाउँदा चलाउँदै उसले नेपाली र अंग्रेजी भाषा नै बिर्सिसकेको रहेछ। के हुन्छ भने इन्टरनेटबाट सिकेको कुराले उसलाई यति धेरै प्रभावित पार्छ कि उसले सबै अन्य विषयमा सोच्ने शक्ति गुमाइसकेको हुन्छ।
![](https://www.khabarhub.com/wp-content/uploads/2022/02/internet-balbalika-768x463.jpg)
त्यसपछि मैले त्यो बच्चालाई विस्तारै मोबाइलबाट टाढा राख्ने र अन्य सामाजिक क्रियाकलापमा पनि सहभागी गराउने गर्नुस भनेपछि कुनै औषधी बिना नै उनी सामान्य अवस्थामा फर्किए। यो त एउटा उदाहरण मात्रै हो यस्ता धेरै बालबालिका म कहाँ आउने गर्दछन्। त्यस्तै अर्को एकजना किशोरी पनि मकहाँ आइपुगेकी थिइन्। उनलाई एक्कासी बेहोस भएर छट्पटाउने समस्या हुन थाल्यो। सिटीस्क्यान एमआरआई गर्दा पनि कुनै समस्या देखिँदैन थियो। कुनै पनि औषधीले काम गरिरहेको थिएन।
यसो हेर्दा छारे रोगको जस्तो लक्षण पनि थिएन। साइकोलोजिकल लक्षण हो कि भनेर थेरापी सेसनमा राखियो। त्यहाँ राख्दा हामीलाई के थाहा हुन्छ भने ती किशोरी टिकटकमा एकदमै सक्रिय हुने रहिछन्। त्यसैमार्फत केटा साथीहरु बनाउने, १६ वर्ष १८ वर्षको केटा साथीसँग रिलेशनसिपमा रहने र झगडा भएपछि स्कुल जान मन नगर्ने त्यही कुराको तनावले यस्तो समस्या भएको रहेछ। यस्ता धेरै उदाहरण हाम्रो समाजका बालबालिकामा छन्।
बच्चाले मोबाइल भेट्टाएपछि जुनसुकै कुरा पनि हेर्छ। त्यसैले कुन उमेरको बच्चाले कस्तो खाले कन्टेन्ट हेरिरहेको छ र त्यसबाट उसले के सिकिरहेको छ भन्ने तर्फ पनि अभिभावकको ध्यान जान जरुरी हुन्छ।
कसरी बस्छ लत ?
इन्टरनेट, मोबाइल, मदिरा, चुरोट, गेम जे सुकैको एडिक्शन भए पनि यो एडिक्शन किन हुन्छ त भन्दा यसको मुख्य कारण हो बोरडम अर्थात उदासीपन। कुनै पनि मान्छेले जीवनमा राम्रो काम गर्न नपाएपछि एडिक्शनमा जान्छ।
त्यस्तै अर्को आफ्नो समस्यालाई समाधान गर्न नसकेपछि पनि मान्छे एडिक्शनमा जान्छ। अर्को हो क्षणिक आनन्द जस्तै कुनै समस्या भयो भने त्यसको समाधान कसरी गर्ने भन्दा पनि त्यसको बारेमा सोच्न पनि नपरोस मलाई आनन्द पनि आओस भन्ने नकारात्मक धारणा मनमा आउँछ र एडिक्शनमा जान्छ।
कुनै पनि मान्छे आफूले चाहेको जस्तो भएन या कसैसँग सम्बन्ध बिग्रियो भने कुनै न कुनै एडिक्शनमा जान्छ। अहिले हाम्रो समाजको सबैभन्दा सजिलो, सबैले आत्मसात गरेको एडिक्शन भनेको मोबाइल एडिक्शन नै हो।
सोसियल फोबियाको घटना एकदमै धेरै बढिरहेको छ। किनभने मान्छे समाजिक बाटोमा गएन, कसैको धारणा बुझेन, मान्छेको हाउभाउ बुझेन भने उ फोबिक भइ नै हाल्छ। त्यस्तै बच्चा र अभिभावकबीचको सम्बन्ध यो पनि एडिक्शनको एउटा आम कारण हो।
कुनै पनि मान्छे आफूले चाहेको जस्तो भएन या कसैसँग सम्बन्ध बिग्रियो भने कुनै न कुनै एडिक्शनमा जान्छ। अहिले हाम्रो समाजको सबैभन्दा सजिलो, सबैले आत्मसात गरेको एडिक्शन भनेको मोबाइल एडिक्शन नै हो।
यसलाई कसैले कुलत पनि मान्दैन, बदमासी पनि मान्दैन। अभिभावकले सम्झाए गाली गरे भने पनि बच्चाले रिसाएर ढोका थुन्छ, मोबाइल हेरेर बस्छ त्यसैमा रमाउन थाल्छ। अभिभावकले मेरो लागि भनेको हो, मैले आफ्नो बानी सुधार्नुपर्ने हो कि भन्ने तर्फ बच्चाको ध्यान जाँदैन।
हाम्रो पिँढी यसबाट बच्यो किनकी त्यसबेलामा मोबाइल, ल्यापटप इन्टरनेट केही पनि थिएन। अहिले त्यो अवस्था रहेन। सबैको हातमा मोबाइल, इन्टरनेट छ, जसको शिकार जानी नजानी अहिलेका बालबालिका भइरहेका छन्।
इन्टरनेट तथा मोबाइल एडिक्शनको असर
कति मान्छेलाई कस्तो हुन्छ भने मोबाइल नपाए, मोबाइल एकछिन चार्ज नभएपछि छटपटी हुन्छ। उदाहरणको रुपमा हामी आफैंलाई हेर्न सक्छौं। कोही दिनमा एकपटक पनि मोबाइल नचलाएर बस्न सक्छ त ? अहँ सक्दैन। यसले हामीमा धेरै समस्या ल्याइरहेको छ। जस्तै अनिद्राको समस्या, युवा पुस्तामा के भइरहेको छ भने पढ्ने, साथीभाइसँग गफ गर्ने, गेम खेल्ने सबै कुरा मोबाइलमै हुन्छ, जसका कारण रती अबेर १२ बजे सुतेर बिहान ११ बजे उठ्ने गर्छन्।
कतिपय बच्चा त भोलि बिहान ६ बजे परीक्षा दिनुपर्नेमा राति १२ बजेसम्म मोबाइल चलाएर बस्छन्। यो लेबलसम्म यो समस्या पुगिसकेको छ। मोबाइल हेर्दै खाना खाने आजभोलि प्राय बच्चा मोबाइल नहेरी खाना नै खाँदैनन्। मोबाइल हेर्दै खाना खाँदा उसले खानाको स्वाद मात्रा केही पनि थाहा पाउँदैन। ध्यान मोबाइलमा हुन्छ। जसका कारण तौल तलमाथि हुने शारीरीक तथा मानसिक रुपमा अस्वस्थ हुने जस्ता समस्या देखा पर्छन्।
![](https://www.khabarhub.com/wp-content/uploads/2019/11/Kids_Playing_Mobile_02-900x600.jpg)
मोबाइलकै कारण मान्छे एक्लिएको छ। घरपरिवार सबै साथमा भएर पनि एकले अर्कासँग कुरा गर्ने फुर्सद हुँदैन। कारण मोबाइल भएको छ। त्यस्तै रहरहरु कम हुँदै जानु एञ्जाइटी, डिप्रेशनको जोखिम बढ्दो छ। अध्ययनले के भन्छ भने दिनमा २ घण्टा भन्दा बढी मोबाइल चलाउँदा एन्जाइटी, डिप्रेशनको शिकार हुने सम्भवाना दोब्बर भएर जान्छ।
जिम्मेवारीबाट टाढा भाग्ने : जस्तै बालबालिकाकै कुरा गर्ने हो भने स्कुल जान नमान्ने। अहिले हामीसँग आउने अभिभावकको प्रमुख गुनासो नै यही हो कि बच्चा स्कुल जानै मानेन। किन त भन्दा जान मन छैन अल्छी लाग्छ भनेर जवाफ दिन्छन्। आजभन्दा १० वर्ष अगाडि यस्तो समस्या वर्षमा ५ जना पुग्दैन थिए होला। अहिले भने दिनमै २–३ जना त्यो पनि १४ वर्षमुनिका बच्चाहरुमा यो समस्या आइरहेको छ।
हाम्रो जेनेरेशन कता गइरहेको ? हाम्रो देश, हाम्रो समाज, कस्तो बन्दै गइरहेको छ ? ती बालबालिकाबाट भोलिको हाम्रो भविष्य, हाम्रो देशको समृद्धि परिकल्पना कसरी गर्न सक्छौं ?
आक्रामक स्वभाव : बच्चा मोबाइल हेर्न नपाएपछि जस्तोसुकै आक्रामक व्यवहार देखाउन पछि पर्दैनन्। जस्तो एउटा उदाहरणका रुपमा एकजना बालक जसले मोबाइलमा पब्जी खेल्दै थिए। त्यहिबेलामा आमाले मोबाइल थुत्नु भएछ। बच्चा रिसाएर त्यही मोबाइलले हानेर टाउको फुटाइदिएका छन्। किन हानेको भनेर सोध्दा मैले २ महिनादेखि पब्जी खेलेर डिनरसम्म पुगेको थिएँ। त्यहि बेलामा मोबाइल थुत्दा खानै पाइन। रिस उठ्यो अनि हान्दिएँ बच्चाले जवाफ दिए।
सम्बन्ध बिच्छेद : मोबाइल चलाउँदा सबैजनाले आ आफ्नो खुसी व्यक्त गर्ने माध्यम फेसबुक, टिकटक, रील बनेको छ। जुन फिल्मी तरिकाले देखाइएको छ। हेर्ने मान्छेलाई सबैको जीवनमा यस्तो खुसी छ, घुम्छन् रमाउँछन्। मैले केही गर्न पाउँदिन भन्ने हुन्छ र उसलाई भित्र भित्रै पीडा भइरहेको हुन्छ। यस्ता मल्टीपल चिजहरुले असर गरिरहेको छ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/IMG_6047-768x438.jpg)
इन्टरनेट एडिक्शनको पावर यो लेबलमा छ कि कोही मान्छे निकोटिनको वरिपरि छन् भने कोही कोकिनसम्म पुगिरहेका छन् भन्ने अध्ययनले देखाएका छन्। गाँजा, रक्सी, चुरोटमा डोपामिन भन्ने तत्त्व हुन्छ, जसले क्षणिक मात्रामा खुशी प्राप्त हुन्छ। अहिले मोबाइल एडिक्शनले पनि त्यही डापामिनको काम गरिरहेको छ।
एउटा रिसर्च अनुसार एकजना मान्छेको मनमा ६० हजार विचार आउँछन्। ती विचार मल्टीपल चिजसँग सम्बन्धित हुन्छन्। यसमा साइकोलोजिकल, हाइपोथेटिकलका साथै जेनेटिकल, साथी सर्कल, स्वाभाव लगायत सबै कुराहरु मिलेर सोच्ने क्षमता बन्छ र त्यही प्रकारका क्रियाकलाप गर्छ।
अब अहिले जन्मेदेखि टिभी, मोबाइल तथा इन्टरनेट मात्रै हाम्रो वरपर छ। यही चिजमा हामी बसिरह्यो भने हाम्रो विचारमा यसैमा निहित हुन्छ। जुन इन्टरनेटले भन्छ, त्यही हाम्रो लागि सत्य हुन्छ। त्यसैले के तपाईंको मनमा उब्जिएका विचार तपाईंकै हुन् त ? भनेर प्रश्न गरिएको छ। केही पनि समस्या आउने बित्तिकै हामी गुगलमा खोज्न थाल्छौं र उसले समाधान गरिहाल्छ। जसले गर्दा हाम्रो क्षमता प्रदर्शन नै हुन पाउँदैन।
हामी २४ घण्टा अनलाइनमै हुन्छौं। एकैछिन पनि अनलाइनमा भएनौं भने केही जानकारी छुटाउँछु कि, म एक्लिने पो हो कि भन्ने चिन्ता हुन थाल्छ। इन्टरनेट चलाउँदा पनि हामी एक्लो हुन्छौं। नचलाउँदा पनि एक्लो हुन्छौं। त्यस्तै अभिभावकत्वमा पनि हामी चुकिरहेका छौँ।
बालबालिकालाई मोबाइल नचलाउन भन्ने आफू मोबाइलमा व्यस्त हुने गर्दछौं। जसले गर्दा अभिभावक र बच्चाको सम्बन्ध राम्रो बन्न सकिरहेको छैन। त्यसैले उनीहरुलाई गाली मात्रै नगरी खेलकुद लगायत अन्य क्रियाकलापमा व्यस्त गराएर पनि इन्टरनेटबाट टाढा राख्न सकिन्छ।
अमेरिकामा एउटा अभ्यास के गरिएको थियो भने भियतनाममा अमेरिकन आर्मीले आक्रमण गर्नुपर्ने थियो। त्यो आक्रमण जित्नका लागि उनीहरुलाई ड्रग्सहरु खुवाइयो। उनीहरुले जिते पनि। त्यसपछि अमेरिकालाई हजारौं आर्मीलाई घर फर्काउँदा उनीहरुले पुरै समाजलाई बिगार्छन् कि भन्ने डर लागिरहेको थियो।
तर उनीहरुलाई समाजमा ल्याएर सामाजिक कमिटीमा राखियो। कोही घरपरिवार बनाएर बसे। कसैले जागिर गरे। कोही सामाजिक कार्यमा लागे। यसरी समाजमा स्थापित हुँदै गर्दा ९० प्रतिशत आर्मीले ड्रग्सको लत त्यागे। यसबाट हामीले के बुझ्न सक्छौं भने ड्रग्स, मोबाइल, या जुनसुकै कुराको एडिक्शन भए पनि सही परामर्श र वातावरण पायो भने त्यो एडिक्शनबाट सजिलै निकाल्न सकिन्छ।
सरकारमाथि थपिएको चुनौती
सबै पुस्ताले मोबाइल प्रयोग गरिरहेका छन्। त्यसमध्ये ५-१० प्रतिशतले इन्टरनेटको सही सदुपयोग गर्लान। देशलाई उचाईमा पु-याउने काम गर्लान। तर ९० प्रतिशत बच्चाहरु जो प्लेजरका लागि मात्रै हेरिहेका छन्, उनीहरुलाई हाम्रो समाज, देशले के गर्ने हो ? यो ठूलो चुनौतीको विषय हो। त्यस्ता बच्चालाई सकेसम्म समुदायमा राख्ने, चेतनामूलक कार्यक्रममा सहभागी गराउने गर्नुपर्छ। अभिभावकले मोबाइल नचलाउ भन्दा पनि राम्रोसँग सम्झाएर भन्नुपर्ने हुन्छ।
सबै पुस्ताले मोबाइल प्रयोग गरिरहेका छन्। त्यसमध्ये ५-१० प्रतिशतले इन्टरनेटको सही सदुपयोग गर्लान। देशलाई उचाईमा पु-याउने काम गर्लान। तर ९० प्रतिशत बच्चाहरु जो प्लेजरका लागि मात्रै हेरिहेका छन्, उनीहरुलाई हाम्रो समाज, देशले के गर्ने हो ? यो ठूलो चुनौतीको विषय हो।
हुन त १७ वर्षभन्दा मुनिका बालबालिकाहरु अरुले भनेको कुराहरु मान्नुपर्छ मेरै हितको लागि भनेको हो भन्ने सोच्न सक्ने क्षमताको विकास भएको हुँदैन भनेर विज्ञानले भन्छ। तर अर्को एउटा रिसर्चले के भन्छ भने यदि केही गरी सानै उमेरदेखि हामीले उनीहरुलाई नियन्त्रण गर्दै लग्यौं भने मान्न सक्छन्।
इन्टरनेट नै नचलाउ, हुँदैन भन्नु त गलत हुन्छ। तर इन्टरनेटको गलत तथा अत्यधिक प्रयोगबाट निम्तिने मानसिक समस्या नेपालको मात्रै होइन विश्वकै समस्या हो। त्यसैले बच्चालाई कति समय मोबाइल चलाउन दिने, कति वर्षको उमेरमा मोबाइल दिने अथवा सरकारले त्यो कन्टेन्टलाई कुनै तरिकाले नियन्त्रण गर्न सक्छ कि ? उनीहरुलाई प्राकृतिक रुपमा रमाउन सक्ने कुनै पार्कको निर्माण गर्न सक्छ कि ? यसतर्फ सोच्न जरुरी छ।
प्रतिक्रिया