‘एचपीभी’ खोप अभियान :  लापरवाही सच्याउन निर्देशन « Khabarhub

‘एचपीभी’ खोप अभियान :  लापरवाही सच्याउन निर्देशन


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ ।

महानगरभित्रै एउटा सामुदायिक विद्यालयको खोप केन्द्रमा खोप लगाउने क्रममा लापरवाही भएको जनाउँदै प्रशासनले  कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई सोमबार पत्र लेखेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा सञ्चालन भएको खोप कार्यक्रममा लापरवाही भएकाले सो खोप कार्यक्रम स्थगन गर्न पत्राचार समेत गरेका छन् ।

‘विद्यालयको खोप कार्यक्रम स्थगन गरी नौ बुँदे निर्देशनका विषय पूर्ण कार्यान्वयनको सुनिश्चितता गरी आगामी दिनमा यस्तो लापरवाही नहुने कुराको सुनिश्चितता गरेरमात्र खोप कार्यक्रम सञ्चालन गर्नु/गराउनु हुन सूचित गरिएको छ’,  प्रजिअद्वारा लेखेको पत्रमा भनिएको छ । खोप सञ्चालनपूर्व जिल्ला खोप समन्वय समितिको बैठकमा पूर्वतयारी लगायत विषयमा पनि छलफल भएको कुराको समेत ध्यानाकर्षण गराइएको छ ।

प्रजिअ नेतृत्वको अनुगमन टोलीले खोप लगाउने स्थानको सरसफाइमा ध्यान नदिएको, ‘सेफ्टी बक्स’को व्यवस्था नगरिएको र ‘भ्याक्सिङ केरियर’ तथा सिरिन्जसमेत फोहर भुइँमै राखेर खोप लगाइएको कमजोरी औँल्याएको छ । पत्रमा खोपस्थलमा न्यूनतम सावधानी, सरसफाइ, सुरक्षालगायत विषय उपेक्षित गरिएको, आइसप्याकलगायत सामग्री, कटन तथा निडललगायत स्वास्थ्य उपकरणको उपयुक्त तवरले प्रबन्ध नभएको उल्लेख गरिएको छ । 

सो अनुगमनका क्रममा खोप सञ्चालनपूर्व काउन्सिलिङ तथा खोप पश्चात आराम गर्ने स्थलको प्रबन्ध नगरिएको र सहभागी किशोरीको नाम दर्ताका क्रममा विद्यालयका विद्यार्थीलाई प्रयोग गरिएको जनाएको छ ।

पर्साका १४ वटै पालिकाका ३८ हजार पाँच सय ३७ जना किशोरीलाई एचपिभी खोप लगाउने कार्यक्रम छ । जिल्लामा सोमबारसम्म पहिलो चरणको खोप अभियान सम्पन्न भइसकेको छ ।

दोस्रो चरणको खोप अभियान भने यही माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने छ । सो अभियानअन्तर्गत महानगरको १७ देखि ३२ वडा र अन्य छ पालिकामा लगाइने कार्यक्रम छ । जसमा ठोरी, पकहाँमैनपुर, कालिकामाई, धोबिनी, विन्दवासिनी, छिपहरमाई पालिका र बहुदरमाई नगरपालिकामा खोप अभियान सञ्चालन गरिने छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ११ : ४७ बजे

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।