गर्मी लाग्यो, जाने होइन त जेफाले ? « Khabarhub

गर्मी लाग्यो, जाने होइन त जेफाले ?

पूर्वका १६ जिल्ला एकै ठाउँबाट हेर्न सकिने सुन्दर पहाड



काठमाडौं – नेपालीहरूमा पनि घुम्ने संस्कारको विकास भइरहेको छ । कार्यव्यस्तता कारण होस् या सामाजिक सञ्चालमा केही फोटो वा भिडियो बनाएर पोस्ट गर्न ! मानिसहरू नजिकैका पर्यटकीयस्थल पुग्ने गर्छन् ।

मोरङ्गको जेफाले पनि मोरङबासीका लागि त्यस्तै गन्तव्य हो । केराबारी गाउँपालिका वडा नं. २ (साविक सिंहदेवी ५ बिहीबारे)मा पर्ने जेफाले मोरङको मुख्य पर्यटकीय गन्तव्य नै बन्न सक्छ ।

सिंहदेवी बिहीबारे बजारदेखि ३०० मिटर उत्तर पुगेर हजारभन्दा केही बढी सिँढी चढेपछि डाँडामा रहेको भ्यू टावरमा पुगिन्छ । जुन भ्यू टावरबाट मौसम खुलेका बेला पूर्वका १६ जिल्लाका भूभाग अवलोकन गर्न सकिन्छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वकै आठ हजार मिटरभन्दा अग्लोमध्ये एक कञ्चनजङ्गा (८,५८६ मि.) लगायत हिमाल पनि जेफालेबाट देख्न सकिन्छ । जेफालेमा हिमालको फेदीबाट हिमाललाई नियाल्दाको आनन्द उठाउन सकिन्छ ।

वरपर हरियालीले घेरिएको जेफालेको बीचमा शिव मन्दिर पनि छ, जुन मन्दिरमा शिवरात्रीका बेला पूजाआराधना हुन्छ ।

मोरङको केराबारी बजारदेखि जेफाले करिब ३३ किलोमिटर दूरीमा पर्छ । उक्त सडक कालोपत्रे हुने क्रममा छ । यो सडक तयार भएपछि जेफाले गन्तव्य बनाउँदा अहिलेहाल भोग्नुपरेको सास्ती घट्नेछ ।

जेफाले यात्राका क्रममा जब सोमबारे भञ्ज्याङ पुगिन्छ – तलतिर देखिने गाउँहरूले बाटोमा भोगेका सबै कठिनाइ भुलाइदिन्छ । तलतिर रहेका गाउँहरू निकै सुन्दर देखिन्छन् ।

कन्याम भुलाउने चिया बगान

सोमबारे भञ्ज्याङ पुगेपछि दुईवटा बाटो आउँछ । वडा कार्यालय जाने बाटो छाडेर उत्तरतर्फ लाग्ने सडक जेफाले पुग्छ । धरान भएर पनि जेफाले पुग्न सकिन्छ, जुन यात्रा समेवा पुगेपछि टुङ्गिइन्छ । केराबारीबाट जाने हो भने जेफाले पुग्दै लाग्दा बाटोमा देखिने चिया बगानले इलामको कन्याम चियाबारीको झल्को मेटाइदिन्छ ।

जेफाले पुगेपछि चियापारखीको पहिलो रोजाइ स्वतः चिया नै हुन्छ । जेफालेको मौसम उसै पनि बाह्रैमास चिसो र शीतल ! त्यस्तो हावापानी भएको ठाउँमा बस्दै शुद्ध दूध र स्थानीय बगानमै उत्पादित पत्ती राखेर उमालिएको चिया पिउनुको मज्जा नै बेग्लै !

जेफालेमा अर्गानिक (प्राङ्गारिक) परिकार मन पराउनेलाई लोकल (रैथाने) कुखुराको मासु, ढिँडो, सिस्नो, गुन्द्रुकका परिकार लगायत उपलब्ध छँदैछ । यस हिसाबले घुमिफिर गर्न जेफाले पुग्ने पर्यटकलाई खान र बस्न आधारभूत सुविधा उपलब्ध छ ।

स्थानीयहरूले होमस्टे (घरबास) सञ्चालन गरेका छन् । जुन व्यवसायले पर्यटकहरूलाई सहजता प्रदान गर्नुका साथै स्थानीयबासीको जीवनयापनमा पनि सहयोग पुर्‍याउँछ ।

जातीय र भाषिक विविधताबीच बलियो धार्मिक सहिष्णुताजस्ता कुराले पनि जेफालेलाई थप महत्वपूर्ण बनाएको छ । जेफालेमा बसोबास गरेका मगर समुदायले देखाउने हुर्रा नाचले पर्यटकलाई स्वागत गर्छ ।

पर्यटकले पनि हुर्रा नाचको रैथाने लयमै आफूलाई समाहित गरिदिन्छन् ।

कोरोनाले दपेटेपछि…

जेफालेको विकास र पर्यटन सम्भावनालाई बीचमा कोरोना महामारीले दपेटेको केराबारी गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर लिम्बू बताउँछन् ।

कोरोना महामारी अघि दैनिक सयौं पर्यटक आउने गरेपनि महामारीपछि ह्रास आएको उनले जानकारी दिए ।

समग्र केराबारी गाउँपालिकालाई चिनाउन जेफाले विकास हुनुपर्ने तर्क गर्दै लिम्बूले पर्याप्त बजेट नपाए पनि अत्यावश्यक पूर्वाधार निर्माण भइरहेको बताए । उनका अनुसार भ्यू टावर जाने खुट्किला छेउमा सुरक्षा रेलिङ, ठाउँ–ठाउँमा विश्रामस्थल, शौचालय र जेफाले बोर्ड राखिएको छ ।

अन्य पूर्वाधार बनाइँदै गरे पनि जेफालेको विकास निम्ति भरपर्दो सडककै महत्व बढी रहेको वडाध्यक्ष लिम्बूले बताए । अहिले सडक कालोपत्रे हुने प्रक्रियामा रहेकाले केही समयभित्रै आवागमन सहज हुने उनको भनाइ छ ।

सडकमात्र होइन, अब जेफालेलाई पूर्वमा रहेको एक आकर्षक गन्तव्य बनाउन पदमार्ग नै बनाउने सोच लिम्बूले सुनाए । केराबारीको भ्यूप्वाइन्टदेखि जेफालेसम्म पदमार्ग निर्माण गर्न आवश्यक तयारी भइरहेको उनले जानकारी दिए ।

गाँसबासमा छैन समस्या

स्थानीय पत्रकार किसान शाहीले जेफालेमा पर्यटकका लागि गाँसबासको राम्रो प्रबन्ध रहेको बताए ।

‘जेफालेको महत्व दिनानुदिन बढिरहेको छ, यो ठाउँ निकै पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको ठाउँ हो’, पत्रकार शाहीले भने, ‘जेफालेमा विशेषगरी विराटनगर पूर्वका काँकरभिट्टा र झापादेखि पनि पर्यटकहरू आउनुहुन्छ, तराईमा गर्मी बढेका बेला चिसो हावापानी पाइने भएकोले जेफाले आन्तरिक पर्यटकले भरिभराउ हुन्छ ।’

गर्मीका बेला शीतल महसुस गर्न मानिसहरू सामान्यतयाः धनकुटाको भेडेटार (धरानमाथि) पुग्ने गर्छन् । तर, मोरङ लगायत नजिकका जिल्लाका हकमा भेडेटारको उत्कृष्ट विकल्प जेफाले हो । भेडेटार टाढा रहेकाले छोटो दूरीको जेफाले नै उपयुक्त गन्तव्य बनिरहेको पत्रकार शाहीले बताए ।

पछिल्लो पटक केराबारीका युवाहरू सम्मिलित साहित्यिक समूहले पनि पर्यटकीय क्षेत्र प्रचार गर्न महिनामा एकपटक पैदलयात्रा अभियान चलाइरहेको छ । जेफालेलाई पैदलयात्रा निम्ति उत्कृष्ट गन्तव्य बनाउन उनै युवाहरू लागिपरेका छन् ।

पत्रकार शाही जेफालेसम्म पदयात्रामा निस्किएका यात्रीले दुई दिन समय छुट्याउँदा उपयुक्त हुने बताउँछन् । पहिलो दिन सोमबारेमा बस्ने र दोस्रो दिन गन्तव्य (जेफाले) तिर जाने हो भने सहज हुने उनले जानकारी दिए ।

पदयात्रा गर्ने क्रममा स्वास्थ्यमा असहज भए या चोटपटक लागे तत्कालै एम्बुलेन्स बोलाउन सकिने र केही समयभित्रै स्वास्थ्यसेवा पाउन सकिने शाहीको भनाइ छ ।

(ठकुरी खबरहबमा प्रशिक्षार्थी पत्रकार हुन्‌ ।)

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : ४३ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने