चितवन – चितवनका कांग्रेस र एमालेका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जिल्लाका आठ बुँदे दीर्घकालीन योजनासम्बन्धी माग प्रस्तुत गरेका छन् ।
सप्तगण्डकी बहुउद्देश्यीय परियोजना कार्यान्वयन, त्रिशूली–हुग्दी–शक्तिखोर बहुउद्देश्यीय परियोजना, नारायणगढ–मुग्लिन सडकको वैकल्पिक मार्ग, केरुङ–ठोरी लोकमार्ग, भरतपुर अस्पताललाई मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउन माग गरिएको एमालेका जिल्ला अध्यक्ष कमज पाठकले जानकारी दिए ।
यस्तै तत्कालीन, दीर्घकालीन र चालु योजना गरी २३ बुँदे मागसहित प्रधानमन्त्री ओलीलाई भेट गरेको एमाले जिल्ला अध्यक्ष पाठकले बताए ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका नेताहरूले समग्र जिल्लाको विकाससम्बन्धी योजना लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । बिहीबार साँझ भएको भेटमा उनीहरूले चितवनका विभिन्न योजनालाई निरन्तरता दिन र नयाँ योजनामा बजेट विनियोजन गर्न आग्रह गरे ।
चितवनका कांग्रस र एमालेका नेताले नारायणी, राप्ती, रिउ तटबन्ध, भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन सेवा सञ्चालन, भरतपुर र कालिकामा चक्रपथ निर्माणलाई निरन्तरता दिन माग गरेका छन् । उनीहरूले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै जिल्लाको समस्या समाधान गर्न आग्रह गरे ।
चितवन जिल्लास्तरीय चक्रपथ, भरतपुर–भण्डारा उत्तराखण्ड सडक, ठोरी–माडी, ध्रुवघाट–घोसरघाट–नारायणी नदी हुँदै नवलपरासी जाने हुलाकी सडक, भण्डारा मलेखु चेपाङ मार्गलगायतमा बजेट विनियोजन गरी अघि बढाउन आग्रह गरिएको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले बताए ।
उनले माडी पर्यटन विकास बोर्ड गठन गरी पर्यटकीय क्षेत्रहरूको विकास, देवघाटधामलाई व्यवस्थित गर्ने, कृषिजन्य वस्तुको भण्डारण र बजारीकरण, भोर्ले–दाहाखानी, उपरदाङगढी सडक, शक्तिखोर औद्योगिक क्षेत्रलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गर्न माग गरिएको बताए ।
माडी जाने निकुञ्जभित्रको सडक पक्की गर्न पनि दलहरूले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । माडीको वसन्तपुर बजजारबाट सीधा भारतसँग व्यापारिक नाका कायम गर्न पनि दलहरूले माग गरेका छन् । चितवनमा बहुप्राविधिक शिक्षालय र नवप्रवर्तनका लागि आविश्वास केन्द्रको माग दलहरूले राखेका छन् ।
भेटमा सहभागी कांग्रेस जिल्ला सभापति खनालले प्रधानमन्त्री ओली आफूहरूले पेस गरेका मागमा सकारात्मक भएको बताए । समयमा माग लिएर आएको भन्दै प्रधानमन्त्री ओलीले कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएको उनले बताए । भेटका क्रममा चितवनबाट प्रतिनिधित्व गर्ने एमाले र कांग्रेसका जनप्रतिनिधि, केन्द्रीय नेतालगायतको सहभागिता थियो ।
प्रतिक्रिया