सडकको प्रश्न : शिक्षकले पार्टीको झोला बोक्न मिल्छ ? | Khabarhub Khabarhub

सडकको प्रश्न : शिक्षकले पार्टीको झोला बोक्न मिल्छ ?



काठमाडौं – शिक्षा विधेयकमा २२ बुँदे संशोधनको मागसहित देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । घामपानी र झरी नभनी उनीहरु सडकमा बस्न थालेको १० दिन (शुक्रबार) बित्यो । आन्दोलनरत शिक्षकले सिर्जनशील तरिकाले आफ्ना माग सम्बोधन गर्न सरकारलाई दबाब दिइरहेका छन् ।

शिक्षकहरु बाजा बजाएर, नाँचेर, मुक्तक, कविता वाचन गरेर त कसैले जादु देखाएर सडकमा रमाउने प्रयास गरिरहेका छन् । खबरहबको टोली शिक्षकहरुसमक्ष आम नागरिकको प्रश्न लिएर आन्दोलनस्थलमा पुगिरहेको छ । यसैक्रममा हामीले शिक्षकले पार्टीको क्रियाशील राजनीति गर्न हुन्छ कि हुँदैन भन्ने प्रश्न गरेका छौं ।

अधिकांश शिक्षकहरुले सामाजिक प्राणी भएकाले शिक्षकले राजनीति गर्न हुने बताएका छन् । विद्यालय बाहिर वा विद्यालयको समय सकिएपछि शिक्षकले राजनीति गर्न हुने उनीहरुको तर्क छ । तर, केही शिक्षकले भने राजनीति गर्न नहुने तर्क गरेका छन् । एक व्यक्तिले शिक्षक र नेता दुवै भुमिका निर्वाह गर्न सक्षम नहुने कतिपय शिक्षकको भनाइ छ ।

ट्रेड युनियन भन्दा बाहेक राजनीतिक आस्थाले शिक्षकको मर्यादा नरहने भन्ने अर्को पक्षको तर्क थियो ।

आउनुहोस् सुनौं, उनीहरुको भनाइ जस्ताको त्यस्तै –

मताधिकारप्राप्त हरेक नागरिक राजनीति व्यक्ति हो

इन्द्रराज भट्टराई, नवलपुर

शिक्षकको व्यक्तित्व स्वतन्त्र हुन्छ । त्यसकारण उसले विद्यालयभित्र राजनीति गर्न हुँदैन । तर, ऊ पनि सामाजिक प्राणी हो । ऊ यो समाजको एक अंग हो । विभिन्न घटना परिवेश, पारिवारिक जीवन र सामाजिक जीवन आदि इत्यादिका कारणले शिक्षकलाई मताधिकारबाट बञ्चित गरिएको छैन । मताधिकार प्राप्त भनेकै कहीँ न कहीँ वा कुनै न कुनै पार्टीप्रति झुकाव राख्न पाउँछ भन्ने हो ।
आफूले आस्था राखेको पार्टीमा भोट हाल्छ भनेपछि उ राजनीतिकसँग जोडिएकै हुन्छ । भोट हाल्ने अधिकार दिने अनि राजनीति गर्यो भन्ने ? मताधिकार प्राप्त हरेक नागरिक राजनीति व्यक्ति हो ।

शिक्षकसँग राजनीतिक सुझबुझ हुन्छ । सामाजिक रुपान्तरणको आधार नै शिक्षक हो । विद्यार्थीभित्र राजनीतिक चेतको विकास गर्ने जिम्मेवारी नै शिक्षकको हो । भोट गर्न पाउँछ भने राजनीतिक दल रोज्न पनि पाउँछ ।

राजनीति कसरी, कहाँ र किन गर्ने भन्ने कुराको हेक्का राख्नुपर्छ

हिमालदेव पंगेनी, उपाध्यक्ष, नेपाल शिक्षक महासंघ नवलपरासी

मानिस जन्मिँदै राजनीतिक प्राणी हो । बच्चा जन्मिन्छ र जन्मिने बित्तिकै रुन्छ । रुनुको अर्थ उसलाई दूध खुवाउनुपर्छ भन्ने कुराको उसले संकेत गरेको हो । बच्चा राएन भने आमाले दूध खुवाउदैनन् । रोएपछि आमाले दूध खुवाउनुपर्छ भनेर बुझ्नुहुन्छ ।

एक बच्चाले अर्थात् मानिसले त्यहिबाट राजनीति सुरु गर्छ । त्यसैले व्यक्ति आफैमा राजनितिज्ञ हो । राजनीतिको आफ्नै सिद्धान्त, विचारधारा हुन्छ । राजनीतिले शैक्षिक मापदण्डलाई बिगार्न भने हुँदैन । तर, राजनीति धेरै महत्वपूर्ण विषय हो । राजनीति भनेको समाज परिवर्तनको माध्यम हो ।

शिक्षकले राजनीति गर्नै हुँदैन भन्नेमा छैन । तर राजनीतिले विद्यालयभित्रको शैक्षिक वातावरण बिगार्न भएन । कुनै पार्टीको झोले भएर विद्यालयभित्र आफ्नो वा अर्काको आस्थाको भरमा बहिष्कार गर्न हुँदैन । राजनीति कसरी गर्ने ? कहाँनिर गर्ने ? किन गर्ने ? भन्ने कुराको हेक्का भने राख्नुपर्छ ।

पहिले राजनीति गरियो, अब नगर्ने

शम्भुप्रसाद यादव, बारा

हामी दशौं दिनसम्म सडकमा बसेर आन्दोलन गर्नुपर्ने बाध्यता सरकारले सिर्जना गर्यो । चुनाव आउँदा हामीले पार्टीलाई सहयोग गरेको हो । हामी शिक्षकले गाउँमा भोट माग्दा जनताले पत्याउँछन् ।

नेतालाई भन्दा हामीलाई जनताले मान्छन् । त्यही कुरा चुनावमा प्रयोग गर्ने तर शिक्षकको मागको अवहेलना गर्ने ? राजनीतिक दलहरुको यो रवैयाले शिक्षकले किन चुनावमा सहयोग गर्ने ? अब हामीले किन कुनै पार्टीको झण्डा बोक्ने ? अब पनि सुनिदिए हुन्थ्यो शिक्षकको आवाज ।

सरकारको यो रवैया हेर्दा शिक्षकले राजनीतिमा के–का लागि लाग्ने ? प्रत्येक चुनावमा शिक्षकहरुले धेरै सहयोग गरिरहेको हो । पहिले राजनीति गरियो, अब नगर्ने । अहिले पछुतो लागिरहेको छ । शिक्षकहरुले राजनीतिक दलले गर्ला भनेर पर्खिने होइन । अब आफ्नो लागि आफै काम गर्ने अवस्था आयो ।

एकै व्यक्ति शिक्षक र नेता बन्नुहुँदैन

विष्णु खनाल, स्याङजा

शिक्षकले दलविशेषको राजनीति गर्न हुँदैन । क्रियाशिल राजनीति गर्नु सान्दर्भिक छैन । शिक्षक समाजको उच्च चेतनशील प्राणी हो । राजनीतिक चेतना हुन्छ । चेतना फैलाउने काम शिक्षकले गर्छ । तर, दलविशेषको झोला बोकेर हिँड्न मिल्दैन ।

शिक्षकले सिकाउने हो । पढ्ने हो र पढाउने हो । सिक्ने र सिकाउने हो । तर, सक्रिय राजनीति गर्ने होइन । राजनीति सिकाउन मिल्छ तर राजनीति गर्न मिल्दैन । शिक्षक र राजनीतिक नेता एकै व्यक्ति हुन मिल्दैन । सबै काम शिक्षकले गर्छु भनेर सम्भव पनि छैन । सकारात्मक र समालोचनात्मक रुपमा राजनीतिक चेतना फैलाउन काम शिक्षकले गर्न सक्छ ।

शिक्षक सबैका लागि समान हुनुपर्छ । नेता सबैका लागि समान हुन सक्दैन । ऊ आफ्नो पार्टी, नेता तथा कार्यकर्ताप्रति झुकाव राख्ने हुन्छ । यो प्रवित्ति एक शिक्षकका लागि शोभनीय हुँदैन ।

ट्रेड युनियन अधिकारबाट वञ्चित गर्न हुँदैन

भोलानाथ पौडेल, कास्की

शिक्षकले क्रियाशील राजनीति गर्न पाउनुपर्छ भनेर हामीले कहिल्यै पनि भनेका छैनौं । शिक्षकले क्रियाशील राजनीति गर्न हुँदैन । तर, ट्रेड युनियन अधिकारबाट वञ्चित गर्न भने हुँदैन ।

हामीले राजनीति गरेर हिँडेका छैनौँ । हाम्रो माग पूरा होस् भन्नका लागि हामीले विभिन्न नेताहरुसँग भेटेर छलफल र पैरवी गरेका हौँ । नेपाली काँग्रेसका गगन थापा, चन्द्र भण्डारी, देवेन्द्र कँडेल र नेकपा एमालेका योगेश भट्टराईसँग भेटेका छौँ । यो दल र त्यो दल होइन, हामीले नेतृत्वमा रहेका सबै दलका नेताहरुसँग भेट गरेका छौँ । प्रभावशाली नेताहरुलाई भेटेर शिक्षकका माग सम्बोधन गर्न झक्झक्याएका हौँ । हाम्रो विषय अपडेट गराउन भेटिएको हो ।

यो भेटकै आधारमा शिक्षकले राजनीति ग¥यो नभन्नुहोस् । त्यो बाहेक शिक्षकले राजनीति गर्न पनि हुँदैन । हामीले गरेका छैनौँ, गर्दैनौँ र गर्न पनि हुँदैन ।

विद्यालय बाहिर राजनीति गर्न पाइन्छ

शिवराज काफ्ले, नवलपुर, महेन्द्र स्मारक मावि

शिक्षकले विद्यार्थीलाई यो पार्टी राम्रो र त्यो पार्टी खराब भन्ने कुरा होइन । १० बजेदेखि ४ बजेसम्म जुन विद्यालय समय छ, त्यसमा हामीले राजनीति जोड्न भएन । अभिभावकहरुलाई विद्यालय व्यवस्थापन गर्ने लगायत सबै ठाउँमा राजनीति गरेरै चल्न हुँदैन । शैक्षिक क्रियाकलापको समय राजनीति गर्न हुँदैन । विद्यालय बाहिर राजनीति गर्न पाइन्छ ।

सिडियो पठाउँदा फलानो पार्टीको भनेर पठाउन हुने, शिक्षकले राजनीतिक दलप्रति आस्था राख्न नपाउने ? शिक्षकको नियुक्ति गर्दा पनि राजनीति गरेर होइन, योग्य शिक्षक ल्याउनुपर्छ ।

एक पार्टीलाई रोज्न पाउने अधिकार शिक्षकसँग पनि निहित छ । स्थानीय तहले पार्टीकै आधारमा आक्षेप लगाउन र काखी च्याप्न मिल्दैन । विद्यालयभित्र विद्यार्थी र अभिभावक सबैलाई समान व्यवहार र सम्मान गर्नुपर्छ । दलको टिकै लगाएर राजनीति गर्न भने हुँदैन ।

यो पनि-
दशौँ दिन पनि सडक छाडेनन् शिक्षकले (तस्बिरहरू)

सडकमा पुगेका शिक्षकलाई सिंहदरबारै प्यारो !

माइतीघरमा नाचिरहेका शिक्षकलाई होमवर्क : सरकारी स्कुलको पढाइ किन फितलो ?

‘प्रधानमन्त्रीबाट अपमान भयो, शिक्षकलाई कर्तव्य सिकाउनु पर्दैन’

भिडियाे

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ३ : २४ बजे

पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

काठमाडौं– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।