सुदूरपश्चिममा माङ्गलिक अवसरमा गाइने ‘सगुना फाग’ लोप हुने अवस्थामा « Khabarhub

सुदूरपश्चिममा माङ्गलिक अवसरमा गाइने ‘सगुना फाग’ लोप हुने अवस्थामा


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा माङ्गलिक अवसरमा गाइने ‘सगुना फाग’ लोप हुने अवस्थामा  पुगेको छ ।

अघिल्लोबाट पछिल्लो पुस्तामा मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका मौलिक लोकगीत सगुना र फाग गाउनेहरू पाउन मुस्किल भएको छ ।

सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, कैलाली, कञ्चनपुरलगायत जिल्लामा विवाह, व्रतबन्ध, न्वारन र धार्मिक समारोहमा सगुना फाग गाउने चलन  छ । युवापुस्ताले सिक्न लाज मान्नाले ज्येष्ठ महिलाहरूले सिकाउन प्रयत्न नगर्दा यस्ता मौलिक गीत लोप हुने अवस्था  उत्पन्न भएको हो ।

महिलाहरूको अगुवाइमा माङ्गलिक समारोहमा गाइने गीतले धार्मिक, सांस्कृतिक, सामाजिक र नैतिक भाव बोकेको हुन्छ । सुदूरको सगुना गीतको सङ्ग्रहकर्ता लेखिका कलशा महराले सगुना फाग शुभकार्यमा गाइने भएकाले यसले आशिष, मङ्गलकामना र सौभाग्यको सङ्केत दिने गरेको बताइन् । ‘डोटेली भाषामा गाइने यी गीतले स्थानीय संस्कृति, भाषा र परम्परालाई जगेर्ना गर्न ठूलो भूमिका खेल्छ, नारी सशक्तीकरणको साङ्गीतिक स्वरूपका रूपमा सगुना फागलाई लिन सकिन्छ’, उनले भनिन् ।

लेखिका महराका अनुसार सगुना यसरी प्रारम्भ हुन्छ–
‘सगुना बोल सर्सर्ती लगुनु बोल बिरस्पती बोल मया भला सगुन बोल कसुघर सरसती कसु घर बिरस्पती ।
बोल माया भला सगुन बोल सीता घर राम घर बिरस्पती ।’

त्यसपछि माङ्गलिक कार्यअनुसार फाग गाउने गरिन्छ । सगुना फाग गाउने क्रममा दमाहा बजाएर बढाइँ गर्ने चलन डोटेलीभाषी समुदायमा प्रचलित छ । ज्येष्ठ महिलाले मात्रै मौलिकता बोकेका यी गीत धार्मिक तथा माङ्गलिक कार्यमा गाउने गरेको पाइन्छ ।

युवा वयका बुहारीले सामाजिक सञ्जालमा अधिकांश समय टिकटक बनाउन र फोटो अपलोड गर्नमै बिताउने गरेको उनी बताउँछिन् । बुढापाकाले गाउने गीत भनेर लाज मान्ने गरेका कारण पछिल्लो समयमा सगुना फाग गाउने थोरै मात्र महिला छन् ।

देउडा संस्कृति संरक्षण प्रतिष्ठानले कञ्चनपुरस्थित झलारीमा हराउँदै गएका सगुना फागलगायत गीतबारे नयाँ पिँढीलाई जानकारी दिन शुक्लाफाँटा नगरपालिकाको सहयोगमा पाँच दिवसीय तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएकी महराले सगुन, फाग, ठाडो खेल, रोपाइँ मेलामा गाइने भैना देउडा गीत ओझेलमा पर्दै जान थालेपछि तालिममार्फत महिलाहरूलाई लयबद्ध रूपमा गायन गर्ने तौरतरिका सिकाउने काम गरिरहेको बताइन् ।

सगुना फागका शब्दहरुको भाव एउटै हुने भए पनि गाउने लय जिल्लापिच्छे फरक हुने गरेको उनको भनाइ छ ।

सहायक प्रशिक्षक महेशकुमार जोशीका अनुसार, सगुना फाग प्रमुख रूपमा महिलाले गाउने परम्परागत मौलिक गीतले महिलाहरूलाई भाव व्यक्त गर्ने, अनुभव बाँड्ने र सामाजिक सन्देश दिने अवसर प्रदान गर्नेछ । जिल्लाजिल्ला र गाउँगाउँअनुसार सगुना फागको लय फरक हुने भए पनि यसले दिने सन्देश र भाव भने एकै प्रकारको हुने गरेको छ ।

नयाँ पिँढीलाई जागरुक गराई डोटेली सभ्यताको पहिचानका रुपमा रहेका गीत जगेर्ना गर्न लाग्नुपर्ने उनको भनाइ छ ।

यी गीतमा उपदेश, संस्कार, सामाजिक व्यवहारजस्ता सन्देश समेटिएका हुन्छन् । जसले भावी पुस्तालाई पनि संस्कार सिकाउने उनको विश्वास छ ।

न्वारन, कपाल काटने (क्षौर), ताइ लगाउने, जग्यो लगाउने, हातमा पटली बाँध्ने, छोरीको विवाहमा खुट्टा धुने, लया भुट्ने, विवाहमा दुलही दुलहाले फेरा लगाउने, जन्ती दुलहाको घरमा पुग्ने, दुलही भित्र्याउने बेला सगुना फाग गाउने गरिन्छ ।

त्यसैगरी, सासुले टीका लगाउने, बेहुला तयार हुने, बरियात दुलहीको घरमा पुग्ने, गौरा पर्वमा बिरुडा भिजाउने, व्रतबन्ध गर्ने, सत्यनाराण कथा, सप्ताह पुराणलगायत महायज्ञका बेला पनि सगुना फाग गाइन्छ ।

सगुना फाग गाउनेलाई फगारी भन्ने गरिन्छ । एक जना जानकार महिलाले लयबद्ध रूपमा सगुना फाग गाउँछन् भने अरु माङ्गलिक कार्यमा सहभागी महिलाले उनकै सिको गर्दै लयमा लय मिलाउँदै गाउने गर्छन् । 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ९ : ३६ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्