चक्रपथ स्तरोन्नतिपछि चिटिक्क बेनीबजार | Khabarhub Khabarhub

चक्रपथ स्तरोन्नतिपछि चिटिक्क बेनीबजार


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ ।

नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसीसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथै चिटिक्क देखिएको हो ।

नेपाल सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत तीन करोड १९ लाखको लगानीमा बेनीबजारस्थित चक्रपथ स्तरोन्नतिको काम पूरा भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।

बेनी नगरपालिका–८, कालीपुलदेखि दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म करिब ९०० मिटर लम्बाइ र पाँचदेखि छ मिटर चौडाइको सडकमा नालीसमेत निर्माण गरिएको छ ।

यसरी बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज भएको र बजार क्षेत्रको भित्री भागमा सवारीसाधनको चाप घटेर दुर्घटनाको जोखिम पनि कम भएको नगरप्रमुख केसीले स्पष्ट पारे ।

बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि ‘आरसीसी’ तथा ‘मेसिनरी’ तटबन्ध निर्माणको कामले निरन्तरता पाइरहेको छ । २०७३ सालमा कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने गरी जल उत्पन्न प्रकोप नियन्त्रण सव–डिभिजन कार्यालय बागलुङले बेनी बजार संरक्षण आयोजना सुरु गरेको थियो ।

२०७२ सालमा कालीगण्डकी किनारमा एक करोड ८८ लाखको लागतमा १२४ दशमलव पाँच मिटर र २०७० सालमा ६३ मिटर पक्की पर्खाल निर्माण गरिएको थियो । यसैबीच सिँचाइ मन्त्रालयले बेनीबजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको थियो ।

कालीगण्डकी र म्याग्दीको सङ्गमस्थलमा रहेको बेनीबजार १७औँ शताब्दीमा बस्ती विस्तार भएको एक ऐतिहासिक एवं रमणीय बस्ती हो ।

इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार १६३१ सालमा पर्वत राज्यको विखण्डन भएपछि पर्वतका सातौँ राजा मलेबम मल्लले पर्वत राज्यको राजधानी बेनीमा सारेपछि व्यावसायिक यात्राको सुरुवात र बस्ती विस्तार भएको हो ।

अन्नपूर्ण सर्किटअन्तर्गत प्रमुख पर्यटकीय आकर्षण र बासस्थान बनेको बेनी बजार संघीय राजधानी काठमाडौंदेखि करिब ३०० किलोमिटर पश्चिममा अवस्थित छ । सदरमुकाम बेनी र आसपासका क्षेत्रबाट अन्नपूर्ण, धौलागिरि, नीलगिरि, चुरैन, मानापाथी र गुर्जासहित एक दर्जनभन्दा बढी हिमशृङ्खला देख्न सकिन्छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १२ : ३२ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न