वराह पुराणको १३७ औं अध्यायमा वराहक्षेत्रको महिमाको प्रसङ्गमा वराह भगवानलाई पृथ्वीले प्रश्न गर्छिन्– ‘भगवन् तपाईंले भक्तलाई प्रिय लाग्ने निकै सुन्दर कुरा सुनाउनु भयो । महाबाहो ! अब म कुब्जाम्रक क्षेत्रमा सबैभन्दा श्रेष्ठ र पवित्र आचरणीय व्रत के हो ? जान्न चाहान्छु ।’ भगवान वराह भन्छन्, ‘देवी ! त्यसो त मेरा सबै क्षेत्र परम शुद्ध छन् । तर पनि ‘कोकामुख’ ‘कुब्जाम्रक’ तथा ‘सौकरव’ – स्थान (वराहक्षेत्र) क्रमशः उत्तरोत्तर उत्तम मानिन्छन् ।
कोकामुख तीर्थको पवित्रताको वर्णन गर्दै वराह भगवानले पृथ्वीलाई एउटा कथा सुनाए । एक दिन एक जलाहारी कोकामुख तीर्थस्थित नदीमा एउटा ठूलो माछा समात्ने प्रयास गर्दै थियो । अचानक आकाशमा उडिरहेको बाजले नदीमा उक्त माछा देख्यो र नदीमा उत्रिएर माछालाई आफ्नो पञ्जामा पक्रेर लाने प्रयास गर्न लाग्यो । माछा ठूलो भएकाले बाजले माछालाई धेरै लामो समयसम्म पक्रन सकेन ।
माछाको ओजन थाम्न नसकेर बाजले जमिनमा खसायो । यसैबीच जलाहारीकी पत्नी हातमा मासुका केही टुक्रा लिएर त्यहाँ उपस्थि भई । आकाशमा उडिरहेको एउटा चिलले उक्त मासुका टुक्रा खोस्ने प्रयत्न गर्यो । यस्तो देखेर जलाहारीले आफ्नो तिरको एकै आक्रमणले उक्त चिललाई मार्यो ।

कालान्तरमा उक्त चिलले चन्द्रपुरकी राजकुमारीका रुपमा पुनर्जन्म लियो । उनी अत्यन्तै सुन्दरी थिइन् तर उनलाई पुरुषप्रति घृणा थियो । यस प्रकार माछाको पुनर्जन्म एउटा राजकुमारका रुपमा भयो । नियतिअनुसार ती दुवैले विवाह गरे । विवाहपछि राजकुमारीको चालचलनमा नाटकीय परिवर्तन आयो । उनी अब पुरुषप्रति घृणा होइन कि आफ्ना श्रीमानलाई यति माया गर्न थालिन् कि एकैछिन पनि विछोड हुने कल्पनाले भयवित हुन्थी ।
एक दिन राजकुमारलाई अत्यन्तै नराम्रो गरी टाउको दुख्यो । कति गरे पनि निकै हुन सकिरहेको थिएन । राजकुमारी अत्यन्तै चिन्तित भई । र, राजवैद्यलाई बोलाई । राजवैद्यले कसैगरी पनि राजकुमारको टाउको दुखाइ निको पार्न सकेनन् । यसै क्रममा राजकुमारलाई आफ्नो अघिल्लो जन्मका घटनाहरू स्मरण हुन लाग्यो ।
राजकुमारले पवित्र तीर्थ कोकामुख जाने संकल्प गरे । त्यहाँ पुगेपछि मात्र आफ्नो टाउको दुखाइ शान्त हुने उनको मनमा विश्वास उत्पन्न भयो । त्यसैले उनले राजकुमारीका साथ कोकामुख तीर्थ जाने निर्णय गरे । उनीहरू त्यस स्थानमा पुगे । त्यहाँ उनीहरूले एउटा माछाको अस्थिपञ्जर देखे । राजकुमारले आफ्नी पत्नीलाई बताए कि उनी एक माछा थिए । अघिल्लो जन्ममा यो अस्थिपञ्जर उनको थियो ।
राजकुमारले आफ्नी पत्नीको अघिल्लो जन्मको कथा सुनाउन लाग्यो । कसरी उनलाई एउटा बाजले गम्भीर रुपमा घाइते बनाएको थियो । यो नै उसको टाउको दुखाइको कारण थियो । राजकुमारीले पनि भन्ने लागि कि कसरी एउटा जलाहारीले उसलाई अघिल्लो जन्ममा मारेको थियो । उसले पनि आफू अघिल्लो जन्ममा चिल भएको महसुस गरी ।
उसले राजकुमारलाई भनी– कोकामुखमा मेरो मृत्यु हुनु मेरा लागि आशिर्वाद भयो । मैले एक राजकुमारीका रुपमा पुनर्जन्म लिन पाएँ । यस्तो नभएको भए ऊ आफूले राजकुमारीका रुपमा जन्म लिन नपाउने बताई । उनीहरू दुवैले भगवान विष्णुको पूजाअर्चना गरे । राजकुमारको गम्भीर टाउको दुखाइ निको हुन पुग्यो ।

वराह भगवानले पृथ्वीलाई भने– सबै दुःख र पीडाको निवारण गर्ने शक्ति कोकामुख तीर्थमा रहेको छ । पशुयोनीमा गएकाहरू पनि पापबाट मूक्त हुन्छन् ।
**
ब्रह्मपुराण अनुसार– कुनै समयमा वराहपर्वतमा भएको देवताहरूको सभामा पितृहरू र चन्द्रदेवकी छोरी स्वधा पनि उपस्थित थिए । त्यस अवसरमा पितृ र स्वधाका बीचमा प्रेम भई विवाह समेत हुनपुग्यो । त्यसपछि पितृहरूले स्वधालाई आफ्नी पत्नीका रुपमा कोका नाम दिए ।
स्वधाले पितृहरूसँग पिताको स्वीकृति बेगर नै विवाह गरेकी थिइन् । स्वधाको निर्णयले रिसाएका चन्द्रदेवले उनलाई नदी भएर बग्ने श्रप दिए । चन्द्रदेवले पितृहरूलाई पनि पितृलोकबाट च्यूत भएर रहनुपर्ने श्राप दिए । पितृलोकबाट च्यूत भएका तथा कोकाको खोजीमा भोकैप्यासै भौतारिएका पितृहरूले पर्वतले फलाइदिएको बयर खाए । र, त्यसै क्षेत्रमा जीवन बिताउन लागे ।
त्यहाँ उनीहरूले राक्षसहरूको आतङ्कको सामना गर्न पुगे । राक्षसहरूको प्रकोपबाट बचाउन कोकाले बाढी स्वरुप ग्रहण गरिन् र पितृहरूलाई छोपिदिइन् । कोकाको बाढीले छोपिएपछि पितृहरू पानीभित्रै भोकै आकुलव्याकुल रहन बाध्य भए । आफ्नी पत्नी स्वधालाई देख्न नसकी पानीभित्र छोपिएका पितृको भगवान विष्णुले उद्धार गरी कोका खोला छेउमा श्राद्ध गरे । र, पितृलोक पठाएदिए ।
यसरी भगवान् विष्णुले पितृहरूको उद्धार गरेको स्थानका रूपमा कोका खोलालाई लिइन्छ । यो क्षेत्रलाई पितृश्राद्धका लागि उत्तम स्थान मानिएको छ । वराह पुराणले विष्णुपदका रुपमा यो क्षेत्रलाई व्याख्या गरेको छ ।
तत्र विष्णुपदं नाम स्थानं कोकामुखाश्रितम् ।
पश्यते परमां मूर्ति मेतां मम न संशय, (वराहपुराण १४०।२३) ।
वराह पुराणले कोकामुख, विष्णुधारा, धेनुवट, चन्द्रकुण्ड, विष्णुसरोवर, तुङ्गकुट, अनित्याश्रम, अग्निसर, ब्रह्मसरोवर, कोटीवट, धर्मोद्भव, यमव्यसनक, मातङ्ग, बज्रभव, शक्ररुद्र, द्रष्ट्राङ्कुर, मत्यशिला आदि तीर्थ यो क्षेत्रको आसपास रहेको उल्लेख गरेको छ । र, यो क्षेत्रमा पुण्यकर्म गर्दा मनोवाञ्छित फल प्राप्त हुने उल्लेख गरेको छ । यो तथ्य संस्कृतिविद् अध्येता सोमप्रसाद खतिवडाले ‘विष्णुपादुकाका पुरातात्विक अवशेषहरू’ नामक आलेखमा समेत उल्लेख गरेका छन् ।
**
आठपहरिया राईको पवित्र स्थल ‘कोका’
आठपहरिया राई जातिको आफ्नै लोकमूल्य–मान्यता, धार्मिक विश्वास र सामाजिक तथा सांस्कृतिक परम्परा रहेको पाइन्छ । झूटा बोल्ने, गालीगलौज गर्ने, महिलाहरूलाई नराम्रो नजरले हेर्ने र सराप्ने गर्नु हुँदैन, यदि कसैले त्यसो गर्यो भने कसुर ठहर्छ र कसुरबाट मुक्त हुन भाकल तथा उपौर गर्न खोला बहाउनी गर्नु पर्छ । प्राध्यापक शम्भुप्रसाद खतिवडाले ‘आठपहरिया राई जातिको लोकभूगोल : एक अध्ययन’ विषयक शोधमा उक्त प्रसङ्ग उल्लेख गरेका छन्।

आठपहरिया राईहरूले सामाजिक कसुरलाई मात्र होइन वर्षभरिका दुःखलाई पनि खोला बहाउनी गर्छन् । आठपहरिया जातिको पवित्र तीर्थका रूपमा रहेको छ कोका खोला ।
कार्तिक शुक्ल पूर्णिमाको रातदेखि औंसीसम्म मनाइने वाडाङमेट पर्व उनीहरूको मुख्य चाड हो । १५ दिनसम्म मनाउने चाड वाडाङमेटका अवसरमा आमाबाबुको बरखी बारेका आठपहरियाहरू पैदल यात्रा गर्दै चार दिनपछि कोका खोला पुग्छन् । र दुःख बगाएर बराह भगवानको दर्शन गरी घर फर्कन्छन् ।
यो पर्वलाई पितृको सम्झना गर्ने र शुभकामना साटासाट गर्ने चाडका रुपमा लिइन्छ । आठपहरियाहरूले दुःख, पीडालाई कोका खोला बगाउने चाडको रुपमा वाडाङ्मे पर्व मनाउँदै आएका छन् । यो जातिले ‘ठूलो घर’ (पाङ) मा विशेष पूजा गर्छन् र कोका खोलामा पितृकर्म गर्छन् ।
कोका खोला र आदिवासी चिन्तन
कोका खोलालाई स्थानीय आदिवासी किराती समुदायले खोक्वा हङ्कु भन्छन् । जसको अर्थ हुन्छ ‘तर्ने खोला’ । कोका खोला सुनसरी जिल्लाकै धरान उपमहानगपालिका–२० स्थित विष्णुपादुका क्षेत्रबाट बग्दै आएको छ । विष्णुपादुकाबाट विभिन्न खोला, झरना र जरुवा पानी सङ्कलन हुँदै सप्तकोशी नदीमा आएर मिसिन्छ ।
किराती आदिवासीको पनि कोका खोलामा उत्तिकै आस्था छ । किराती समुदायले आफ्नो आस्थाअनुसार दुःख बगाउने/ आँसु बगाउने ठाउँ (अष्ट गङ्गा), लुकुवा खोला (गुप्त गङ्गा) का रुपमा चिनिन्छ । कोका खोला किनारै जन्मिएको बताउने स्थानीय नरबहादुर राई पहिले धनकुटापटिका सबै राई समुदायले कोका खोलालाई पूजाआजा गर्ने चलन रहेको बताउँछन् ।

पछि यो चलन आठपहरिया राईमा मात्रै सीमित रह्यो । ‘हामी पनि पहिले जाग्राम बसेर, दियो बालेर, नुहाइधुवाइ गरेर बितेका पुर्खालाई पिण्ड दिएर, चामल, भेटिघाटी मन्दिरमा चढाएर चोखिने गर्थ्याैं,’ उनी भन्छन्, ‘अहिले चाहिँ आठपहरियाले मात्र गर्ने भन्ने भयो, पहिले धनकुटा पारिपट्टीका सबैले विधि गर्थे अहिले अरुले गर्न छाडे ।’
नरबहादुरका अनुसार कोका खोलामा केही वर्षअघिसम्म सुन माछा हेर्ने दिनका रुपमा मान्छेहरू कोका खोलामा आउँथे । यो चलन बिस्तारै हराउँदै गएको छ । रैथाने माछाहरू पनि लोप हुँदै गएका छन् । बुबाको मुख हेर्ने दिन औंसीमा खोलामा माछा हेर्ने चलन थ्यो । सहर माछा बुढो हुँदै गएपछि सुनजस्तो रङ्ग आउँदो रहेछ । मान्छेहरू कोकामा जाने, चारो दिने गर्थे । सुनौलो माछा देखेपछि मान्छेहरू सुनमाछा भन्थे ।
कोका खोला मुन्धुममा पनि आउने नरबहादुर बताउँछन् । कोका खोलैखोला डेढ किलोमिटर जति माथि गएपछि देवालिङ (देउता बस्ने ठाउँ) आउँछ । त्यहाँ गाई पाल्ने राईहरुले फलफूल र दूध चढाउँछन् । ‘हामीले बाजे बराज्युबाट सुनेको कुरा हो, मुत्दुममा पनि आउँछ– साँढालुङ, दिवालुङ, खोक्वालुङ यही क्षेत्र हो,’ नरबहादुर भन्छन्, ‘अझै पनि यस्तो फलाक्ने धामीहरू छन् ।’
बाजे, बराज्यूबाट सुनेका कुरा नरबहादुर सुनाउँछन्– कोका खोलाको बीचमा साँढा लुङ (साँध सिमानाको ढुङ्गो) अझै देख्न सकिन्छ । वराह भगवान् र किराती देवतासँग साँध सिमानामा सन्धि भएको रहेछ । किराती देउताले यहाँदेखि तलदेखि तिम्रो सीमा र यहाँबाट मास्तिर मेरो सीमाना भनेर कायम गरेका रहेछन् ।
त्यही ठूलो ढुङ्गोलाई साँढालुङ भनिने गरिएको छ । ‘अहिले खुवालुङको नाम चर्चामा आएको छ । हामीले चाहिँ कोका खोलाको बीचमा रहेको साँढालुङ, देवालुङलाई नै खोक्वालुङ भनेर पूजा अर्चना गर्दैआएका छौँ ।’ नरबहादुर भन्छन् ।
कोका खोला र हर्क साम्पाङ
धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले गत स्थानीय निर्वाचनमा पानीको मुद्दा उठाएर चुनाव जिते । धरानवासीलाई पानी खुवाउनका लागि उनले रोजेका पानीका स्रोतहरू पकुवा खोला, निशाने खोला, सर्दु, खर्दु र भालुखोला हुन् । त्यसका अलावा उने दीगो स्रोत ठानेका दुई स्रोत सप्तकोशी नदी र कोका खोला हो ।
साम्पाङको नेतृत्वमा श्रमदानसहित ४० किलोमिटर बढी डाँडाखोल्सी छिचोलेर धरानको पकुवा खोलामा पानी आइपुग्यो । कोका खोलाको पानी धरानस्थित पकुवा खोलामा ल्याइपुर्याएका साम्पाङ भावविह्वल पनि बने । कोका खोलाको पानी धरानले मात्र प्रयोग गर्दैन । बराहक्षेत्रका झण्डै एकसय घर परिवारले उपभोग गर्दै आएका छन् । कोका खोलाकै स्रोतका रुपमा रहेको लुकुवा खोलाबाट स्थानीयले खानेपानी उपभोग गर्दै आएका छन् ।
हर्क साम्पाङले कोका खोलाको पानी धरान ल्याउनका लागि श्रम अभियान भाग–१ र भाग–२ चलाए । धरान–२० को विष्णृुपादुका– बराहक्षेत्र–१ को सूर्यकुण्ड, चावाचा, कटहरे हुँदै ४० किलोमिटर परबाट धरानमा कोका खोलाको पानी ल्याइपुर्याएका छन् ।

कोकाको भौतिक दोहन
सुनसरीको वराहक्षेत्र नगरपालिका र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका साविक आहालेको सिमाना छुट्याउने कोका खोला भौतिक रुपमा बर्सेनि दोहन भइरहेको छ ।
वराहक्षेत्र नगरपालिका र साँगुरीगढी गाउँपालिकाले आधिकारिक रुपमा कोका खोलाको ठेक्का लगाएको सूचना उपलब्ध छैन । यी स्थानीय तहले आफ्नो वेवसाइटमा यी सूचना राखेको देखिँदैन । तर यी दुवै स्थानीय तहबीच एक–एक वर्ष पालैपालो खोलाबाट ढुङ्गा निकाल्ने र बिक्री गर्ने सहमति भएको बुझिन्छ ।
वराहक्षेत्र मन्दिर छेउबाटै बग्ने कोका खोलामा वराहक्षेत्रले बढी अपनत्व लिने गरेको छ । वराहक्षेत्रबाट सहज सडक सुविधा भएका कारण यी दुवै स्थानीय तहले खोला ठेक्का लगाएर वराहक्षेत्र– चतरा हुँदै नदीजन्य पदार्थ निकासी गर्छन् । एक समय कोका खोलामा एक्साभेटर र टिपर प्रयोग गरी यहाँका ढुङ्गा निकालेर बिक्री गरियो । आ.व. २०८१–०८२ देखि प्रदेश वन कार्यालयले ठेक्का लगाउने भएपछि स्थानीय तहले ढुङ्गा, गिट्टी बिक्री गर्न नसकेको स्थानीय बताउँछन् ।

गएको दुई वर्षअघिसम्म यहाँका ढुङ्गा, गिटी व्यापक रुपमा उत्खनन् गरी बिक्री गर्ने गरेको पाइएको थियो । वराहक्षेत्र चतराका युवा सूर्यविक्रम शाहीलगायतले त्यसको विरोध गरेका थिए ।
कोका खोलाको अत्यधिक दोहनका कारण पानी सुक्दै गएको स्थानीयले बताउँदै आएका छन् । एक स्थानीय युवा भन्छन्,‘केही वर्षअघिसम्म हामीलाई कोका नदी तर्न सोच्नुपर्ने हुन्थ्यो, तर ढुङ्गा उत्खनन् भएकाले नदी सुक्दै गएको छ, कोका नदी सुकेर गयो भने वराहक्षेत्रकोे धार्मिक महत्व घट्दै जान्छ ।’
हिन्दू सनातान धर्म र किरात धार्मिक आस्था र किरात मुत्दुमले पवित्र स्थानमा मानेको कोका खोलाको भौतिक दोहन हुन दिन नहुने स्थानीय बताउँछन् ।
प्रतिक्रिया