काठमाडौं– मे महिनादेखि गाजामा खाना खोज्दै गर्दा ७९८ प्यालेस्टिनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघले खुलासा गरेको छ ।
संयुक्त राष्ट्रसंघले मे महिनादेखि गाजामा इजरायली सेनाद्वारा खाना खोजिरहेका ७९८ प्यालेस्टिनीहरूको हत्या गरेको खुलासा गरेको हो ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालय (ओएचसीएचआचर) ले मे महिनाको अन्त्यदेखि गाजामा खाना प्राप्त गर्ने प्रयास गर्दा कम्तिमा ७९८ प्यालेस्टिनीहरूको मृत्यु भएको खुलासा गरेको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार तीमध्ये धेरै जसोलाई सहायता केन्द्रहरू नजिक (सहायता काफिला) मा इजरायली सेनाले निशाना बनाएको थियो ।
‘जुलाई ७ सम्म हामीसँग ७९८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये ६१५ जना गाजा मानवीय फाउन्डेसन स्थलहरू नजिकै मारिएका थिए, जबकि १८३ जनालाई सहायता काफिला मार्गहरूमा लक्षित गरिएको हुन सक्छ,’ ओएचसीएचआरका प्रवक्ता रविना शामदा–सानीले जेनेभामा पत्रकारहरूलाई बताइन् ।
इजरायली आक्रमणमा थप १२ प्यालेस्टिनीको मृत्यु
यसैबीच, अल जजीरा अरबीसँग कुरा गर्दै, एक चिकित्सा स्रोतले रफाह शहरको उत्तरपश्चिममा रहेको एक सहायता केन्द्र नजिकै गोली चल्दा कम्तीमा १० प्यालेस्टिनीको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ ।
नासेर अस्पतालको एक स्रोतले खान युनिस शहरको उत्तरपश्चिममा रहेको अल–सतार क्षेत्रमा इजरायली गोलाबारीका कारण थप दुई जनाको मृत्यु भएको जनाएको छ ।
प्यालेस्टिनी नरसंहार रोक्न आसियानका विदेश मन्त्रीहरूको आह्वान
अर्कोतर्फ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) ले मलेसियाको राजधानी क्वालालम्पुरमा भएको १५ औं पूर्वी एसियाली विदेशमन्त्रीहरूको शिखर सम्मेलनमा प्यालेस्टिनीहरूको नरसंहार अन्त्य गर्न आह्वान गरेको छ ।
मलेसियाली विदेश मन्त्रालयको वेबसाइटमा जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार ब्लकको प्रतिनिधित्व गर्दै मलेसियाली विदेशमन्त्री मुहम्मद हसनले प्यालेस्टिनी क्षेत्रहरूको अन्यायपूर्ण र अवैध कब्जामा जरा गाडेको आधुनिक इतिहासको सबैभन्दा लामो द्वन्द्व अब अन्त्य हुनुपर्ने बताए ।
उनले थपे, ‘इजरायलले विगत ८० वर्षदेखि पाएको उन्मुक्तिले यसलाई यति निडर बनाएको छ कि यसले खुलेआम नरसंहार गरिरहेको छ, जसमा नवजात शिशु र साना बच्चाहरूलाई भोकै राख्ने जस्ता रणनीतिहरू छन् ।’
प्रतिक्रिया