आन्दोलनको आगोले निल्यो स्वस्थानीको वकिल बन्ने इच्छा « Khabarhub

आन्दोलनको आगोले निल्यो स्वस्थानीको वकिल बन्ने इच्छा

दिदीको बिलौना– ‘घरको एउटा खम्बा ढल्यो बरै !’



दोलखा– सामान्य परिवारमा जन्मेकी वैतेश्वर गाउँपालिका–८ क्षत्रपाकी २६ वर्षीय स्वस्थानी खड्काको बाल्यकाल दोलखाको फेदीमा घाँसदाउरा र मेलोपर्म गर्दै बित्यो । सानैदेखि राम्ररी पढ्ने उनी विद्यालयको पढाइसँगै अतिरिक्त कार्यक्रममा पनि सहभागी हुन्थिन् ।

उनले दोलखास्थित श्री क्षत्रवती उच्च माध्यमिक विद्यालयबाट एसएलसी सम्मको पढाइ पूरा गरिन् । उच्च शिक्षा अध्ययन गर्ने क्रममा उनले हिमालय क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस हुँदै नेपाल ल क्याम्पसमा कानुन विषय लिएर पढिन् । 

सानै उमेरदेखि नै अरूमाथि भएको अन्याय अत्याचार सहन नसक्ने उनी राम्रो कानुन व्यवसायी बनेर देशको सेवा गर्न चाहन्थिन् । सामान्य खेती किसानी गरेका बुबाआमाले दिएको पैसाले मात्रै पुग्दैन भन्ने मनसायले उनले पार्ट टाईम निकालेर ब्युटिपार्लरमा काम गरेर खर्च जुटाउने गर्थिन् । 

तीन दिदी र एक भाइ रहेकी स्वस्थानी काठमाडौंमा भाइ विज्ञान खड्कासँग नै बसेर पढाई र काम सँगसँगै लगिरहेकी थिइन् ।  क्षत्रवती उच्च माध्यमिक विद्यालयका शिक्षक राम खड्काका अनुसार उनी स्कुलकी लगनशील विद्यार्थी हुन् । 

‘स्कुलमा राम्रै पढ्ने औषत विद्यार्थी हुन् । स्कुलले गरेका कार्यक्रमहरूमा पनि सहभागी हुने र त्यसमा राम्रै नतिजा ल्याउने विद्यार्थी हुन् ’, उनले थपे– ‘हामी शिक्षकको नजरमा राम्रो इमानदार विद्यार्थी थिइन् ।’

राम्रैसँग पढिरहेकी उनको जीवन भने संषर्षमय थियो दुख गरेर नै पढेकी उनले बताए । ‘स्कुल पढ्दै गर्दा कक्षा ९ या १० मा उनको घरायसी समस्याका कारण केही समय उनलाई पढाइमा गाह्रो भएको थियो तर मेहनत गर्दा राम्रो नतिजा ल्याउन सक्ने क्षमता भएकी विद्यार्थी थिइन् उनी’ शिक्षक खड्काले भने । 

‘हामीजस्तो सामान्य परिवारमा जन्मेको मान्छे राम्रो कानुन व्यवसायी बन्छु, घरमा पैसा माग्नु हुँदैन । मैले सानै भए पनि केही काम गरेर आफ्नो खर्च पुरा गर्छु भनेर निकै थिई बहिनी’ उनकी दिदी तारा बस्नेतले भनिन्,– ‘कामको सिलसिलामा पोखरा गएकी बहिनी घर फर्किन पाइन ।’

जेन–जी आन्दोलनमा पोखरास्थित हिमालय अर्गनाइजेसनमा आन्दोलनकारीले तोडफोड र आगजनी गरे । त्यही भवनमा एक जना साथीसँग बसेकी थिइन् स्वस्थानी । 

आन्दोलनकारीले भवन तोडफोड गर्दा उनी र साथी बाहिर निस्किसकेका थिए तर उनको एक सामान भित्र छुटेको भनेर भित्र फसेकी बाहिर निस्किन सकिनन् । उनकी साथीले आन्दोलनकारीलाई भित्र मेरो साथी छ आगो नगाउनुहोस् भनेर गुहार गरेकी थिइन् । उनको गुहार आन्दोलनकारीले सुनेनन्, त्यही अस्ताइन् स्वस्थानी । 

सोही घरबाट उनको पार्थिव शरीर बाहिर निकालिएको थियो । ‘हामीलाई बहिनीको साथीले भोलिपल्ट फोन गरेर दिदी स्वस्थानीलाई यस्तो भयो भनेर भनिन् हाम्रो संसार नै अन्धकार भयो’, दिदी ताराले भावुक हुँदै भनिन्, ’हाम्रो घरको एउटा पिल्लर नै ढलेको छ । परिवारको मियो रूपमा उदाएकी बहिनी जेन–जीको आन्दोलनमा अस्ताइन् ।’  

बुबा आमालाई सम्झाउन र आफूलाई समेत समाल्न गाह्रो भएको बस्नेत बताउँछिन् । कसैलाई पनि नराम्रो बचन नलाउने बहिनीलाई आगोमा तड्पेर प्राण त्याग गर्दाको पीडाले बस्नेत परिवारको मन, मुटु चिरेको छ । 

‘मलाई सबैभन्दा मन पर्ने ठाउँ पोखरा हो । त्यहाँ पुग्दा मलाई जिन्दगीको छुट्टै खुसी मिल्छ । परिवारका सबैसँग मैले धेरै थोरै समय बिताएँ । अब पालो तपाईँको, छिट्टै समय मिलाउनु ल। दिदीबहिनी जानुपर्छ भन्थ्यौ हेर त आज तिम्रो मसँग समय बिताउने इच्छा अधुरो रहेपनी तिमिले रोजेको स्थानमा नै तिमिले प्राण त्याग गरेऊ त्यो लोकमा पनि तिमिले रोजेको स्थानमा तिम्रो बास होस। सम्झना तथा माया नानी’  दिदी तारादेवीले सामाजिक सञ्जालमा लेखेकी छन्  । 

‘ठुले, म गाडी चढेँ है, खाना बनाइराखेस्, आज घर जान्न । त्यही ओर्लेर बस्छु, भनेर बिहानै म्यासेज गरेर काठमाडौंबाट बस चढ्थिस् र चरिकोटमा ओर्लेर २/४ दिन बसेर मात्र घर जान्थिस् ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्,’ बेलुका केटाकेटी लिन स्कुलसम्मै जान्थिस् कि त सरप्राईज दिन्छु भनेर केही न केही उटपट्याङ गर्थिस् । यस्ता कयौँ सम्झनाहरू झलझली आँखा अगाडी नाचिरहेछन् । तिम्रो यादमा यी आँखा कहिल्यै ओभानो बसेनन् कान्छी ।’

उनले भनिन्, ’जेन–जी आन्दोलनमा ज्यान गुमाएका मृतकको आत्माले न्याय पाओस् र परिवारलाई न्याय मिलोस् ।’ जेन–जी आन्दोलनमा ज्यानको बाजी राखेर देशमा परिवर्तन चाहने युवाको सपना पूरा हुनुपर्ने उनको भनाइ छ । 

बुढेसकाल लागेका बुबा आमालाई अझै सानो भाइ पढाउन गाह्रो रहेको उनको भनाइ छ । मृतकको परिवारलाई सही किसिमको न्याय दिलाउन उनले सबैलाई आव्हान गरेकी छन् ।  भदौ २३ र २४ गते देशभर भएको जेन–जी प्रदर्शन क्रममा  देशभर ७४ जनाको मृत्यु भएको छ ।

आन्दोलनमा दोलखाबाट तीन जना युवाले ज्यान गुमाए ।  ज्यान गुमाउनेहरूमा स्वस्थानी खड्का, शैलुङ गाउँपालिका मागापौवाका २२ वर्षीय अभिषेक चौलागाईं र विगु गाउँपालिका ३ का महेश बुढाथोकी रहेका छन् ।

खड्काको शवलाई बिहीबार काठमाडौं ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको वैतेश्वर–८ वडा अध्यक्ष शान्त बहादुर जिरेलले जानकारी दिएका थिए ।  

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : ५९ बजे

कञ्चनपुरको खजुवापट्टीमा सिँचाइ सुविधा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टीका किसानले वर्षभर सिँचाइको भरपर्दो सुविधा पाएका

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका– ५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’

मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल