नयाँदिल्ली– भारतीय फरेन्सिक टोलीहरूले मंगलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी कार विस्फोटको खोजी कार्य जारी राखेका छन् । सोमबार राति भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको र १९ जना घाइते भएको पुष्टि गरिएको छ ।
विस्फोट पुरानो दिल्लीको भीडभाडयुक्त क्षेत्रमा, ऐतिहासिक लालकिल्ला नजिकै भएको थियो । विस्फोटपछिको आगलागीले वरिपरिका अन्य सवारी साधनहरू पनि जलेका थिए । प्रहरीले अहिलेसम्म विस्फोटको कारणबारे कुनै आधिकारिक विवरण दिएको छैन ।
गृहमन्त्री अमित शाहले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘सुरक्षा निकायहरूले सबै कोणबाट अनुसन्धान गरिरहेका छन् । फरेन्सिक नमुनाहरूको विश्लेषण नभएसम्म घटनाको वास्तविक कारण बताउन कठिन छ ।’
मंगलबार बिहान एएफपीका पत्रकारहरूले विस्फोटस्थलमा प्रहरीद्वारा सेतो कपडाले घेरेर राखिएको क्षेत्रमा जलेका गाडीहरूको भग्नावशेष देखेका थिए । घटनास्थलमा फरेन्सिक विज्ञ र आतङ्कवाद विरोधी एकाइका अधिकारीहरू प्रमाण सङ्कलनमा व्यस्त थिए । नयाँदिल्लीभरि सुरक्षा कडा पारिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले गृहमन्त्री अमित शाहसँग ‘स्थितिको प्रत्यक्ष समीक्षा’ गरेको र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री मोदीले भने, ‘दिल्लीमा भएको यो विस्फोट अत्यन्त पीडादायक छ । आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूप्रति समवेदना व्यक्त गर्दछु, घाइतेहरू चाँडै निको होऊन् ।’
१७औँ शताब्दीमा निर्माण गरिएको लालकिल्ला भारतको सबैभन्दा प्रतिष्ठित ऐतिहासिक स्मारक हो । यही किल्लाको प्राचीरबाट प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीहरूले राष्ट्रलाई सम्बोधन गर्ने परम्परा रहिआएको छ ।
कारभित्रका मानिसहरू जलिरहेका थिए
नयाँदिल्लीका उप प्रमुख अग्नि अधिकारी ए.के. मलिकले भने, ‘अहिलेसम्म आठ जनाको मृत्यु भएको छ र १९ जना घाइते भएका छन् ।’ यद्यपि, प्रेस ट्रस्ट अफ इन्डियाले पछिल्लो विवरण अनुसार मृतकको सङ्ख्या नौ पुगेको जनाएको छ ।
प्रत्यक्षदर्शीहरूले घटनाको भयावह क्षणको वर्णन गर्दै ट्राफिकको बीचमा अचानक कार विस्फोट हुँदा आगोले वरिपरि रहेका मानिसहरू र सवारी साधनहरूलाई पनि घेरेको बताएका छन् ।
‘मैले कार चलिरहेका बेलामा विस्फोट भएको देखेँ । मानिसहरूमा आगो लागेको थियो, हामीले सकेसम्म उद्धार गर्ने प्रयास गर्यौँ । तर केही मानिसहरू कारभित्रै जलिरहेका थिए’, २७ वर्षीय धर्मेन्द्र धागाले भने, ‘मैले वरिपरिका जनतालाई उद्धारमा सघाउन भनेको थिएँ, तर धेरैजना भिडियो र फोटो खिच्नमै व्यस्त थिए ।’
विस्फोटपछि सहरको एलएनजेपी अस्पतालको आपतकालीन कक्षमा अराजकता फैलिएको थियो । घाइतेहरू एकपछि अर्को गरी ल्याइएका थिए र चिकित्सकहरूले तत्काल उपचार सुरु गरेका थिए । एक महिला आफ्ना पतिलाई अस्पतालमा गम्भीर अवस्थामा देखेर रोइरहेकी थिइन् । उनका भाइले सान्त्वना दिने प्रयास गर्दै उनलाई अँगालो हाल्दै भन्दै थिए, ‘सब ठीक हुन्छ ।’
विपक्षी नेता राहुल गान्धीले विज्ञप्ति जारी गर्दै विस्फोटमा भएको मानवीय क्षतिको निन्दा गरे । उनले भने, ‘दिल्लीमा भएको यो विस्फोट हृदयविदारक छ । प्रभावित परिवारहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु ।’
यसैबीच अमेरिकी विदेश मन्त्रालयले पनि एक वक्तव्य जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । वक्तव्यमा भनिएको छ, ‘हाम्रो हृदय यस भयानक विस्फोटबाट प्रभावितहरूसँगै छ । हामी घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ । ‘
यस घटनाले राजधानीको सुरक्षासम्बन्धी चिन्ता पुनः बढाएको छ । यद्यपि अनुसन्धान प्रारम्भिक चरणमा नै रहेको र फरेन्सिक प्रतिवेदन नआएसम्म विस्फोट आतङ्कवादी आक्रमण हो वा आकस्मिक दुर्घटना भन्ने स्पष्ट हुन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् । रासस













प्रतिक्रिया