चन्द्र ढकालको विवादास्पद लगानी : बेलायतमा कम्पनी खोलेर ८ वर्षसम्म करोडौँको कारोबार | Khabarhub Khabarhub

चन्द्र ढकालको विवादास्पद लगानी : बेलायतमा कम्पनी खोलेर ८ वर्षसम्म करोडौँको कारोबार



काठमाडौं– उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र बेलायतमा एकसाथ कम्पनी खोलेर व्यवसाय गरेको भेटिएको छ ।

कानुनमै नेपाली नागरिकले विदेशमा लगानी गर्न नपाउने प्रतिबन्धात्मक व्यवस्था छ । तर त्यसलाई बेवास्ता गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतमा एकैसाथ कम्पनी खोलेर लामो समय कारोबार गरेको देखिएको हो ।

सन् २००१ देखि नेपालमा आईएमई रेमिट कम्पनीमार्फत् वार्षिक अर्बौं रुपैयाँको कारोबार गरेका ढकालले बेलायतमा सन् २००२ बाट कन्सल्ट्यान्ट कम्पनी खोलेर करोडौंको कारोबार गरेको प्रमाण भेटिएको छ ।

चन्द्रप्रसाद ढकालले सन् २००२ मा बेलायतमा स्थापना गरेको कम्पनीबारे यसअगाडि नै खबरहबले समाचार प्रकाशन गरिसकेको छ ।

कम्पनीको विवरण अद्यावधिक गर्ने सरकारी वेबसाइटअनुसार ढकाल ८ वर्षसम्म कम्पनी चलाएर बेलायतबाट बाहिरिएका थिए । त्यस अवधिमा ढकालले बेलायतमा ठूलो कारोबार गरेको भेटिएको छ ।

६ वर्षसम्म करोडौंको कारोबार

ढकालले सन् २००२ को जुलाईमा सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट कम्पनी दर्ता गरेका थिए । तर लगत्तै अगस्ट २१ मा कम्पनीको नाम परिवर्तन गरेर इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमार्फत कारोबार सुरु गरे ।

प्राप्त प्रमाणअनुसार ढकालको उक्त कम्पनीले लामो समयसम्म आम्दानी गर्न सकेको थिएन । तर, खर्च भने नियमित गर्दै आएको थियो । जुन कुरा आफैँमा अमिल्दो देखिन्छ ।

सन् २००२ जुलाई १६ मा दर्ता गर्दा ढकालले कम्पनीको सेयर पुँजी १ हजार पाउन्डस्टर्लिङ हुने उल्लेख गरेका थिए । त्यसबेला प्रतिसेयर १ पाउन्डस्टर्लिङका दरले एक हजार कित्ता रहने उल्लेख थियो ।

कम्पनीको नाम परिवर्तनपछि सन् २००३ जुन २५ मा उनले अधिकृत पुँजी एक हजार पाउन्डस्टर्लिङ उल्लेख गरेर जारी पुँजी भने एक पाउन्डस्टर्लिङ मात्रै भएको विवरण त्यहाँको सरकारकहाँ अद्यावधिक गरेका भेटिएको छ ।

तर, त्यही बेला ढकालले नेपालमा आईएमई रेमिट कम्पनीको व्यवसाय निकै विस्तार गरिसकेका थिए ।

बेलायती सरकारी कार्यालयको वेबसाइटअनुसार सन् २००४ अप्रिलमा ढकालले कम्पनीको लेखापरीक्षण गरेर पहिलोपटक कागजात अद्यावधिक गरेका थिए । जसमा उनले तलब, ज्याला, भाडा, बीमा र विज्ञापनसहित २८ हजार ८८ पाउन्ड स्टर्लिङ कुल कारोबार भएको उल्लेख छ । तर, कुल कारोबारबाट घाटा भएको अभिलेखमा उल्लेख छ ।

सन् २००५ मा भने ढकालको कम्पनीले कुल कारोबार ६३ हजार ४३६ पाउन्डस्टर्लिङ गरेको भेटिएको छ । त्यसबेला सञ्चालन नाफा ९ हजार ७५८ पाउन्डस्टर्लिङ भएको थियो ।

सन् २००६ मा ढकालको कम्पनीको बैंक खाता र नगद १६ हजार २१७ पाउन्डस्टर्लिङ पुगेको थियो । तर, त्यो वर्षसम्म खुद चालु दायित्व पनि १ हजार ९८८ पाउन्डस्टर्लिङ पुगेको थियो ।

त्यस्तै, सन् २००७ मा उक्त कम्पनीको बैंकमा जम्मा र नगद १८ हजार ८५८ पाउन्डस्टर्लिङ पुगेको देखिन्छ । उता खुद चालु दायित्व ८४२ पाउन्डस्टर्लिङ पुगेको पाइएको छ ।

सन् २००२ मा स्थापित कम्पनीमा सन् २००८ सम्म ढकालले सेयर साझेदार पनि बनाएनन् । त्यो समयसम्म उनले कसैलाई कम्पनी व्यवस्थापनमा जिम्मेवारी पनि दिएनन् ।

सन् २००८ सेप्टेम्बरमा मात्रै कम्पनी सचिवका रूपमा नेपालीमूलका अनिलकुमार लामिछानेलाई नियुक्ति दिए । त्यही बेलामा उनले आफ्नो कार्यालय पनि कास्टलवुड हाउसबाट अक्सफोर्ड स्ट्रिट लण्डनमा सारे ।

त्यही वर्ष ढकालको कम्पनीको ब्यालेन्स सिटले कारोबार घटेको देखाएको छ । त्यो वर्ष २ हजार ९५६ पाउन्डस्टर्लिङ मात्रै नाफा–घाटाको विवरण खातामा देखाएको छ ।

सन् २००९ बाट अर्कैलाई जिम्मा

नेपालमा आईएमई व्यवसाय फस्टाएपछि सन् २००४ मै ढकालले आईएमई वित्तीय संस्था स्थापना गरेका थिए । आईएमई सञ्चालन गर्न वित्तीय संस्था आवश्यक पर्ने भएपछि उक्त संस्था स्थापना गरेको उनी बताउँछन् ।

आईएमई ग्रुपको वेबसाइटमा सन् २००३ मा आईएमई रेमिटलाई युके (बेलायत) मा विस्तार गरिएको उल्लेख छ । तर, लामो समयपछि ढकालले भाइ हेमराज ढकाल र कमल पौडेललाई शेयर सदस्य बनाएर इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा भित्र्याएको देखिन्छ ।

सन् २००९ मार्च ३० मा ढकालले कमल पौडेललाई कम्पनी सचिव र निर्देशकको जिम्मेवारी दिए । त्यसबेला पहिले नियुक्त गरिएका अनिलकुमार लामिछानेलाई हटाएको प्राप्त अभिलेखमा उल्लेख छ । अभिलेखले त्यही मितिमै ढकालले आफ्ना भाइ हेमराजलाई कम्पनी निर्देशक बनाएर भित्र्याएको देखाएको छ ।

भाइ र अर्का साझेदार भित्र्याएपछि कम्पनीको साधारण सेयर ९९ हजार पाउन्डस्टर्लिङले वृद्धि गरेर १ लाख पुर्‍याइन्छ । जुन सेयरमध्ये २४ हजार कित्ता पौडेललाई, ७५ हजार कित्ता सेयर भालाई र ९९९ कित्ता सेयर चन्द्र ढकाललाई बाँडफाँड गरिएको अभिलेखमा उल्लेख छ ।

सन् २००९ मा कम्पनीको चालु सम्पत्ति ४६ हजार ९९३ पाउन्डस्टर्लिङ पुगेको लेखापरीक्षणमा उल्लेख छ । त्यही प्रतिवेदनमा एक वर्षभित्र तिर्नुपर्ने दायित्व ३२ हजार ६७८ पाउन्डस्टर्लिङ पुगेको भनिएको छ।

१० वर्षपछि बाहिरिए

बेलायतमा कम्पनी चलाएको १० वर्षपछि चन्द्र ढकालले सन् २०१० अगस्ट ६ मा निर्देशक पदबाट राजीनामा दिए । जतिबेलासम्म उनले नेपालमा, आईएमई रेमिट, ग्लोबल आईएमई बैंक, आईएमई अटोमोटिभ, चन्द्रागिरि हिल्स, हाथवे इन्भेष्टमेन्ट, डिसहोम लगायत ठूला व्यावसायिक घराना खोलिसकेका थिए ।

जसले नेपालको व्यावसायिक क्षेत्रमा उनको व्यक्तित्व बन्दै गयो । यसका साथै, उनी उद्योगी तथा व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व लिन प्रयत्न गरिरहेका थिए । त्यसैले, उनी इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) लिमिटेड युकेबाट बाहिरिएको हुनसक्ने देखिन्छ ।

उनी बाहिरिएसँगै कम्पनीको ५०/५० प्रतिशत सेयर पुँजी क्रमशः भाइ हेमराज र अर्का साझेदार कमलको स्वामित्वमा कायम गरियो । त्यो वर्षको लेखापरीक्षणले कम्पनीको चालु सम्पत्ति १ लाख ४४ हजार ९९४ पाउन्डस्टर्लिङ पुगेको देखाएको छ ।

सन् २०१२ सम्म पुग्दा कम्पनीको स्थिर पुँजी २ लाख ८ हजार ७५ पाउन्ड स्टर्लिङ बराबर र खुद सम्पत्ति दायित्व १ लाख ४३ हजार ३३४ पाउन्डस्टर्लिङ बराबर पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१३ जुन २१ मा चन्द्र ढकाल बाहिरिएपछि कम्पनीले सेयर पुँजी वृद्धि गरेर ५ लाख पाउन्डस्टर्लिङ बराबर बनायो । त्यो सेयरमा हेमराजको ३ लाख ७५ हजार कित्ता र कमल पौडेलको १ लाख २५ हजार कित्ता सेयर बाँडफाँड भयो ।

सेयर पुँजी वृद्धि गरेको एक महिनापछि नै फेरि सेयर पुँजी वृद्धि गरेर १० लाख कित्ता बनाइयो । त्यो सेयरमा ८ लाख २५ हजार कित्ता हेमराजको नाममा र १ लाख ७५ हजार कित्ता कमलको नाममा कायम गरिएको प्राप्त कागजातमा उल्लेख छ ।

त्यसपछि सन् २०१३ नोभेम्बर १४ मा ढकाल र पौडेलको संयुक्त स्वामित्वको इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) लिमिटेडको नाम फेरेर आईएमई (युके) लिमिटेड बनाएको देखिन्छ ।

त्यतिबेलासम्म हेमराजको राष्ट्रियता नेपाली थियो । कमल भने राष्ट्रियता बदलेर बेलायती नागरिकका रूपमा आफूलाई चिनाएका छन् ।

सन् २०१४ सम्म कम्पनीको नेट बुक भ्यालु सन् १ लाख १० हजार ४६३ र सन् २०१५ मा ७६ हजार ८२९ पुगेको थियो । त्यसपछि सन् २०१५ जुलाई ७ मा ढकाल र पौडेल दुवै जिम्मेवारीबाट बाहिरिए । त्यसका साथै, कम्पनीको सम्पूर्ण सेयर रिया फाइनान्सियल सर्भिस लिमिटेडलाई बिक्री गरेको कागजातले देखाउँछ ।

बेलायतमा लगानीबारे यसो भन्छन् हेमराज

चन्द्रप्रसाद ढकालको नेतृत्वमा बेलायतमा कम्पनी स्थापना भएर कारोबार गरेकोबारे खबरहबले जानकारी लिन खोज्दा उनको मोबाइल नम्बर निरन्तर बन्द रहेको पाइयो ।

तर, त्यही विषयमा अहिले आईएमई ग्रुपको सह–संस्थापकको भूमिकामा रहेका भाइ हेमराज ढकाललाई जिज्ञासा राखियो । ढकालले यसबारे जवाफ दिँदै दाजुले स्वीकृति लिएरै खोलेको बताए । उनले पछि मात्रै उक्त कम्पनीलाई आफूले सम्हालेको बताए ।

‘सुरुमा अप्रोभल नै लिएर खोलेको हो । तर म बाहिर बस्न लागेपछि दाइले छोड्दिनुभएको हो’, उनले भने । आफूले लामो समयदेखि एनआरएनको भूमिकामा विभिन्न देशमा व्यवसाय गरिरहेको जवाफ उनले दिए

यसअघि चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’ शीर्षकको समाचार प्रकाशनकै क्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलसँग नेपालबाट विदेशमा लगानी गर्न दिने स्वीकृतिको सम्बन्धी जिज्ञाशा राख्दा उनले त्यस्तो प्रकारको स्वीकृति राष्ट्र बैंकले दिन नसक्ने बताएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : ४२ बजे

ललितपुर महानगरमा आगलागी आपतकालीन सूचना प्रणाली

ललितपुर– ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणाली सुरुवात गरेको छ

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

काठमाडौं– कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना

निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्वपूर्ण : कानुनमन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य

कुलमानले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी आयोगमा अध्यावधिक, चुनाव चिह्न बलेको चिम

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ समूहले निर्वाचन आयोग पुगेर पुरानो उज्यालो

विश्वकपपछि रोनाल्डोले फुटबल छाड्ने

एजेन्सी– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप