कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन् | Khabarhub Khabarhub

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता बताउने सुदन गुरुङले नयाँ दल खोल्ने भएका छन् ।

कुलमानसँग मिलेर पार्टी खोल्ने गरी यसअघि सहमति जुनाएका सुदनले ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकलाई समाहित गराउन खोजेका थिए । तर ऊर्जामन्त्री कुलमानसँग मंगलबार दुई चरणमा भएको वार्तामा कुरा नमिलेपछि सुदन पछि हटेका छन् ।

उनी पछि हट्दा प्रदेश संयोजकहरू पनि उज्यालो नेपालमा नजोडिएका हुन्। ५१ सदस्यीय उज्यालो नेपालको केन्द्रीय सदस्यको सूचीमा उनीहरू कसैको नाम छैन ।

यसअघि ‘द काउन्सिल अफ जेनजी’बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का उज्यालो नेपालमा सामेल हुने पक्का भएको थियो । तर उनीहरू र सुदन कुलमानको पार्टीमा जोडिने कुरा तुहिएको छ।

कुमानले कुलमानले उज्यालो नेपाल नामक दल अध्यावधिका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिँदा उनीहरू समेटिएनन् । बिजुलीको चिम चुनाव चिह्न मागेका कुलमानले हाललाई यो पार्टीको अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई तोकेका छन् ।

कुलमान भने आगामी फागुन २१ गतेको चुनावअघि मात्रै मन्त्रीबाट राजीनामा दिएर पार्टी नेतृत्व लिन जाने तयारीमा छन् ।

यसअघि कुलमानको पार्टीलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र सुदन गुरुङको समर्थन रहेको बताइएको थियो । यसमै राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठ पनि जोडिने चर्चा थियो ।

उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा अध्यावधिक हुँदा ५१ सदस्य केन्द्र कमिटीमा जेन-जी अभियन्ता गुरुङका ६ प्रदेशका संयोजक केन्द्रीय सदस्य रहने भनिएको थियो। तर सुदनसँग कुरा नमिलेपछि उनीहरू केन्द्रीय सदस्यमा अटाएनन् ।

मंगलबार कुलमानले आफू उज्यालो नेपाल पार्टी दर्ता गर्ने तयारीमा रहेकाले त्यहीँ जोडिन सुदनसहितलाई आग्रह गरेका थिए । तर उनीहरूबीच कुरा नमिलेपछि सहकार्य तुहिएको हो ।

कुलमानसँग कुरा नमिलेपछि अब सुदनले अन्य विकल्प खोजेका छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठसँग सहकार्य गर्ने भएका छन् ।

सुदनले जेन-जी सहिद परिवारका सदस्य भोगविक्रम थापालाई अगाडि सार्ने भएका छन् । उनले आफ्नो पार्टीको नाम नेपाल जनसेवा पार्टी राख्ने तयारी गरेका छन् ।

सुदनसँग बालेन र सुमना पनि मिलेर जाने भएका छन् । पार्टीको नेताका रुपमा सहिद परिवारका सदस्य संयोजक भोजविक्रम थापालाई राखिने भएको छ।

अहिलेसम्मको छलफलमा उनलाई नेता मानेर जान तीनैजना तयार छन् । यस्तै पार्टीको नाम नेपाल जनसेवा पार्टी राख्ने सहमति जुटेको सुदनका सहयोगीले बताएका छन् ।

‘कुनै परिवर्तन नभए नेपाल जनसेवा पार्टी नाम रहन्छ । नेतृत्वमा भोजविक्रम थापा रहन्छन्,’ सुदनका सहयोगीले भने, ‘भोजविक्रम थापाका भतिजाले जेन-जी आन्दोलनमा ज्यान गुमाउनु भएको थियो ।’

बालेननिकट नेताका अनुसार तत्काललाई तीनजनाबीच सहयात्रा हुने भएको छ। उनीहरूका साथमा कलाकार निश्चल बस्नेतको टिम र रास्वपा नेता गणेश कार्कीको टिम पनि जोडिनेछ । बिहीबारसम्म सुदनको दल पनि दर्ता हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ५४ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर