टेम्केमैयुङका अध्यक्षलाई प्रश्न : मुन्धुम पदमार्ग नै किन घुम्ने ? « Khabarhub

अन्तर्वार्ता

टेम्केमैयुङका अध्यक्षलाई प्रश्न : मुन्धुम पदमार्ग नै किन घुम्ने ?



देशकै चर्चित मुन्धुम पदमार्गमा पर्छ भोजपुरको टेम्केमैयुङ गाउँपालिका । भोजपुर सदरमुकामबाट पश्चिमतर्फको भूगोलमा अवस्थित यो गाउँपालिकाको बीचबाट मध्यपहाडी राजमार्ग गएको छ। यो पालिकामा टेम्के-मैयुङ जस्त पर्यटकीय र धार्मिक स्थल पनि छन् । कृषिउपजका लागि उर्बर यो पालिकामा खासगरी सुन्तलाका कारण चर्चित छ। त्यस्तै धानसहितका बाली पनि यहाँ पर्याप्त उत्पादन हुन्छ । कृषि उपजको राम्रो उत्पादन क्षेत्र यो पालिकाले हरेक वर्ष काठमाडौंमा कृषि प्रदर्शनी गर्दै आएको छ ।

पालिकाका अध्यक्ष सरोज बस्नेतले आफ्नो पालिकामा उत्पादितक कृषिउपजलाई काठमाडौंमा चिनाउन यो प्रदर्शनी आयोजना गर्ने गरेका छन् । पालिकाले काठमाडौंको अनुपम फुडल्यान्डमा कृषि उपज प्रदर्शनी गरेको छ । उक्त प्रदर्शनीका लागि पालिका अध्यक्ष बस्ने आफैं काठमाडौंमा खटिए । उनी अहिले बहुचर्चित मुन्धुम पदमार्गको ब्रान्डिङमा पनि खटिएका छन् ।

नेपाली कांग्रेस भोजपुरका युवा नेतासमेत रहेका बस्नेत मुन्धुम पदमार्गमार्फत् देशदेखि विदेशसम्म भोजपुरको, किरात संस्कृतिको मौलिक पहिचान पुर्‍याउन सकिनेमा विश्वस्त छन्। कृषि उपज प्रदर्शनीको सन्दर्भ पारेर खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

टेम्केमैयुङ गाउँपालिका विकासको दृष्टिकोणले कस्तो अवस्थामा छ ?

भोजपुर एउटा पूर्वी पहाडी जिल्ला हो । नौवटा स्थानीय तहमध्ये पर्यटन, कृषि, प्राकृतिक स्रोत साधनले केही सम्पन्न पालिका टेम्केमैयुङ हो । यो पालिका हुँदै मध्यपहाडी लोकमार्ग गएको छ। अहिले यो पालिकालाई पक्की मोटरबाटोले छोएको छ । सबै घरमा बिजुली पुगेको अवस्था छ । खानेपानी, शिक्षा र स्वास्थ्यमा केही सुधारको कोसिस भइरहेको छ।

तपाईं अध्यक्षमा निर्वाचित भइसकेपछि गरेको कामहरु के–के हुन् ?

निर्वाचनमा उम्मेदवारी दिँदै गर्दा गर्छु भनेका धेरै काम सम्पन्न गर्ने तयारीमा छु । पालिकाबाट वडासम्म जोड्ने सडक बाह्रै महिना सञ्चालन हुने गरी विस्तार गर्छु भनेको थिएँ । पिच नभए पनि सडक विस्तारको काम सम्पन्न हुन्छ ।

स्थानीय सरकारको पहलले मात्रै सबै काम गर्न सकिँदैन । संघीय सरकारसँग धेरै पहल गरेर बजेट लगेँ । यो आर्थिक वर्षमा बजेट अर्थ मन्त्रालयमा रोक्का भएको छ । ठूलो रकम रोक्का हुँदा काम गर्न कठिनाइ छ । अहिले काठमाडौं आउनुको मुख्य कारण मन्त्रालय र विभागहरूमा रोक्का भएको बजेटबारे बुझ्न पनि हो ।

बाटोघाटोकै कारणले समस्या हुँदा पहाडमा सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई वडासम्म पुर्‍याइएको छ । पर्यटनतर्फ मुन्धुम पदमार्ग चर्चाको शिखरमा छ । नेपाल सरकारले यसलाई सय गन्तव्य सूचीमा राखेको छ । अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार मान्यता प्राप्त भएकाले यो मार्ग बन्दैछ ।

भौतिक पूर्वाधारमा मात्रै नभएर आम नागरिकको जीवनस्तर उस्कान र चेतनाको विकास गर्न कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि हामीले काम गरिरहेका छौँ ।

अरुभन्दा मुन्धुम पदमार्गमा फरक के छ ?

यो किराँत सभ्यतामा आधारित पदमार्ग हो । प्राकृतिक हिसाबले रमणीय छ । डाँडैडाँडा हुँदै जान्छ । हिमाल हेर्दै हिँड्न पाइन्छ । अर्को कुरा, किराँत सभ्यता अनुसार त्यहाँ हिँड्दै गर्दा दैविक शक्ति प्राप्त हुने मान्यता छ । लिपिबद्ध त छैन, तर धामीहरू (नाक्चोम) हरूले त्यो भेगमा जाँदा व्यक्तिमा अध्यात्मिक शक्ति आएको अनुभव हुने बताउँछन् ।

किराती सभ्यताअनुसार साल्पापोखरी र सिलिचुङ अहिलेका मुख्य गन्तव्य हुन् । साल्पापोखरीमा सबै धामी पहिलेदेखि तीर्थ गर्न जाने गर्थे । त्यहाँ गएपछि मोक्ष प्राप्त हुने जनविश्वास छ । प्राकृतिक तथा सांस्कृतिक महत्त्वले भरिपूर्ण भएकाले अन्यभन्दा मुन्धुम पदमार्ग फरक छ ।

यो किराँत सभ्यतामा आधारित पदमार्ग हो । प्राकृतिक हिसाबले रमणीय छ । डाँडैडाँडा हुँदै जान्छ । हिमाल हेर्दै हिँड्न पाइन्छ ।

पर्यटक ल्याउने तपाईंहरूका कार्ययोजना के–कस्ता छन् ?

मुन्धुम पहिले सातवटा स्थानीय तहसँग जोडिएको थियो । खोटाङको साकेला गाउँपालिकाको तावाभज्याङ, भोजपुरस्थित टेम्केमैयुङको वडा नम्बर ९ को सीमाना पाँचतारेबाट सुरू गरेर साल्पा सिलिछो गाउँपालिकाको शीरसम्म सात स्थानीय तह मिलेर काम गरेका हौँ । यहाँ स्विस सरकार, स्थानीय सरकार, प्रदेश र संघीय सरकारको सहयोगमा विकास निर्माण हुँदैछ ।

त्यो पदमार्गलाई हिँड्न सरल बनाउँदैछौँ । हिँड्दै जाँदा पर्यटकलाई बोर नलाग्नेगरी सिँढी बन्दैछ । फोहोरमैला व्यवस्थापनदेखि बाटोमा आवश्यक सामानका लागि पसलहरू बन्छन् । लेकसाइडमा हावाहुरी आउन सक्छ, पानी पर्न सक्छ । त्यसबेला ओत लाग्ने घर तथा होमस्टे र पाटीपौवा पनि बन्छन् ।

अब कार्ययोजना बनाएर नीतिगत तवरमै कार्यविधि अनुसार काम सुरू हुन्छ । धेरै जङ्गल क्षेत्र भएका कारण होटल व्यवसायीलाई व्यवस्थापन गर्न जरुरी छ । प्रदेश सरकारले २०८२ वर्षलाई पर्यटन भ्रमण मनाइरहेको छ । प्रदेशको कार्ययोजना अनुसार हामीले मुन्धुम पदमार्गलाई २०२५ भ्रमण वर्ष राखेका छौँ ।

बेलायतमा बस्ने टेनिसका अन्तर्राष्ट्रिय खेलाडी मगेन्द्र राईले मुन्धुम पदमार्गलाई टेनिससँग जोडेर त्यहाँ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउने हामीसँग भन्नुभएको थियो । त्यो सम्भव छ ?

मगेन्द्रजीले भनेको कुरा जानकारी पाएको छु । लन टेनिसको कुरा उहाँले गरेजस्तो लाग्यो । तर, त्यसको ज्ञान मलाई छैन । स्थानीय तहले मैदान उपलब्ध गराए मात्रै पुग्छ भने पक्कै सम्भव छ । हाइ अल्च्यिुड भएको ठाउँ हो । त्यहाँ गाडी र अन्य साधन पुग्दैन । मानिसले बोकेरै समान लैजान सक्नुहुन्छ भने ठिक छ । विभिन्न चुनौतीका बावजुद खेलाडीले देखेको सपना सम्भव भएसम्म पालिकाले पूरा गर्छ ।

पर्यटकीय गन्तव्य अत्यन्त महङ्गो भयो भन्ने गुनासा आइरहन्छन् । थोरै पैसा भएकाले मुन्धुम ट्रेल जाने बनाउन सकिन्छ कि सकिँदैन ?

होटल हस्पिटालिटी कस्तो–कस्तो बनाउने भन्ने योजना तयार हुँदैछ । २०८५ सम्म यो ट्रेल सम्पन्न गर्ने लक्ष्यसहित लागेका छौँ । तपाईंले गर्नुभएको प्रश्नकै वरिपरि रहेर प्रतिक्रिया लिँदै आएका छौँ ।

अन्य पर्यटक गन्तव्यहरूमा महङ्गो भयो, बास बस्न पाइएन लगायत गुनासो सुनिरहेका छौँ । मुन्धुममा व्यवस्थित हुनुपर्छ भनेरै कार्ययोजना बन्दैछ । पर्यटकलाई सौहार्दपूर्ण वातावरण दिने, उनीहरूलाई सुरक्षित महसुस गराउने जिम्मा स्थानीय व्यवसायीकै हो । उनीहरूलाई पर्यटकमैत्री रहन सचेत गरिनेछ ।

मुन्धुम पदमार्गजस्तो ऐतिहासिक योजनालाई प्रदेश र संघ सरकारले कति सहजीकरण गरेको पाउनुभयो ?

स्थानीय तहको सबैभन्दा नजिकको प्रदेश सरकार हो । दूरीको हिसाबले पनि नजिक छ । संघ दूरीको हिसाबले टाढा भएका कारणले काम गर्न अप्ठ्यारो छ । एक महिनामा २५ दिन काठमाडौंमा बस्नुपर्ने स्थिति छ । कति खर्च हुन्छ ? भोजपुरका सांसद, कर्मचारी र दलका नेतासँग पनि समन्वय गरेर ४० करोड रुपैयाँ दिने भनियो । तर कार्यान्वयन गराउन संघ सरकार बाधक बनेको छ ।

स्थानीय तहको सबैभन्दा नजिकको प्रदेश सरकार हो । दूरीको हिसाबले पनि नजिक छ । संघ दूरीको हिसाबले टाढा भएका कारणले काम गर्न अप्ठ्यारो छ । एक महिनामा २५ दिन काठमाडौंमा बस्नुपर्ने स्थिति छ ।

प्रदेश सरकारबाट प्राप्त रकम कार्यान्वय गर्न टेण्डर प्रक्रियामा गइसक्यौँ । संघको ३ करोडसम्मको बजेट पालिकामा दुई ठेक्का लागिसक्दा पनि कार्यादेश आएको छैन । पर्यटन क्षेत्र वृहत सांस्कृतिक संग्रहालय तथा संस्कृति अध्ययन केन्द्रको लागि पर्यटन मन्त्रालयबाट बजेट आएको छ । तर, कार्यान्वयन गराउन समस्या भइरहेको छ । त्यसकारण संघले स्थानीय तहलाई गर्न खोजेको के हो ? भनेर प्रश्न गर्न चाहन्छु । अर्थ मन्त्रालयले वा अन्य तत्वले बजेट रोक्ने गर्छन् ?

टेम्केमैयुङका ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता र यौनिक तथा अल्पसङ्ख्यकका अधिकार सुनिश्चित छन् ?

हाम्रो पालिका बालबालिका, अपाङ्गतामैत्री छ । विद्यालयमा शौचालय, खानेपानीको धारा मैत्रीपूर्ण व्यवस्था गरिएको छ । तर घर–घरमै भने त्यो व्यवस्था भइसकेको छैन । स्रोत कम भएकोले सोचेअनुरुप गर्न सकिएको छैन । प्रतिनिधिमूलक र समावेशी ढङ्गले महिला हिंसा न्यूनीकरण, भेदभाव उन्मूलन लक्षित कार्यक्रम भइरहेका छन् । बजेटको आकार बढाएर कार्यक्रम गरिहेका छौँ ।

तपाईं नेपाली कांग्रेसको युवा नेता हुनुहन्छ । पार्टीको अधिवेशन र प्रतिनिधिसभा चुनाव संघारमा छन् । जेन–जी आन्दोलनको दबाब पार्टीमा कस्तो छ ?

तरुण दलको जिल्ला अध्यक्ष कार्यवाहक दिएको छु । पार्टीको क्षेत्रीय सभापति पनि त्यही गरेको छु । नेपाली कांग्रेसको भूमिका सधैँ अभिभावकको रुपमा रहेको छ । हरेक सङ्कटमा कांग्रेसको भूमिका राष्ट्रले महसुस गरेको छ । जेन–जीले एक तहको आन्दोलन गरे । युवाहरू सहिद भए । दोस्रो दिन सार्वजनिक सम्पत्ति ध्वस्त भए ।

यो अस्तव्यस्तताबीच कांग्रेसले जिम्मेवारीबोध गरेर कार्यदिशा अवलम्बन गर्न अझै ढिला भएको छैन । अन्य दलहरूले आन्दोलनको बहानामा विभिन्न चलखेल गर्दा पनि कांग्रेस मौन बस्यो । सभापतिमाथि त्यत्रो हमला हुदाँसमेत कांग्रेस मौन बस्यो । केन्द्रीय समितिको निर्णय हेर्दा युवापुस्ताले खोजेको परिवर्तनको समीक्षा कांग्रेसले गरेको छ ।

कांग्रेसबिनाको देश एकपटक जेन–जीहरूले राम्रो गर्छन् भने छोडिदिऔँ भन्ने थियो । तर जेन–जी आन्दोलन जुन उद्देश्यका साथ गरिएको थियो, त्यो होइन रहेछ । बिरालो मार्न गएका जेन–जीहरू बाघ मरेपछि बोकेर लान सकेनन् । उनीहरू अल्मलिएपछि कांग्रेस पुनः अभिभावक नबनी हुँदैन भन्नेमा गयो । आफ्ना कमजोरी आत्मसाथ गर्दै राष्ट्रियता, संघीयता र संविधानलाई जोगाउन कांग्रेस अगाडि बढनुपर्छ ।

जनताले युवा नेता आउनुपर्छ भनिरहेका छन् । तर कांग्रेसमा जेष्ठ नेताको बर्चस्व छ । जनता र कांग्रेसबीच तादाम्य नमिल्दा पार्टीलाई हानी हुने कुरामा किन सचेत नभएको हो ?

जेन–जी आन्दोलनभन्दा अगावै पनि महामन्त्रीद्वयले युवाहरूको प्रतिनिधित्व र अवसरता प्रदान गर्नुपर्ने कुरा गरिराख्नुभएकै हो । म भुइँमान्छे । जमिनको अर्गानिक कार्यकर्ता हो । मेरो आवाज सुन्ने हो भने महासमिति बैठक राखेर, संविधान संशोधन गरेर नयाँ पुस्ताको प्रतिनिधित्व हुनेगरी विधान संशोधन गरेर अधिवेशन गरेमा उत्तम हुन्छ ।

अर्को समस्या, उमेरले युवा चेतनाले वृद्ध पनि हुन सक्छ । विचार र व्यवहारले परिपक्क युवा हुनुपर्यो । वृद्ध भन्नेबित्तिकै लाखापाखा हुने होइन । उहाँहरूको अनुभव, योगदानलाई युवाले आत्मसाथ गरेर नेतृत्व लिने हो ।

जेन–जी भनेको उमेर समूह हो, पार्टी होइन । उनीहरुले अझै देश, राजनीति र प्रतिनिधित्व, कूटनीतिको बारेमा जान्न आवश्यक छ । राज्यसत्तामा पुग्दा गर्ने कार्य के हो जान्नै छ । त्यसकारण नयाँ दलहरुसँग कांग्रेस डराएको छैन । हाम्रो इतिहास सबैलाई थाहै छ । विभिन्न संकटसँग संघर्ष गर्दै आएको हो ।

बहुदलीय व्यवस्थामा सबैलाई दल खोल्ने र देशको नेतृत्व गर्ने अधिकार छ । सबैभन्दा प्रमुख कुरा व्यवस्था हो । व्यवस्था जोगिए मात्र राष्ट्र जोगिन्छ । सेलिब्रटीलाई चुनाव जिताउँदा युक्रेन आज कुन अवस्थामा छ । जनताले त्यो बुझ्न आवश्यक छ । उनीहरूले आन्दोलनमा उठाएका मुद्दाबारे छलफल गर्दै राजनीति र कुटनीति बुझेको युवाले नेतृत्व लिनुपर्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ९ : ४२ बजे

गलेश्वरको अन्न क्षेत्रलाई एक लाख सहयोग

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका वकिल केसीले बेनी नगरपालिका– ९

सुनचाँदीको मूल्य निरन्तर बढ्दो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।  नेपाल

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान कम्प्युटर,

प्रि ओपन सेसन : करिब एक अंकले घट्यो नेप्से

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

किसानलाई दूधमा प्रतिलिटिर १० रुपैयाँ अनुदान

तनहुँ– भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० रुपैयाँ अनुदान