सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा ‘स्पष्ट नीति’ आवश्यक « Khabarhub

सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा ‘स्पष्ट नीति’ आवश्यक


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

स्वदेशी तथा विदेशी लगानीमा विभिन्न काम भइरहेको ऊर्जा क्षेत्रमा केही समस्या छन् । लगानी भित्र्याउन बजारको सुनिश्चितता हुनुपर्छ । त्यो काम सरकारले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) मार्फत दिने हो । 

बिजुली उत्पादन सुरू भएपछि बिजुली किने पनि, नकिने पनि त्यसको भुक्तानी गर्छु भन्ने हुनुपर्छ । चाहिएका बेला बिजुली लिन्छु नत्र लिँदिनँ भनिदिने हो भने बजार सुनिश्चित हुँदैन ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा नदी प्रवाही जलविद्युत् आयोजनाको टेक एन्ड पेमा मात्रै पीपीए गर्ने भन्ने उल्लेख छ । अहिले यो एउटा प्रमुख समस्या बनेको छ । यसले बजार बन्द गरेको छ । 

ऊर्जा उद्यमीले टेक अर पेमै पीपीए गर्नुपर्छ भन्दै आएका छन् । टेक एन्ड पे मा पीपीए गर्दा कुनै पनि बैंकले लगानी गर्दैन । बजेटमा आएको टेक एन्ड पे पीपीएलाई तत्काल हटाउनुपर्छ । 

बजेटमै आएको हुनाले टेक एन्ड पे पीपीएलाई हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा एजेन्डा लैजाँदैछौं । 

यस सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मन्त्रालयलाई पत्र पठाइसकिएको छ । ऊर्जा बजार खुला हुनुपर्छ ।

निजी क्षेत्रले निर्माण गरेको खिम्ती जलविद्युत् आयोजनाबाटै ऊर्जामा विदेशी लगानी भित्रिएको हो । विदेशी लगानीका लागि डलरमा पीपीए गर्न खोज्छन् । हामी डलरको पीपीए गरेर धेरै जोखिम लिने स्थितिमा छैनौँ । त्यसैले हेजिङ मेकानिजम हुनुपर्छ । डलरको भाउ तलमाथि भइरहन्छ र नेपाली मुद्राको मूल्यांकन (भ्यालुएसन) हुन्छ । 

त्यसलाई कसरी हेज गर्ने भनेर हेजिङ मेकानिजम लागू गर्न नेपाल राष्ट्र बैंकसँग पटक–पटक छलफल भएको हो । अझै पनि सही रूप लिन सकेको छैन । पीपीए नेपालीमा गर्‍यौँ भने बेलाबेलामा डलरको मूल्यमा हुने तलमाथिले विकासकर्तालाई घाटा हुन्छ । 

विदेशी लगानीकर्तालाई हुने घाटा पूर्ति गर्न हेजिङ मेकानिजम उपयुक्त हो । यसले कही कभर गर्छ । हेजिङ नहुँदा मानौं एक डलरको नेपाली रुपैयाँ दुई सय पुग्यो भने उनीहरुलाई नेपाली मुद्रा तिर्नासाथ घाटा हुन्छ ।

अर्को कुरा, हामीले डलरमा गर्‍यौँ र यसको मूल्य बढेको बढ्यै गर्‍यो भने नेपाली मुद्रा धेरै तिर्नुपर्छ । यस्तो अवस्थामा निर्माण लागत बढी पर्ने हुन्छ । यी दुईटाका लागि वीन–वीन अवस्था के हो भने सर्टेन डलर हामीले नेपालीमा गर्ने र उनीहरूलाई हेजिङ गरिदिने । 

अर्थात् रेट निश्चित गरिदिने हो । त्यो रेट तलमाथि भयो भने प्रिमियम चार्ज कसले तिर्ने र के गर्ने भन्ने कुरा हेजिङ मेकानिजममा उल्लेख भइहाल्छ ।

अर्को विषय, कार्यान्वयन गर्ने निकायको समस्या छ । त्यसमा पनि मुख्य समस्या वनको छ । काहीँ न काहीं मध्यवर्ती, संरक्षित वन क्षेत्र र निकुञ्जले नछोएको ठाउँ छैन । 

जलविद्युत् आयोजना वा नदी पनि वनजंगल छोएरै बगेका हुन्छन् । एउटा रूख काट्न उस्तै परे पाँच वर्ष लाग्ने अवस्था छ । नियमअनुसार पाउनुपर्ने रूख कटानको काम पनि छिटो हुँदैन । 

यसको समाधानका लागि वन ऐन संशोधन गर्ने स्थिति छैन । तत्कालका लागि नियमावली संशोधन गरेर केही सहजीकरण गर्न खोजिरहेका छौँ ।

सरकारले तेस्रो लगानी सम्मेलन अवसरमा अध्यादेशमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधन गरेको थियो । तर, उक्त संशोधनलाई सर्वोच्च अदालतले खारेज गरेको थियो । 

त्यसबाट राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, आरक्ष, मध्यवर्ती क्षेत्र र यसका सिमानामा रहेका आयोजनाको भविष्य अन्योलमा छ । धेरै जलविद्युत् आयोजना बन्द भएको अवस्था छ । धेरै आयोजना अघि बढ्न सकेका छैनन् ।

 संरक्षित क्षेत्र र निकुञ्जमा यो समस्या बढी छ । सर्वोच्चले त्यस्ता क्षेत्रमा आयोजना निर्माण गर्न नदिने गरी आदेश दिएको छ । यसले गर्दा ठूलो समस्या निम्तिएको छ । संरक्षित र वन क्षेत्रले गर्दा नयी आयोजना थपिएका छैनन् । लगानीकर्ता लगानी गर्न डराउँछन् ।

यसका लागि तत्काल मन्त्रिपरिषद्बाट निर्णय गर्ने र दीर्घकालका लागि फेरि ऐन ल्याएर सहज गर्ने तयारीमा छौँ । नीतिगत रूपमा ठूलो समस्या छ । वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) का समस्या, रूख कटानीका समस्याले गर्दा आयोजना निर्माणमा ढिलाइ भइरहेको छ । आयोजना निर्माणले गति लिन सकेको छैन । 

अहिलेको वनसम्बन्धी कानुनअनुसार एउटा ईआईए सुरू गरेपछि एउटा रूख काट्न उस्तै परे पाँच वर्ष लाग्छ । नियमअनुसार पाउनुपर्ने रूख कटानको काम पनि छिटो हुँदैन ।

त्यसैले यो समस्याको समाधान कसरी गर्ने भनेर गम्भीर रूपमा हेर्न जरूरी छ । यसका लागि वन ऐन संशोधन गर्ने स्थिति छैन । तत्कालका लागि नियमावली संशोधन गरेर केही सहजीकरण गर्न खोजिरहेका छौँ ।

वनको जग्गाको सट्टा जग्गा किन्नुपर्ने, फेरि जग्गाको सट्टा जग्गा नकिने त्यो बराबर पैसा तिर्नुपर्ने विषय छ । यसले गर्दा आयोजनामा ठूलो लागत लाग्ने हुन्छ । फेरि यसका लागि समय पनि बढी लाग्छ । प्रक्रिया लामो छ । प्रसारण लाइनमुनिका जग्गाको पनि पूरै पैसा तिर्नुपर्ने भन्ने छ ।

जलाशययुक्त जलविद्युत् आयोजनाको हकमा पूरै वनको जग्गाको पैसा तिर्नुपर्ने भन्ने छ । यसले निर्माण लागत धेरै बढाउँछ । यसलाई कसरी सहजीकरण गर्ने भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ । प्रसारण लाइनमुनीको राइट अफ वेको अहिले नियमावलीमा केही संशोधन हुँदै छ ।

जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा अझै पनि केही समस्या छन् । यसका लागि ऐनमै केही संशोधन गर्नुपर्ने हुन सक्छ । नभए जलविद्युत् आयोजनाको लागत बढी हुँदै जान्छ । वन ऐनमा संशोधन गर्न जरूरी छ । 

जलविद्युत् आयोजनाका लागि निजी जग्गा अधिग्रहण गर्न निकै ठूलो समस्या छ । यसका लागि क्लिएर कट पोलिसी जरूरी छ । कतै दश गुणा बढीसम्म मुआब्जा माग्ने गरिन्छ, जसले गर्दा आयोजना निर्माणको समय पछि धकेलिने गर्छ । यस्ता कुराले आयोजना निर्माणमा समस्या थपिएको छ ।

जग्गाको मूल्य निर्धारण गर्न पनि समस्या छ । जग्गा अधिग्रहणमा ठूलो परिवर्तन ल्याउन जरूरी छ । ऐन–कानुनमा परिवर्तन गरेर अघि नबढ्दासम्म जलविद्युत् आयोजना निर्माणमा जग्गा अधिग्रहणको ठूलो समस्या हुनेछ ।

प्रसारण लाइनमा त झन् ठूलो समस्या छ । सडक निर्माणमा सडक बन्छ, सहरीकरण हुन्छ र यात्रा छिटो र सहज हुन्छ भन्ने हुन्छ । प्रसारण लाइन विस्तारमा त्यो पनि हुँदैन । अहिले विकास निर्माण सहजीकरण ऐन ल्याउन छलफल गरिरहेका छौँ । यो ऐन आएपछि धेरै समस्या समाधान हुने अपेक्षा छ ।

कानुन कार्यान्वयन, प्रशासनिक समस्या फिर्ता लैजान समस्या छ । विदेशी लगानी आएपनि पैसा फिर्ता लैजान समस्या छ । तर, हाम्रो ऐनले फिर्ता लैजान दिएको छ । यी फिर्ता लैजान नेपाल राष्ट्र बैंकले प्रक्रिया अघि बढाउनुपर्छ ।

अहिले देखिँदै आएका समस्या समाधान गर्दै गएपछि ऊर्जा क्षेत्रमा लगानी सुनिश्चितता हुनेछ । निजी क्षेत्रबाट ऊर्जा क्षेत्रमा धेरै लगानी आइरहेको छ । बजारको सुनिश्चितता भएपछि अरु कुरा आउँदै गर्छ । आन्तरिक बजारलाई सुनिश्चित गर्नुपर्छ । ऊर्जा माग सिर्जना भइरहेको छ । 

अहिले प्रवर्धन गर्नुपर्ने धेरै क्षेत्र छन् । विद्युतीय गाडी, डेटा सेन्टर, कुकिङलगायत क्षेत्रमा विद्युत् खपत बढ्दैछ । यसलाई थप प्रवर्धन गर्ने इनर्जी ट्रान्जिसन नै नेपालको ठूलो एजेन्डा हो । 

अन्य मुलुकमा नवीकरणीय ऊर्जातर्फ जान समस्या भए पनि हामीसँग पर्याप्त नवीकरणीय ऊर्जा छ । तर, बिजुली बाल्न मात्रै हामीले प्रयोग गरिरहेका छौँ । अब पेट्रोल, डिजेल र ग्यासलाई प्रतिस्थापन गर्न पनि हामीले विद्युतीय सवारी, विद्युतीय चुलोलगायत बिजुली खपत गर्ने क्षेत्रमा जोड दिनुपर्छ ।

ऊर्जाका लागि एउटा आन्तरिक बजार हो भने अर्को बाह्य बजार हो । बाह्य बजार विस्तार गर्न पूर्वाधार राम्रो हुनुपर्छ । यो भनेको अन्तरदेशीय प्रसारण लाइन हो । जबसम्म सडक बन्दैन, गाडी त गुड्दैन । बिजुली बिक्री गर्न पनि सुरुमा प्रसारण लाइन बनाउनुपर्छ ।

अहिले चार सय किलोभोल्ट (केभी) को ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन मात्रै सञ्चालनमा छ । ढल्केबर–सितामढी प्रसारण लाइन निर्माण भइसकेको छ । बुटवल–गोरखपुर प्रसारणलाइन निर्माणाधीन छ ।

इनरूवा–पूर्णिया र दोधारा–बरेली प्रसारण लाइन निर्माण गर्न सेयर होल्डर्स र संयुक्त कम्पनी स्थापनाका लागि नेपाल–भारतबीच सम्झौता भएको छ । 

यसले लगानी प्रवर्धनसँगै थप लगानीका लागि सुनिश्चितता गर्छ । आगामी १० वर्षमा कुन–कुन प्रसारण लाइन बनाउन सकिन्छ भनेर पनि नेपाल–भारतको सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।

लगानी सुनिश्चितताका लागि पहिला पूर्वाधार आवश्यक हुन्छ । बजारसम्म जाने बाटो चाहियो, त्यो भनेको प्रसारण लाइन हो । अहिले हामीले जोखिम लिएर प्रसारण लाइनहरू बनाइरहेका छौँ । १५/१६ हजार मेगावाट विद्युत्को माग बाह्य बजारबाट आइसकेको छ । 

नेपाल, भारत र बंगलादेशको सचिवस्तरीय र सहसचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) संयुक्त कार्यदल (जेडब्ल्यूजी) मा समेत बंगलादेश जोड्ने डाइरेक्ट प्रसारण लाइन निर्माण गर्नुपर्छ भन्ने दबाब दिइरहेका छौँ । बजार सुनिश्चित भएपछि जलविद्युत् आयोजनामा लगानी सुनिश्चित हुन्छ । 

निर्यातका लागि प्रसारण लाइन विस्तार नै मुख्य हो । यो नभई विद्युत् निर्यात गर्न सकिँदैन । आन्तरिक प्रशारण लाइन र अन्तरदेशीय प्रशारण लाइन बन्ने भएपछि निर्यात योजनाम त्यहीअनुसार हुन्छ । त्यसअनुसार रणनीतिक प्रसारण लाइन अघि बढ्ने हो ।

अहिले चीनसँग पनि अन्तरदेशीय प्रसारण लाइन बनाउँदै छौँ । भारतीय ऊर्जा बजारमा मध्यकालीन, दीर्घकालीन रूपमा बिजुली बिक्री गर्न बाटी खुला भइसकेको छ । 

भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि सम्झौता गरिसकेका छौँ । हामीसँग जति पनि विद्युत् उत्पादन बढी हुन्छ, त्यो निर्यात हुन्छ भन्ने ग्यारेन्टीका लागि प्रसारण लाइन पहिला तयार गर्नुपर्छ ।

नेपालको आर्थिक समृद्धि र आर्थिक पारदर्शीताका लागि ऊर्जा क्षेत्र नै एक नम्बर क्षेत्र हो । यसले नेपालको पूरै क्षेत्रमा परिवर्तन ल्याउन सक्छ । १० हजार मेगावाट निर्यात गर्दा करिब ५ खर्ब रूपैयाँभन्दा बढी वार्षिक राजस्व आउँछ । 

अहिले हामी वार्षिक तीन/चार खर्बको ग्यास, डिजेल र पेट्रोल आयात गर्दै आएका छौँ । भोलिका दिनमा विद्युत्ले यसलाई प्रतिस्थापन गर्छ । व्यापार घाटा घटाउन सजिलो गर्छ । 

अबको ३० वर्षमा निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजना सरकारको नाममा हस्तान्तरण हुन्छ । त्यसपछि नेपाली जनतालाई विद्युत् निःशुल्क दिन सकिन्छ । त्यसैले जतिसक्दो छिटो जलविद्युत् आयोजना निर्माण बढाउनुपर्छ । 

यसबाटै शिक्षा, स्वास्थ्य निःशुल्क गर्न सकिन्छ । यातायात निःशुल्क गर्न सकिन्छ । पूर्वाधारमा लगानी बढाउन सकिन्छ । ५० हजार मेगावाट विद्युत् निर्यात गर्दा ३० देखि ३५ खर्ब रुपैयाँ कमाउन सकिन्छ, जुन राज्यको ढुकुटीमा बस्छ । त्यसबाट के–केमा लगानी गर्ने हो, त्योअनुसार गर्न सकिन्छ ।

आलेख सेजन स्मारिकाबाट लिइएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १२ : २८ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल