‘नक्कली प्रचण्ड’ घनश्यामको उपचारमा भएकै हो त लापरबाही ? | Khabarhub Khabarhub

‘नक्कली प्रचण्ड’ घनश्यामको उपचारमा भएकै हो त लापरबाही ?

भक्तपुर क्यान्सर अस्पतालसँग श्रीमती युगज्योतिको गुनासै गुनासो


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली प्रचण्ड बनेर चर्चा कमाएका हास्य कलाकार घनश्याम गौतम अहिले जीवन मरणको दोसाँधमा छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको बेडमा गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका उनलाई एक अस्पतालका चिकित्सिकको लापरबाहीले यो अवस्थामा पुर्‍याएको गुनासो परिवारका सदस्यले गरेका छन् ।

डेढ वर्षदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित उनी अहिले क्यान्सरसँगै मिर्गौला र मानसिक समस्याबाट ग्रसित छन् । अस्पतालमै रहेकी श्रीमती युगज्योतिका अनुसार घनश्यामले मानसिक सन्तुलनसमेत गुमाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नक्कल गरेर दर्शकलाई हँसाउने गौतमको यो हविगतले जोकोहीलाई रुवाउँछ । कुनै बेला उनी काठमाडौं भन्दा बाहिरी जिल्लामा हुने स्टेज शोमा व्यस्त भइरहन्थे । तर, स्टेज शो र कार्यक्रममा व्यस्त उनलाई २०८० असारमा समस्या देखियो । दिसा बस्दा रगत देखिएपछि पायल्स ठानेर आयुर्वेदिक उपचारतर्फ लागे । तर निको भए । त्यसपछि केएमसी अस्पतालमै चेकजाँच गराउँदा ठूलो आन्द्रामा ट्युमर पत्ता लाग्यो । उक्त ट्युमर क्यान्सरमा परिणत भइसकेको थियो ।

खवरहबसँगको कुराकानीमा गौतमले भनिन्, ‘भक्तपुर क्यान्सर आस्पतालले उपचारमा लापरबाही गरेर गलत औषधी प्रयोग गरिदियो । त्यहीकारण श्रीमानको यस्तो अवस्थामा भएको हो । गलत उपचार गरिदिने चिकित्सकलाई कारबाही गरेर हामीलाई न्याय चाहिन्छ ।’

यसरी थाहा पाए क्यान्सर

बायोप्सी रिपोर्ट आइसकेपछि ठूलो आन्द्रामा क्यान्सर पुष्टि भयो । त्यसपछि आफन्तको सल्लाहमा उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल लगियो ।

त्यहाँ गएपछि उनले क्यान्सरको चरणबारे जिज्ञासा राखे । उपचारमा संलग्न दुई चिकित्सकमध्ये एकले जुनसुकै चरणको भए पनि निको हुने भनेर जवाफ दिए । अर्का डाक्टरले दोस्रो चरणको भनिदिए ।

त्यसपछि उनका साथी, सञ्चारकर्मी र अरु कलाकारले सोध्दा तेस्रो चरणको क्यान्सर भनियो । ‘त्यसपछि मैले फेरि सोधेँ, मसँग दोस्रो चरणको भन्नुभयो, अहिले तेस्रो चरणको भन्दै हुनुहुन्छ के हो ? सत्य कुरा मलाई पनि भन्नुस्, निको हुन्छ, हुँदैन ?’, युगज्योति भन्छिन्, ‘त्यबेला दोस्रो र तेस्रोको बीचको भन्ने जवाफ आयो । मलाई सुरुदेखि नै शंका लागेको थियो ।’

उपचारमा लापरबाही आरोप

घनश्यामलाई क्यान्सर पुष्टि भइसकेपछि निको हुने आशमा भक्तपुर क्यान्सर अस्पतालमा उपचार सुरु भयो । तीनवटा किमो चढाइसकेपछि रेडियसन गर्नुपर्छ भनियो । तर, रेडियसन गर्दागर्दै पेट फुल्ने समस्या भयो । त्यसपछि आकस्मिक कक्षमा लगियो । चेकजाँचपछि चिकित्सकहरूले आपसी परामर्श गरे । तर परिवारलाई केही भनेनन् ।

त्यसपछि तत्काल अप्रेशन गर्नुपर्ने भनियो । अप्रेशनपछि आन्द्रा जोड्ने सामान चाहिने, त्यसका लागि ४० हजार र अप्रेशनको छुट्टै खर्च लाग्ने खबर अस्पताल प्रशासनले दियो । २०८० पुस ९ गते अप्रेशन भयो । तर सोचेकोभन्दा ठूलो ट्युमर भएकाले निकाल्न नसकेको जवाफ डाक्टरले दिए ।

पहिले किमो लगाएर ट्युमर घटाउने बताएका डाक्टरले तत्कालै अप्रेशन गरेर निकाल्ने भने । उनीहरूले भनेअनुसार उपचार हुँदै गयो । अस्पतालको किमोले काम नगरेकाले बाहिरबाट किनेर ल्याउन लगाइयो । अस्पतालकै डाक्टरले सरकारको स्वास्थ्य बीमाबाट दिने औषधि प्रभावकारी नभएको बहानामा अनेक समस्या थपिदिएको गोतमको गुनासो छ ।

‘जे जस्तो भए पनि श्रीमान् निको हुने आशमा उनीहरूले जे भन्छन्, ती सबै पूरा गरेँ । तर, ट्युमर घटेको कुरा कहिल्यै गरेनन् । कसैले भारतमा लैजान सल्लाह दिए’, उनले भनिन्, ‘मैले अस्पतालमा भारत लैजान्छु भन्दा भ्रममा नपर्नुस् उपचार जहाँ गरे पनि एकै हो भने । निको हुने आश्स्वासन दिइरहे । म पनि त्यही आशमा अल्झिएर बसेँ । ट्युमर नघटेपछि भारतको राजीव गान्धी अस्पताल लगेँ । त्यहाँ पनि किमोबाट ट्युमर घटाएर मात्रै अप्रेशन हुने जवाफ पाएँ ।’

साउन–भदौतिरै गनुपर्ने अप्रेशन अल्झाएर पुसमा गर्न खोज्दा ट्युमर बढ्यो । जसका कारण अहिले पनि अप्रेशन गर्न असहज भइरहेको छ । नेपल र भारतमा उपचारप्रक्रिया एटटै भएपछि भारतमा धेरै खर्च गर्नुभन्दा नेपालमै गर्ने गरी भक्तपुर क्यान्सर अस्पतालमै पुगेको युगज्योति बताउँछिन् ।

नेपाल आइसकेपछि इमोनो चढाउनु थाले । एक पटक इमोनो चढाउँदा एक लाखभन्दाबढी लाग्ने रहेछ । ‘हामीले ८ पटक इमोनो चढाउँदा पनि काम नगरेको जवाफ दिए । त्यसपछि बिरामीलाई दुखाई सुरु भइसकेको थियो’, उनले भनिन्, ‘दुखाइ कम गर्न डाक्टरले मर्फिम खान सल्लाह दिए । जबकी ट्रामाडोलले काम गरीरहेको थियो ।’

उनका अनुसार मर्फिम पनि ४ घण्टाको फरकमा दिन लगाइयो । ‘यसले मिर्गौलामा असर गर्ने डर मलाई थियो । तर डाक्टरहरूले सजिलै मिर्गौला खराब पनि हुनसक्छ, त्यसपछि त्यसको पनि उपचार गर्ने भन्नुभयो’, उनले भनिन्, ‘उपचारमा चरणवद्ध लापरबाहीका कारण पेट फुल्ने समस्या आयो ।तर रगत जाँचबाहेक अरु चेकजाँच गरिएन ।’

युगज्योतिका अनुसार रेडियसनका कारण घनश्यामको पिसाब नली सुकिसकेको अवस्थामा डाक्टरले फेरि ढाँटे । ‘पिसाबमा इन्फेक्शन भएकाले पेट फुलेको समस्या देखिएको बारम्बार भनिरहँदा पनि वास्ता गरिएन’, उनले थपिन्, ‘उपचारकै क्रममा एकदिन उहाँलाई के औषधि दिइयो, थाहा भएन । तर त्यो औषधि खाएको केही समयमा एक्लै बर्बराउने, जे मन लाग्यो त्यही बोल्ने व्यवहार देखाउन थाल्नुभयो ।’

यस्तो किन भइरहेको छ भनेर सोध्दा डाक्टरले वास्त नगरेको उनले सुनाइन् । ‘त्यस्तो समस्या देखिएको ४ दिनसम्म कोही डाक्टर हेर्न आएनन् । नर्सहरूसँग फोनमै कुरा गरेर औषधि दिने गर्नुभयो ।’

समस्या गम्भीर भएपछि डाक्टररूले आफूमाथि नमीठो व्यवहार गरेका उनले सुनाइन् । ‘कुनै चेकजाँच नै नगरी तपाईंको विरामी क्यान्सरलेभन्दा किड्नीको समस्याले जान्छ । निजी अस्पतालमा रेफर गरीदिन्छौँ भने’, उनले अगाडि थपिन्, ‘मैले मेरो आर्थिक अवस्था कमजोर छ । यदि रेफर गर्ने हो भने प्रत्यारोपण केन्द्रमा गरिदिन भनेँ । तर तपाईं जहाँसुकै जानुस्, यहाँबाट डिस्चार्ज गरिदिन्छौँ भनेर मेरो फाइल फालियो ।’

त्यसपछि उनी पतिको उपचारको खोजीमा प्रत्यारोपण केन्द्र पुगिन् । ‘त्यहाँ पेटमा पाइप राखियो, जसका कारण अहिले पिसाबमा सहज भइरहेको छ’, उनले थपिन्, ‘अन्य चेकजाँच पनि गरियो । क्यान्सर अस्पतालले भनेको जस्तो किड्नीमा खराबी देखिएन । एक हप्ताको औषधि दिएर पठाए ।’

केएमसीमा सुधार

भक्तपुर अस्पतालका डाक्डरले आफूमाथि अपमानजनक व्यवहार गरेको युगज्योतिले बताइन् । अहिले उनले पतिलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरेकी छन् ।

‘केएमसीमा आउँदा डाक्टरले उहाँ पहिलेदेखिकै मानसिक बिरामी भनेर सोधे । तर, घनश्यामलाई यसअघि कुनै समस्या थिएन’, उनले भनिन्, ‘एउटा कलाकार मान्छे, देशभर पुगेर जनता हँसाउने मान्छे कसरी मानसिक बिरामी हुन्छ । नक्कली प्रचण्ड बनेर प्रचण्डलाई नै उहाँले हँसाउन भएको थियो । क्यारीकेचर गरेर दर्शकहरुलाई हँसाएर जीवन चलाउने मान्छे कसरी मानसिक रोगी हुन्छ ?’

क्यान्सरसँगै भक्तपुर अस्पतालमा मानसिक समस्या र पिसाबमा इन्फेक्शन थपिएपछि केएमसी अस्पताल आउनुपरेको उनले बताइन् । ‘अहिले पिसाबको समस्या छैन । मानसिक अवस्थामा पनि सुधार भएको छ । के कारणले मानसिक समस्या आयो। त्योकेही भनिएको छैन’, यगज्योतिले भनिन् ।

यही पुस २३ गते केएमसी भर्ना भएका घनश्यामको २४ गते सानो अप्रेशन गरेर पेटमा पाइप राखी मिर्गौलबाटै पिशाव बाहिर पठाउने व्यवस्था गरिएको छ । ‘केएमसीले एकदमै राम्रो स्याहार पनि गरिरहेको छ । यहाँ आएपछि माया मारिसकेको बिरामी अब फर्किने आश पलाएको छ’, उनले भनिन् ।

अरु रोग कम हुँदै गए पनि ट्युमरको समस्या यथावत छ । ‘यहाँका डाक्टरले पनि ढिलो भइसक्यो, अब केही गर्न मिल्दैन भन्नुभयो’, उनले थपिन्, ‘भक्तपुर क्यान्सर अस्पताललाई विश्वास गरेर मैले ठूलो गल्ती गरेँ ।’

उपचारमा लापरबाहीसँगै भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकले ‘बिरामीलाई जहाँसुकै लैजाऊँ’ भनेर फाइल फ्याँकिदिएकोमा उनको चित्त कुँढिएको छ । ‘उपचारमा लापरबाही त भयौ नै साथमा मेरो फाइल फ्याँकेर जबरजस्ती डिस्चार्ज गरियो’, उनले भनिन्, ‘त्यो कुरामा मलाई न्याय चाहिन्छ । ट्रामाडोलले काम गर्दागर्दै किड्नीमा समस्या हुने भन्दा पनि नियतवश मरिफुम चलायो, लापरबाही गर्नेलाई कारबाही हुनुपर्छ ।’

उनले आफूलाई पैसा नचाहिएको बताउँदै अरुले पनि पीडित हुनु नपरोस् भनेको बताइन् । ‘म जस्तै अरुले पीडित हुनु नपरोस्, जुन पीडा मेरो श्रीमानले भोग्नुभयो, उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही गरियोस्’, उनले भनिन् ‘कलाकार संघ लगायत संघ संस्थाको सहयोगमा उपचार भइरहेको छ । अहिले सामाजिक सञ्जाल लेखिसकेपछि सहयोग आउने आश बढेको छ ।

उता भक्तपुर क्यान्सर अस्पतालले आर्थिक सहयोगको आश देखाउन थालेको छ । ‘सञ्चारमाध्यममा नबोल, अस्पतालमै आएर सरसल्लाह गरौँ भन्ने दबाब आइरहेको छ’, उनले भनिन्, ‘मलाई पैसा र सल्लाह भन्दा मेरो श्रीमानको उपचारमा लापरबाही गरेर यो अवस्था बनाउने डाक्टरलाई कारबाही हुनुपर्छ ।’

के भन्छ क्यान्सर अस्पताल प्रशासन ?

क्यान्सर अस्पताल प्रशासनले भने सक्ने जति उपचार गरेको जिकिर गरेको छ । घनश्यामको क्यान्सरको अवस्था चौथो चरणमा गइसकेकाले उपचार सम्भव नभएको जवाफ अस्पतालले दिएको छ ।

‘चेक जाँच, औषधि, क्याबिन लगायत कुरामा सकेजति अस्पतालले छुट पनि गरेकै हो । सरकारी अस्पताल भए पनि पूरै निःशुल्क गर्न सकिँदैन’, अस्पतालका एक अधिकारीले भने ।

उता अस्पतालकी सूचना अधिकारी राजमति गोसाईले उपचारमा प्रयोग भएका औषधिबारे चिकित्कसहरू नै जानकार रहेको बताइन् । ‘के कस्ता औषधि प्रयोग भए ? के कारण यस्तो समस्या आएको कुराबारे उपचारमा संलग्न चिकित्सकले नै जान्ने कुरा हो । हामी कर्मचारीले यसबारे विस्तृत केही भन्न सकिँदैन’, उनले भनिन् ।

प्रशासन प्रमुख राजाराम तजले घनश्यामकी श्रीमतीले सामाजिक सञ्जालमा लेखेर अस्पतालको बदनाम गर्न खोजेको बताए । ‘उहाँ (घनश्याम) जीकी श्रीमतीले सामाजिक सञ्जालमा अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सबारे जुन नकारात्मक कुरा लेखिरहनुभएको छ, त्यो गलत हो’, उनले भने, ‘उहाँ कलाकार भएका नाताले एकदमै सम्मान दिएर २ वर्षसम्म उपचार गरेको हो । अस्पतालका हरेक सदस्यले उहाँलाई चिन्छन् ।’

श्रीमानको जटिल अवस्था जटिल देखेर श्रीमती आवेशमा आएको हुन सक्ने उनको बुझाइ छ । ‘मर्फिम दुखाइ कम गर्ने औषधि हो । उहाँलाई त्यही औषधि चलाइएको थियो । यो औषधिले मिर्गौलालाई हानी गर्छ’, उनले भने, ‘त्यहीकारण उहाँलाई त्यो औषधी दिइएन । तर, उहाँकी श्रीमतीले बिरामी पीडाले छटपटाउँदा दुखाइ कम गर्ने औषधि नदिएको आरोप लगाउनु भएछ ।’

तजका अनुसार घनश्यामलाई एक चिकित्सकले मात्रै नभएर अस्पतालका फरक फरक विभागका चिकित्सकले हेरेको थिए । सर्जरी, मेडिसिन र किमोसहित विभिन्न टिमका डाक्टरले घनश्यामको उपचार गरेको तर्क प्रशासन प्रमुख तजले गरेका छन् ।

‘तर, उहाँ (युगज्योति) ले सामाजिक सञ्जालमा जुन तरिकाले आरोप लगाइरहनुभएको छ, त्यो सत्य होइन’, तजले भने, ‘होला, कुनै डाक्टरले रुखो स्वरले बोले होलान् । तर, उपचारमा लापरबाही भएको छैन उहाँलाई चाहिने र अस्पतालको क्षमता अनुसारको उपचारमा कसर बाँकी राखेको थिएनौँ ।’

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : ४३ बजे

आज २०८१ साल पुस २९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार

पाकिस्तानमा हेपाटाइटिस सीका सङ्क्रमणको उच्चतम दर

इस्लामाबाद – पाकिस्तानमा हेपाटाइटिस सीका बिरामीको सङ्ख्या विश्वमा सबैभन्दा बढी

चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द

बागलुङ – अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय

केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख

गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु

जेरुसेलम – उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको