३७ वर्षमै थाई प्रधानमन्त्री बनेकी पेटोङटार्नका घडीमात्रै ७५ वटा, अरु सम्पत्ति कति ? | Khabarhub Khabarhub

३७ वर्षमै थाई प्रधानमन्त्री बनेकी पेटोङटार्नका घडीमात्रै ७५ वटा, अरु सम्पत्ति कति ?


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालै प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा पुगेर आए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए ।

थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राम्रै सम्मान र सत्कार पनि पाए । ओलीको थाइल्याण्ड भ्रमणका बेला नेपालमा थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको पनि राम्रो चर्चा भयो ।

प्रधानमन्त्री ओलीसँग एउटै टेबलमा बसेकी सिनावात्राले नेपाली जनको ध्यान खिच्न सफल भइन् । ओलीसँगको भेटवार्ताका बेला औपचारिक थाई पोसाकमा सजिएकी उनको हाउभाउ र शिष्टता पनि धेरै नेपालीले रुचाए ।

आखिर को हुन् पेटोङटार्न सिनावात्रा ? आज हामीले उनै थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राका बारेमा जानकारी दिने जमर्को गरेका छौँ ।

सिनावात्रा गत वर्षको अगस्ट महिनामा थाइल्याण्डको प्रधानमन्त्री चुनिएकी हुन् । थाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने उनी दोस्रो महिला हुन् ।

निर्वाचित हुनेबेला ३७ वर्ष रहेको सिनावात्रा थाइल्याण्डको इतिहासकै सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री पनि हुन् । थाई संसदले प्रधानमन्त्री चुन्नुअघि उनले कुनै राजनीतिक पद धारण गरेकी थिइनन् ।

थाइ भाषामा उनको नाम लेख्दा ‘पेटोङटार्न सिनावात्रा’ लेखिन्छ । तर, भाषागत कारणले उनको नाम ‘फेथोङथान चिनावात’ वा यसै समान केही उच्चारण गरिन्छ ।

समय क्रमसँगै शब्दको उच्चरणमा परिवर्तन आएपनि लेख्य थाई भाषा अपरिवर्तनशील रहँदै आएको छ । तैपनि हामी उनको नाम पेटोङटार्न सिनावात्रा नै लेख्नेछौँ ।

खैर, लेख्य र कथ्य थाई भाषामा जेजस्तो नाम भएपनि उनलाई माया गरेर उङ-इङ अथवा इङ मात्रै भनेर पनि पुकारिन्छ । उनी पूर्वप्रधानमन्त्री एवम् अर्बपति व्यवसायी थाक्सिन सिनावात्राका तीनमध्ये सबैभन्दा कान्छी छोरी हुन् ।

थाक्सिनले सन् २००१ देखि सन् २००६ को सैन्य कूसम्म थाइल्याण्डको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । थाक्सिनको कुल सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलरभन्दा धेरै रहेको फोर्ब्सले जनाएको छ ।

उनका मामा सोमचाइ वोङसवत पनि सन् २००८ को अन्त्यतिर छोटो समयका लागि प्रधानमन्त्री भएका थिए । सोमचाइलाई पनि संवैधानिक अदालतले पदबाट हटाएको थियो ।

पेटोङटार्नकी फुपू यिङलक सिनावात्रा पनि प्रधानमन्त्री भएकी थिइन् । उनले सन् २०११ देखि सन् २०१४ को सैन्य कूसम्म थाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

कतिपयले मुलुकको शक्तिशाली राजनीतिक परिवारकी कान्छी छोरी भएकैले उनी प्रधानमन्त्री बनेको समेत टिप्पणी गर्दै आएका छन् । थाइल्याण्डको चुलालङ्कोर्न विश्वविद्यालयमा राजनीतिशास्त्र विषयका एशोसिएट प्रोफेसर पुआङथोङ पावाकापनको पनि यस्तै धारणा छ ।

उनले जर्मन प्रसारक संस्था डोइच वेलेलाई भनेका छन्– ‘यदी पेटोङटार्न थाक्सिनकी छोरी नभएको भए उनलाई थाइल्याण्डको प्रधानमन्त्री बन्न असम्भव नै थियो ।’

७५ वर्षीय थाक्सिनले राजनीतिमा आफ्नो प्रभावलाई कायमै राख्न छोरीलाई प्रधानमन्त्री बनाएको भन्दै उनको आलोचना पनि हुने गरेको छ । तर, उनी यस्तो आरोप स्वीकार गर्न तयार छैनन् ।

अघिल्लो चुनावी अभियानका क्रममा उनले एक जना पत्रकारलाई भनेकी थिइन्– ‘आफ्ना बाबुको छायाँ होइन । म जहिल्यै पनि मेरै बाबुकी छोरी हुँ र सधैँभरी रहनेछु, तर मेरो आफ्नै निर्णयहरु छन् ।’

हुन पनि उनी सानैदेखि पिता थाक्सिनकै छत्रछायाँमा हुर्किइन् । थाक्सिन आफ्नो राजनीतिक अभियानमा जाँदा होस् वा गल्फ खेल्दा होस्, उनी सधैँ आफ्ना पितासँगै जान्थिन् ।

उनले सुरुमा थाइल्याण्डकै सेन्ट जोसेफ कन्भेन्ट र माटेर डेई स्कूलमा पढिन् । त्यसपछि उनले चुलालङ्कोर्न विश्वविद्यालयमा राजनीतिशास्त्र अध्ययन गरिन् । सन् २००८ मा विश्वविद्यालय स्नातक सकेर उनी थप अध्ययनका लागि बेलायत गइन् ।

उनले बेलायतको सरे विश्वविद्यालयमा इन्टरनेशनल होटेल म्यानेजमेन्ट विषयमा मास्टर्ससम्म अध्ययन गरेकी थिइन् । बेलायतमै रहँदा १७ वर्षको उमेरमा उनले बेलायतमा म्याकडोनाल्ड्समा पार्टटाइम काम गरेकी थिइन् ।

उनी २० वर्षको हुँदा थाइल्याण्डमा सेनाले सत्ता कब्जा गर्‍यो । थाक्सिन पदमुक्त भए । त्यसबेला उनले आफ्नो परिवारको स्वामित्वमा रहेको होटेल म्यानेजमेन्ट कम्पनी चलाएकी थिइन् ।

विस्तारै उनी राजनीतितर्फ पनि आकर्षित हुँदै गइन् । सन् २०२१ मा उनले थाक्सिनद्वारा स्थापित फेउ थाई पार्टीको समावेशिता तथा नवप्रवर्तनका लागि प्रमुख सल्लाहकारका रुपमा काम थालेकी थिइन् ।

सन् २०१९ मा उनले व्यवसायिक पाइलट तथा आतिथ्य एवम् खेलकुद कम्पनीका प्रमुख कार्यकारी पिताका सुक्सावातसँग विवाह गरिन् । उनले बैंकक र हङकङ गरी दुई ठाउँमा विवाह भोज खुवाएकी थिइन् ।

उनका एक छोरा र एक छोरी छन् । उनले सन् २०२१ मा छोरी थितरालाई जन्म दिएकी थिइन् । सन् २०२३ मा छोरालाई जन्म दिनुअघि गर्भवती भएका बेला उनी चुनावी अभियानमा व्यस्त थिइन् । उनका छोरा प्रुथ्थासिन चुनाव हुनु दुई साताअघि मात्रै जन्मेका थिए ।

सन् २०२२ को मार्च महिनामा दिएको अन्तरवार्तामा उनले ‘होटेल नै आफ्नो सोख’ भएको टिप्पणी गरेकी थिइन् । न्यूयोर्क टाइम्सका अनुसार उनले त्यसबेला भनेकी थिइन्– ‘‘होटेल नै मेरो सोख हो… तर सन्तानलाई जन्म दिएपछि भने मेरो सोचाइमा परिवर्तन आयो… म मेरा सन्तानका लागि यो देशलाई बस्नयोग्य बनाउन चाहन्छु ।’’

उनीसँग पारिवारिक व्यवसाय र एससी एसेट कर्पोरेसनजस्ता कम्पनीको स्वामित्व छ । उनी विलासी जीवनशैलीका कारण चर्चामा आउने गर्छिन् । थाइल्याण्डमा भ्रष्टाचारविरुद्ध गठित आयोगलाई गत जनवरीमा बुझाएको सम्पत्ति विवारणअनुसार उनीसँग ४० करोड अमेरिकी डलर बराबर सम्पत्ति छ ।

उनको स्वामित्वमा जापानमा जग्गाजमिन पनि छ । त्यसैगरी, लण्डनमा पनि उनको सम्पत्ति छ । उनीसँग २ सय १७ भन्दा धेरै डिजाइनर ह्याण्डब्याग र ७५ वटा विलासी घडी छन् ।

उनीसँग भएका डिजाइनर ह्याण्डब्यागको मूल्य २३ लाख डलरभन्दा बढी हुन आउँछ । विलासी घडीको मूल्य पनि झण्डै ५० लाख डलर पर्छ । त्यसैगरी, उनीसँग २३ वटा सवारी साधन पनि छन् ।

ती सवारी साधनको मूल्य २० लाख डलर पर्छ । अरु सम्पत्तिको कुरा गर्दा उनीसँग कानमा लगाउने गहना मात्रै २ सय ५ जोडी छन् । ती गहनाको मूल्य झण्डै १६ लाख डलर पर्छ ।

उनीसँग नेकलेस पनि ६७ वटा छन् । जसको मूल्य १० लाख डलर पर्छ ।

उनी बारम्बार चानल ब्राण्डका ज्याकेट र गुची ब्राण्डका जुत्तामा देखिन रुचाउँछिन् । प्रायः सार्वजनिक कार्यक्रमहरुमा उनी ब्लेजर लगाउन रुचाउँछिन् । तर, औपचारिक कार्यक्रममा भने उनी परम्परागत थाई पहिरनमै सजिएकी हुन्छिन् ।

सामाजिक सञ्जालमा पनि उनी धेरै सक्रिय छिन् । फेसबुकमा उनलाई ६ लाख ८२ हजार जनाले फलो गरेका छन् । उनी इन्स्टाग्राममा धेरै सक्रिय रहन्छिन् ।

इन्स्टाग्राममा उनका ७ लाख ५३ हजार फलोअर्स छन् भने एक्समा पनि उनलाई १ लाख ४३ हजार जनाले फलो गरेका छन् । टिकटकमा पनि उनलाई ६ लाख ६४ हजार जनाले फलो गरेका छन् ।

सबै तस्बिरहरु- उनकै इन्स्टाग्रामबाट

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ०२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते

आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबारको राशिफल

काठमाडौं – आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते

बिस्का जात्राः रथले किचेर एक जनाको मृत्यु

भादगाउँ – भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर

सरकारको कमजोरीको फाइदा प्रतिगामीले लिन खोज्दै छन् : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल