कसरी सम्भव भयो युद्धविराम ? भारत–पाक मिलाउने ट्रम्प कि ओली ? | Khabarhub Khabarhub

कसरी सम्भव भयो युद्धविराम ? भारत–पाक मिलाउने ट्रम्प कि ओली ?

भारत र पाकिस्तानबीच हानाहान रोक्न कुराकानी गरेको बताएपछि सामाजिक सञ्जालमा ओलीको चर्चा



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उदेकलाग्दो भाषण गरे । हुन त ओली यस्ता वाकपटुताका लागि माहिर छन् भन्ने कुरा नेपाली जनता र सञ्चार माध्यमबाट छुपेको छैन । तर, सोमबार लुम्बिनीमा ओलीले गरेको भाषण ‘टु मच’ नै सुनियो।

लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आयोजित सभामा उनले बडो उत्साहका साथ भनिदिए– हामीले कुराकानी गरेपछि भारत र पाकिस्तान संयमित भए, अलिकति हात हालाहाल त भएको थियो, हामीले कुरा गरेपछि हात हालाहाल बढ्न पाएन ।

ओलीले दिएको भाषण सामाजिक सञ्जालमा हाँसो मजाकको विषय बनिरहेको छ । आम जनताले उनका कुरा पत्याएका छैनन् । अहिले उनी सामाजिक सञ्जालमा ‘ट्रोल’ भइरहेका छन् ।

नेपाल त्यही देश हो, जसका प्रधानमन्त्री ओली स्वयं झण्डै दश महिनादेखि भारत भ्रमणमा जाने इच्छा देखाइरहेका छन् । तर, उनलाई भारतले अहिलेसम्म औपचारिक भ्रमणको निम्तो समेत दिएको छैन ।

त्यसमाथि पाकिस्तानसँग पनि नेपालको देखिनेस्तरमा खासै गहिरो सम्बन्ध बनेको देखिँदैन ।

यस्तो अवस्थामा नेपालका प्रधानमन्त्री सोमबार लुम्बिनीमा भन्दै थिए–

झण्डै झण्डै भर्खर अहिलेमात्रै केही दिन अगाडिमात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो, हात हालाहाल बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस्, यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौँ । उहाँहरूसँग पनि कुरा गर्‍यौँ । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता गर्नुभयो । फेरि पनि केही कचकचहरू, आरोप र प्रत्यारोपहरूको स्थिति छ ।

भिडियो हेर्नुहोस्-

भारतले आतंककारी संगठनलाई निमिट्यान्न पार्न भन्दै पाकिस्तानी भूमिमा बुधबार अपरेशन सिन्दुर नामक सैन्य कारवाही सञ्चालन गरेको थियो । त्यसको भोलिपल्ट अबेर नेपालको परराष्ट्र मन्त्रालयले भारतको पक्ष लिँदै विज्ञप्ति निकालेको थियो ।

परराष्ट्र मन्त्रालयको विज्ञप्ति हेर्दा नेपाल सरकारको भूमिका भारत-पाक लडाइँ रोक्नेतर्फ नभई आतंकवादविरुद्धको अभियानमा भारतलाई साथ दिने भन्ने थियो । नेपाल सरकारको विज्ञप्तिमा मध्यस्थताको प्रशंग नै थिएन ।

परराष्ट्रको विज्ञप्तिमा भनिएको थियो–

२२ अप्रिल २०२५ मा पहलगाम, भारतमा एक जना नेपाली नागरिकले समेत अमूल्य जीवन गुमाएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएकोप्रति नेपाल सरकार गहिरो चिन्ता व्यक्त गर्दछ । यस दुःखद घडीमा नेपाल र भारत आपसी शोक र दुःखमा एक अर्काप्रति एकताबद्ध भई उभिएका छन् ।

सबै किसिमका आतंकवादको विपक्षमा रहने आफ्नो अडानअनुसार नेपालले उक्त बर्बर आतंककारी आक्रमणको तत्काल र स्पष्टसँग निन्दा गरेको स्मरणीय छ । नेपाल सबै किसिमका आतंकवादको विरुद्धमा लड्न एकैठाउँमा उभिएको छ । आफ्नो सिद्धान्तअनुसार नेपालले आफ्नो भूमि छिमेकी मुलुकविरुद्ध प्रयोग गर्न दिनेछैन ।

नेपाल तनाव कम होस् भन्ने चाहन्छ र यस क्षेत्रमा चीर शान्ति र स्थीरताप्रति प्रतिबद्ध छ ।

विज्ञप्ति हेर्नुहोस्-

भारतीय पक्षको भनाइ मान्ने हो भने दुई मुलुकबीच शनिबार भारतीय समयअनुसार ५ बजेदेखि युद्धविराम लागू भएको हो । यस्तो अवस्थामा दुई दिनअघि भारतको पक्षमा विज्ञिप्ति निकालेको अवस्थाबाट नेपालले कसरी दक्षिण एशियाका जन्मजात दुश्मन र आणविक शक्तिसम्पन्न पाकिस्तान र भारतलाई मिलाउन सक्यो होला ?

अथवा भारत र पाकिस्तानलाई मिलाउन ओली र परराष्ट्र मन्त्रालयका अधिकारीले कहाँकहाँ को-कोसँग वार्ता गरे ? वा कस्तो प्रकारले कूटनीतिक पहल गरे ?

अथवा, दुई आणविक शक्तिसम्पन्न छिमेकीहरुबीच हानाहान र मारामार भइरहेको संवेदनशील र जटिल समयमा आफ्नै देशको अध्यक्षता रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क के गरिरहेको थियो ? आफ्नो भाषणमा ओलीले यो प्रश्नको जवाफ दिएनन् ।

‘अपरेशन सिन्दुर’ का क्रममा भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका ९ स्थानलाई लक्षित गरी हवाइ आक्रमण गरेको थियो । भारतले आफ्नो भूमिमा हुने आतंककारी आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउने गरेको छ ।
हुन पनि गत शनिबार दिउँसोसम्म पनि भारत र पाकिस्तानबीच मारामार र हानाहानको अवस्था थियो ।

एकले अर्को मुलुकमाथि क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरिरहेका थिए । दुवैले दुश्मनलाई परास्त गरेको, दुश्मनको लडाकु विमान खसालेको, उसको क्षेप्यास्त्र प्रणाली ध्वस्त पारेकोजस्ता दाबी र प्रतिदाबी गरी नै रहेका थिए । अपरेशन सिन्दुरको जवाफस्वरुप पाकिस्तानले पनि भारतीय भूमिमा ड्रोन र क्षेप्यास्त्रले आक्रमण गर्‍यो ।

शनिबारमात्रै पाकिस्तानले भारतविरुद्ध ‘अपरेशन बुन्यानुन मरसुस’ शुरु गरेको घोषणा गरेको थियो । दुवै देशका सञ्चार माध्यम एक अर्काविरुद्ध विषवमन गर्दै, समाचार फलाक्दै थिए ।

तर, शनिबार एकाएक दुई मुलुक युद्धविराम गर्न राजी भए । युद्धविरामको घोषणा भारत वा पाकिस्तानका तर्फबाट आएको थिएन । बरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा गरेको एउटा पोस्टपछि बल्ल दुई देश युद्धविराम गर्न तयार भएको थाहा भएको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नै स्वामित्वमा रहेको ट्रुथ सोसल नामक सामाजिक सञ्जालमा भारत र पाकिस्तान ‘तत्काल र पूर्ण’ युद्धविराम गर्न तयार भएको पोस्ट गरेका थिए । उनको पोस्ट लगत्तै पाकिस्तान र भारत दुवै देशले युद्धविरामको पुष्टि गरे । त्यसपछि बल्ल दुवै देशका नागरिक, दक्षिण एशिया र पूरा विश्वले राहतको लामो सास फेर्‍यो ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए–
‘अमेरिकी मध्यस्थामा राति भएको लामो वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविरामका लागि सहमत भएको घोषणा गर्न पाउँदा मलाई खुशी मिलेको छ । सामान्य चेत र महान् बुद्धिमत्ता उपयोगका लागि म दुवै मुलुकलाई बधाइ छ । यस विषयमा तपाईँहरुले ध्यान दिनु भएकोमा धन्यवाद !’

यसलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै मुलुक द्विपक्षीय सम्बन्धका विविध विषयमा तटस्थ स्थानमा वार्ता गर्न तयार रहेको जानकारी दिएका थिए । त्यसलगत्तै पाकिस्तानी विदेशमन्त्री इशक दार र भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि युद्धविराम सम्झौता गर्न दुई मुलुक तयार भएको पुष्टि पनि गरे ।

युद्धविरामसँगै दुवै मुलुकले पछिल्लो तनावमा आफूले जीत हासिल गरेको दाबी गरेका छन् । पाकिस्तानी सेनाले पाकिस्तानी जनतालाई आफूले भारतको आक्रामकतालाई निस्तेज पारेको भाष्य तयार पारेको छ । उता भारतमा पनि पाकिस्ताानसँग आणविक हतियार भएपनि ‘घरमे घुसके मारेँगे’ शैलीमा पाकिस्तानी भूमिमै रहेका आतंककारी संरचनामा आक्रमण गर्न सफल भएको भाष्य बनेको छ ।

कसरी सम्भव भएको थियो युद्धविराम ?
युद्धविराम गर्न दुई देश कसरी सहमत भए भन्ने विषयलाई भारत र पाकिस्तान दुवै देशले आ–आफ्नै किसिमले अथ्र्याउने गरेका छन् । तर, दुवै देशका अधिकारी के कुरामा चाहिँ सहमत छन् भने युद्धविरामको विषय शनिबार अपराह्नमात्रै टुङ्गिएको थियो ।

भारतले बुधबार पाकिस्तानी भूमिलाई लक्षित गरी हवाई आक्रमण गरेपछि इस्लामावाद, नयाँ दिल्ली र वाशिङ्टन डीसीका सर्वोच्च सैनिक, प्रशासनिक र कूटनीतिक मुख्यालयमा फोनको घण्टी बज्न शुरु भइसकेको थियो । अमेरिकी टेलिभिजन सीएनएनका अनुसार अपरेशन सिन्दुर थाल्नेबित्तिकै भारतले पाकिस्तानी पक्षसँग कुराकानीको पहल गरेको थियो ।

भारतीय सेनाको सैन्य कारवाहीका महानिर्देशक लेफ्टिनेन्ट जनरल राजीव घाइलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ– ‘आतंकवादको मुटुमा प्रहार गर्नुपर्ने बाध्यताबारे जानकारी गराउन’ भारतले पाकिस्तानसँग प्रारम्भीक संवादको प्रयास गरेको थियो । तर, पाकिस्तानी पक्षले त्यसलाई ठाडै अस्वीकार गरेको थियो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अहमद शरिफ चौधरीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार भारतले बिहीबार र शुक्रबार पनि पाकिस्तानी पक्षसँग संवादको प्रयास गरेको थियो । ‘हामीले उनीहरुलाई बदला लिएपछि बल्ल संवाद गर्छौँ भनेका थियौँ ।’ मेजर जनरल चौधरीले आइतबार भनेका थिए ।

वाशिङ्टन डीसीस्थित ब्रुकिङ्ग्स इन्स्टिच्युट वरिष्ठ प्राज्ञ तान्वी मदनले बीबीसीलाई बताएअनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत बिहीबार पाकिस्तानका सेनाप्रमुख असिम मुनिरसँग टेलिफोन संवाद गरेका थिए । यससँगै युद्धविरामको वास्तविक पहल शुरु भएको उनको भनाइ छ ।

स्थानीय समयअनुसार बिहीबार बेलुकी पाकिस्तानले भारतको हवाई प्रतिरक्षा प्रणालीको जाँच गर्न भारतीय भूमिमा तीन सयदेखि चार सय ड्रोन प्रहार गरेको थियो । त्यसै दिन अमेरिकी उपराष्ट्रपति जेडी भान्स फक्स न्यूजमा भारत र पाकिस्तानको तनावमा ‘हाम्रो सरोकार छैन’ भन्दै थिए । उनले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका थिए ।

न्यूयोर्क टाइम्समा उल्लेख भएअनुसार पाकिस्तानको रावलपिण्डी शहरस्थित नूर खान हवाइ अड्डामा विष्फोटन भएको सूचनाले अमेरिकालाई चिन्तित तुल्यायो । सो हवाइ अड्डा नजिकै पाकिस्तानी आणविक हतियार रहेको आशंका गरिन्छ । कूटनीतिक संवाद चलिरहेका अवस्थामा भारतले हवाइ अड्डामा आक्रमण गरेपछि पाकिस्तानी सेनाको एउटा खेमा पनि उस्तै शैलीमा भारतीय भूमिमा व्यापक आक्रमण गर्नुपर्ने सोचमा पुगिसकेको थियो ।

त्यसपछि पाकिस्तानले चीन र साउदी अरबजस्ता मुलुकसँग पनि सम्पर्क बढायो । एकातर्फ आणविक हतियार रहेको स्थानमा आक्रमण र अर्कोतर्फ भारत–पाकिस्तान तनावमा प्रतिस्पर्धी चीनले महत्वपूर्ण भूमिका खेल्ने सम्भावनापछि बल्ल अमेरिकाले गम्भीरतापूर्वक मध्यस्थताको पहल थालेको थियो ।

त्यसपछि अमेरिकाको तर्फबाट इस्लामावाद र नयाँ दिल्लीमा फोन गयो । तर, यतिले मात्रै यो तनाव रोकिनेवाला थिएन । यसका लागि साउदी अरब र संयुक्त अरब इमिरेट्सले पनि पहल गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

त्यसपछि भारतीय मूलकी महिलासँग विवाह गरेका उपराष्ट्रपति जेडी भान्सले सीधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन घुमाए । उनी केही समयअघि मात्रै भारतको भ्रमण गरी स्वदेश फर्केका थिए । मोदीलाई भान्सले पाकिस्तालाई समेत मान्य हुनेगरी सैन्य कारवाहीको विकल्प खोज्न आग्रह गरेका थिए । मोदीले सुनेमात्रै, केही ठोस जवाफ फर्काएनन् ।

त्यही बेला विदेशमन्त्री रुबियो पाकिस्तानी सेनाप्रमुख मुनिरसँग संवादमा थिए । रुबियोले विदेशमन्त्रीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी पनि सम्हालिरहेका छन् । लामो समयदेखि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले पाकिस्तानी सेनासँग प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाइएको छ ।

रुबियोले पाकिस्तानका विदेशमन्त्री इशक दार र भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि टेलिफोन वार्ता गरेका थिए । जयशंकर र रुबियोबीच वाशिङ्टन डीसीमा गत जनवरी २२ का दिन भेटवार्ता भएको थियो । त्यसपछि अमेरिकी दबाब र तारन्तारको टेलिफोन सम्पर्कपछि बल्ल भारत र पाकिस्तान आपसमा कुरा गर्न सहमत भएका थिए ।

भारतीय सेनाका अनुसार शनिबार पाकिस्तानी अधिकारीहरु ‘हट लाइन’ मार्फत् भारतीय पक्षसँग सम्पर्कमा आएका थिए । उनी भारतीय पक्षसँग संवाद गर्न चाहन्थे । पाकिस्तानी सेनाले पनि यसको पुष्टि त गरेको छ तर, मध्यस्थकर्तासँगको वार्तापछि मात्रै भारतीय पक्षसँग संवादको पहल गरिएको दाबी गरेको छ ।

भारतीय सेनाको सैन्य कारवाहीका महानिर्देशक लेफ्टिनेन्ट जनरल राजीव घाइका अनुसार शनिबार दिउँसो ३ बजेर ३५ मिनेटमा भारतीय र पाकिस्तानी पक्षबीच युद्धविराम गर्ने सहमति भएको थियो । पाकिस्तानले यसको पुष्टि गरेको छैन । यद्यपि पाकिस्तानलाई भारत युद्धविरामको सम्झौतामा कायम रहन्छ भन्ने आश्वासन चाहिँ अमेरिकाले नै दिएको एक जना पाकिस्तानी अधिकारीले नाम नबताउने शर्तमा सीएनएनलाई बताएका छन् ।

भारत र पाकिस्तान युद्धविरामको लगभग नजिक पुग्नेबित्तिकै ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । ट्रम्पले युद्धविराम घोषणा गरेलगत्तै भारतीय पक्षले चाहिँ ‘दुई मुलुकबीच भएको प्रत्यक्ष वार्तापछि’ मात्र युद्धविराम सम्भव भएको बताएको छ । भारतले युद्धविराममा ट्रम्पको पहललाई खासै महत्व दिएजस्तो देखिन्न ।

पाकिस्तान र पाकिस्तानसँग कायम कश्मीरको विवादलाई भारतले द्विपक्षीय विषय मान्ने गरेको छ । यस विवादमा तेस्रो पक्षले कुनै हस्तक्षेप नगरोस् भन्ने भारतीय नीति छ । सोही अनुसार भारतले अमेरिकी मध्यस्थता स्वीकार गर्न नचाहेको विश्लेषकहरु बताउँछन् ।

आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले २०१९ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानसमक्ष कश्मीरका विषयमा अमेरिकाले मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए । भारतले ट्रम्पको प्रस्तावलाई तुरुन्तै अस्वीकार गरेको थियो ।

त्यसैगरी, अमेरिकी विदेशमन्त्रीले ‘भारत र पाकिस्तानबीच तटस्थ भूमिमा विविध विषयमा वार्ता हुने’ घोषणा गरिदिएका छन् । यसले भारतलाई थप अफ्ठ्यारोमा पारेको कतिपय जानकार बताउँछन् ।

भारतका पूर्वकूटनीतिज्ञ जी पार्थसारथीले बीबीसीलाई बताएअनुसार ट्रम्पको भाषामा आफ्नो तर्क राख्यो भने भारतलाई असहज महसुस हुन्छ । ‘तर यसलाई अर्को तरिकाले हेर्नु आवश्यक छ । ट्रम्पलाई उनको भाषा र बोलीको आधारमा न्याय गर्नु हुँदैन ।’ उनले बीबीसी हिन्दीलाई भनेका छन्, ‘हामीले वास्तवमा के हुन्छ भनेर हेर्नुपर्छ ।’

उनले ट्रम्पको सहमति लिएरै भारतले पाकिस्तानको पञ्जाबमा आक्रमण गरेको दाबी गरेका छन् । उनका अनुसार भारतले आफ्नो उद्देश्य हासिल गरेको छ, यस्तो अवस्थामा जसले युद्धविराम घोषणा गरेपनि त्यसले कुनै अर्थ राख्दैन ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ४३ बजे

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१