दुई महिनापछि बालेन-सुनिता भेट, नगरसभा र कार्यपालिका बैठक राख्न तयार | Khabarhub Khabarhub

दुई महिनापछि बालेन-सुनिता भेट, नगरसभा र कार्यपालिका बैठक राख्न तयार

तीनजना वडाध्यक्षसँग पनि बालेनले गरे संवाद


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक राख्नेबारे मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल र तीनजना वडाध्यक्षहरूबीच बुधबार वार्ता भएको छ ।

करिब २ महिना लामो अन्तरालपछि मेयर बालेन्द्रसँग सुनिताले भेट गर्न पाएकी हुन् । गत वैशाख ६ गते बेल्जियमबाट फर्किएयता सुनिता र बालेनको भेट हुन सकेको थिएन । २०८१ चै २१ गते सुनिता र वडाध्यक्षहरूको पहलमा प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर गराएसँगै मेयर बालेनसँग सम्बन्ध झन् बिग्रिएको थियो ।

त्यसअघि पनि मेयर बालेनसँग वडाअध्यक्ष र उपमेयरले बिरलै मात्र प्रत्यक्ष अन्तरक्रिया गर्न पाउने अवस्था थियो । यस्तो अवस्थामा गत जेठ १२ गते कार्यपालिकाका ४० जना सदस्यहरूले मेयर बालेन्द्रलाई जतिसक्दो छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका थिए । उनीहरूले दबाब दिए पनि पछिल्लो समय एक्लिएका बालेनले उक्त बैठक बोलाउन चासो दिएका थिएनन् ।

उक्त कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकमा बालेनबाहेक सबै उपस्थित थिए । कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छ । यो बैठकमा रास्वपाबाट १६ नम्बर वडामा निर्वाचित रोजिना श्रेष्ठ पनि सहभागी थिइनन् । उनले पनि बैठकमा सहभागी भएर बालेनमाथि दबाब बढाउन भूमिका खेलेकी थिइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्ने’ भनिएको छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुस १० गतेयता बस्न सकेको छैन ।

यो अवस्थामा मेयर र उपमेयरबीचको करिब दुई महिना लामो संवाहीनता तोडिँदै बुधबार छलफल भएको हो । उक्त छलफलमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्धारित मिति अर्थात् असार १० गतेभित्रै ल्याउने गरि छलफल भएको थियो ।

तर मेयर, उपमेयर र वडाध्यक्षहरूबीचको छलफलमा कुरा मिल्न नसकेको एकजना वडाध्यक्षले बताएका छन् । बजेट तयारी अघि बढाउन पनि कार्यपालिका बैठक आवश्यक भएको विषयमा उपमेयर र वडाध्यक्षहरूले मेयर साहको ध्यानाकर्षण गराएका थिए ।

उक्त छलफलमा उपमेयर डंगोल, नेकपा (एमाले) बाट वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली, नेपाली कांग्रेसबाट वडा नम्बर १७ का अध्यक्ष एवम् प्रवक्ता नवीन मानन्ध र एकीकृत समाजवादीबाट वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए ।

‘हामीले लामो समयपछि मेयरसँग कुराकानी गर्न पायौँ । बुधबार भएको छलफलमा पुस ८ गतेयता बस्न नसकेको कार्यपालिका बैठक राख्ने विषयमा कुरा भएको हो’, छलफलमा सहभागी एक वडाध्यक्षले भने, ‘तर कार्यपालिका राख्नेबारे कुरा टुंगिसकेको छैन । कार्यपालिका बैठक र नयाँ बजेटबारे बिहीबार पनि बस्ने कुरा भएको छ।’

बुधबार सबै विषयमा कुरा नमिलेपछि बिहीबार बस्ने भनिए पनि टुंगो नभएको ती वडाध्यक्षले बताए । ‘बस्ने सहमति भएको हो । तर अहिलेसम्म टुंगो छैन’, उनले भने । उनका अनुसार बुधबारको भेटमा मेयर साहले कार्यपालिका र नगरसभा बैठक राख्न तयार रहेको बताएका थिए । उनल बैठकमा सबैसँग मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गरेका थिए ।

कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिकाका विकास निर्माण, नीतिगत निर्णय पनि अन्योलमा पर्दै आएका छन् ।

सबै स्थानीय तहले असार १० सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताबारे महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन ।

स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र अध्यक्षता गर्ने प्रावधान छ । तर, मेयरले नबोलाउँदा आगामी आर्थिक वर्षको बजेटमा अन्योल देखिएको छ ।

मेयरको नेतृत्वको सीमा निर्धारण समितिको बैठकसमेत बस्न नसक्दा बजेट कस्तो र कत्रो ल्याउने भन्नेमा अन्योल छ । त्यससँगै नजिकिएको बर्खामा विपद्का घटना पनि बढ्ने जोखिम छ ।

यस्तो बेला कार्यपालिका बैठक नबस्दा थप अन्योल छाएको जनप्रतिनिधिहरूले गुनासो गरिरहेका छन् । तर, मेयर साहले बैठकमा चासो नदेखाउँदा थप समस्या सिर्जना भएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् ।

पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेर निलम्बन गरिदिएपपछि मेयर बालेन झनै रिसाएका छन् । उनले त्यसको बदलमा जथाभावी बोलेको भन्दै प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेर काउन्टर दिएका थिए । तर उनका विश्वासपात्र पाण्डे गुरागाईंको कारबाहीमा परेर घर गइसकेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : ०८ बजे

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा सञ्चालन गरिएका औषधी पसलहरूमा

राष्ट्रपति पौडेलले गरे वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा

‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल

शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाल शिक्षक महासंघसँग भएको

विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल सरकारसँग माओवादीको आग्रह

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले इजरायलमा हमास समूहको नियन्त्रणमा