भारतीय यातायातमन्त्री नितिन गड्करीले ल्याएको ‘सडक क्रान्ति’ - बर्सेनि थपिँदै चार हजार किलोमिटर | Khabarhub Khabarhub

भारतीय यातायातमन्त्री नितिन गड्करीले ल्याएको ‘सडक क्रान्ति’ – बर्सेनि थपिँदै चार हजार किलोमिटर



काठमाडौं– अहिले भारतको आर्थिक विकास तीव्र गतिमा भइरहेको छ । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ भने उसको अर्थतन्त्रको आकार चार ट्रिलियन अर्थात् ४० खर्ब अमेरिकी डलर बराबर पुगेको छ । आर्थिक विकाससँगै भारतले पूर्वाधारको क्षेत्रमा पनि दिन दुईगुना रात चारगुनाका गतिमा प्रगति गरिरहेको छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको जम्मु कश्मीरमा चेनाब नदीमाथि बनेको विश्वकै अग्लो रेलवे पुलको उद्घाटन गरेका छन् । यस पुलको उचाइ ३५९ मिटर रहेको छ, जुन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टावरभन्दा २९ मिटर अग्लो हो ।

भारतमा सडक पूर्वाधारको विस्तार पनि तीव्र गतिमा भइरहेको छ । द इकोनोमिस्टका अनुसार सन् २००० मा भारतमा राष्ट्रिय राजमार्ग सञ्जालको लम्बाइ ५२ हजार किलोमिटर रहेको थियो । गत वर्ष यो झण्डै तीन गुणा बढेर एक लाख ४६ हजार किलोमिटर पुगेको छ । यसअनुसार भारतले हरेक वर्ष ३ हजार ९ सय किलोमिटर सडक राजमार्ग सञ्जाल विस्तार गरिरहेको छ ।

राष्ट्रिय राजमार्गबाहेक ग्रामीण सडक पूर्वाधारको क्षेत्रमा त भारतमा एक हिसाबको क्रान्ति नै आएको छ । भारतको सडक पारवहन एवम् राजमार्ग मन्त्रालय तथा ग्रामीण विकास मन्त्रालयको तथ्याङ्कका आधारमा द इकोनोमिस्टले उल्लेख गरेअनुसार सन् २००० मा भारतमा ग्रामीण सडक सञ्जालको लम्बाइ ५ लाख ४५ हजार किलोमिटर रहेको थियो ।

अघिल्लो वर्षसम्म भारतले आश्चर्यजनक रूपमा थप ७ लाख ७३ हजार किलोमिटर ग्रामीण सडक सञ्जाल विस्तार गरेको छ । यो भनेको हरेक वर्ष ३३ हजार ५ सय किलोमिटर सडक विस्तार हो । गाउँलाई शहरसँग जोड्न भारत सरकारले सञ्चालन गरेको प्रधानमन्त्री ग्रामीण सडक योजना अनुसार सडक सञ्जालमा प्रगति गर्न सफल भएको हो ।

भारतको सडक परिवहन एवम् यातायातमन्त्री नितिन गड्करीले अबको दुई वर्षभित्र भारतको सडक पूर्वाधार अमेरिकी मापदण्ड समान हुने अपेक्षा गरिएको बताएका छन् । हाल भारतले सडक पूर्वाधारको स्तरोन्नतिमा काम गरिरहेको उनको भनाइ छ । चाँडै यसले सकारात्मक परिणाम ल्याउने र अर्को दुई वर्षभित्र भारतीय सडक पूर्वाधार अमेरिकाको समान हुने उनले बताए ।

कतिपय अवस्थामा अहिले पनि भारतीय पूर्वाधारको अवस्था अमेरिकाभन्दा राम्रो रहेको उनले उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘अमेरिकाका केही मान्छेले मसँग भेटेका छन् र हाम्रो पूर्वाधार अमेरिकाभन्दा राम्रो भएको बताएका छन् ।’

अब भारत सरकारको योजना सडक सञ्जालमा थप सुधार गरी लजिस्टिक शुल्क घटाउने रहेको बताएका छन् । उनका अनुसार यसअघि लजिस्टिक लागत १६ प्रतिशत रहेको थियो । त्यसलाई घटाएर अहिले ९ प्रतिशतमा सीमित गरिएको छ । अरु मुलुकसँग तुलना गर्दा चीनको लजिस्टिक लागत ८ प्रतिशत रहेको छ । युरोपेली मुलुक र अमेरिकामा भने यस्तो लागत १२ प्रतिशत छ ।

हाल भारतमा सडक पूर्वाधारको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । भारतमा हाल २५ वटा ग्रिनफिल्ड द्रुतमार्ग, बन्दरगाहलाई जोड्ने राजमार्ग ३ हजार किलोमिटर विस्तार गर्ने योजना छ । त्यसैगरी, धार्मिक पर्यटन प्रवर्द्धन गर्न १० खर्ब भारतीय रुपैयाँ बिनियोजन गरिएको छ । 

जम्मु कश्मीरमा सडक सञ्जाल विस्तार गर्न ३६ वटा सुरुङ निर्माण भइरहेको छ, यसमध्ये २३ वटा सुरुङ निर्माण सम्पन्न भइरहेको छ भने अरु केही परियोजना सम्पन्न हुने चरणमा रहेका छन् । त्यस्तै, ३५ वटा मल्टि मोडल लजिस्टिक उद्यान स्थापना हुने चरणमा छ ।

भारत सरकारले आध्यात्मिक गन्तव्य जोड्ने प्रयास पनि गरिरहेको छ । यसका लागि चार धाम तथा बौद्ध सर्किट निर्माणको प्रक्रिया शुरु गरिएको छ । यी सञ्जालका लागि सबै मौसममा सञ्चालन हुनेगरी उच्च गुणस्तरीय सडक निर्माण भइरहेको मन्त्री गडकरीको भनाइ छ ।

यी सब उन्नति प्रगतिको केन्द्रमा सडक परिवहन एवम् यातायातमन्त्री गडकरी छन् । उनकै पहलमा भारतमा पूर्वाधार निर्माणको गति तीव्र रूपमा अघि बढिरहेको छ र सडक सञ्जालको क्षेत्रमा क्रान्ति आएको छ । भारतीय जनता पार्टी भाजपाले सन् २०१४ मा सरकार बनाएयता उनी यसै जिम्मेवारीमा छन् ।

सडक परियोजनाका लागि उनको अनुभव भने नयाँ होइन । यसअघि १९९५ देखि १९९९ सम्म उनले महाराष्ट्र राज्यको सार्वजनिक विकासमन्त्रीका रूपमा काम गरेका थिए । त्यसबेला नै उनले पूर्वाधार परियोजनाको थालनी गर्ने अनुभव बटुलेका थिए । गडकरीको कार्यकालमा भारतको आर्थिक राजधानी मुम्बईमा व्यापक फ्लाईओभर निर्माण भएको थियो । 

यसै उपलब्धिलाई मध्यनजर गर्दै उनलाई ‘फ्लाईओभर–म्यान’ को संज्ञा समेत दिने गरिन्छ । यतिमात्रै होइन, उनले आफ्नो ४ वर्षे कार्यकालका क्रममा ग्रामीण सडक निर्माणलाई तीव्र गतिमा अघि बढाएका थिए । उनी मन्त्री भएका बेला महाराष्ट्रका ९८ प्रतिशत जनता सडक सञ्जालको पहुँचमा पुगेका थिए ।

महाराष्ट्रको मन्त्री हुँदा गडकरीले सञ्चालन गरेको ग्रामीण सडक पहुँच कार्यक्रमले सडक सम्पर्कबाट टाढा रहेका १३ हजार ७ सय ३६ दुर्गम गाउँलाई जोड्ने लक्ष्य राखेको थियो । सडक सञ्जालको पहुँच पुगेसँगै महाराष्ट्र राज्यमा पिछडिएको मानिने विधर्भ क्षेत्रका दुर्गम गाउँहरूमा व्याप्त कुपोषणको समस्या समाधान गर्न मद्दत मिलेको थियो ।

पहिले स्वास्थ्य सेवा, खानेकुरा वा शैक्षिक सुविधाको पहुँच नभएको स्थानमा गडकरीले थालेको परियोजनाका कारण विकासको लहर शुरु भएको थियो । यति मात्रै होइन, महाराष्ट्रमा सार्वजनिक विकासमन्त्रीको रूपमा उनले मुम्बईलाई महाराष्ट्रको अर्को शहर पुणेसम्म जोड्ने द्रुतमार्ग निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

सोही अनुभवका कारण उनलाई तत्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयीले राष्ट्रिय राजमार्ग प्राधिकरणको स्थापना गर्ने जिम्मा दिएका थिए । बाजपेयी सरकारले उनलाई राष्ट्रिय ग्रामीण सडक विकास समितिको अध्यक्षको रूपमा नियुक्त गरेको थियो । उनकै सल्लाहमा बाजपेयी सरकारले नयाँ ग्रामीण सडक सम्पर्क परियोजना शुरु गरेको थियो ।

सन् १९५७ मा विधर्भ क्षेत्रको नागपुर शहरमा जन्मेका गडकरीले आफ्नो गृहनगरको विकासमा पनि महत्त्वपूर्ण भूमिका निभाएका छन् । उनको पहलका कारण नागपुरमा जलसंरक्षण परियोजना, ऊर्जा केन्द्र निर्माण परियोजना, मेट्रो रेल परियोजना, फ्लाइओभर निर्माणजस्ता परियोजना अघि बढिरहेका छन् । त्यसबाहेक उनको पहलका कारण नागपुर महाराष्ट्र र भारतको खेलकुद, सांस्कृतिक तथा औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको छ ।

पूर्वाधार र विकासका परियोजनाबाहेक गडकरीले कृषि क्षेत्रको विकासमा पनि योगदान गरेका छन् । आफैँ किसान परिवारबाट राजनीतिमा आएका गडकरीले कृषि क्षेत्रमा जल व्यवस्थापन, नवीन प्रविधिको प्रयोग र सौर्य ऊर्जामार्फत् आधुनिकीकरणको थालनी गरेका छन् । सोही कारण किसान आत्महत्याका लागि बदनाम विधर्भ क्षेत्रमा यस्ता घटना कम हुँदै आएका छन् ।

कृषक परिवारमा जन्मेका गडकरी युवावस्थादेखि नै भारतको सांस्कृतिक संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रति आकर्षित भएका थिए । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा आपतकाल लागू गरेपछि उनको जीवन बदलियो । त्यसपछि उनी सबै काम छाडेर राजनीतिमा लागे ।

नागपुर विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका क्रममा उनी सन् १९७६ मा भाजपाको अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) मा आबद्ध भए । उनी भाजपाको युवा शाखा भारतीय जनता युवा मोर्चामा सामेल भए । पछि उनी २३ वर्षको उमेरमै भारतीय जनता युवा मोर्चाको अध्यक्ष बनेका थिए ।

शिक्षाको कुरा गर्दा गडकरीले एमकम, एलएलबी र डिप्लोमा इन बिजनेस म्यानेजमेन्ट (डीबीएम) अध्ययन गरेका छन् । उनी पहिलो पटक महाराष्ट्रको विधान परिषदमा १९८९ मा निर्वाचित भएका थिए । यद्यपि त्यसअघि उनले १९८३ मा पनि चुनावमा सहभागिता जनाएका थिए । यद्यपि उनी पराजित हुन पुगेका थिए ।
महाराष्ट्रको सार्वजनिक विकासमन्त्रीको कार्यकालपछि उनले १९९९ देखि २००५ सम्म महाराष्ट्र विधान परिषदमा विपक्षी दलको नेताको जिम्मेवारीमा थिए । उनी २००९ सम्म महाराष्ट्रको प्रदेश भाजपा अध्यक्ष थिए । सन् २००९ मा उनी भाजपाको राष्ट्रिय अध्यक्ष बन्न सफल भए । उनले यस जिम्मेवारी सन् २०१३ सम्म सम्हालेका थिए ।

उनी अहिले पनि भारतीय राजनीतिमा सक्रिय छन् । त्यसबाहेक उनले सडक परिवहन एवम् यातायातमन्त्रीका रूपमा भारतमा सडक पूर्वाधारको विकासमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनको कार्यकालमा भारतमा सडक सञ्जाल अझै विस्तार हुने अपेक्षा गरिएको छ । उनको राजनीतिक दर्शन विकास निर्माणसँग जोडिएको छ । 

२१ औँ शताब्दी विकास र निर्माणको युग रहेको उनको मान्यता छ । विकास र निर्माणमा प्रगति भए मात्र बलियो राष्ट्र निर्माण हुने उनको धारणा छ । उनले हरेक काम व्यवस्थित रूपमा पूरा गर्ने नेताको छवि बनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको मूल नेतृत्व र गडकरीको पहलमा भारतले सडक पूर्वाधारको विकासमा क्रान्ति नै ल्याएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : ४९ बजे

इजरायली आक्रमणबाट इरानमा को–को मारिए ?

काठमाडौं- शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी आक्रमण गरेको

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि श्रम,

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

राँझा– राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती