प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डामा किन हच्किए ठूला दल ?  | Khabarhub Khabarhub

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डामा किन हच्किए ठूला दल ? 



नेपालको राजनीति आज बहसको केन्द्रमा छ – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख । यो बहस संसदभित्र मात्र होइन, चिया पसलदेखि खेतबारी, सामाजिक सञ्जालदेखि राजनीतिक मञ्चसम्म फैलिएको छ । अब प्रश्न स्पष्ट छ — किन जनताले कार्यकारी प्रमुख (प्रधानमन्त्री वा राष्ट्रपति) सिधै छान्न नपाउने ?

प्रचलित व्यवस्था अनुसार, कार्यकारी शक्ति संसदमा निहित छ । तर यसले जनअपेक्षा पुरा गर्न असफल भएको छ । सरकार बारम्बार फेरिन्छ, मन्त्रीहरू भागबण्डाका आधारमा नियुक्त हुन्छन्, र सांसद करोडौँ खर्च गरेर चुनाव जितेर भ्रष्टाचारमा फस्न बाध्य हुन्छन् ।

यसै असन्तोषले अहिले प्रत्यक्ष कार्यकारी प्रणालीको माग चुलिएको हो । देशभर संविधान संशोधनको माग उठिरहेको छ, जसले कार्यकारी प्रमुखलाई सिधै जनताले छान्ने अधिकार देओस् । दलका कार्यकर्ता, बुद्धिजीवी मात्र होइन, सामान्य नागरिक पनि राजावादीको आन्दोलन पछि प्रत्यक्ष कार्यकारीको माग गर्न पछि परेका छैनन् । 

संसदभित्र रहेका दल र संसद् बाहिरका विभिन्न नाम गरेका राजनीतिक शक्ति पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा खुलेका छन् । सरकारको नेतृत्वकर्ता कांग्रेस एमालेको पंक्तिमा चर्चा छ ।

२०७२ सालको संविधानले प्रत्यक्ष कार्यकारी प्रमुखको सम्भावना नष्ट ग¥यो । पहिलो संविधान सभामा माओवादीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रस्ताव गरे पनि कांग्रेस–एमालेले अस्वीकार गरे । त्यसपछि बन्न पुगेको अहिलेको संसद्–प्रधानमन्त्री–राष्ट्रपति संयोजनले निरन्तर अस्थिरता र अपारदर्शिता मात्रै जन्मायो ।

प्रदेश सरकारहरू मात्र होइन, संघीय सरकार बारम्बार झन्झटिलो गणितका भरमा चलिरहेका छन् । मन्त्रीहरू व्यवसायीको सिफारिसमा बन्छन्, सांसदहरू करोडौँ खर्च गरेर चुनाव जित्छन् अनि त्यो खर्च उठाउन घुस, भागबन्डा र भ्रष्टाचारको शृङ्खला चलिरहन्छ  । 

माओवादी केन्द्र जनयुद्धपछि शान्ति प्रक्रियामा आएसँगै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा थियो । अहिले पनि छ । त्यसप्रति माओवादीकै अगुवाइमा गठन भएको समाजवादी मोर्चाको माग प्रस्ट छ । 

नयाँ शक्तिका रूपमा संसदमा दर्ज भएको राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य एजेण्डा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै छ । यही भीडमा राजावादी नेता राजेन्द्र लिङ्देन पनि प्रत्यक्ष कार्यकारीको मागमा मिसिन आइपुगेका छन् ।  

किन प्रत्यक्ष कार्यकारी प्रणाली ?

प्रत्यक्ष निर्वाचित कार्यकारी एउटा शासकीय स्वरूप हो । यसमा माओवादीले  संविधान निर्माणका बेला अन्य दल सहमत नभएपछि सम्झौता गरेर त्यागेको थियो । राजनीतिक स्थायित्वका लागि स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था संविधानमा लेख्न अहिलेका कांग्रेस– एमाले सहमत भएका थिए ।

तर पछिल्लो समय संसदमा बहुमत नहुँदा दलहरू अस्थिर बन्दै गए । जनतामा निराशा पैदा छ । केन्द्रको सरकार मात्र होइन, प्रदेश सरकार बारम्बार बदलिएका छन् । 

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसदहरूलाई मन्त्री नबनाउने र उसले खाली विधायिकाको मात्र काम गर्ने गरी अब संविधान नै संशोधन गर्नुपर्ने वेला आएको छ । संसदबाट मन्त्री बनाउने संविधान संशोधन गरेर सरकारले बाहिरबाट विज्ञहरूलाई मन्त्री बनाउने प्रणाली जरुरी छ ।

नेपालमा निर्वाचन प्रणाली धेरै महँगो छ । एउटा व्यक्तिले करोडौँ खर्चेर चुनाव लड्नु परेको छ । त्यसलाई असुल्न भ्रष्टाचार नगरी नहुने बाध्यता छ । संसदीय व्यवस्थामा सरकार फेरबदल दुखद छ ।

२०७९ को स्थानीय तह, प्रदेश अनि संसदीय निर्वाचनमा रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ लगायत केही नयाँ दल, अनुहार र व्यक्तिको उदय भयो । तिनै व्यक्ति प्रत्यक्ष रूपमा शासन सत्तामा आउने प्रणाली नै प्रत्यक्ष निर्वाचित कार्यकारी हो । शासन सत्तालाई नियन्त्रण गर्ने जनता हुन् । श्रीलंका, बंगलादेश, दक्षिण कोरिया, सिरिया लगायतका धेरै उदाहरण छन् ।

अब प्रत्यक्ष निर्वाचित कार्यकारीको लागि संविधान संशोधन गर्न जरुरी छ । नत्र त्यसैको लागि जनताले अर्को एउटा विद्रोह नगर्लान् भन्न सकिने अवस्था छैन । संसदबाट अप्रत्यक्ष रूपमा राष्ट्रपति र प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था फेल भइसकेको छ । सत्तामा पुग्नेको दुई तिहाइको दम्भ मेटाउन पनि प्रत्यक्ष प्रणालीमा जानुपर्छ । अहिले कांग्रेस– एमालेको दुई तिहाइबाट जनतासमेत वाक्क भइसकेका छन् । 

बंगलादेशमा दुई तिहाइको हुङ्कारले कार्यकारी प्रधानमन्त्री शेख हसिनाले देशनै छोड्नु पर्‍यो । त्यसकारण अब जनता प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणालीको पक्षमा पुगेका छन् । अब दलका नेताहरू भाग्ने ठाउँ लगभग सकिएको छ । मात्र राजनीतिक स्थायित्वको लागि शासकीय स्वरूप परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने देखिन्छ ।

के हो प्रत्यक्ष कार्यकारी प्रणाली ?

राजतन्त्रको अन्त्य गर्ने पहिलो संविधानसभाबाट संविधान बनेन । संविधानमा राज्यको शासकीय स्वरूप, निर्वाचन प्रणाली, राज्यको पुर्नसंरचना लगायतका विषयमा विवाद थियो । मुख्य त्यही कारण पहिलो संविधानसभा विघटन भयो । त्यस बेला राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादी थियो । 

दोस्रो संविधानसभाबाट संविधान बनाउनेमा माओवादी केन्द्र तेस्रो दल बन्यो । संविधान निर्माण गर्ने संसदीय अंकगणित हालका सत्तारुढ दल नेपाली कांग्रेस नेकपा एमालेको पक्ष थियो । उनीहरूकै दलमा अहिलेको शासकीय स्वरूपले संविधानमा लिपिबद्ध हुन पाएको हो ।

त्यस बेला देखिनै कांग्रेस, एमाले अलङ्कारी राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था भनेको जनताबाट निर्वाचित प्रणाली हो । 

त्यसको लागि विद्यमान संविधान संशोधन नै गर्नुपर्छ । वर्तमान संसदीय व्यवस्थामा राजनीतिक दलहरू विशेष गरी शीर्ष नेताहरूले सांसद छनोट, सरकार गठन, र संसदमा अंकगणितको खेलमार्फत सत्तामा पुग्ने प्रक्रिया पुरै बन्द हुन्छ । प्रत्यक्ष प्रणालीमा भने जनताले नै कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) लाई सिधा मत दिएर निर्वाचित गराउन सक्छन् । त्यसपछि दलका नेताको नियन्त्रण कमजोर र जनता बलियो हुन्छन् ।

अमेरिका, फ्रान्स, इन्डोनेसिया, दक्षिण कोरिया, श्रीलंका जस्ता मुलुकहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली छ । त्यहाँ जनताले सिधै कार्यकारी प्रमुख मतदान गरेर छान्छन् । तर नेपालमा ठिक उल्टो छ । संसदबाट अप्रत्यक्ष दलका नेताको निर्देशनमा चुनिन्छन् । त्यो प्रक्रिया भारतमा छ ।

वर्तमान राजनीतिक परिदृश्यमा स्थायित्व, पारदर्शिता र जबाफदेहिताको लागि प्रत्यक्ष कार्यकारी आवश्यक छ । सिधा रूपमा भन्नुपर्दा स्थानीय तहको निर्वाचनमा जसरी पालिका प्रमुखहरूलाई सिधा भोट हालेर ५ वर्षको लागि चुनिन्छ । त्यसै गरी भोट हालेर कार्यकारी अधिकार सम्पन्न हुने गरी राष्ट्रपति वा प्रधानमन्त्री चुन्ने प्रणाली नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली हो । यसमा प्रधानमन्त्री र राष्ट्रपति दुवै एकसाथ मतदान गरेर चुन्ने व्यवस्था हुँदा झनै राम्रो हुन्छ ।

संविधान संशोधन नगरीकन अहिलेको अवस्थामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान सकिँदैन । संसद् बाहिर भएका दलको भूमिकामा नगण्य हुन्छ । त्यसकारण सांसदभित्रका दलहरू तयार हुनुपर्छ । 

तर, माओवादी, कांग्रेस र एमाले पहिला तयार हुनुपर्छ । बाहिर बोले पनि भित्र तयार देखिँदैनन् । नेपाली कांग्रेस महामन्त्री गगन थापा अहिले पार्टीको विधान संशोधन गरेर  क्रियाशील सभापति छान्न पाउनु पर्ने भन्दै आवाज उठाइरहेका छन् । 

उनी पार्टीका क्रियाशील सदस्यहरू आफ्नो पक्षमा रहेको र सभापति बन्न आफूलाई सहज हुने अपेक्षाले कांग्रेसका क्रियाशील सदस्यले सभापति चुन्न पाउनुपर्ने, विधान संशोधन गर्नुपर्ने चर्को आवाज उठाएका छन् , तर तिनै थापा जनताले चुन्ने  कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति हुनु पर्छ भनेर अहिले बोल्न छाडेका छन् । 

उनलाई के थाहा छ भने अहिले नै त्यो व्यवस्था ल्यायो भने बालेन ,रवि ,कुलमान र हर्क जस्ता मान्छे यो देशको कार्यकारी पदमा पुग्छन् जसले गगन थापा जस्ता नेताको राजनीतिक भविष्य समेत पछाडि धकेलिने डर कांग्रेस , एमालेका युवा नेतालाई समेत छ ।

मुख्य गरी कांग्रेस, एमालेका नेताहरू अलङ्कारी राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा छन् । यहीँबाट पद लिएर बिदा हुन चाहन्छन् ।

तीन दल आफ्नो  स्वामित्व बाहिर गएको हेर्न चाहँदैनन् । भन्नलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भनिरहेका छन् । प्रत्यक्ष निर्वाचितको भूमिकामा जाँदा ठूला दल बढारिने र अन्य दल वा स्वतन्त्र अर्थात् वैकल्पिक शक्ति आउने प्रस्ट छ । जनतामा असन्तुष्टिको प्रस्थान विन्दु पनि यही नै हो । 

यसमा राजावादीको कुरै छाडौँ । रास्वपाको लाइन प्रस्ट नभए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी भूमिका हुनुपर्नेमा सिधा छ । माओवादीमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा देखिएको छ । कांग्रेसका गगन थापा प्रत्यक्ष कार्यकारीको भूमिकामा बोलिरहेका हुन्छन् । तर, उनी भित्री रूपमा अहिले नै त्यो लागू गर्नु पर्छ भन्नेमा  छैनन् । एमाले खुल्न नै चाहेको छैन ।

सरकारप्रति चरम असन्तुष्टिले लोकतन्त्रको सुदृढीकरण, स्थायित्व र जबाफदेहिताको सवालको पक्षमा सत्ता मौन छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले पार्टी भन्दा माथि उठेर जनमतको आधारमा सत्तामा पुग्ने बाटो खोले ठूला दलका नेताको बिदाइ निश्चित छ ।

परम्परागत शक्ति संरचना ध्वस्त हुन्छ । प्रत्यक्ष प्रणालीले लोकप्रिय, तर संस्थागत राजनीति बाहिरका व्यक्तिहरू—जस्तै सामाजिक अभियन्ता, पत्रकार, व्यापारी, कलाकार वा स्वतन्त्र बुद्धिजीवीहरूलाई प्रतिस्पर्धा गर्ने अवसर पाउँछन् । 

विश्वका उदाहरण हेर्ने हो भने नेपाली समाजमा लोकप्रिय बनेका बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, गोपी हमाल जस्ताको कब्जामा सत्ता पुग्न सक्छ । ठूला दलका बुढा नेता यही सम्भावनालाई देखेर बाहिर जे भने पनि भित्री रूपमा अस्वीकार गर्छन् ।

सिधै जनताबाट चुनिने व्यवस्था हुँदा मन्त्री बन्ने युवा नेताहरूको सपना पनि चकनाचुर हुन्छ । संसद्को भूमिका कानुन बनाउन मात्र सीमित हुँदा खर्चिलो निर्वाचन प्रणालीमा सुधार आउँछ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था तुरुन्तै कार्यान्वयन गर्न सकिने कुरा नहुन सक्छ । 

तर बहस थाल्नु, विकल्प खोज्नु, र जनताको चाहनाको कदर गर्नु लोकतन्त्रको अनिवार्य तत्त्व हो । तर अहिले  कांग्रेस ,एमाले नेताकै कारण  असम्भव जस्तो देखिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : ५६ बजे

भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी

नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै असोज

घटस्थापनायता काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण