यस्ता छन्‌ सरकारले देखेका ११ वित्तीय जोखिम र २१ रणनीति | Khabarhub Khabarhub

‘वित्तीय जोखिम विवरण तथा रणनीति’ प्रतिवेदन

यस्ता छन्‌ सरकारले देखेका ११ वित्तीय जोखिम र २१ रणनीति


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थ मन्त्रालयले (आज) मङ्गलबार देशले भोग्नुपर्ने सम्भावित वित्तीय जोखिम र त्यसलाई समाधान गर्ने रणनीतिसहित एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

‘फिस्कल रिस्क एण्ड स्ट्राटेजिज्’ (वित्तीय जोखिम विवरण तथा रणनीति) शीर्षकको उक्त प्रतिवेदनमार्फत सरकारले मुलुकको वित्तीय क्षेत्रमा ११ जोखिम पहिचान गरेको जनाएको छ । ती क्षेत्रका जोखिमले पार्ने असर मूल्याङ्कन र न्यूनीकरण गर्न २१ वटा बुँदागत रणनीति पनि अघि सारेको छ ।

प्रतिवेदनमा नेपालको वित्तीय जोखिमका मुख्य स्रोतहरूलाई तीन प्रमुख समूहमा वर्गीकरण गरिएको छ । तीमध्ये समष्टिगत आर्थिक जोखिमलाई अर्थ मन्त्रालयले पहिलो नम्बरमा राखेको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा अस्थिरता या उतारचढावले राजस्व, खर्च र ऋणको स्तरलाई नै असर गर्ने, निरन्तर मुद्रास्फीति दबाबले क्रयशक्ति (खरिद गर्न सक्ने क्षमता) कमजोर बनाउने र सार्वजनिक खर्च दायित्व बढाउने प्रतिवेदनमा उल्लेख छ ।

ब्याजदर अस्थिरतालाई पनि सरकारले वित्तीय जोखिमको स्रोतका रूपमा पहिचान गरेको छ । मन्त्रालयका अनुसार; ब्याजदर अस्थिर हुँदा ऋण लागतमा परिवर्तन आउने र ऋण सेवालाई असर गर्ने गर्छ । त्यस्तै; विनिमय दर अस्थिरताले बाह्य ऋण चुक्ता र आयात लागतलाई असर गर्छ ।

राजस्वको सङ्कलनको तुलनामा ऋण बढिरहे पनि सरकारले जीडीपीसँगको अनुपातमा ऋण जोखिमलाई भने खासै आकलन गरेको छैन । जीडीपी-ऋण अनुपातबाट हुने जोखिम नेपालका हकमा तत्काललाई कम जोखिमयुक्त मानिएको छ ।

यसबीचको एक दशकमा विनाशकारी महाभूकम्प र कोरोना महामारीबाट चर्को क्षति भोगेको नेपालले यस्ता जोखिमलाई विशिष्ट जोखिम मानेको छ । बारम्बार बाढी, पहिरो र कहिलेकाहीं भूकम्पजस्ता प्राकृतिक प्रकोपले ठूलो वित्तीय बोझ थोपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सरकारी ग्यारेन्टीलाई पनि अर्थ मन्त्रालयले विशिष्ट जोखिम मानेको छ । सार्वजनिक संस्थानहरूलाई ऋणजस्ता ग्यारेन्टीहरूबाट आकस्मिक दायित्व निम्तिने र त्यो वास्तविकतामा परिणत हुने आकलन मन्त्रालयले गरेको हो ।

सार्वजनिक संस्थानमा सञ्चालन अक्षमता, वित्तीय घाटा र ती संस्थानले निम्त्याउने दायित्वहरूले वित्तीय जोखिमहरू बढाउने, लगानीको सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा लुकेका आकस्मिक दायित्वहरू, कमजोर परियोजना संरचना र सीमित वित्तीय जोखिम रिपोर्टिङले पनि मुलुकको वित्तीय जोखिम बढाउने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मन्त्रालयले वित्तीय जोखिमको तेस्रो वर्गमा संस्थागत जोखिमलाई राखेको छ । यसमध्ये राज्यले लिने वित्त र मौद्रिक नीतिमार्फत हुने पूर्वानुमानसम्बन्धी त्रुटिहरू मुख्य हुन्‌ ।

नेपालमा सरकारहरू राजस्व सङ्कलनमा अत्यधिक आशावादी हुने र खर्च पूर्वानुमानमा पनि त्यस्तै प्रवृत्ति अपनाउँदा बजेट कार्यान्वयनमा चुनौती निम्त्याउने गरेको छ ।

प्रतिवेदनमा तल्लो तहका सरकारहरू (प्रदेश र स्थानीय) को कमजोर वित्तीय नियन्त्रण, सङ्घीय वित्त हस्तान्तरणमा निर्भरतालाई पनि वित्तीय जोखिमका संस्थागत आधार मानेको छ ।

अर्थ मन्त्रालयका अनुसार; प्रदेश र स्थानीय स्तरमा अनुगमन नगरिएका दायित्वहरूले पनि वित्तीय जोखिम बढाउँछ ।

यस्ता छन्‌ २१ रणनीति

यस्ता वित्तीय जोखिमसँग जुध्न सरकारले विभिन्न १३ वटा रणनीति पनि अघि सारेको छ ।

अर्थ मन्त्रालयले यी रणनीतिहरूलाई वित्तीय जोखिम व्यवस्थापन र न्यूनीकरण रणनीति भनेको छ । यी रणनीतिहरूलाई वित्तीय जोखिमको प्रकारको आधारमा वर्गीकृत गरिएको छ ।

समष्टिगत आर्थिक जोखिम कम गर्न लचिलो मौद्रिक नीति ल्याइने सरकारले जनाएको छ । मुद्रास्फीति र वित्तीय स्थिरता सन्तुलनमा राख्न नेपाल राष्ट्र बैंकद्वारा विवेकी मौद्रिक नीति ल्याउनु पहिलो रणनीति भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी; सार्वजनिक ऋण अन्तर्गत आन्तरिक ऋण जीडीपीको ५.५ प्रतिशतमा सीमित राख्न र सहुलियत स्रोतलक्षित बाह्य ऋणलाई सरकारले वित्तीय जोखिम कम गर्ने दोस्रो उपाय मानेको छ ।

कर आधार विस्तार गर्न, कर छुट सुव्यवस्थित गर्न र अनुपालन बढाउन घरेलु राजस्व परिचालन अर्को रणनीति हो । मध्यमकालीन खर्च संरचना (एमटीइएफ) अनुसार पूँजी निर्माण, सेवा वितरण, र सामाजिक सुरक्षालाई प्राथमिकता दिइने पनि मन्त्रालयले जनाएको छ ।

समष्टिगत आर्थिक झट्काको सामना गर्न वित्तीय स्थान र कोष सिर्जना गर्न सरकारले फिस्कल बफर्स र स्थिरीकरण कोषमा पनि जोड दिएको छ । घाटा, ऋण र खर्चमा सीमा तोक्न वित्तीय नियम कानून लागू गर्ने रणनीति पनि सरकारले लिएको छ ।

वित्तीय जोखिमको विशिष्ट श्रेणीमा राखिएको प्राकृतिक प्रकोपबाट क्षति न्यूनीकरण गर्न प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने, विपद् जोखिम वित्तपोषण रणनीतिमार्फत जोखिम तह र बीमा संयन्त्र प्रयोग गर्ने, समर्पित विपद् कोषमार्फत संघीय, प्रान्तीय र स्थानीय स्तरमा बहुस्तरीय कोष बनाउने र अप्रत्याशित खर्चका लागि संवैधानिक प्रावधान बमोजिम आकस्मिक कोष स्थापना गर्ने रणनीति पनि अघि सारिएको छ ।

विपद् प्रतिक्रियाका लागि अन्यत्र खर्च नगरिएको बजेट पुन:विनियोजन गर्ने पनि प्रतिवेदनमा लेखिएको छ ।

वित्तीय जोखिमको अर्को कारक रहेका तल्ला सरकारहरूमा वित्तीय जोखिम अनुगमन प्रणाली स्थापना गरिने सरकारले जनाएको छ । प्रान्तीय र स्थानीय स्तरमा वित्तीय जोखिमहरूको रिपोर्टिङ र निरीक्षणलाई मानकीकरण गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक ऋण व्यवस्थापन नियमन गर्ने, सार्वजनिक वित्त व्यवस्थापन अभ्यास सुधार गर्नेगरी स्थानीय स्तरमा योजना, बजेट र लेखा बढाउने, आफ्नै स्रोत राजस्व परिचालन गर्ने, अन्तरसरकारी वित्तीय नियमअनुसार ऋण सीमा र वित्तीय उत्तरदायित्व नियमहरू लागू गर्ने रणनीति पनि मन्त्रालयले अघि सारेको छ ।

वित्तीय जोखिम कम गर्न सरकारले उप्रान्त सरकारी ग्यारेन्टी जीडीपीको एक प्रतिशतमा सीमित गर्ने भएको छ । ग्यारेन्टी जोखिम मूल्याङ्कन ढाँचा पनि तय गर्नेछ । कुनै पनि ग्यारेन्टी स्वीकृत गर्नुअघि प्रस्तावको वित्तीय सुदृढता मूल्याङ्कन गर्ने पनि जनाएको छ । थपिएका दायित्वहरू पूरा गर्न कोष छुट्याउने पनि प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक संस्थानतर्फ घाटा कम गर्नेगरी पुनर्संरचना गरिने रणनीति अघि सारिएको छ । यस्ता संस्थानमा सार्वजनिक-निजी साझेदारी र रणनीतिक इक्विटी साझेदारीको प्रयोग गर्ने जनाइएको छ ।

संस्थानहरूमा शासकीय सुधार गर्ने, स्वायत्तता, कार्यसम्पादन-सम्बन्धित प्रोत्साहन र पारदर्शिता बढाउने, दायित्वहरूको नियमित विश्लेषण र खुलासासहित आकस्मिक दायित्वहरूको अनुगमन गर्ने, तनाव परीक्षण र परिदृश्य विश्लेषणमार्फत प्रतिकूल परिदृश्यहरूमा वित्तीय प्रभावहरूको मूल्याङ्कन गर्ने रणनीति पनि उल्लेख गरिएको छ ।

सार्वजनिक-निजी साझेदारी अन्तर्गतका परियोजनाहरूमा जोखिम-साझेदारी, पारदर्शीता, र विवाद समाधान सुदृढ पार्नेगरी कानूनी र नियामक रूपरेखा अपनाइने उल्लेख छ ।

मन्त्रालयका अनुसार; यस्ता परियोजनाहरूमा जोखिम विनियोजन दिशानिर्देशहरू जारी गर्नु पनि वित्तीय जोखिमविरुद्धको एक रणनीति हो ।

पीपीपी प्रतिबद्धताहरूको केन्द्रीय रजिस्ट्री गरी वित्तीय प्रतिबद्धताहरू र दायित्वहरू ट्र्याक गर्ने तथा संवेदनशीलता विश्लेषणमार्फत यस्ता परियोजनाको लागतजस्ता प्रमुख चरहरूको वित्तीय प्रभावहरूको मूल्याङ्कन गर्ने पनि जनाइएको छ ।

यी रणनीतिहरू अख्तियारीमार्फत वित्तीय लचिलोपन बढाउने, पारदर्शीता सुधार गर्ने र नेपालको आर्थिक स्थिरतालाई सुरक्षित गर्ने लक्ष्य राखिएको रणनीतिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ०८ बजे

अमेरिकी सरकारको दस्तावेज भन्छ– हर्क साम्पाङले पत्रकारलाई धम्क्याए

काठमाडौं– अमेरिकाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उनका समर्थकले

कार्बन सञ्चितिवापत् नेपालले सन् २०२८ सम्ममा १० अर्बभन्दा बढी रुपैयाँ प्राप्त गर्ने

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा वन

जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्नेछु : मुख्यमन्त्री बानियाँ

बागमती– प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी

गृहमन्त्रीले भने- रविलाई छुट्टै कोठामा राखेर कैदीले पाउने सबै सुविधा उपलब्ध गराएका छौँ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा

‘जबज’को रट लगाएर नबसौं, एमालेको नाम फेरौं

काठमाडौं– सत्तारुढ नेकपा एमालेभित्र फेरि जनताको बहुदलीय जनवाद (जबज) र