नेपाली कांग्रेसभित्र नयाँ नेतृत्वको बहस औपचारिक रूपमा सुरु भइसकेको छ । यद्यपि क्रियाशील सदस्यताको टुङ्गो लागेको छैन । पन्ध्रौँ महाधिवेशन निर्धारित समयमा नहुने प्रस्ट छ । तर पनि महाधिवेशनको तयारीलाई लिएर पार्टीभित्र छलफल, भेटघाट सुरु भएका छन । आन्तरिक शक्ति सङ्घर्ष, भविष्यको मार्गचित्र र नेतृत्व हस्तान्तरणको छलफलले पार्टीभित्र बहसलाई थप तातो बनाइरहेको छ ।
पार्टीभित्र विगतमा प्रभावशाली भूमिका निर्वाह गरेका नेताहरू पुन सक्रिय हुन थालेका छन । सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरणको संकेत दिएसँगै नेतृत्वको आकांक्षामा रहेका नेताहरूले खुलेर कसरत गर्न थालेका छन् । खासगरी पुराना नेतृत्वमध्ये कतिपयले पुन : प्रभाव जमाउने प्रयास गरिरहेका छन् ।
यस्तै बहसका बीच देउवा पक्षधर सातजना पूर्वपदाधिकारीहरू जसलाई ‘सात भाइ’ भनेर नयाँ परिचय बनाएका नेताहरू पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व महामन्त्री शशांक कोइराला, पूर्व उपसभापति विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र पूर्व सहमहामन्त्री वर्तमान प्रवक्ता डा.प्रकाशशरण महत आआफ्नो गुट र हैसियतअनुसार पार्टीको भावी नेतृत्व निर्माणमा निर्णायक बन्ने कसरतमा छन् ।
देउवासँग १४ औँ महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने गरी दौडधुप गरिरहेका छन । महामन्त्री गगन थापा पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ । खासगरी महामन्त्री थापाको भेटघाट दौडधूपले नेपाली काँग्रेसको आन्तरिक राजनीति तरङ्गित बनेको छ । गगनले डा. शेखरसँग दूरी बढाएर सभापतिको तयारीलाई तीब्र पारेपछि संस्थापन र इतर समूहका नेताहरूको दौडधुप बढेको छ । उनीहरूले सम्भावित ध्रुवीकरणलाई ध्यानमा राख्दै आपसमा सल्लाह, भेटघाट र सञ्जाल विस्तारमा लागेका छन् ।
नेपाली कांग्रेस गुट र समूहहरूको महासंघ झैँ देखिन्छ । यहाँ केवल दुई धार मात्र छैनन्, दुई धारमा धेरै उप समूह सक्रिय छन् । जसका आआफ्नै स्वार्थ, आकांक्षा र रणनीति छन् । यिनीहरूको चलखेल, प्रभाव र पकडले पार्टीलाई समय समयमा अस्थिरता पनि दिएको छ, तर शक्ति सन्तुलनको एउटा विशेष अभ्यास भएको छ ।
सभापति देउवा नेतृत्वको समूहलाई संस्थापन भनिन्छ भने देउवा विरोधी धारलाई इतर भनेर चिनिन्छ । शेखर कोइराला र गगन थापाको जोडी इतर धारको नेतृत्व गरिरहेको छ । उनीहरू अलग अलग तरिकाले वैकल्पिक रणनीति बनाउने प्रयास गरिरहेका छन् ।
संस्थापनभित्र पनि धेरै उपसमूहहरू सक्रिय छन् । यिनीहरू सभापति शेरबहादुर देउवालाई मूल नेतृत्व मानेर बहस अघि बढाइरहेका छन् । खासगरी निरन्तर संवादमा रहेका नेताहरू निधि , सिटौला, सिंह, शशाङ्क , गच्छदार, श्रेष्ठ र महतका आआफ्नो उपसमूह छन् ।
ती नेताहरू व्यक्तिगत कम प्रभावशाली बन्दै गएका छन । उनीहरू मध्ये कोहीसँग पनि सभापति पदमा एक्लै लड्ने सामथ्र्य छैन । आफ्नै बलियो जनाधार र संगठनमा पकडको अभावले उनीहरू देउवाको शक्तिमा पार्टीको ताला चाबी सम्हाल्ने योजनामा लागिरहेका छन् ।
यी नेताहरू देउवाको समर्थनमा नेतृत्वमा पुग्ने सपना देखिरहेका छन् । यही आकांक्षासाथ उनीहरूको सक्रियता पछिल्ला दिनमा झनै बढेको देखिन्छ । पन्ध्रौँ महाधिवेशनलाई उनीहरूले आफ्नो राजनीतिक भविष्य सुरक्षित हुने नहुनेमा चिन्तित छन् । सबै उपसमूहहरूको ध्यान देउवामै केन्द्रित देखिन्छ ।
आफ्नै बलियो संगठनात्मक आधार नभएका नेताहरू देउवाको वरिपरि घुमिरहेका छन्, आशा राखिरहेका छन् कि देउवाले नै आफूलाई गुटको नेता घोषित गरिदिउन् । तर उनीहरूको वास्तविक कमजोरी भनेकै आफ्नै आत्मनिर्भर शक्ति संरचनाको अभाव हो, जसले उनीहरू देउवाको आशीर्वाद खोजिरहेका छन ।
नेपाली कांग्रेसका सात भाइ अर्थात् सातजना पूर्वपदाधिकारीबीच पछिल्लो समय भएका छलफल, बैठक र भेटघाट मुख्यतः सभापति शेरबहादुर देउवामाथि आफैँहरूमध्ये कसैलाई उत्तराधिकारीका रूपमा अघि बढाउन दबाब सिर्जना गर्न केन्द्रित देखिन्छन् ।
नेतृत्व हस्तान्तरणको सन्दर्भमा आन्तरिक सहमति खोज्ने नाममा गरिएका यी गतिविधिहरूले पार्टीभित्र भावी नेतृत्वको समीकरण निर्माणको प्रयास गरेका छन् । यही उद्देश्यले भएका बैठक सकिएपछि उनीहरू देउवाको निजी निवास नारायणथान, बुढानीलकण्ठ पुग्न हतारिन्छन्, जसले यिनको सक्रियता केवल संवादमै सीमित नभई शक्ति सन्तुलनको दबाब सिर्जना गर्नेतर्फ केन्द्रित छ भन्ने प्रस्ट हुन्छ ।
यी सात भाइहरूमा पछिल्लो समय पार्टी नेतृत्व युवापुस्तामा सर्ने सम्भावनाले गहिरो त्रास सिर्जना गरेको देखिन्छ । विशेषगरी महामन्त्री गगन थापाको सांगठनिक सक्रियता, स्पष्ट अभिव्यक्ति र आम कार्यकर्तामा बढ्दो लोकप्रियताले उनीहरूलाई असहज र सशङ्कित बनाएको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलको समेत समर्थनमा गगन थापाको नेतृत्वमा हुने सम्भावित पुस्तान्तरणले परम्परागत शक्ति सन्तुलनमा खलल पुग्ने डर उनीहरूमा स्पष्ट रूपमा देखिन्छ, जसका कारण पुरानै संरचना जोगाउन सक्रिय देखिन्छन् ।
यही सम्भावनाले उनीहरूलाई डराएको छ र यही डरकै कारण उनीहरू सभापति शेरबहादुर देउवामाथि आफूमध्ये कसैलाई उत्तराधिकारीका रूपमा अघि सार्न दबाब सिर्जनामा व्यस्त छन् । महामन्त्री थापाको प्रभाव रोक्न उनीहरू रणनीतिक रूपमा सक्रिय हुन थालेका छन् । पटक–पटकको छलफल, बैठक र समन्वयका प्रयासहरू केवल पार्टी एकताको नाममा नभई शक्ति सन्तुलनमा हस्तक्षेप गर्ने नियतका साथ भइरहेको देखिन्छ ।
राजनीतिका चतुर र अनुभवी खेलाडीका रूपमा चिनिने सभापति शेरबहादुर देउवा पछिल्ला तीब्र भेटघाट र छलफलबीच सार्वजनिक रूपमा भने चुपचाप छन् । सात भाइहरूले आफूमध्ये कसैलाई उत्तराधिकारी बनाउन चलाएका गतिविधिहरूप्रति उनले कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनको मौनता निष्क्रियता होइन भन्ने बुझ्न धेरै समय लाग्दैन । ६ दशक लामो राजनीतिक यात्रामा अनेक उतारचढाव पार गरेका देउवा सत्ता सन्तुलन, रणनीति र निर्णयको सही क्षण चिन्न जान्ने नेतामा गनिन्छन् ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको किचेन क्याबिनेटमा रहेर कोइरालाका विरोधी सर्वमान्य नेता गणेशमान सिंह र तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईसँग नजिक रहँदै तालमेल मिलाउन सक्ने देउवा कांग्रेसभित्रको आन्तरिक राजनीति नजिकबाट हेर्ने, बुझ्ने र ‘नापतौल’ गर्ने कलामा अरू निपूर्ण छन् ।
नेपाली काँग्रेसमा नयाँ पुस्ताको धारणा बुझ्ने र तिनलाई नेतृत्व दिन सक्ने नेतृत्व आवश्यक छ । सातभाइले बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने काँग्रेसलाई बलियो बनाउन र लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध बनाउन पुस्तान्तरणलाई स्वागत गर्नुपर्छ । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) जस्तै मार्गदर्शक मण्डलमा बसेर युवा नेतृत्वले अभिभावकको भूमिका निर्वाह गरेमा त्यसले पार्टी र लोकतान्त्रिक गणतन्त्र दुवैका लागि सकारात्मक परिणाम दिन सक्छ ।
आजको डिजिटल युगमा सामाजिक सञ्जाल र सूचना प्रवाहले छिटो गतिमा परिवर्तन ल्याउँछ । यदि यो जेन जी पुस्ताको युग हो । यो पुस्ता छिटो सोच्छ, छिटो प्रतिक्रिया दिन्छ र परिवर्तनको चाहना राख्छ । प्रविधिमा हुर्किएको यो पुस्ताले पारम्परिक नेतृत्व शैलीलाई चुनौती दिइरहेको छ । यस्तो परिवेशमा यदि पुस्तान्तरणमा ढिलाइ गरियो भने भविष्यमा पार्टीको नाम, झण्डा, साइनबोर्ड र चुनाव चिन्ह मात्र बाँकी रहने खतरा उत्पन्न हुन्छ ।
यद्यपि अवस्था अझै केही बिग्रेको छैन । सम्हाल्न सकिने चरणमै छ । तर अझै केही बिग्रेको छैन । समय छ , आफै बन्ने कि काँग्रेसलाई सशक्त बनाउने, आफ्ना बनाउने कि लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध बनाउने भन्ने निर्णय लिनुपर्ने बेला आएको छ ।
कांग्रेसको आगामी महाधिवेशन पुस्तान्तरण र नवीकरणको महाधिवेशन बन्नुपर्छ। नेपाली काँग्रेसको सान्दर्भिकता झन बढेर गएको छ । अरू राजनीतिक शक्ति भन्दा देशलाई नयाँ दिशा दिन सक्ने सामथ्र्य कांग्रेसमा छ ।
महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको उदय कसैको आर्शीवादबाट भएको होइन । नेविसंघबाट राजनीतिमा उदाएका नेताहरू उहिले पनि पार्टीको संस्थापकसँग मुकाबिला गरेरै आएका हुन् । उनीहरूलाई राजनीतिमा कसैले रेड कार्पेट बिछ्याइएको थिएन । उनीहरू निरङ्कुशता विरुद्ध रगत बगाएर अघि बढेका हुन ।
पार्टीभित्र विचारको बहस हुनुपर्छ । सानेपाको ‘ताला चाबी’ को छलफल होइन । प्रविधिबाट टाढा बसेर राजनीति गर्न सकिँदैन भन्ने सोच भएको पुस्ताको हातमा नेतृत्व पुगेको देख्न चाहने अधिकांश छन । जननायक विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटो नछाडीकन कांग्रेसलाई नयाँ रूप दिने पार्टी संगठनलाई डिजिटल बनाउन सक्ने नेतृत्व कांग्रेसजन र देशले खोजेको छ । यतिबेला पार्टी सञ्चालनको अधिकार हात पार्ने मात्र चिन्ता छ पुराना नेताहरूमा । यस्ता बहसले न काँग्रेसको भलो हुन्छ, न जनताको ।
अबको महाधिवेशन नेतृत्व युवामा हस्तान्तरण हुने महाधिवेशन बन्नु पर्छ । युवामा नेतृत्व हस्तान्तरणले पुराना नेताहरूको अपमान हुँदैन । उनीहरू सल्लाहकार भएर पार्टीको संरक्षक बन्न सक्छन् । अब नेतृत्वमा युवाको प्रतिनिधित्व कसैले रोक्न सक्दैन । सजिलोसँग नेतृत्व युवामा हस्तान्तरण भएन भने लोकतान्त्रिक प्रक्रियाद्वारा काँग्रेसको नेतृत्वमा पुग्नका लागि गगन थापाहरू तयार छन ।
प्रतिक्रिया