सहज छैन खरानीको थुप्रोमा शासन | Khabarhub Khabarhub

सहज छैन खरानीको थुप्रोमा शासन

जेनजीको मैदानमा दुर्गा प्रसाईंको 'अफसाइड' गोल



इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका रुपमा अभिलेखिकरण हुनेछ। भ्रष्टाचारी सिध्याउने नाममा देशको आत्मा खरानी बनाउने यो सिनेमाको लेखक, निर्देशक र सूत्रधारको समयले पक्कै खोजी गर्नेछ। राष्ट्रको जीवनमा व्यक्ति आउँछन्, जान्छन् त्यसको कुनै हिसाब रहँदैन्। तर कसले कस्तो कर्म गरेर गएको छ, त्यसको बहिखाता चुस्त दुरुस्त भएर रहन्छ। पब्लिक अडिटको सामर्थ्य त्यही हो। पाप नपाकेसम्म त स्वादिलै हुन्छ, पाकेपछि के हुन्छ, एकदिनअघिको दृश्य सम्झिएर मम भन्दा हुन्छ।

सुत्केरी पत्नीलाई दुई छाक भात ख्वाउन नसकेर पत्नी गुमाएपछि भौंतारिएर त्यसबेलाको औलारोगको खानी ठानिने चितवन पुगेका जंगबहादुरले सन्की युवराज राजेन्द्रलाई भेटेसँगै राजनीतिमा उदाए। युवराजले बजाएको डमरुका तालमा नाचेर मन जितेका उनी अन्ततः तिनै राजा सिध्याएर श्री ३ बने। कुँवर थर फेरेर राणा लेखे। आफ्ना सन्तानको नाता राजपरिवारसँग जोडे।

नेपालका हरेक नेताको पृष्ठभूमि यस्तै छ। कम्युनिष्टका गुरु भनिएका मोहनविक्रम सिंह, मोहन वैद्यको हालत के छ ? उनका चेला चपेटाहरु कहाँ पुगे ? प्रचण्डकै नेतृत्वपछिका नेता छिन्नभिन्न भएर खण्डखण्डमा विभाजित छन्। इतिहासमा दुर्भाग्यपूर्ण मानिएको कोतपर्व, भण्डारखाल पर्वका पृष्ठभूमि पनि सत्ता र शक्तिको उन्माद नै थियो।

जनतालाई केन्द्र बनाएर आफ्नो स्वार्थको रोटी सेकाउने सिलसिला नवयुवा पुस्ताका नाममा झोसिएका आगोभित्र पनि त्यही कथाव्यथा दोहोरियो। खरानीका लागि घर सल्काउने उल्टो यात्राको भद्दा नमूना अहिले आकाश, पाताल जताततै मडारिरहेको छ। आश्चर्य त नौजवानले बगाएको रगतको ब्याज खान दुर्गा प्रसाईं टक्क उभिएको छ।

नवयुवाले दिएको रगतको टाटो सडकमा नमेटिदै सैनिक मुख्यालयमा सत्ताको च्याँखे बल्झाउन देखिएको भीडभाड साँच्चै निरासाजनक छ। आन्दोलनको सूत्रधार जेनजी कोही बालेन, कोही कुलमान, कोही दुर्गा प्रसाईं, कोही मधेश, कोही हर्क साम्पाङ, कोही कर्णाली ग्रुपमा विभाजित छन्।

जेनजी पुस्ता जेल जीवनलाई आफ्नो त्याग बनाएका पुस्तामाथि धावा बोल्ने शक्ति हो। अब उसँग सत्ताका लागि वार्तासँगै देश निर्माणको स्पष्ट खाका हुनुपर्छ।

जेनजी पुस्ता जेल जीवनलाई आफ्नो त्याग बनाएका पुस्तामाथि धावा बोल्ने शक्ति हो। अब उसँग सत्ताका लागि वार्तासँगै देश निर्माणको स्पष्ट खाका हुनुपर्छ। देशका सबै ठाउँ खरानी बनाएर सत्ता टेक्न आएको त्यो शक्तिसँग सम्भावना नै सम्भावनाको तेस्रो आँखा अपेक्षित छ। सलाईको काँटी बनाउन जति सजिलो छ, त्यसको रुख हुर्काउन उति नै कठिन छ भन्ने हेक्का राखेर अघि बढ्न जरुरी छ।

स्कुले ड्रेसमा गोली खाने भर्खर नागरिकता लिएको एउटा केटासँग जोडिएका मनोविज्ञान के के हुनसक्छ ? देशको राजनीतिक मूलप्रवाहबाट उसले आफ्नो भविष्य जोडिएका कस्ता कस्ता विषयमा परिवर्तन खोज्छ ? डाक्टर, इन्जिनियर, पाइलट बन्ने कि बनाउने ? मानिसलाई पेशातर्फ आकर्षित गर्नुअघि उसले एउटा असल नागरिक बन्ने प्रेरणा पाउन सकेन भने के हुन्छ ?

उसले आँखै अगाडि आफ्ना घरका दुई पुस्ता कांग्रेस, कम्युनिष्ट भएर गुज्रिएको देख्छ। शेरबहादुर, प्रचण्ड, केपी ओलीका बोली बेद, त्रिपिटक, बाइबल बनाइएको वातावरणमा हुर्किन्छ।

परिवारको आवश्यकता धान्न नसकेर बुबा कतार, आमा घरेलु कामदार हुन साउदी छिरेको दृश्यले उसलाई भाउन्न हुन्छ। उताबाट आएको कमाइ नाना, खाना, छानादेखि हजुरबा, हजुरआमाको ओखती उपचार धान्नुपरेको जीवन सिनेमाको कुनै भावुक दृश्यभन्दा कम हुँदैन। शायद जेनजी पुस्ताले गरेको क्रान्तिको भावभूमिभित्र यही कथाव्यथा लुकेको छ।

आन्दोलनका नाममा सिंहदरबार, संसद, अदालत, पुलिसका चौकी, हजारौं सरकारी निकाय जलाइए। यी जल्दा आस्था, विश्वाससँगै इतिहास ध्वस्त भयो। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकता राज्यलाई सन्तुलित राख्ने ओदान हुन्।

राष्ट्रपति भवन, संसद, सिंहदरबार, सर्वोच्च अदालत, मन्त्रालय, प्रधामन्त्री कार्यालय, प्रहरी कार्यालय नेताका कार्यालय होइनन। ती निकाय भ्रष्टाचारीका अखडा नभई राज्य सञ्चालनका धाम हुन्। बाटोमा चोर पनि हिँड्छ, धर्मात्मा पनि हिँड्छ। जन्ती र मलामीको बाटो एउटै हो। बाटोबाट चोर हिँड्यो भने चोर पक्रिने कि बाटो भत्काउने ? यो सत्य मन, मस्तिष्कमा राख्न जरुरी छ। छिटो पुगिन्छ भनेर शव वाहन र एम्बुलेन्समा लिफ्ट मागिन्न।

बाटोमा चोर पनि हिँड्छ, धर्मात्मा पनि हिँड्छ । जन्ती र मलामीको बाटो एउटै हो । बाटोबाट चोर हिँड्यो भने चोर पक्रिने कि बाटो भत्काउने ? यो सत्य मन, मस्तिष्कमा राख्न जरुरी छ । छिटो पुगिन्छ भनेर शव वाहन र एम्बुलेन्समा लिफ्ट मागिन्न ।

नेताको घर र सिंहदरबार खरानी बनाउने टाइसीट कसरी तयार भयो ? यो आफैंमा अप्राकृतिक कर्म हो। आफ्नै माटोमा सुरक्षित भविष्य खोजेको जेनजी पुस्ताले अर्को देशको साथीलाई आफ्नै हातले खरानी बनाएको संसद भवन, न्यायालय र प्रशासनिक मुख्यालय देखाउँदा छातीको आयतन घट्ला कि बढ्ला ? अरु देशले मरेका नेताको शव समेत सकुशल राखेर अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गरेको सत्यबाट नेपाली समाज अपरिचित छँदै छैन।

जेनजी चाउचाउको विज्ञापन जस्तो बन्नुहुन्न। यो नामजस्तै डिजिटल अझ ड्रोन क्यामेराको दृष्टि जसरी चल्नुपर्छ। ध्वस्तपछिको निर्माणका आधार खोज्नुपर्छ। विगतमा के चल्यो भन्दा पनि भविष्यमा के चलाउने आधार खोज्नुपर्छ। त्यसका लागि विभिन्न पेशामा आवद्ध असल मानिसको सहयोग लिन चुक्नुहुन्छ। अण्डाको आकार नष्ट गरेपछि अम्लेट बन्ने हो।

सिंहदरबारमा आगो झोस्नुअघि सिंहदरबार ढुंगामाटाको ढिस्को मात्र नभएर इतिहासको नासो हो भनेर बुझ्नुपर्छ। सिंहदरबार बनाउँदा चन्द्रशमशेर सुत्केरीले खान ठीक पारेको कालो दालसमेत गाउँगाउँबाट काठमाडौंमा जम्मा गर्न उर्दी लगाएका थिए। हड्डी, कालोदाल र चुन मिसाएर बनेको बज्रबाट सिंहदरबार बनाइएको हो।

चार वर्षमा धर्मपुत्र बनाएर विदेश लगिएको बच्चा किशोर भएपछि आफ्ना बाआमा खोज्न नेपाल आइपुग्छ। साइबेरियाको हिउँबाट बच्न नेपाल आइपुगेका चरा जाडो काटेपछि उतै फर्कन्छन्। बच्चा आफ्नै थातथलोमा काढ्छन्। सगुन भन्ने बुझ्न पर्छ। कालोदाल, विदेशीले चार वर्षमा देश बनाउने भिजन पेपर तयार गर्दा त्यसको जग। उम्लिने हो भने भरिएर पोखिनु जाति, उम्लिएर पोखिएको सुहाउँदैन। जेनजी पुस्ताको काम अल्फा जेनजीले निगरानी गर्छ।

जेनजी पुस्ताका बाआमा पानी आन्द्रे हुँदा रहर लाग्दो नयाँ पुस्ता आगोसँग खेल्न बाध्य भयो। आन्तरिक हिसाबकिताब जे भए पनि अहिलेको आगोको नैतिक जिम्मेवारी जेनजीसँग जोडिन्छ। कतै जेनजीले बगाएको यो रगत टिकटकको रमाइलो दृश्य नबनोस्। भाटभटेनीको रक्सी चोरेको रसरंग नबनोस्।

नेता नालायक भए। सर्वत्र भ्रष्टाचार संस्थागत भयो। सबै पद लिलाममा चढाइए। सरकारी काम दलालले मुन्टो हल्लाएपछि मात्र तमाम हुने अवस्थामा पुग्यो। चारपाँच वटा नेताको म्युजिकल चियरमा दशकौं देश घुम्यो। अहिले त बाँडेर खाए खाए चार पाँच वर्ष पछाडिको लाभ पनि अहिले नै भाग लगाउने अपराध कर्ममा समेत उनीहरु निर्लिप्त भएको देखियो। सबै पेशाकर्मी दलका कार्यकर्ता भए। एक पिन्ट रगत पाउनदेखि आर्यघाटको चितासम्म दलको झोले हुनुपर्ने बाध्यतामा मानिस पुगे। यही पीडाको उन्मुक्तिका लागि नवयुवा कफन बाँधेर उत्रिएका हुन्। दुई दिनमै उनीहरुले ल्याएको परिवर्तन साँच्चै कदरयोग्य छ। अब यसबाट प्राप्त उपलब्धि बचाउन उत्तिक्कै हम्मे छ।

नवयुवाले छिराएको एटीएम कार्डबाट दुर्गा प्रसाईं निस्कनु भनेको अर्को भद्दा केपी ओलीको संस्करण हो।

नवयुवाले छिराएको एटीएम कार्डबाट दुर्गा प्रसाईं निस्कनु भनेको अर्को भद्दा केपी ओलीको संस्करण हो। डा. सन्दुक रुईत, डा. भगवान कोइराला, कुलमान घिसिङ आफ्नो पेशाका भीष्मपितामह हुन्। प्रधानमन्त्रीको कुर्सीमा उनीहरुलाई ल्याएर नयाँपुस्ताको सपना पूरा हुँदैन्। घोडाको सुन्दर चित्र बनाउनु र तबेलामा घोडा पाल्नु नितान्त फरक विषय हो।

अहिले राज्यले भोगेको सार्वजनिक, सरकारी र भौतिक क्षतिको आकार माओवादीले दशवर्षमा गरेको क्षतिभन्दा हजारगुणा बढी छ। बनाउन त परै जाओस् बढार्न नै अरबौं चाहिने अवस्था छ। मुलुकको सबै बजेट एक दशक खर्च गर्दा पनि पुनर्निर्माण हुनेमा शंकै छ। यो अवस्थामा आउने नेतृत्व कस्तो हुनुपर्ला आफैं अनुमान लगाउन सकिन्छ।

जेनजीको आन्दोलन सफल भएपछि देशभर सयौं बालबालिका जन्मिए। धेरै मानिस मरे। धेरैको विवाह भयो। विदेश उड्न ठिक्क परेका जोडीलाई विवाहको प्रमाणपत्र दिन ठप्प भयो। जन्मिने शिशुले जन्मदर्ताको प्रमाणपत्र पाएन। मर्नेका स्वजनले मृत्यु दर्ता पाएनन्। कम्प्युटर सबै जल्दा ज्येष्ठ नागरिकले वृद्धभत्ता नपाउँदा सजिलै सास फेर्न पाएका छैनन्।

अर्कातिर कांग्रेस, एमाले र माओवादीको तलदेखि माथिसम्म पेचिलो संयन्त्र छ। अहिले उनीहरु लहराले छोपिएको पिपलजस्तो बनेका हुन्। यदि लहरो अलिकति सुक्यो भने तिनीहरु हलहली बढेर उल्टै लहरो सिध्याउने छन्। लहरो आकारमा रहेका जेनजीले आफूलाई हरियो राख्न उत्तेजनासँगै होशियारी हुन जरुरी छ। कुनै निर्णय गर्नुअघि अन्त्येष्टि नगरी आईसमा राखिएका आफ्ना ३४ सहयोद्धाको अनुहार सम्झिए पुग्छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ०९ बजे

‘अहिलेको समयलाई कोर्स करेक्सनको रूपमा सदुपयोग गर्नुपर्छ’

काठमाडौं– अर्थतन्त्रका जानकारहरूले ‘जेनजी पुस्ता’को प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा

जेन-जीको आन्दोलनमा निधन भएको शव महानगरले घरसम्म पुराइदिने

काठमाडौं– जेन-जीको आन्दोलनमा निधन भएको शवलाई काठमाडौं महानगरपालिकाले घरसम्म पुर्‍याउन

रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू

ललितपुर- गत मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा

राजनीतिमा ‘पोलिटिक्स’ बुझ्न नचाहेकाे पुस्ताको प्रवेश

जेनजी अर्थात् नयाँ पुस्ता । सन् १९९० को दशकको अन्त्यतिर

जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि