राजनीतिमा ‘पोलिटिक्स’ बुझ्न नचाहेकाे पुस्ताको प्रवेश « Khabarhub

राजनीतिमा ‘पोलिटिक्स’ बुझ्न नचाहेकाे पुस्ताको प्रवेश



जेनजी अर्थात् नयाँ पुस्ता । सन् १९९० को दशकको अन्त्यतिर र सन् २००० दशकको सुरुतिर जन्मिएका मानिसहरूलाई ‘जेनरेशन जेड’ अर्थात्‌ ‘जेन-जी’ भन्ने गरिएको छ । यो पुस्ताको भाइबहिनीहरूले राजनीतिमा खासै चासो राख्दैनन् भन्ने गरिन्छ । किनभने उनीहरूको दिनचर्या स्कूल, कलेज र मोबाइल ल्यापटप भन्दा बाहिर खासै देखिँदैन । प्रविधिमा खुसी हुने पुस्ता हो जेनजी । राजनीतिबारे सोध्दा यो पुस्ताका अधिकांशले भन्ने गर्छन्‌ ‘वी डन्ड अन्डरस्ट्याण्ड पोलिटिक्स’ !

तर, यिनै ‘वी डन्ट अन्डरस्ट्यान्ड पोलिटिक्स’ भन्ने गरेका युवाहरूले देशको इतिहासमै शक्तिशाली भनिएको सरकार यो साताका दुई दिनमै ढालिदिए । उथलपुथल ल्याइदिएपछि यी युवाहरूले पनि राजनीतिक परिवर्तनको स्वरुप देख्न र भोग्न थालेका छन्‌ । यो परिवर्तनलाई राष्ट्रियता, सार्वभौमसत्ता, कानूनको शासन, नागरिक स्वतन्त्रता, समृद्धि र विकासमा लगाउने हकमा स्वागतयोग्य हो ।

‘नेपो बेबी’ अथवा ‘नेपटिजम बेबी’ भनेका हुनेखाने व्यक्तिका छोराछोरी हुन् जो बाबुआमाको कारण दुःख नै नगरी वा उनीहरूको योगदानमा आधारित सफल र प्रशिद्ध भएका मानिन्छन् । नेपालको हकमा यसरी फाइदा लिनेमा सयौँ नेता र ती नेतामार्फत्‌ देशको नीतिमा भ्वाङ पारेर अकुत फाइदा लिएका सीमित व्यापारी/व्यवसायिक घरानाका मानिसहरू छन्‌ ।

केही दिन अघिदेखि ‘जेन-जी’ पुस्ताले कतिपय नेता तथा उच्च आर्थिक हैसियत भएका व्यक्तिका छोराछोरी र गरीब जनताका सन्तानका तस्बिर राखेर तिनीहरूको तुलनात्मक हैसियतबारे भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । हिजो धेरैले ‘जेन-जी’ पुस्ता सामाजिक सञ्जालबाट सडकसम्म देशका विभिन्न ठाउँमा प्रदर्शनमा निस्कनुको कारक तत्त्वका रूपमा सोही कदमलाई लिइरहेका छन् । जनतालाई सेवा प्रदायक प्रदान गर्नुपर्ने ठाउँमा बसेर देशको स्रोत दुरुपयोग गरी आसेपासे पोस्ने गलत कामप्रति उनीहरूले विरोधको स्वर निकाले ।

जेन-जी प्रदर्शनलाई विभिन्न कोणले अर्थ्याइँदैछ । एउटा कोणबाट सो पुस्तामा देखिएको राजनीतिक चेत भनिएको छ भने अर्को तर्फबाट गत साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणमा आउन नमानेका सामाजिक सञ्जाल प्ल्याट्फर्महरूलाई निष्क्रिय बनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै उनीहरूले असन्तोष र आक्रोश पोखेको बुझाइ छ । यो पुस्तासँग उभिएर हेर्दा दुवै दृष्टिकोणले उनीहरूको माग सही नै देखिन्छन्, यद्यपि नयाँ पुस्तासँग विरोध गर्ने नयाँ तरिका र मास ह्यान्डल गर्ने क्षमता नहुनुले राजनीतिक सुझबुझमा कमजोरी देखिएको छ ।

११ र १२ कक्षामा पढ्ने भाइबहिनीहरूमा राजनीतिक चरित्र र संस्कार विकास नहुनुलाई सामान्य नै लिन सकिन्छ । तर राजनीतिक हिसाबले देशको राजनीति नै परिवर्तन गर्ने आन्दोलन उठान गरी ‘युथ इन पोलिटिक्स’ भन्दै मैदानमा उत्रेर सत्तारूढ नेताहरूलाई राजनीतिक परिवर्तनका लागि खतराको घण्टीको सङ्केत दिनु असामान्य हो ।

जेन-जी आन्दोलन हामी अर्थात् उनीहरूको दाइपुस्तालाई पनि चुनौती हो । ६२/६३ को जनआन्दोलनमा राजनीतिक व्यवस्था परिवर्तनका लागि लडेको मेरो पुस्तालाई ब्युँझाउने र सचेत गराउने आन्दोलन पनि हो । अहिलेको अवस्थामा नवयुवाहरूले के सोचिरहेका छन्, उनीहरूको सपनाको नेपाल कस्तो, मुलुक कता गइरहेको छ भन्ने कुरा उनीहरूको भावनाअनुरूप नबुझे हाम्रो पुस्ताले पनि राजनीतिबाट विश्राम लिनुपर्ने अवस्था आउनसक्छ ।

नेपालमा लामो समयदेखि राजनीतिक मुद्दा बनेको रोजगारी, सुशासन, जवाफदेहिता र स्थिर सरकार युवापुस्ताको माग बनेको छ । परम्परागत दलबाट यथास्थितिमा यो सम्भावना छैन । हाम्रो निर्वाचन प्रणालीअनुसार पनि कुनै एक दलको बहुमतको स्थिर सरकार बन्नेछैन । तसर्थ पार्टीगत राजनीतिक विचारधाराबाट माथि उठेर साहस, प्रतिवद्धता र इमानदारीसाथ एक भएर यो जेनजी आन्दोलनबाट नयाँ नेतृत्वको उदय गराउन सकेमात्र आन्दोलनमा ज्यान गुमाएकाहरूको बलिदानको अर्थ रहन्छ ।

सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको ५० वर्षपछि आरक्षण प्रणाली पुरानो भइसकेकाले त्यस्तो सुविधा विपन्न समुदायमा केन्द्रित हुनुपर्ने माग गर्दै आन्दोलनमा होमिएका बङ्गलादेशका विद्यार्थीहरूले आफ्नो सुनौलो भविष्यको लडाइँ लड्न लाखौँ विद्यार्थीहरूलाई एकसाथ सडकमा ल्याउन सफल भएका थिए । जुन विद्यार्थी आन्दोलनको जगमा विश्वमै लामो समय देश हाँक्ने महिलाको रूपमा परिचय बनाएकी प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भइन्‌ ।

डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको घोषणा भएयता बाङ्गलादेशमा पुनः असन्तुष्टिको आगो बलेको छ । बङ्गलादेशी जनताको केही हिस्साले ‘सेनालाई नेतृत्व सुम्पनुपर्ने’ विचार राख्दै आएका छन् । युनुसप्रति सकारात्मक नभएकाहरू शेख हसिनाले देश छाड्नुलाई ठूलो प्रायश्चितका रूपमा लिइरहेका छन्‌ । यसरी नागरिकहरू फरकफरक कित्तामा विभाजन हुँदै जाँदा राजनीतिमा झनै विभाजनको रेखा कोरिँदै जान्छ, जहाँ देशको र युवाहरूको भविष्य अन्योलग्रस्त हुन्छ ।

राजनीतिमा रुचि नभएका युवाहरू राजनीतिमा आउनुपर्ने बाध्यात्मक परिस्थिति निर्माण हुँदा त्यो देशको सत्ता ढलेको ऐतिहासिक घटनाक्रमहरू प्रशस्तै छन् । नेपालको हकमा पनि त्यो सावित गर्ने पालो यही नवयुगका जेनजी जेनेरेशन नै हो । तर, अघिल्लो पुस्ताको अनुभव र भोगाइबाट पाठ सिक्दै उनीहरूलाई सम्मानपूर्वक बहिर्गमन गराएर अघि बढ्न सकेमात्रै जेनजी युवापुस्ताको आन्दोलनको सार्थकता रहन्छ ।

जेनजी युवासहितको बलियो नागरिक सरकार निर्माण गरी संवैधानिक बाटोबाट अन्तरिम सरकारको नेतृत्व चुन्दै शासनसत्ता सुचारु गर्न आवश्यक छ । चाँडै नै स्वतन्त्र र निष्पक्ष लोकतान्त्रिक निर्वाचनमार्फत् शासनसत्ता जनताकै हातमा जानुपर्छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १ : २८ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर