धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी | Khabarhub Khabarhub

धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको छ । भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा तीनवटा शव पूरै जलेको अवस्थामा भेटिएको हो ।

मङ्गलबार चर्किएको जेन-जी प्रदर्शन क्रममा अराजक समूहले धरान उपमहानगरपालिका-१०, पुतलीलाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड, लुटपाट र आगजनी गरेको थियो ।

एउटा समूह लुटेर निस्केपछि आगो लगाउँदा भवनबाट निस्कन नभ्याएको अर्को समूहका सदस्यहरू जलेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आगजनी भएको चौथो दिन आजसम्म पनि उक्त भवनमा लागेको आगो निभेको छैन । आज मध्याह्न पहिलो तल्लामा एउटा शव फेला परेपछि अरू तलामा पनि शव भएको हुनसक्ने भन्दै सुरक्षाकर्मीहरूले खोज्न थालेका थिए ।

आगोले जलेर शरीरको आकारमा खरानी भएको शवको खप्पर, दाँत र हड्डीको केही अवशेषमात्रै भेटिएको छ । उक्त अवशेषलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्न लगेको छ । अन्य शवको खोजी कार्य पुनः गर्ने सुरक्षा निकायले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार गत मंगलबार साँझ ५ बजे भाटभटेनी सुपर मार्केट बन्द भइसकेको तीन घण्टा पछि राती ९ बजेतिर अराजक समूह आएर तोडफोड गर्दै लुटपाट मच्चाउन थालेको थियो । उक्त समूहका १५–२० जना भित्र पसेको देखिएको स्थानीयले बताएका थिए ।

सोही अराजक समूहमा रहेका अन्यले बाहिरबाट आगजनी गरेका थिए । आगो फैलिएर दनदनी बल्न थालेपछि लुटपाट मच्चाउन भित्र पसेकामध्ये चारजना फस्न पुगेका थिए । एक जना लुटेरा दुई तलाबाट हाम फालेर बाचे पनि तिनको खुट्टा भाँचिएको थियो ।

भाटभटेनीको आगलागीमा फस्नेहरूले मोबाइल सम्पर्क गरेर घरमा फोन गरेका थिए । ती मध्ये दुई जनाका अभिभावक सम्पर्कमा आएको बताइएको छ ।

ताप्लेजुङ स्थायी घर भए पनि इटहरीमा बसेर पढ्दै आएका एक जनाले पनि भाटभटेनीमा फसेको भनेर फोन सम्पर्क गरेका थिए । ती युवा स्कुटर लिएर अराजक समूहसँग लुटपाटमा हिँडेका थिए । भाटभटेनी अगाडि बेवारिस स्कुटर भने अभिभावकहरूले लगेको प्रत्यक्षदर्शीहरुले बताए ।

अर्का एक जना धरानमै टेलरिङ गर्दै आएका मुस्लिम समुदायका युवाले पनि भाटभटेनीमा फसेको भनेर घरमा फोन सम्पर्क गरेका थिए । फेला परेको शव कस्को हो त्यो भने पहिचान हुन सकेको छैन ।

अराजक समूहले मंगलबार सांझ सात बजेदेखि धरानमा तोडफोड र आगजनी सुरु गरेका थिए । उनीहरूले सबै भन्दा पहिले पूर्व उपमेयर मञ्जु भण्डारीको घर तोडफोड गर्दै घरका सामान बाहिर निकालेर आगो लगाएका थिए ।

त्यसपछि सोही समूह पुर्व मेयर मनोज कुमार मेन्याङ्बोको बरगाछीस्थित होटल कन्चनजंघामा पुगेर तोडफोड गर्दै लुटपाट गरेका थिए । होटल तथा घरका सामान निकालेर बाटोमा आगो लगाएका थिए । मेन्याङ्बोले अराजक समूहले घरभित्र छिरेर नगद ७ लाख रुपैयाँ र बहुमूल्य गहनाहरू पनि लुटेको बताए ।

सोही समूह धरान–१८ बुद्धचोकस्थित पूर्व मेयर तिलक राईको घर तिर आगजनी र तोडफोड गर्न पुगे पनि स्थानीय समुदायले लखेटेका थिए ।

तितरवितर भएका उक्त अराजक समूह फेरि एकजुट भएर धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईको घर लुटपाट र आगजनी गर्न पुग्दा त्यहाँ पनि तीन चार सयको संख्यामा स्थानीय बासिन्दा देखेपछि भागेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : ४८ बजे

अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति

प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

काठमाडौँ – राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख

जेन–जीको चाहनाअनुसार पार्टी रूपान्तरण गर्ने एमाले नेताहरुको प्रतिबद्धता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ३२ वटा केन्द्रीय विभागले

शिक्षण अस्पतालमा ३६ जनाको शव, पत्र नआउँदा परीक्षणमा ढिलाइ

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका