देउवाको सन्देश सुनाउँदै पूर्णबहादुरले भने, ‘निर्णयमा पुग्नुहोस्, मेरो सहमति छ’ | Khabarhub Khabarhub

देउवाको सन्देश सुनाउँदै पूर्णबहादुरले भने, ‘निर्णयमा पुग्नुहोस्, मेरो सहमति छ’

नियमित महाधिवेशनमा एकमत, मितिबारे साझा धारणा बनाउने सहमति



काठमाडौं – तीन दिनसम्म बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । बैठकले सबैको साझा धारणा बनाउने भन्दै आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक २८ गतेका लागि सरेको छ । आइतबार र सोमबार पदाधिकारी बैठक बसेर विविधतामा एकताको खोजी हुने गरी धारणा आउने सहमति गरेर शनिबारको बैठक सकिएको छ । कांग्रेसका बहुमत नेता नियमित महाधिवेशनको पक्षमा छन् । तर निर्वाचन अगाडि कि पछाडि भन्ने कुरा मिलेको छैन ।

‘हामीले आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक २८ गते बोलाउने भनिएको छ । भोलि र पर्सी एकताको खोजी गर्ने भनेका छौँ’, एक पदाधिकारीले भने, ‘कसरी अगाडि जाने हो । साझा धारणा बनाउने वातावरण बन्छ भन्ने लागेको छ । नियमित महाधिवेशनको पक्षमा बहुमत नेता छन् ।’

आइतबार १ बजे कार्यसम्पादन समितिकै बैठक बस्ने छ । आइतबार र सोमबारको बैठकबाट कांग्रेसले निर्वाचन अगाडि नै नियमित महाधिवेशन गर्ने कि कार्यवाहक अध्यक्ष तोकेर जाने भन्ने विषयमा निर्णय लिने कांंग्रेसका अर्का शीर्ष पदाधिकारी बताउँछन् ।

बैठकमा नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङलगायतले नियमित महाधिवेशन गर्नुपर्नेमा बिहीबारकै बैठकमा जोड दिए । यस्तै कुनै पदाधिकारीले विशेष महाधिवेशन गर्नुपर्ने सुझाव दिए । शीर्ष नेताले निर्वाचन अगाडि कार्यकारी तोकेर अगाडि जानुपर्ने माग राखेका छन् ।

यथास्थितिमा चल्दैन
कांग्रेस बैठकमा यथास्थितिमा निर्वाचन पनि गर्न नसकिने र पार्टी अगाडि जान नसक्ने नेताको तर्क थियो । यो मत जायर गर्ने पदाधिकारीको संख्या बहुमत छ । ‘यथास्थितिमा केही पनि हुन सक्दैन, पार्टीले परिमार्जित भएर जानुपर्छ भनेर कांग्रेस देउवा पक्षकै नेता कृष्ण सिटौला, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, उपसभापति तथा बैठकका अध्यक्ष पूर्णबहादुर खड्काले पनि भन्नुभयो’, कांग्रेसका ती पदाधिकारीले भने, ‘नियमित अधिवेशन गरौँ भन्ने जोड उहाँहरूको छ । तर समय पुग्छ कि पुग्दैन छलफल हुन बाँकी छ ।’

बैठकका नेताले केन्द्रीय कमिटी बैठकसम्मका एकै धारणा पदाधिकारीले नबनाए केन्द्रीय कमिटी बैठक भाँडिने र आफ्ना आफ्ना गुटको पृष्ठपोषण हुने कुरा उठेको थियो । ‘आक्रोश पोख्ने र गाली गर्नेबाहेक केही हुँदैन । यो स्थितिमा पार्टी अब चल्न नसक्ने अवस्था छ ।’

सभापतिले सन्देश बैठकमा
आजको बैठकमा सबै नेताले बोल्ने पालो पुगेपछि सभापति शेरबहादुर देउवाको सन्देश उपसभापति खड्काले राखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा भदौ २३ र २४ गतेको आन्दोलनपछि घाइते भएर उपचारमा छन् ।

‘पार्टी सभापतिसँग भेटघाट गरेर आएको थिएँ । पार्टी सभापति देउवाले कसरी हुन्छ सबै मिलेर तपाईंहरू निर्णयमा पुग्नुहोस् । अहिलेको अवस्थामा यहाँहरूले जे निर्णय गर्नुहुन्छ त्यसमा मेरो सहमति छ’, खड्काले देउवाको भनाइ उद्धृत गर्दै भनेका थिए, ‘सबै बसेर निर्णय गर्नुहोस्, म तयार छु । धेरै कुरा गर्न म चाहन्न । मेरो स्वास्थ्यले पनि साथ दिएको छैन । धेरै उठ्दा पनि मलाई रिँगटा चलिरहेको छ । म केन्द्रीय समिति बैठकमा मात्र एकछिन आउँछु होला ।’

देउवाले के गर्ने भनेर सबैले एउटा निर्णय गर्नुपर्ने र त्यो निर्णयमा आफू तयार रहने बताएको खड्काले बैठकमा ब्रिफिङ गरे । ‘एकता प्रदर्शन गर्नु भनेर सभापतिले भन्नुभएको छ । बिहान पनि कुरा भएको थियो’, खड्काले देउवाले राखेको कुरा बैठकमा सुनाउँदै भने, ‘उहाँले म अब जे बहुमतले निर्णय गर्छ त्यो मान्छु भन्नुभएको छ । तर हामी साझा धारणा बनाएर जानुपर्छ ।’

खड्काले सभापतिले पठाएको सन्देश बैठकमा राखेसँगै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा भएका कुरा पनि सुनाए । उनले राजनीतिक दलले त्रासपूर्ण तरिकामा निर्वाचनमा भाग लिने वातावरण सरकारले तयार पार्नुपर्ने कुरा राखेको बताएका थिए ।

बैठकमा कसले के धारणा राखे ?
शनिबारको बैठकका सहमहामन्त्री किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, नेता गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, बालकृष्ण खाँड, महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का लगायतका नेता बोलेका थिए । यी सबै नेताले नियमित महाधिवेशन गर्न नसके मात्र विशेष महाधिवेशन लग्नुपर्ने तर त्यो निर्वाचन अगाडि नै हुनुपर्ने बताए ।

यस्तै शुक्रबारका वक्तामा कृष्ण सिटौला, डा.शंशाक कोइराला, प्रवक्ता प्रकाशशरण महतले पनि नियमित महाधिवेशनमा जोड दिएका थिए । तर उनीहरूले निर्वाचन अगाडि सम्भव नहुने धारणा राखे । यी नेताले देउवाको विकल्प पार्टीमा खोज्न भन्दा पनि कठिन समयमा पार्टी एक भएर जानुपर्ने धारणा राखेका थिए ।

बैठकमा नेताले अबको महाधिवेशनमा सभापति देउवा नउठ्ने कुरा पटक–पटक भन्दै आएकाले उनी महाधिवेशनमा उम्मेदवार नहुने कुरामा ढुक्क थिए । प्रवक्ता महतले आगामी महाधिवेशनमा सभापति देउवा नउठ्ने ठोकुवा गर्दै मिलेसम्म नियमित महाधिवेशन गरेर अन्य व्यक्ति आउन बाटो खुला रहेको बताए । तर उनले जटिल अवस्थामा नेतृत्वलाई पार्टी नेताले नै आक्रमण गर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ०५ बजे

प्रचण्डको सचिवालयको चुनौती- निवासबाट ट्रकमा दुई करोड रुपैयाँ लगेको पुष्टि गर्नू

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

सुनको मूल्य तीन हजार रुपैयाँले बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौं– काठमाडौंको कपन पैयुटारमा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

‘विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख’

भोजपुर– विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका जिल्लाका धेरै युवा अहिले