जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृत्यु « Khabarhub

जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृत्यु


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ ।

टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी–१३० हर्कुलस विमानले मंगलबार दिउँसो अजरबैजानको पश्चिमी सहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।

विमानमा रहेका सबै २० जना सुरक्षाकर्मी र प्राविधिक जनशक्तिको निधन भएको जनाइएको छ । टर्कीका रक्षामन्त्री यासर गुलरले आफ्नो आधिकारिक एक्स खातामा विज्ञप्ति प्रकाशित गर्दै भने, ‘अजरबैजानबाट स्वदेश फर्कंदै गरेको हाम्रो सी–१३० सैन्य कार्गो विमान दुर्घटनामा परेर ११ नोभेम्बर २०२५ मा हाम्रा वीर सहकर्मीहरू शहीद भएका छन् । देशले उनीहरूको बलिदानलाई सधैँ सम्झनेछ ।’

दुर्घटनाको कारणबारे टर्कीले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । तर अजरबैजानका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका प्रत्यक्षदर्शी दृश्यहरूमा विमान हावाबाट तीव्र रूपमा खस्दै जमिनमा ठोक्किएपछि ठूला–ठूला टुक्रामा फुटेको र वरिपरि धुवाँको मुस्लो उठेको देखिन्छ ।

जर्जियाको गृह मन्त्रालयका अनुसार दुर्घटना अजरबैजान सीमाबाट करिब पाँच किलोमिटर टाढा सिघनाघी क्षेत्रमा भएको हो । मन्त्रालयले स्थानीय सुरक्षा निकाय र उद्धार टोलीहरू घटनास्थलमा पठाइसकेको छ र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

जर्जियाको एयर ट्राफिक कन्ट्रोलका अधिकारीहरूले विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडार सम्पर्क हराएको जानकारी दिएका छन् । ‘विमानले कुनै सङ्कट सङ्केत प्रसारण नगरी अचानक सम्पर्क विच्छेद भयो’, एक वरिष्ठ अधिकारीले भने । त्यसपछि आपतकालीन सेवाहरूले दुर्घटनास्थल पत्ता लगाएका थिए ।

दुर्घटनामा परेको सी–१३० हर्कुलस विमान अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित हो । यसलाई विश्वभरका सेनाहरूले मालसामान र जनशक्ति ढुवानीका लागि प्रयोग गर्ने गर्छन् ।

टर्की र जर्जियाका अधिकारीहरूले संयुक्त रूपमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । प्रारम्भिक मूल्याङ्कन अनुसार खराब मौसम वा प्रविधिगत समस्या दुर्घटनाको सम्भावित कारण हुनसक्ने बताइएको छ ।

टर्की सरकारले शहीद सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति समवेदना प्रकट गरेको छ । रासस

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : २७ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल