जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर | Khabarhub Khabarhub

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

दर्ता भइसकेकासँग मिसिँदा झन् समस्या हुने निचोड



काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन् । करिब १० घण्टा चलेको छलफलमा अधिकांश जेन-जी प्रतिनिधिले कोही अग्रजलाई अभिभावक बनाएर जेन-जीहरूकै नेतृत्वमा पार्टी गठन गनुपर्ने मत राखे ।

यति मात्रै होइन, आन्दोलनको छोटो अवधिमै तितरबितर भएका जेन-जीहरू एकै समूह या पार्टी बनाएर जाने विषयमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ।

जेन-जीहरू एक सातादेखि पार्टी निमार्ण गरेर अगाडि बढ्ने छलफलमा छन् । उनीहरू पुरानै पार्टीमा मिसिने अर्को एजेन्डामा पनि निरन्तर छलफल गरिरहेका छन् ।

‘आफैँ दल दर्ता गरेर जाने वा अरूमा मिसिने विकल्पमा लामो छलफल भयो । सकेसम्म आफैँ दल दर्ता गरेर जाँदा ठिक हुने कुरा भएको छ । दर्ता भएको दलसँग मिलेर जाँदा समस्या आउने रहेछ’, छलफलमा सहभागी एकजनाले भने, ‘लोकप्रिय मान्छेको पछि लागेर जाँदा जेन-जी आन्दोलन तहसनहस हुन्छ । त्यसकारण अहिले बालेन साह र सुमना श्रेष्ठसहितको पछि लाग्ने भन्दा आफैँ दल दर्ता गरेर भविष्यमा सहकार्य गर्ने कुरा भएको छ ।’

मंगलबारको बैठकमा करिब ३० जना जेन-जी नेताहरूसहभागी भएको बताइएको छ ।

तीन समूहबीच छलफल

एक सातादेखि विभिन्न एजेन्डामा छलफल भएपछि मंगलबार राति जेन-जीको ठूलो पंक्तिबीच बैठक भएको थियो। मंगलबारको बैठकमा जेन-जी फ्रन्टबाट संयोजक रक्षा बम, सदस्यहरू युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल,आदित्य कर्ण र ऋतु खड्कालगायत उपस्थित थिए ।

यस्तै ‘द काउन्सिल अफ जेन-जी’का ७ जना प्रदेश संयोजक उपस्थित थिए । कोशी संयोजक उपार्जुङ राई, बागमती संयोजक अफसाना बानु, मधेशका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का थिए ।

यस्तै जेन-जी मुभमेन्ट अलायन्सका अगुवा अमित खनाल सदस्य मोनिका निरौला, रिजन राना मगर, साङ्केन राई, अनुसार खनाल र सामना लावती लगायत थिए । यो अलायन्सले १३ वटा समूह र ४२ जिल्लामा प्रतिनिधि तय गरिसकेको जनाएको छ।

मंगलबारको बैठकमा केही सहिद परिवार र घाइते पनि थिए । चर्चित पात्रहरू उपस्थित थिएनन् । पछिल्लो समय विभिन्न विकल्पमा तीन समूहबीच छलफल भइरहेको स्रोतको दाबी छ ।

जेन-जी मुभमेन्ट अलायन्सका अगुवा अमित खनाल पनि विभिन्न कोणबाट छलफल चलेको बताउँछन् । उनले अन्य कुरा खुलाउन चाहेनन् । ‘कसरी जाने भनेर छलफल चलिरहेको छ । यो सकारात्मक हो,’ उनले खबरहबलाई भने, ‘अहिलेसम्म कुनै निर्णयमा पुगिएको छैन । विभिन्न विकल्प आएका छन् । साथीहरू सकभर मिलेर जानेमै छौँ।’

स्रोतका अनुसार छलफलमा मिराज ढुङ्गानाको टिम सहभागी छैन । कार्यकारी प्रधानमन्त्री र संविधान संशोधनको नारा बोकेका ढुङ्गानालाई राष्ट्रिय प्रजातन्त्र पार्टी र दुर्गा प्रसाईंले उकासेको आरोप लाग्ने गरेको छ ।

‘मिरजजी अर्को मिसनमा हुनुहुन्छ । हामी यही संविधान र व्यवस्था मान्छौँ भनिरहेका छौँ । उहाँ व्यवस्थाको विकल्प खोज्ने तयारीमा हुनुहुन्छ,’ द काउन्सिल अफ जेन-जीका एक नेताले भने, ‘विचार मिल्ने र मिल्न सक्ने शक्तिहरू एक भएर जाने तयारीमा छौँ ।’

छुट्टै दल बनाउने मत बलियो

छलफलमा सहभागी अधिकांश सदस्यले जेन-जीहरू मिलेर दल दर्ता गर्दा आफैंले नेतृत्व गर्नुपर्ने कुरा राखे । त्यसमा पनि सम्भावनाको कुरा भएको थियो ।

‘दल दर्ता जेन-जी उमेर समूहबाटै गरौँ । हिजो हामीलाई अरू अरू दलमा तान्ने परिस्थिति थिए । यदि हामीले आफ्नो दल बनाएनौँ भने आन्दोलन संस्थागत गर्न सकिँदैन,’ बैठकमा कोशी प्रदेश संयोजक उपार्जुङ राईले भनेका थिए, ‘अरू दलमा गएपछि तात्पर्य पनि पुष्टि गर्नुपर्छ । आन्दोलन संस्थागत गर्न सकिँदैन । फरक उमेर समूहका राख्दा अरू दलमा जाने कुराको खास अर्थ राख्दैन ।’

त्यसपछि जेन-जी फ्रन्ट संयोजक रक्षा बमले पनि ठूला दलले के गर्न सक्छन् भनेर हेरिरहेकाले अपनत्व हुने दल दर्ता गरेर जानुपर्ने मत राखिन् । उनले जेन-जी उमेर समूहका नै नेतृत्वमा रहनुपर्ने तर्क गरिन् ।

‘हामीले यत्रो आन्दोलन गरेका छौँ । हामी सेलाए आन्दोलन संस्थागत हुँदैन’, उनले भनिनन्, ‘पछि अरूसँग सहकार्य गरौँला, अभिभावक बनाउँला तर अहिले जेन-जीबाटै नेता बनाऊँ ।’

छलफलमा जेन-जी मुभमेन्ट अलायन्सका अगुवा अमित खनालले पार्टी दर्ता गराएर निर्वाचनमा जानुपर्ने मत राखे । उनले अभिभावकीय भूमिकामा अन्य व्यक्तिलाई समावेश गर्नुपर्ने भनेका थिए । खनालले आफ्नो टिम विभिन्न जिल्लामा फैलिएकाले यसैलाई संस्थागत गरेर जान सकिने कुरा राखेको स्रोतको दाबी छ ।

यसबारे सोध्दा खनालले भने, ‘विचार मिल्ने शक्तिहरू एक भएर जाने सल्लाह भएको हो । छलफल त सबै कोणबाट हुन्छ नि ।’

मंगलबारको बैठकपछि बुधबार पनि तीनवटा टीम, सहिद परिवार र घाइतेहरू छलफलमै छन् । यो छलफल नयाँ दल दर्ता गराउने तयारीमा रहेका सुदन गुरुङले गराएका हुन् । उनी सकेसम्म मिलाएर जेन-जीकै दल बनाउने तयारीमा छन् । उनले दल दर्ताको तयारी सकेका छन् । तर मिलेसम्म जेन-जीलाई समेट्ने उनको योजना छ ।

स्रोतका अनुसार कुनै परिवर्तन नभए सुदन र जेन-जीहरूले छुट्टाछुट्टै राजनीतिक दल दर्ता गरेर चुनावी सहकार्य गर्ने सम्भावना छ । जेन-जीका एक नेताले भने, ‘अहिले आफ्नै ढंगले अगाडि बढेर चुनावमा सहकार्य रहन्छ । यो कुरा सबैले मनन गरेका छौँ ।’

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : २१ बजे

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति

एमाले प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइन्छ: शंकर पोखरेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा परे नेपालमै कार्यरत ३१ जना

ललितपुर– विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार

गोरखा – उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको

महाधिवेशनको मितिले कांग्रेसमा भाँडभैलो

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति