काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल शनिबार हुँदैछ। फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल शनिबार दिउँसो ३:३० बजे कीर्तिपुरमा सुरु हुँदैछ।
बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले विरानगर किंग्सलाई ४० रनले हराउँदै फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगिसकेको छ।
रोचक के छ भने दुई क्वालिफायरबाट हार भोगेको विराटनगरले दुवै खेलमा सय रन कटाउन सकेन। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७८ रनमा समेटिएको विराटनगर दोस्रो क्वालिफायरमा लुम्बिनीसँग ९४ रनमा समेटिएको हो। बलिङ युनिटले महत्त्वपूर्ण जिम्मेवारी पूरा गरे पनि फाइनल पुग्नबाट विराटनगर रोकिनुमा ब्याटिङ लाइनको कमजोरी प्रमुख कारण बनेको छ। प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो।
रोहित र दीपेन्द्रको भिडन्त
समूह चरणमा एउटा मात्र हारको सामना गरेको सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा छ। लिग चरणका सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेर अन्तिममा जित्नै पर्ने दबाबपूर्ण ६ खेलमा सबै जित निकाल्दै फाइनल पुगेको लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन्।

रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने दीपेन्द्र उपकप्तान हुन्। नेपालको क्रिकेट लिगको फाइनलमा कप्तान र उपकप्तानको भिडन्तलाई धेरै चासोका रुमा हेरिएको छ। अब कप्तानको कि उपकप्तानको जित हुने हो त्यसका लागि शनिबार साँझसम्म प्रतिक्षा गर्नुपर्ने छ।
दोस्रो क्वालिफायरमा लुम्बिनीको चमत्कार
दोस्रो क्वालिफायरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३५ रनको पछ्याउँदै लुम्बिनीविरुद्ध विराटनगर जवाफी ब्याटिङ उत्रिएको थियो। १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै विराटनर ९४ रनमा समेटियो। लुम्बिनीले ४० रनको जित निकाल्यो र फाइनलमा स्थान बनायो।
दोस्रो क्वालिफायरमा विराटनगरका सुरुवाती क्रममा ब्याटर नचल्दा नजिता लुम्बिनीको पक्षमा गएको हो। विराटनगरले पहिलो ओभरमै ओपनर मार्टिन गुप्टिल र लोकश बमलाई गुमाएको हो। मार्टिनले २ रन जोडे भने लोकेश डक आउट भए।
रुवेन ट्रम्पेलम्यनाको पहिलो ओभरको पाँचौ बलमा मार्टिन र अन्तिम बलमा लोकेश ब आउट भए। अर्का ओपनर फाफ डुप्लेसी ३ बल सामना गरेर २ रनको अवस्थामा शेर मल्लको बलमा बोल्ट भए।
तेस्रो विकेट गएपछि क्रिजमा आएका साम हिजलेटले इनिङ उकास्ने प्रयास गरे। उनले विराटनगरबाट २८ बलमा सर्वाधिक ३४ रन जोडे। चौथो विकेट खसेपछि मर्चेन्ट डी ल्याङ्गेले टिकेर खेल्ने प्रयास गरे पनि सफल भएनन्। उनी २० बलमा १७ रन जोडेर आउट भए। ७ विकेट गुमेपछि ब्याटिङमा आएका नरेन भट्टले दोस्रो सर्वाधिक २१ रन जोडे भने अन्यले दोहोरो रन बनाउन सकेनन्।

लुम्बिनीका तिलक भण्डारीले सर्वाधिक ३ विकेट लिए। २ विकेट लिएका रुबेन ट्रम्पेलम्यान ओपनर मार्टिन गुप्टिल र लोकेश बम जस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराए।
१ विकेट लिएका शेर मल्लले विराटनगरका ओपनर फाफ डुप्लेसीलाई आउट गराए। जेजे स्मिथ र अभिषेक गौतमले समान २–२ विकेट लिए।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमको जादू
पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको हो।
टस जितेर सुरुमा फिल्ड रोजेपछि सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै १५५ रन बनाएको थियो। १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४ ओभर १ बलमा ७८ रनमै सीमित भयो। विराटनगरको ब्याटिङ नचल्दा सुदूरपश्चिले ७७ रनको सहज र सानदार जित निकालेको हो।

विराटनगरले बनाएको ७८ रन सिजनकै सबैभन्दा कमजोर हो। यसअघि लिग चरणको १५ औं खेलमा काठमाडौं गोर्खाजले लिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ८९ रन बनाएको थियो।
विराटनगरले लिग चरणमा सुदूरपश्चिमलाई जितेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो। सुदूरपश्चिमले उक्त हारको बदला लिएको हो।
सुदूरपश्चिमको फाइनल यात्रामा ओपनर बिनोद भण्डारी नायक बने। उनले ५२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६३ रन जोड्दै इनिङ उकासेका थिए। उनले १८ ओभरको अन्तिम बलसम्म क्रिजमा टिके।
उनलै ब्याटिङ उकास्दा सुदूरपश्चिम ७ विकेटको क्षतिमा १५५ रनको अवस्थामा पुगेको थियो। यसका लागि शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडेका थिए। उसका लागि हर्मित सिंहले १४ रन ओपनर मुख्तार अहमदले १० रन जोडे।
जवाफी ब्याटिङमा उत्रिको विराटनगरका ओपनर साम हिजलेट गोल्डेन डक आउट हुँदा अर्का खेलाडी नरेन भट्ट डक आउट भएका थिए।
पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका मार्टिन गुप्टिल ३ बलमा ३ रन बनाएर रन आउट भए।
विराटनगरका फाप डुप्लेसीले सर्वाधिक ३६ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। बसिर अहमदले १२ र मर्चेन्टडी ल्याङ्गेले १५ रन जोडे। अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।
पहिलो ओभरमा २ विकेट गुमाएको विराटनगरले पछिसम्मै ब्याटिङमा लय समात्न सकेन।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइजन, हर्मित सिंह र अभिनास बोहोराले समान २–२ विकेट लिए। हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले सामान १–१ विकेट लिए। विराटनगरका मार्टिन गप्टिल र प्रतीस जीसी रन आउट भएका थिए।

कुगेलेइजनले विराटनगरका ओपनर साम हिजलेटको महत्त्वपूर्ण विकेट लिएका थिए भने हेमन्त धामीले अर्का ओपनर तथा सर्वाधिक रन बनाउने डुप्लेसीको विकेट लिए।













प्रतिक्रिया