१०८ रोपनी क्षेत्रफलमा एमाले महाधिवेशन उद्घाटन समारोहको मञ्च बन्दै : के छन् विशेषता ? « Khabarhub

१०८ रोपनी क्षेत्रफलमा एमाले महाधिवेशन उद्घाटन समारोहको मञ्च बन्दै : के छन् विशेषता ?


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको उद्घाटन सभा भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा हुने भएको छ । नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा उद्घाटन समारोहका मञ्च निर्माणको काम धमाधम भइरहेको छ । शनिबार हुने उद्घाटन समारोहको निर्माणस्थल र पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन प्रतिनिधिहरूको बाक्लो चहलपहल देखिएको छ।

देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले उद्घाटनस्थल अवलोकन तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माण जस्ता गतिविधि गरेसँगै भीड बढ्दै गएको हो ।

उद्घाटनस्थल विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदै छ ।

भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै गर्दा स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भीड थपिएको छ ।

मञ्च निर्माणमा खटिनु भएकी नेकपा एमाले भक्तपुर जिल्ला उपाध्यक्ष तथा वाग्मती प्रदेशकी स्वास्थ्य मन्त्री किरण थापाले रात–दिन मञ्च निर्माण, अस्थायी संरचना स्थापनासहितका काम जारी रहने बताए। उनका अनुसार मञ्चको मुख्य संरचना लगभग तयार भइसकेको छ भने करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा आवश्यक अन्य संरचना बनाउने काम तीव्रताका साथ जारी रहेको छ ।

चाँगुनारायण मन्दिरको आभास दिनेगरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुनेगरी विशेष डिजाइन गरिएको उनको भनाइ छ ।

मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचना राखिनेछन् । मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण भइरहेको छ । त्यस्तै उद्घाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक गेट निर्माण हुँदै छ ।

उद्घाटन समारोहस्थलमा तीन लाखसम्म अट्ने गरी तयारी भइरहेको छ । प्रमुख दर्शकस्थलतर्फ २५ हजार कुर्सी राखिने र एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि सहभागी हुने व्यवस्था मिलाइँदै गरिएको उपाध्यक्ष थापाले बताए।

मञ्च निर्माण स्थलमा अनुगमन गर्न पुगेका एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले कार्यक्रम भव्य र अनुशासित बनाउन १० हजार नेसनल भोलेन्टियर तथा अन्य जनसंगठनका स्वयंसेवक परिचालन गरिने जानकारी दिए। उनका अनुसार पोसाकसहितका ५ सय ५० स्वयंसेवक विशेष रूपमा व्यवस्था गरिनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गते मध्यान्हमा उद्घाटन गर्ने कार्यक्रम रहेकाले पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघर हुँदै विशाल र्‍यालीसहित सहभागी सभास्थलतर्फ जाने व्यवस्थासमेत मिलाइएको उनको भनाइ छ ।

यसअघि पार्टी अध्यक्ष ओलीको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर भक्तपुरका चारै नगरपालिका क्षेत्रमा घरदैलो अभियान सकिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए। उनका अनुसार वडाअनुसार कार्यकर्ताले घरघरमा पुगेर करिब २२ हजार निमन्त्रणा पत्र वितरण गरिसकेका छन् । आजै विभिन्न स्थानमा ब्यानर, पार्टी झण्डा राखी प्रचार–प्रसार गरिएको र भोलिदेखि माइकिङ सुरु गरिने जानकारी उनले दिएका छन्।

उद्घाटनका दिन भक्तपुरका सबै वडाबाट सांस्कृतिक झाँकीसहितको र्‍याली प्रदर्शन गरी कार्यक्रमस्थल प्रवेश गर्ने तयारीसमेत समापन भइरहेको देउजाले बताए । भक्तपुरबाट मात्रै करिब २५ हजार कार्यकर्ता सहभागी गराउने लक्ष्य राखिएको उनको भनाइ छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : २४ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा