गिग अर्थव्यवस्था : नेपाली अर्थतन्त्रको नयाँ बाटो « Khabarhub

गिग अर्थव्यवस्था : नेपाली अर्थतन्त्रको नयाँ बाटो



नेपालको अर्थतन्त्रलाई नियाल्ने हो भने औपचारिक अर्थतन्त्रमाथि अनौपचारिक अर्थतन्त्र परम्परागत रूपमै हाबी हुँदै आएको छ । यही अनौपचारिक अर्थतन्त्रको संरचनाभित्र पछिल्ला केही वर्ष प्रविधिको विकाससँगै रोजगारी र आम्दानीको नयाँ स्वरूप देखिन थालेका छन् । यसलाई विश्वव्यापी रूपमा गिग अर्थव्यवस्थाको नामले चिनिन्छ । 

‘गिग’ शब्दको उत्पत्ति संगीतको क्षेत्रबाट भएको मानिन्छ, जहाँ संगीतकर्मीहरू कुनै एक कार्यक्रमका लागि आबद्ध हुन्थे, उनीहरू औपचारिक र पूर्णकालीन पेसामा आबद्ध हुनेभन्दा एउटा कार्यक्रममा सहभागी हुने र त्यसबापतको पारिश्रमिक लिने गर्दथे ।

तर, आजको डिजिटल युगमा यसको अर्थ र आयाम निकै फराकिलो बन्दै गएको छ । गिग अर्थव्यवस्थालाई मुख्यतया छोटो अवधिको, लचकदार र परियोजनामा आधारित कामका रुपमा परिभाषित गरिन्छ । यसमा स्थायी रोजगारमा जस्तो दायरा रहँदैनन् । यो स–साना काम वा लचिलो समय आधारित स्वतन्त्र प्रकृतिको हुन्छ ।

नेपालको सन्दर्भमा फुडमान्डु, पठाओ, इनड्राइभजस्ता स्टार्टअप प्ल्याटफर्ममा आबद्ध भएर आफूलाई पायक पर्ने समयमा काम गर्ने राइडर तथा सामान डेलिभरी गर्ने व्यक्ति यसका उदाहरण हुन् । यी प्ल्याटफर्मले सहरी जीवनशैलीलाई सहज बनाउनुका साथै रोजगारी ठूलो अवसरसमेत सिर्जना गरिरहेका छन् । 

गिग इकोनोमीको दायरा यतिमा मात्र सीमित छैन । यसको अर्को महत्वपूर्ण पाटो ‘अपवर्क, फाइबरजस्ता अन्तर्राष्ट्रिय प्ल्याटफर्म हुन्, जहाँ नेपाली युवाले नेपालमै बसेर आफ्नो सीपमार्फत् विदेशी मुद्रा आर्जन गर्न सफल छन् । यो नयाँ आर्थिक व्यवस्थाले कामदारलाई पूर्ण स्वायत्तता प्रदान गरेको छ । 

ग्राफिक्स डिजाइनरदेखि लेखक, सफ्टवेयर डेभलपर, परामर्श जोकोहीले आफ्नो दक्षताका आधारमा जुनसुकै समय जुनसुकै स्थानबाट काम गर्न सक्ने अवसर पाएका छन् । यसले मानिसलाई स्थायी कामका साथै अतिरिक्त आम्दानी गर्ने वा पूर्ण रुपमै स्वतन्त्र भएर काम गर्ने विकल्प दिएको छ । ‘आफैं आफ्नो मालिक’ बन्ने अवसर दिएको छ ।

कुनै पनि कुराको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ भनेजस्तै यस्ता अवसरसँगै गिग अर्थव्यवस्थाका अर्को पाटो पनि छ । स्थायी रूपमा अर्थात् भनौँ औपचारिक रोजगारीमा जस्तो गिग इकोनोमीमा सञ्चय कोष, उपदान, स्वास्थ्य बिमा र रोजगारीको स्थायित्वजस्ता सामाजिक सुरक्षा व्यवस्था हुँदैन ।

यसले गर्दा कामदारको आय अस्थिर हुने र भविष्य अनिश्चित बन्ने जोखिम उत्तिकै रहन्छ । तर, बेरोजगारको ठूलो समस्याले जेलिएको नेपालका लागि गिग इकोनोमी रोजगारी सिर्जना गर्न र देशको आर्थिक अवस्थालाई चलायमान राख्न महत्वपूर्ण आयाम बन्न सक्छ । यद्यपि, यसको दिगो विकास र व्यवस्थापनका लागि विद्यमान नीतिगत व्यवस्थाको परिमार्जन आवश्यक छ ।

नेपालमा गिग अर्थव्यवस्था

नेपालमा गिग अर्थव्यवस्थाको विस्तृत अध्ययन हुन सकेको छैन । तापनि, उपलब्ध तथ्यांक र प्रवृत्तिले यसको तीव्र विस्तारलाई स्पष्ट संकेत गर्छ । यसअघि इन्स्टिच्युट फर इन्ट्रिगेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले गरेको एक अध्ययनले आइटी सेवा निर्यात गरेर विदेशी डलर भित्र्याउने क्षेत्रमा करिब ६६ हजार गिग कामदार सक्रिय रहेको देखाएको थियो । यो संख्याले नेपालमा गिग वर्करको बलियो उपस्थितिलाई मात्र पुष्टि गर्दैन, बरू यसले विदेशी मुद्रा आर्जनमा रेमिट्यान्सबाहेक अर्को महत्वपूर्ण स्रोतको सम्भावनालाई पनि उजागर गरेको छ ।

यो त केवल आइटी सेवा निर्यातको आँकडा हो । पठाओ, फुडमान्डु वा इनड्राइभजस्ता स्थानीय प्ल्याटफर्ममा आबद्ध दशौं हजार कामदार र इन्स्टाग्राम वा फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत आफना उत्पादन वा सेवा बेचिरहेका अनगन्ती साना उद्यमीलाई जोड्ने हो भने यसको वास्तविक आकार ठूलो रहेको अनुमान गर्न सकिन्छ ।

यस क्षेत्रको जनसांख्यिक विश्लेषणले अझ रोचक तथ्य बाहिर ल्याउँछ । गिग कार्यमा संलग्न हुनेमध्ये करिब ७० प्रतिशत २३ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा छन् । यो तथ्याकले गिग इकोनोमी मूलतः युवा–केन्द्रित रहेको देखाएको छ । शैक्षिक योग्यताको पाटो पनि उत्तिकै महत्वपूर्ण छ । करिब ५० प्रतिशत गिग कामदारले स्नातक तह पूरा गरेका छन् । 

यसले गिग इकोनोमी केवल राइड सेयरिङ वा डेलिभरीजस्ता कम सीप चाहिने काममा मात्र सीमित छैन । बरू यो उच्च सीपयुक्त र ज्ञानमा आधारित कामको हब बन्दै गएको प्रस्ट हुन्छ । सूचना प्रविधि, डिजाइन, लेखन, परामर्शजस्ता क्षेत्रमा उच्च शिक्षा हासिल गरेका युवाको बाहुल्य छ । यद्यपि, राइडर वा डेलिभरीजस्ता काममा एसएलसी वा प्लस टुभन्दा कम शैक्षिक योग्यता भएका व्यक्तिको संलग्नताले समाजका विभिन्न तह र तप्कालाई गिग अर्थव्यवस्थाले समेटेको देखाउँछ ।

कार्यप्रकृतिका आधारमा हेर्ने हो भने थप नयाँ रोचक तथ्याङ्क देखिन्छ । यहाँ करिब ६६ प्रतिशत मानिसले यसलाई पार्ट टाइम कामको रूपमा अँगालेका छन् भने ३४ प्रतिशतले यसैलाई मुख्य पेसा बनाएका छन् । यसले गिग पेसालाई मानिसले मुख्य पेसा वा अध्ययनसँगै अतिरिक्त आम्दानी गर्ने स्रोतको रुपमा अंगालेको स्पष्ट देखाउँछ । 

यसरी विभिन्न पुस्ता यसप्रति आकर्षित हुनुको पछाडि यसका बहुआयामिक कारण छन् । प्रमुख कारण हो, कामको लचिलोपन । आईआईडीएसले गरेको अध्ययनअनुसार करिब २२.७ प्रतिशतले लचिलो समय तालिकाकै कारण आफूले यस्तो पेसा अँगालेको बताएका छन् । 

९ देखि ५ बजेसम्म अफिसमै उपस्थित भएर कडा अनुशासनमा काम गर्नपर्ने परम्परागत बाध्यताबाट बाहिर निस्किएर आफ्नो अनुकूल समयमा काम गर्न पाउनु यसको मुख्य विशेषता हो । 

यो लचिलोपनले विशेषगरी घरपरिवारको जिम्मेवारी निर्वाह गर्नपर्ने महिलालाई ठूलो राहत दिएको छ । उनीहरूले फुल टाइम काममा समय दिन नसके पनि फुर्सदको समय गिग व्यवसायमा संलग्न भएर आर्थिक रुपमा आत्मनिर्भर बन्ने अवसर पाएका छन् ।

त्यस्तै करिब १७.३ प्रतिशतले यसलाई आफ्नो साइड हसल वा सोखको रूपमा लिन्छन् । अध्ययनका क्रममा एक प्रतिष्ठित अस्पतालमा काम गर्ने मेडिकल डाक्टरले समेत फुर्सद समयमा पेन्टिङ गरेर त्यसलाई बिक्री गरी अतिरिक्त आम्दानी गरिरहेको समेत भेटियो । यो प्रवृत्तिले मानिस एउटै पेसामा मात्र सीमित रहन नचाहेको समेत देखाउँछ । 

अहिलेको जेन-जी पुस्ताको मानसिकता हेर्दा उनीहरू लामो समयसम्म कसैको अधीनमा बसेर कास गर्नभन्दा आफ्नै मालिक बन्न चाहन्छन् । यो स्वतन्त्रता र स्वायत्तताको तीव्र चाहनाले उनीहरूलाई गिग कार्यतर्फ डोर्‍याइरहेको छ ।

यसबाहेक, सिप विकास र विविधता पनि महत्वपूर्ण कारक हुन् । परम्परागत जागिरमा तोकिएको कार्यक्षेत्रभित्र मात्र सीमित हुनुपर्ने बाध्यता हुन्छ । तर, गिग वर्कमा एउटा परियोजनामा काम गर्दागर्दै बजार मागअनुसार अर्को नयाँ सिप सिक्न र त्यसमा काम गर्न पाउँछ । यसले उनीहरूलाई निरन्तर ‘अपडेटेड’ रहन मद्दत गर्छ । 

विविध कार्यक्षेत्रमा काम गर्न पाउनु र अन्तर्राष्ट्रिय परियोजनामा संलग्न भएर विश्वव्यापी अनुभव हासिल गर्न यसको अर्को आकर्षण पक्ष हो । सीपयुक्त गिग कामदारले आफ्नो अनुभवका आधारमा पारिश्रमिकको दर समेत आफैँ निर्धारण गर्न पाउँछन् र राम्रो काम गर्दै जाँदा उनीहरूको आम्दानी बढ्दै जाने प्रवृत्ति पनि देखिएको छ ।

नेपालको सन्दर्भमा बेरोजगारी र अर्ध–बेरोजगारीको दर उच्च छ । निजी क्षेत्रले अन्तर्राष्ट्रिय स्तरका रोजगारी पर्याप्त रूपमा सिर्जना गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा गिग इकोनोमीले तत्कालको रोजगारी अभावलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । देशमा काम नपाएर विदेसिनुपर्ने युवाको बाध्यतालाई सम्बोधन गर्दै यहीँ बसेर विदेशी मुद्रा कमाउने अवसर सिर्जना गर्न यसको सबैभन्दा सकारात्मक र प्रभावशाली पक्ष हो ।

 उद्यमशीलता, समावेशिता र महिला सशक्तीकरण

गिग अर्थव्यवस्थाको प्रभाव केवल व्यक्तिगत आम्दानी र रोजगारीमा मात्र सीमित छैन । यसले नेपालको उद्यमशीलताको परि दृश्य र समावेशी विकासमा समेत गहिरो र सकारात्मक योगदान पुर्याइरहेको छ । गिग इकोनोमीलाई उद्यमशीलता विकासका लागि महत्वपूर्ण इन्क्युबेटरको रूपमा हेर्न सकिन्छ ।

अध्ययनका क्रममा भेटिएका केही उदाहरण निकै रोचक छन् । कतिपयले गिग प्ल्याटफर्ममा ६ महिनादेखि २ वर्षसम्म काम गरेर आवश्यक सीप र अनुभव बटुलेपछि आफ्नै कम्पनी खोलेर १५ जनासम्मलाई रोजगारी दिएको पाइएको छ । यसले के देखाउँछ भने गिग वर्क केवल रोजगारीको अन्तिम गन्तव्य मात्रै होइन । बरु उद्यमशीलताको पहिलो खुड्किलो पनि हो । यसरी गिग इकोनोमीले भविष्यका लागि कर्पोरेट क्षेत्रलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति र उद्यमीसमेत तयार पारिरहेको छ ।

कम्पनीहरूको दृष्टिकोणबाट हेर्दा पनि गिग इकोनोमी उत्तिकै लाभदायक छ । यसले कम्पनीलाई एक तहसम्म प्रशिक्षित र अनुभवी जनशक्ति उपलब्ध गराउँछ । नेपालमा हरेक वर्ष हजारौंले स्नातक तह उत्तीर्ण गर्छन् । तर, कर्पोरेट क्षेत्रले उनीहरूलाई सीधै रोजगारी दिन सक्दैन । कम्पनीका अनुसार स्नातक उत्तीर्णलाई सुरूमा ६ देखि ७ महिनासम्म तालिम दिनुपर्ने बाध्यता छ । 

तर, गिगमा केही समय काम गरेर आएकाहरू सीपयुक्त र अनुभवी हुने भएकाले कम्पनीले एक तहको तालिम प्राप्त जनशक्ति पाउँछन्, जसले कम्पनीको तालिम खर्च र समय दुवै बचाउँछ । यसका साथै १५ देखि २० जना कर्मचारी रहने साना तथा मध्यम स्तरका कम्पनीले आर्टिफिसिएल इन्टिलिजेन्स (एआई) वा ब्लकचेनजस्ता प्रविधिका विशेषज्ञलाई स्थायी रूपमा महँगो तलब दिएर काममा राख्न सक्दैनन् । यस्तोमा गिग व्यवस्थाले त्यस्ता साना कम्पनीहरूलाई पनि आफ्नो आवश्यकताअनुसार पार्ट टाइम वा परियोजनामा आधारित विज्ञबाट काम लिन सक्छन् ।

गिग अर्थव्यवस्थाको सबैभन्दा सबल र महत्वपूर्ण अर्को पक्ष महिला सशक्तीकरण र समावेशितामा यसले खेलेको भूमिका हो । नेपाली समाजमा विवाहपछि सन्तान जन्मिनासाथ महिलाहरू आफ्नो कामबाट लामो ब्रेक लिन बाध्य हुन्छन् । जब उनीहरू केही वर्षपछि पुनः काममा फर्कन खोज्छन्, बजारका लागि ‘आउटडेटेड भइसकेका हुन्छन्, जसले उनीहरूको करियर विकास र आर्थिक आत्मनिर्भरतामा ठूलो बाधा पुग्छ । 

गिग कार्यले यो गम्भीर समस्याको व्यावहारिक समाधान दिएको छ । यसले महिलालाई घरमै बसेर बच्चा हुर्काउँदै आफ्नो पारिवारिक जिम्मेवारीसँगै लचिलो समयमा काम गर्ने अवसर दिएको छ । यसले उनीहरूलाई आफ्नो क्षेत्रसँग अपडेटेड रहेदै करियरलाई अघि बढाउने बाटो दिएको छ । उनीहरूले काम र पारिवारिक जिम्मेवारीबीच सन्तुलन कायम गर्न सकेका छन् । 

पछिल्लो समय ब्युटी, क्लिनिङ, ई–कमर्स, शिक्षा र आइटीजस्ता विविध क्षेत्रमा महिलाको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको छ । यसरी, गिग इकोनोमीले महिलालाई पनि अर्थतन्त्रको मूल प्रवाहमा सँगसँगै लिएर जाने एउटा समावेशी अवसर सिर्जना गरेको छ । यसले सेवा प्रवाहको सन्दर्भमा पनि ठूलो परिवर्तन ल्याएको छ । ई–कमर्स, फुड डेलिभरी, क्लिनिङ, एसी मर्मत, ब्युटिसियनजस्ता सेवा गिग कार्यकै कारण आज ग्राहकको घरदैलोसम्म सहजै पुगेका छन् ।

 आर्थिक सुशासन र नीतिगत अभाव

पारदर्शिताको विषय डिजिटल इकोनमी को गिग अर्थव्यवस्था र सुशासन एवं विस्तारसँग बढी सम्बन्धित रहेको देखिन्छ । डिजिटल प्रणालीको प्रयोगले परम्परागत रूपमा हुने भ्रष्टाचारलाई साँघुरो बनाउँदै लैजाने र पारदर्शिता प्रवर्द्धन गर्ने सम्भावना रहन्छ । गिग कामदार आफैँ पनि आफ्नो आम्दानीलाई पारदर्शी बनाउन र करको दायरामा आउन चाहेको देखिन्छ । 

अध्ययनअनुसार करिब ७६ प्रतिशत गिग वर्करले आफूहरू कर तिर्न तयार रहेको बताएका थिए । तर, यहाँ सुशासनको मुख्य चुनौती नीतिगत तहमा छ । गिग अर्थव्यवस्थाले नेपालमा रोजगारी, उद्यमशीलता र समावेशीकरणको क्षेत्रमा यति धेरै सम्भावना बोकेर आएको भए पनि यसको यात्रा भने सहज छैन । यसले सामना गरिरहेको सबैभन्दा ठूलो र गम्भीर चुनौती भनेको नीतिगत अभाव हो । नेपालको वर्तमान श्रम कानुनले गिग इकोनोमीको अस्तित्वलाई स्वीकार्दैन ।

हाम्रो कानुनले कामदारलाई औपचारिक र अनौपचारिक गरी दुई तहमा मात्रै हेर्छ । यी दुईको बीचमा रहेको यो गिग अर्थात् भनौं स्वतन्त्र र लचिलो प्रकृतिको कामलाई कसरी सम्बोधन गर्ने भन्नेमा राज्य पूर्ण रूपमा मौन छ । पछिल्ला केही वर्षमा पठाओ वा फुडमान्डुजस्ता प्ल्याटफर्मले हजारौलाई रोजगारी दिए पनि उनीहरूको प्रवर्द्धनको लागि सरकारबाट उचित नीतिगत सहयोग र प्रोत्साहन हुन सकेको छैन ।

कानुनी मान्यता अभावले गिग कामदारलाई उनीहरूको आधारभूत अधिकारबाट वञ्चित गरेको छ। औपचारिक क्षेत्रका कामदारले पाउने जस्तो सुरक्षा, स्वास्थ्य विमा वा सामाजिक सुरक्षा कोषजस्ता कुनै पनि सुविधा उपभोग गर्न पाएका छैनन् । यसले उनीहरूको कामलाई निकै जोखिमपूर्ण र असुरक्षित बनाएको छ । 

दुई वर्षअघि आईटी क्षेत्रमा लागू गरिएको १ प्रतिशत करको व्यवस्थाले कम्तीमा त्यस क्षेत्रबाट हुने कमाइ कानुनी रूपमा दर्ता हुन थालेको छ । तर, यो पूर्ण समाधान भने होइन । ७६ प्रतिशत गिग वर्करले आफू कर तिर्न तयार रहेको बताए पनि श्रम कानुनले नचिन्दा उनीहरूले आफ्नो आम्दानीलाई वैध बनाउन सकेका छैनन् । सोही कारण उनीहरू वित्तीय विभेदको सिकार भइरहेका छन् ।

मासिक लाखौं कमाउने गिग वर्करलाई बैंक तथा वित्तीय संस्थाले चिन्दैन । बैंकहरूले  औपचारिक आयस्रोत र तलबको पे–रोललाई मात्र आधार मान्ने हुँदा गिग वर्करको इनभ्वाइस र परियोजना सम्झौतालाई आयस्रोतको रूपमा मान्यता दिईदैनन् । जसको परिणाम, मासिक दुई–तीन लाख कमाउने एक दक्ष गिग वर्करले घर बनाउनका लागि ऋण पाउँदैन । 

 जबकि ९ देखि ५ बजेसम्म कुनै कम्पनीमा काम गरेर मासिक ३० हजार मात्र कमाउनेले सजिलै सवारीसाधन किन्न ऋण पाउन सक्छ । यो वित्तीय विभेदले गिग कामदारको जीवनस्तर उकास्न र उनीहरूको भविष्य निर्माणमा ठूलो अड्चन छ ।

यसका साथै उनीहरूले सामाजिक कलंक पनि खेप्नुपरेको छ । अझै पनि हाम्रो समाजमा अफिस जाने र जागिर खानुलाई मात्र काम मान्ने मानसिकता बलियो छ । घरबाटै कम्प्युटरमा काम गर्ने वा आवश्यकताअनुसार काम गर्न गिग वर्करको कामप्रति अविश्वासको नजरले हेरिन्छ । 

परिवार र समाजले के साँच्चै काम गरिरहेको छ ? वा यसरी पनि कतै कमाइ हुन्छ ? जस्ता प्रश्न तेर्साइरहेका हुन्छन् । जसको प्रभाव उनीहरूको विवाहजस्ता सामाजिक सम्बन्धमा समेत पर्छ । यी सबै चुनौतीलाई सम्बोधन गर्न सरकारले गिग कार्यलाई पहिचान दिन आवश्यक छ ।

त्यसका लागि सर्वप्रथम सरकारले श्रम कानुनमा संशोधन गरेर गिग कामदारलाई स्वतन्त्र कामदार वा अर्थतन्त्रको एक हिस्साको रूपमा कानुनी पहिचान दिनुपर्छ । दोस्रो, बैंक तथा वित्तीय संस्थाले समेत उनीहरूलाई चिन्ने खालको व्यवस्था गर्न आवश्यक छ । तेस्रो, उनीहरूलाई कम्तीमा आधारभूत बिमा र सामाजिक सुरक्षाको दायरामा ल्याउने संयन्त्र विकास गर्नुपर्छ ।

अन्त्यमा, नेपालजस्तो सानो अर्थतन्त्र र बेरोजगारी दर उच्च रहेको मुलुकले श्रम, सीप वा सेवा जे भए पनि बाहिरी बजारमा निर्यात गर्न यो सुनौलो अवसरलाई गुमाउनु हुँदैन । गिग इकोनोमीले त्यो अवसर प्रदान गरेको छ ।

अब सरकारको भूमिका कुशल मालीको जस्तो हुनुपर्छ, जसले गिग इकोनोमीलाई पूर्ण नियन्त्रण गर्नभन्दा त्यसलाई कानुनी मान्यताको मलजल प्रदान गरी फल्नफुल सहयोग गर्नुपर्छ ।

शर्मा अनुसन्धानदाता हुन् । आलेख सेजन स्मारिकाबाट लिइएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  २ : २१ बजे

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

घोराही– यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत

महाधिवेशन अगाडि एमालेको अन्तिम सचिवालय बैठक च्यासलमा

काठमाडौं- शनिबारदेखि सुरू हुने एघारौँ महाधिवेशन अगाडि नेकपा एमाले सचिवालयको

यस्तो छ सल्लाघारीमा एमालेको महाधिवेशनस्थल (तस्बिहरू)

काठमाडौं– यही मंसिर २७ गते एमालेको ११ औं महाधिवेशनको उद्घाटन