काठमाडौं- पूर्वी पहाडी जिल्ला भोजपुरकी सम्झना राई (नाम परिवर्तन) लाई खोटाङका एक व्यक्तिले छोरी बनाएर पाल्छु भनेर आश्वासन दिएर करणी गरेका छन् ।
पाँच वर्षअघि आफूभन्दा २१ वर्ष कान्छी ११ वर्षकी नाबालिकालाई उक्त व्यक्तिले करणी गरेको आरोप छ । हाल नाबालिका १५ वर्षकी भइन् भने पुरुष ३८ वर्षका छन् ।
२०७८ सालमा शम्भु राई (नाम परिवर्तन) पीडित बालिकाकी दिदीको हात माग्न गएका थिए । दिदीले बिहे अस्वीकार गरिन् । पछि बहिनीलाई छोरी बनाएर राख्छु भनेर सम्झनालाई उनले काठमाडौं ल्याएका थिए । अभिभावकलाई ललाईफकाई उनले बहिनी सम्झनालाई लगे ।
पीडक भने पहिलेकी श्रीमतीसँग सम्बन्धविच्छेद गरेर एकल थिए । उनकी एक छोरी पनि उनीसँगै छिन् । दक्षिण कोरियाको रोजगारीमा रहेका उनको कमाइ पनि राम्रै छ । वृद्ध बुवा र छोरीलाई उनले काठमाडौंमा घर बनाएर राम्रैसँग राखेका छन् ।
उनी सुरूमा नाबालिकाको दिदीसँग फेसबुकमार्फत् साथी बनेको देखिन्छ । दिदी काठमाडौंमा बसेर कलेज पढ्दै थिइन् । उसको चाहना दिदीसँगै बिहे गर्ने थियो । तर दिदीले साथीका रूपमा मात्रै लिएको र बिहेको लागि आफू राजी नभएको निर्णय दिएकी थिइन् ।
दिदीले बिहेको लागि अस्वीकार गर्दै आए पनि युवक भोजपुर उनीहरूकै घर पुगे । आमाबुवासँग जेठी छोरीको हात मागे । छोरीले नमानेपछि बिहे हुँदैन भनेर अभिभावकले निर्णय सुनाए । काठमाडौंदेखि आएको पाहुनालाई भने उनीहरुले घरमा बास दिए ।
जेठीसँग बिहे टुङ्गो नलागेपछि युवकले कान्छी छोरीतिर आँख सोझ्याए । जतिबेला उनी जम्मा ११ वर्षकी थिइन् । र, कक्षा ८ मा पढ्दै थिइन् ।
‘मेरी छोरीलाई साथी हुन्छ, म पढाउछु । यहाँ पहाडभन्दा काठमाडौंमा राम्रो स्कुल कलेज छ’ भनेर उनले प्रलोभन देखाए । तर, अभिभावकले उनको कुरा मानेनन् । कृषक नै भए पनि उनीहरूले दुई छोरी राम्रैसँग हुर्काइरहेका थिए ।
छोरीको सुखका लागि कुनै दाता नै आवश्यक पर्ने पारिवारिक स्थिति थिएन । त्यसकारणले उसको प्रस्तावलाई अभिभावकले अस्वीकार गरे । तर, युवकले कान्छी छोरीलाई ललाइफकाइ गर्न थाले ।
एकपटक दिदीको कलेज शुल्क तिर्न आमा र कान्छी भोजपुरबाट काठमाडौं आइपुगे । उक्त कुरा पीडकले थाहा पाएपछि आमालाई फोन गरेर भेट्न चाहेको कुरा बताए । आमाले पनि उनलाई ठूलो बुवाको घरमा खाना खाने गरी बोलाइन् । छोरी नदिएपनि दुई पक्षबीचको सम्बन्ध नराम्रो चाहिँ थिएन ।
पछि, आमासँगै सोधेर उसले कान्छीलाई एक छिन काठमाडौं घुमाइदिन्छु भनेर घरमा लिएर गए । त्यो राति उनी उसैको घरमा बसिन् । पीडकले अभिभावकीय व्यवहार नै देखाए ।
त्यसपछि काठमाडौंको काम सकेर आमा छोरी फेरि भोजपुर फर्किए । केही दिनपछि पीडक फेरि गाउँ पुग्यो । सम्झनालाई उनले ‘तिमीलाई काठमाडौंमै पढाउछु । यहाँ पहाडमा भन्दा काठमाडौंमा स्कुल र कलेज राम्रो छ । अवसर प्रशस्त छन् ।
तिम्रो भविष्य राम्रो बनाउँछु । तिमीलाई ठूलो मान्छे बनाउछु’ जस्ता आश्वासन दिए । राम्रो लगाउने, मिठो खाने, घुम्न जाने सेवा सुविधा ऐसआरामको लागि यहाँ भन्दा काठमाडौं नै उपयुक्त रहेको भन्दै फकाए ।
सम्झना पनि केटाकेटी उमेर, के राम्रो र के नराम्रो भन्ने थाहै थिएन । सानै उमेरमा केटा मान्छेसँग हिड्न हुँदैन भन्ने ज्ञान पनि भएन । उसले देखाएको प्रलोभनमा स्वार्थ देख्ने चेतनाको विकास भएकै थिएन । उसले तिमीले जे चाह्यो त्यो पूरा गर्दिन्छु भनेको थियो । उनलाई त्यो कुरा नै ठूलो लाग्यो ।
‘घरमा नोकरचाकर राख्दिन्छु, तिमीले पढ्नुबाहेक केही गर्नुपर्दैन’, भनेर उक्साएका थिए । तर बाजे (ससुरा) वर्ष ८२ र छोरी वर्ष (९) लाई चाँहि तिमीले हेर्नुपर्छ भनेका थिए । आमाबुवालाई नसोधी उनी घरबाट निस्किन् । भविष्य राम्रो होला भनेर उनी युवकसँगै आइन् ।
आफ्नो जातको रीतिरिवाज अनुसार कुनै केटाले छोरी लिएर हिँडेपछि फिर्ता ल्याउन नहुने चलनले आमाबुवाको पाइला रोकियो । भाग्यलेखा यही होला भनेर उनीहरुले छोरीको निर्णयलाई स्वीकार गरे ।
छोरीको लागि साथी भनेर ल्याए पनि युवकले नाबालिकासँग शारीरिक सम्बन्ध बनाए । एक अर्कासँग औँठी साटासाट गरेर श्रीमती बनाए । के भनेर ल्याएका थिए, के गरे, के बनाए । आमाबुवाको घर छोडर आइसकेकाले उनले सबै घटना र उपघटनालाई स्वीकार गर्दै गइन् ।
उनीसँग १३ दिन मात्रै बसेर युवक कोरिया फर्किए । उता गएपछि पनि करिब ९ महिनासम्म राम्रै व्यवहार गरेका थिए । फोन गरिराख्ने, घरको बुवा र छोरीको हालखबर सोध्ने गर्थे । खर्चहरु सबै राम्रै बन्दोबस्त थियो । उनी पढाइसँगै ससुरा र छोरी स्याहार्दै बसिन् ।
तर, एकाएक युवकले अरु केटीहरूसँग बोलेको कुरा पठाउन थाले । केटीहरूसँग अन्तरङ्ग कुरा पठाउँथे । कतिपय पढ्न पनि असहज हुने म्यासेज पनि उनले पठाउँथे । उनको हर्कतले आहत भएपछि बालिकाले माइतीमा आमाबुवालाई खबर गरिन् । उसले खर्च दिन छोडेपछि माइतीमा आमाबुवासँग माग्न थालिन् । पछि आफैँ क्याफेमा काम गर्न थालिन् ।
आमाबुवासँग कुरा सेयर गरेको थाहा पाएपछि झनै घरबाट निस्केर जा भन्न थाले । युवकले ‘तँजस्तो मेरो श्रीमती हुँदैन । तँजस्तो केटी सय वटा ल्याउन सक्छु’, भन्नेजस्ता धम्की दिन थाले । घरमा तीन फ्ल्याटमध्ये एकमा ससुरा बस्ने र अर्को फ्याल्ट उनी बस्थिन् । बाँकी एउटा फ्ल्याट भाडामा लगाएको थियो । छिनछिनमै घर भाडामा बस्ने मान्छे फेरिने गर्थे ।
आफूभन्दा तीन वर्ष कान्छी छोरीले उनको निगरानी गर्थिन् । कुनै नयाँ मानिससँग बोलेको देख्यो भने भिडियो खिचेर कोरियामा बाबालाई पठाइदिने गर्थिन् । उसको बाबाले उक्त भिडियो फेसबुकमा हाल्दिने गर्थे । विस्तारै ससुराले पनि घरमा खानेकुरा लुकाइदिने गर्न थाले । अमाजु आएर घरबाट निस्कन दबाब दिन थालिन् ।
यस्तै झमेलाबीच पनि उनले पढाइलाई निरन्तरता दिइन् । युवक केही समयपछि नेपाल फर्किने जानकारी गराएका छन् । तर उनले आफू फर्किदा घरमा नबस्न धम्की दिए ।
जे-जस्तो अवस्थामा पनि घरै बस्छु भनेपनि बाजे र छोरीले सबै सामान घरबाहिर फाल्दिएपछि र घरमा बस्न नदिएपछि हाल उनी बाहिर डेरा लिएर बसेकी छिन् । नाबालिका यतिबेला न्यायको लागि याचना गरिरहेका छन् ।













प्रतिक्रिया