मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
आज बाराको सिमराबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेशको ०३–०३१ प ६९९० नं को मोटर साइकलसहित दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अवैध लागूऔषधको कारोबारमा संकलन रहेको अभियोगमा पर्साको वीरगञ्ज महानगरपालिका–३१ निवासी २१ वर्षीय शिव पासवान र सोही स्थानका २३ वर्षीय निरज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजुप्रसाद कुर्मीले जानकारी दिए ।
‘निजहरूले जुत्ताको भित्रपट्टी राखी ल्याएको अवैध खैरो हिरोइन १६० मिलीग्रामसहित पक्राउ गरी अनुसन्धान थालिएको छ’, उनले भने ।
निजहरूले सवारीका रूपमा प्रयोग गरेका मधेश प्रदेशको ०३–०३१ प ६९९० नं को मोटरसाइकललाई पनि रातोमाटे प्रहरीले नियन्त्रणमा लिएको प्रहरी कक्षले जनाएको छ ।
यसैगरी लागूऔषध खैरो हिरोइनको कारोबार गर्न वीरगञ्जबाट हेटौँडा बजारतर्फ आएका एक जनालाई स्थानीय सानोपोखराका प्रहरीले आज पक्राउ गरेका सूचना अधिकारी कुर्मीले बताए ।
हेटौँडा उपमहानगरपालिका–९ त्रिवेणीमा डेरा लिई बस्ने २२ वर्षीय सुमित थापाको साथबाट खैरो हिरोइन चार ग्राम २७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
निजले प्रयोग गरिएको ना २३ प ४३४ नं को मोटरसाइकललाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।












प्रतिक्रिया