मिथिलाका थारु बस्तीमा तिलासक्रायतको चहलपहल « Khabarhub

मिथिलाका थारु बस्तीमा तिलासक्रायतको चहलपहल


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – यहाँका थारु बस्तीमा अहिले तिलासक्रायत पर्वको चहलपहल छ । मधेसको मिथिला क्षेत्रमा माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व थारु समुदायको मुख्य पर्व मानिन्छ । अन्त यसलाई ‘माघी’ भन्ने गरिए पनि मिथिला क्षेत्रका थारुले ‘तिलासक्रायत’ भन्ने गर्छन् ।

यस पर्वमा थारु समुदाय घरको लिपपोत तथा रङरोगन गर्छन् । चिउरा, मुरी, जुनेलो र तिलका ‘लाई’ (सख्खरको खुँदोमा मिलाएर बनाइने लड्डु) र माछा र मासुका परिकार बनाउने गर्छन् । घोंगी, माछाका सुकुटी, सिद्रा, खसी, कुखुरा र हाँसको मासु पर्वमा अनिवार्य मानिन्छ ।

यो पर्व थारु समुदायले नयाँवर्षका रुपमा मनाउँछन् । पर्वमा सङ्क्रान्तिका दिन आपसी लेनदेनको हरहिसाब गर्ने र घरका नयाँ कामको योजना बनाउने चलन छ । यस पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी, नातिनातिना सबैलाई बोलाउने र गच्छेअनुसार लत्ताकपडा, दक्षिणा दिने चलन छ । यो पर्व आफ्नो समुदायको मुख्य पर्व भएकाले रमाएर मनाइने भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारु बताउँछन् ।

थारु महिला चित्रकलामा निपूण मानिन्छन् । पर्वमा सबैले घरका भित्तामा आकर्षक चित्र बनाउँछन् । यस पर्वलाई आपसी सम्बन्ध प्रगाढ बनाउने अवसरका रुपमा लिने थारु समुदायको चलन छ । पर्वका दिन बिहानै घरमूलीले नुवाइधुवाइ गरी दालचामल छोएर बस्तीभरिका मान्यजनलाई ढोगभेट गर्दै आशिर्वाद लिने चलन छ । यसअघि कुनै कुरामा चित्त दुखे दुखाएको रहेछ भने यसपर्वमा आपसमा अङ्कमाल गरेर पुराना मन भाँचिएका कुरा बिर्सन अनुरोध गर्छन् । यो पर्वको विशेषपक्ष नै यही भएको भङ्गाहा–७ का स्थानीय चन्द्रनारायण सिंह थारु बताउँछन् ।

थारु पुरुष धोती, कुर्था र कछाड लगाउँछन् । टाउकामा गम्छाको पगरी लाउने गर्छन् । थारु महिलाले चोलो, सारी र मजेत्रोमा सजिन्छन् । गहनाको रुपमा हातमा कल्ली, घाँटीमा हसुली महिलाले लगाउने गर्छन् । पर्वका दिन सामूहिक रुपमा नाचगान गर्ने चलन छ । जिल्लाको भङ्गाहा र गौशाला नगरपालिका थारु समुदायको बाहुल्य भएका क्षेत्र हुन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ३८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग