काठमाडौं – वि.सं. २०८१ मा नायक प्रदीप खड्काका तीनवटा फिल्म प्रदर्शनमा आए । गत जेठमा ‘पुजार सार्की’, माघमा ‘एक्टर : टेक वान’ र चैत २९ मा ‘पिताम्बर’ ।
यो वर्षको सुरुवात प्रदीपले फिल्म ‘पुजार सार्की’बाट गरे । यो फिल्म यस वर्ष सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने उत्कृष्ट पाँचमा समावेश छ ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यो फिल्मको लाइफटाइम ग्रस कलेक्सन सात करोड ४० लाख छ ।
प्रदीपको दोस्रो फिल्म ‘एक्टर : टेक वान’को बक्स अफिस कलेक्सन कमजोर छ । यसले मात्रै एक करोड दुई लाखको व्यापार गर्यो ।
यही फिल्मबाट प्रदीपले सुपरस्टारको ट्याग पाए । तर व्यापारिक रुपमा फिल्म फ्लप बन्यो । समीक्षकहरूले यो फिल्मबारे राम्रो लेखेनन् ।
फिल्म ‘एक्टर’सँग नाम मिलेकाले प्रदीपको ‘एक्टर : टेक वान’ प्रदर्शनमा आउनै मुस्किल पर्यो । मुद्दा जिल्ला अदालत काठमाडौंसम्म पुग्यो । निर्धारित मितिभन्दा तीन दिन ढिला फिल्म हलमा गयो ।
प्रदीपको यो वर्षकै अन्तिम फिल्म ‘पिताम्बर’ चैत २९ बाट प्रदर्शरत छ । यो फिल्म दर्शकले मन पराउने हुन् कि होइनन्, थाहा पाउन केही दिन कुर्नुपर्ने हुन्छ ।
नयाँ वर्ष वैशाख १ गतेको व्यापार र फिल्म हेरिसकेपछि दर्शकले दिएको प्रतिक्रिया यसको ग्रस कलेक्सनको प्रमुख कारक बन्न सक्छ ।
भिडियो :
लभर स्टोरीभन्दा फरक धार
प्रदीप ‘लभर बोइ’ नायक रुपमा उदाएका हुन् । पछिल्लो समय उनी ‘लभर बोइ’को छवि परिवर्तन गर्न लागि परेको पाइन्छ ।
उनले ०७९ मा प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ र ०८१ मा प्रदर्शनमा आएका फिल्म ‘पुजार सार्की’मा उनी ग्रामिण युवाको भूमिकामा देखिए ।
ग्रामीण युवाको भूमिका निर्वाहमा प्रदीप सफल भए । दुवै फिल्म व्यापारिक रुपमा पनि सफल भए ।
प्रदीप पछिल्लो समय ‘लभर बोइ’को छवि परिवर्तन गर्न ‘लभ स्टोरी’भन्दा फरक धारका फिल्ममा अभिनय गरिरहेका छन् ।
यसको पछिल्लो उदाहरण प्रदर्शनरत फिल्म ‘पिताम्बर’ हो । यसमा प्रदीप एक्सन अवतारमा प्रस्तुत भएका छन् ।
‘एक्टर : टेक वान’मा पहिलो हाफमा प्रदीप लभर बोइ र दोस्रो हापमा एक्सन अवतारमा देखिएका छन् । तथापि यो लभ स्टोरी फिल्म होइन ।

चरित्र अभ्यासमा केन्द्रित
०८१ को सुरुवातमा प्रदीपको पाइपलाइनमा सात फिल्म थिए । यो वर्ष मात्रै उनले चार फिल्ममा अभिनय गर्न भ्याए ।
उनले यो वर्ष छायाङ्कन गरेको फिल्म ‘एक्लो’ भने प्रदर्शनमा आएन । ०८२ को सुरुवातमै यो फिल्म प्रदर्शनमा आउने बुझिएको छ ।
बक्स अफिस रिपोर्ट हेर्दा प्रदीपको यो वर्ष निराशजनक छ । तर यसमा प्रदीपलाई त्यति धेरै वास्ता छैन ।
यसबारे भन्छन्, ‘यो वर्ष फिल्म गर्दा मैले बक्स अफिसमा कलेक्सनबारे सोचेर काम गरेको होइन । यो सोचेको भए म एक फिल्मका लागि डेढ-दुई वर्ष समय लिएर काम गर्थेँ । मेरो विगतको अभ्यास पनि त्यही छ ।’
यता प्रदीप भनेर फरक फरक चरित्रमा आफूलाई प्रयोग गर्न एकै वर्ष धेरै फिल्म साइन गरेको बताउँछन् ।
उनी थप्छन्, ‘यो वर्ष मैले चार फिल्मको छायाङ्कन गर्नुको कारण– छाटो समय फरक फरक चरित्र निर्वाह गर्ने अभ्यास गर्नु हो ।’
एक्सन अवतारको अभ्यास गर्ने उद्देश्यले नै एक्सन प्रधान फिल्म पिताम्बरमा अभिनय गरेको सुनाउँछन् । भन्छन्, ‘म नयाँ चरित्र स्थापित होस् भनेरै नै विभिन्न धारका फिल्महरु गरिरहेको छु ।’
फिल्महरूको व्यापारिक आँकडाभन्दा पनि एक वर्षमा चार चरित्र निर्वाह गर्न पाएकालाई उनले ०८१ लाई सफल वर्ष मानेका छन् ।
प्रतिक्रिया